कञ्चनपुर डेङ्गुको उच्च जोखिममा

कञ्चनपुर | भदौ १५, २०७९

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा

 

कञ्चनपुर : कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । 

 

गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो । दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेङ्गु देखिएको हो । “तीन पुरुष र एक महिलामा डेङ्गु देखिएको छ”, उहाँले भन्नुभयो, “पुरुष भारतबाट आएका हुन् भने डेङ्गु देखिएका महिलाको बुवा र दाजु पनि भारतबाटै आएका हुन् ।”

 

दोधारा–चाँदनी भारतसँग सीमा जोडिएको ठाउँ हो । यहाँ आवतजावत बढी हुने भएकाले पनि डेङ्गु सङ्क्रमणको उच्च जोखिममा  छ । जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने बताउनुभयो । “कञ्चनपुर र कैलाली डेङ्गुको उच्च जोखिममा छन्, पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य कार्यालयको प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेङ्गु सार्ने प्रजाति भेटिएको छ ।”

 

वर्षात्मा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की, पुराना टायरलगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ । यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्छ । “यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन”, भट्टले भन्नुभयो, “अहिले डेङ्गु परीक्षण गर्न किट अभाव छ ।” 

 

डेङ्गुबाट बच्न विषादी छर्किन र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ । “उच्च ज्वरो, हाड जोर्नी, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन्”, उहाँले भन्नुभयो, “डेङ्गु देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्छ ।” गत वर्ष कञ्चनपुरमा १५ जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा डेङ्गु र मलेरियाका बिरामी देखिन थाले पनि परीक्षणका लागि किटको अभाव रहेको छ । 

 

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले केही दिनयता अस्पतालमा मलेरिया र डेङ्गुका बिरामी देखिन थालेको बताउनुभयो । “अस्पतालमा ज्वरोका बिरामी बढेका छन्, डेङ्गुका बिरामी अहिले अस्पतालमा भर्ना छैनन् उपचारपछि फर्किसके”, उहाँले भन्नुभयो, “गत साता डेङ्गुका बिरामी आएका थिए, एकजनालाई धनगढीस्थित सेती अस्पताल रेफर गरेका छौँ ।” अहिले अस्पतालमा  भाइरल ज्वरोका बिरामीको अत्यधिक चाप छ ।

काठमाडौं:  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नु...

थप पढ्नुहोस्

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...

थप पढ्नुहोस्

पोखरा:  इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।  &nbs...

थप पढ्नुहोस्