तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

  काठमाडौं:  सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको सङ्क्रमण बढेको, उपत्यकामा फोहर व्यवस्थापन हुन नसकेकोलगायतका विषयमा धारणा राखेका छन् ।       सांसद लक्ष्मी परियारले उदयपुरमा कोसी पुरानै धारमा फर्कंदा दुई हजार ५०० भन्दाबढी परिवार स्थिापित हुने अवस्था आएको बताउनुभयो । सांसद लालप्रसाद साँवा लिम्बूले झापाका ठूला नदीले धेरै घरपरिवार विस्थापित गरेको र साना खोलाले कृषियोग्य जमिन कटान गरेकाले नागरिकलाई राहतको व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद लालबहादुर थापाले साउन १९ र २० को वर्षाका कारण धेरै परिवार प्रभावित भएकाले पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभयो ।       सांसद विद्या भट्टराईले पोखराको मणिपाल–¥याले सडक पूर्णरुपमा क्षतिग्रस्त भए पनि जोखिमपूर्णरुपमा सडक सञ्चालन भइरहेको र पोखरा २० का सडक क्षत्विक्षत भएको उल्लेख गर्नुभयो । सांसद सीताराम महतोले सुनसरी इनरुवामा २२ किमी सडक हुलाकी राजमार्गअन्तर्गत ठेक्का लागे पनि काम नहुँदा वर्षामा हिलाम्मे भएकाले तत्काल काम सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।       सांसद बीनादेवी बुढाथोकीले साउन १८ र १९ को वर्षाले कञ्चनपुरका विभिन्न बस्तीमा बाढी पसेकाले नागरिकलाई अन्यत्र सारिएको भन्दै आगामी दिनमा नदी नियन्त्रणलाई व्यवस्था गरी नागरिकको सुरक्षा गर्न सरकारलाई अनुरोध गर्नुभयो । सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा पहिराका कारण ३० घर जोखिममा रहेको र हेलम्बुको छ ठाउँ कटान हुँदा सडक अवरुद्ध भएकाले चाँडो समाधानको माग गर्नुभयो ।       सांसद सत्यनारायण शर्मा खनालले पहिले गर्मी र त्यसपछिको निरन्तर वर्षाले सबैतिर ठूलो धनजनको क्षति हुनसक्ने हुँदा सचेत हुनुपर्ने औँल्याउनुभयो । सांसद बीनाकुमारी श्रेष्ठले काठमाडौँ उपत्यकामा फोहरका कारण नागरिकमा हैजालगायतका स्वास्थ्यमा समस्या फैलिएकाले फोहर व्यवस्थापन गर्न तीन तहले संयुक्तरुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।      सांसद विष्णु शर्माले वर्षासँगै कोभिड, मङ्कीपक्सलगायतका रोग फैलिएकाले सिमानामा कडाइ गर्नुपर्ने र स्वास्थ्यचौकीमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुनुपर्ने बताउनुभयो ।    सांसद वृन्दा पाण्डेले राज्यका सबै निकायमा एक तिहाइ महिला सहभागी हुनुपर्ने व्यवस्था भए पनि गत स्थानीय तहमा त्यो कार्यान्वयन नभएको र अहिले पनि सो विषयमा संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको सूचना दर्ता गरिएकाले त्यसमा छलफलको माग गर्नुभयो ।      सांसद विमला विश्वकर्माले रेलमार्ग निर्माणका लागि भनी धेरै नागरिकको जग्गा रोक्का गरिएकाले मुआब्जा प्रक्रिया टुङ्ग्याएर रेलमार्ग निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद शक्तिबहादुर बस्नेतले मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउन ठेक्का भएको धेरै भए पनि त्यो पूरा नभएकाले चाँडो अघि बढाउनुपर्ने बताउनुभयो ।      सांसद शान्ता चौधरीले बजार भाउ असाध्यै बढेकाले नागरिकले एक झोला सामान किन्न एक झोला नै पैसा चाहिन सक्ने हुँदा सरकारको काम महँगीको नियन्त्रणमा ध्यान दिनुपर्ने औँल्याउनुभयो ।      सांसद डा शिवमाया तुम्बाहाम्फेले अभिलेख इतिहास र संस्कृतिको संवाहक र देशको प्रगतिको मापक भएकाले अभिलेखालयका सबै कागजात सुरक्षित राख्न आवश्यक बजेट र जनशक्ति बढाउनुपर्ने उल्लेख गर्नुभयो ।      सांसद सत्य पहाडीले नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको हक कार्यान्वयनका लागि पालिकामा आधारभूत अस्पताल सञ्चालन गरी दरबन्दीको व्यवस्था गर्न र निःशुल्क औषधि उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभयो ।       सांसद समिना हुसेनले मधेस प्रदेशमा रौतहट, सर्लाहीलगायतका जिल्लामा नागरिकलाई झुक्याएर नक्कली कागजातमा हस्ताक्षर गराएर फसाइएकाले त्यस विषयमा प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।       सांसद सरलाकुमारी यादवले शैक्षिकसत्र सुरु भए पनि विद्यार्थीको हातमा पुस्तक नभएको भन्दै दैनिक एक लाख छाप्दा दुईसय दिनमा पर्याप्त छापिसकिएर आगामी वर्ष समयमा विद्यार्थीको हातमा पुस्तक पुग्ने बताउनुभयो ।       सांसद सरिताकुमारी गिरीले नेपाल आयल निगमलाई निजीकरण गर्न नहुने बताउनुभयो । सांसद डा सूर्यप्रसाद पाठक गलकोट नगर अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।       सांसद सञ्जयकुमार गौतमले नयाँ पुस्तामा इतिहास, भाषा र संस्कृतिको जानकारी दिन विद्यालय र कलेजका पाठ्यपुस्तकमा यी विषय समावेश हुनुपर्ने औँल्याउनुभयो । सांसद हितबहादुर तामाङले नुवाकोटको लिखु गाउँपालिकामा किसानले उत्पादन गरेको निलो आलु कुहिएर किसान मर्कामा परेकाले क्षतिपूर्ति दिनुपर्ने उल्लेख गर्नुभयो ।   

  पोखरा:  चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफु सिमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफुले काम गर्ने बताए ।   ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ । काम गर्न आएको हुँ । छोटो समय नै सही काम गरेर देखाउने छु ।’   नेपालको मौलिक कथाका विषयमा आफ्नो चिन्तन पहिलेदेखि नै भएको अभिव्यक्ति उनको थियो । नेपाली सिनेमालाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । जसका लागि विकास बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भनाई उनको छ ।   जीवनको ४० वर्ष आफुले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए । ‘जीवनको लामो समय मैले चलचित्र क्षेत्रमा नै बिताएको छु । यसमा भएका विविध समस्या सँग म जानकार नै छु । हिजो प्रश्न गर्ने ठाउँमा म थिए । आज उत्तर दिने ठाउँमा छु । प्रशासनलाई बुझ्दै छु । सबैलाई समेटेर चलचित्र क्षेत्रको सुधारमा लाग्ने प्रण गर्दछु ।’, उनले भने ।   केसीले निर्माता तथा निर्देशक एवम् कलाकार बिमल पौडेलले चालेको कदमको प्रशंसा गरे । समाजको कथा खोज्ने कार्यमा बिकास बोर्डले सक्दो सहयोग गर्ने भनाई उनको छ ।   क्याराभान नेपाल प्रालीका निर्देशक एवम् कार्यक्रम ‘आफ्नो कथा आफ्नो सिनेमा’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको अभिव्यक्ति प्रस्तुत गरे । हामीले आफ्नो कथालाई चलचित्रमा प्रस्तुत गर्न नसक्दा यस्तो समस्या आएको भनाई उनको छ । उनले आफुले एक अभियानको थालनी गरेको बताए । ‘कार्यक्रम आफ्नो कथा आफ्नो सिनेमा एक अभियान हो । जून अभियान मार्फत हामी समाजमा भएका कथा खोज्छौं । हरेक व्यक्तिका व्यथालाई प्रस्तुत गर्छौं ।’, उनले भने ।   पौडेलले यो अभियान गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने बताए । हरेक जिल्लाको स्थानीय तहसँग समन्वय गरी समाजका कथालाई बुझ्ने प्रयासमा आफु रहेको भनाई उनको छ । उनले प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्नुपर्ने आवश्यकतालाई समेत औंल्याएका छन् ।   चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सिमित नरही कथाको खोजी गर्ने र सिनेमाको संरक्षणमा लाग्नुपर्ने बताए । उनले यसका लागि सहज नीति नियमको अवधारणामा जानुपर्ने आवश्यकतालाई सुझाएका छन् ।   कलाकार प्रकाश घिमिरेले नेपाली कथावस्तुअनुसार कलाकारले अभिनय गर्ने हुँदा मौलिकतामा विशेष ध्यान दिनुपर्ने बताए । सिनेमा बुझेको निर्माता चलचित्र क्षेत्रमा आउनुपर्ने भनाई उनको छ ।   चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले किताबी विषयलाई घोेकेको आधारमा मात्रै चलचित्रको कथावस्तु उत्कृष्ट बन्न नसक्ने बताए । यसका लागि समाजमा नै गएर बुझ्नुपर्ने धारणा उनको छ ।   गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्ज बहादुर गुरुङले पूर्वदेखि पश्चिमका कथालाई खोज्नुपर्ने धारणा राखे । जिफानका निवर्तमान अध्यक्ष भोज बहादुर गुरुङले भाषागत चलचित्र अब च्यारेटीमा मात्रै सिमित हुन नहुने बताए । भाषागत चलचित्रलाई सेन्सरमा समस्या भएकोले यसको निवारण तर्फ विकास बोर्डले ध्यान दिनुपर्ने तर्क उनको छ ।   मगर चलचित्र संघ कास्कीका अध्यक्ष राहुल थापाले मगर चलचित्रको व्यवस्थापन र संरक्षणमा सरकारी निकायले साथ दिनुपर्ने बताए । 

कुरिनटार । साँघुरो सडक, गाडीको अत्यधिक चाप अनि बर्खाको बेला पहिरोले पु¥याउने क्षतिका कारण दिनहुँ जाममा फस्नुपर्ने अवस्था । मुलुकभरका सबैजसो सडकको अवस्था यही नै छ । संघीय राजधानी जोड्ने सडकहरुको अवस्था झनै दयनीय छ । विगतमा बनाइएका सडकहरु साँघुरो भएकै कारण अहिले चक्ल्याउने काम पनि भइरहेको  छ । यसका कारण पनि यातायात आवतजावतमा अवरोध हुने गरेको छ । मुख्य सडकको विकल्प भइदिएको भए यो अवस्था आउने थिएन ।    त्रिशुली किनारमा वैकल्पिक सडक (करिडोर) निर्माणको सम्भावनाका बारेमा राष्ट्रिय योजना आयोगले गण्डकी र वागमतीका मुख्यमन्त्रीलाई राखेर वृहत छलफल गरेको छ । त्रिशुली करिडोर यातायात पूर्वाधारका अवस्थाका बारेमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, स्थानीय सडक पूर्वाधार विभागका प्रतिनिधि, सडक सञ्जालले छुने पालिकाका प्रमुख र अध्यक्षहरुको उपस्थितिमा शुक्रबार र शनिबार चितवनको कुरिनटारमा छलफल भएको हो ।    दैनिक सवारी चाप बढिरहँदा सडक साँघुरो भएका कारण जाम उत्तिकै हुन्छ । काठमाडौं पुग्न घन्टौं जाममा फस्नुपर्ने अवस्था छ । त्रिशुलीको दक्षिण हुँदै पृथ्वीराजमार्ग छ । यसले उक्त क्षेत्रमा आर्थिक चहलपहल राम्रैसँग बढाएको छ । तर त्यही त्रिशुलीको दक्षिणतिरको भाग भने चहपहलविहीन छ । यसका लागि पनि त्रिशुली करिडोरको सम्भाव्यताका बारेमा चासो दिन थालिएको हो ।    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अब बिना अवरोध राजधानी पुग्ने अवस्था सिर्जना गर्न र सडक नबनेकै कारण आर्थिकरुपमा पछि परेकाहरुलाई उकास्नाका लागि करिडोरको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । उनले भने, म धादिङको जिल्ला सभापति, प्रतिधिनिधि सभा सदस्य, संविधानसभा सदस्य हुँदाखेरी वैकल्पिक सडकका बारेमा आवाज उठाएको हु, अधिकांश ठाउँमा ट्रयाक खुलेको छ, वारपारका लागि पुल बनाउन समेत पहल गरेको छु ।   ट्रयाक खोल्न र विस्तारका लागि सम्बन्धित पालिकालाई नै अग्रसर बनाउने, स्तरोन्नती र सुधारका लागि प्रदेश र संघ सरकारले पहल गर्ने प्रतिबद्धता उनले जनाए । त्रिशुली करिडोरको निर्माणका लागि वागमती र गण्डकी प्रदेश सरकारले चासो देखाउनुपर्ने भएकाले योजना आयोगको अग्रसरतामा यो छलफल निकै फदलायी रहेको बताए ।     काठमाडौंको चन्द्रागिरीबाट सुरु हुने त्रिशुली करिडोर धादिङको धुनिबेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, सिद्धलेक गाउँपालिका, बेनीघाट नगरपालिका समेट्छ । गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका, तनहुँको आँबुखैरेनी गाउँपालिका र नवलपुरको गैंडाकोट नगरपालिकासम्म यो करिडोरले समेट्ने राष्ट्रिय योजना आयोगले जनाएको छ । यो सडक कति लामो हुने र लागत कति लाग्ने भन्ने बारेमा सडक विभागले अध्ययन गर्नेछ ।     मुख्य सडकको विकल्प तयार हुँदा शाखा सडकहरु चलायमान हुने र आर्थिक गतिविधि समेत बढ्ने भएकाले आगामी ४ वर्षभित्रमा निर्माण हुने गरी काम थाल्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले निर्देशन गरे । पूर्वाधारमा सडक प्राथमिकताबमा पर्नु स्वाभाविक रहेको भन्दै विगतमा बाटो र पानी नभएकै कारण बसाइँसराइँ हुने गरेको स्मरण गर्दै अब त्यो अवस्था नआउने विश्वास उनले व्यक्त गरे ।    गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नारायणघाटदेखि नै त्रिशुलीको वारिपारि समानान्तर रुपमा सडक मार्ग विस्तार गर्न ३ तहकै सरकारको सहकार्य र समन्वय हुनुपर्ने बताए । पृथ्वी राजमार्ग, मध्यपहाडी लोकमार्ग, नारायणघाट – मुगलिन –आँबुखैरेनी –गोरखाबजार –घ्याम्पेसाल –आरुघाट सडकको पहुँच नपुगेको क्षेत्रमा यो करिडोरले भरपर्दो सडक सुविधा उपलव्ध हुने विश्वास व्यक्त गरे । बुढी गण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गण्डकी, सहिद लखन, भीमसेन थापा र आरुघाट गापाका बसिन्दाको पुनर्वास गर्न एकीकृत वस्ती निर्माणका लागि समेत करिडोर प्रभावकारी हुने उनको बनाइ थियो ।    गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले बेनीघाट – आरुघाट सडक स्तरोन्नति नभएकोले उक्त क्षेत्रका बासिन्दा वर्षा याममा काठमाडौं, चितवन जान गोरखा बजारको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको, प्रभावित क्षेत्रमा नयाँ सडक, पुल, झोलुंगे पुल पूर्वाधारको योजना सञ्चालन नभएको बताए । करिडोरको निर्माण यस्ता अधिकांश समस्या समाधान हुने विश्वास उनको छ । अत्यन्त विकट भूभाग÷जिल्ला भएकाले यस भेगको विकास उच्च जिम्मेवारीको विषय रहेको स्मरण गराउँदै उपाध्यक्ष काफ्लेले वर्षौदेखि पिछडिएको अवस्थामा बस्न बाध्य नागरिकको उत्थान गर्नुपर्ने दायित्व सरकारको रहेको बताए । पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन खण्डको बलियो विकल्प बनेको खण्डमा आर्थिक सामाजिक विकास र अन्तर्राष्ट्रिय व्यापारको समेत आधार निर्माण हुने उनको भनाइ थियो ।    प्रदेशको मात्रै एकल प्रयासबाट काम हुन नसक्ने भन्दै उनले प्रदेशको लगानी क्षमता कमजोर, भूगोल र अवस्थितिले धेरै पूँजी र उच्च प्रविधि आवश्यक जुन प्रदेशसँग उपलब्ध नरहेको बताए । उनका अनुसार भौगोलिक विकटता, कडा चट्टान विस्फोट गर्नुपर्ने भएकाले ठूलो लगानी आवश्यक पर्छ ।    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्यद्वय डा. दिलबहादुर गुरुङ, राजेन्द्रकुमार फुयाँल, सचिव केबलकुमार भण्डारी, नीति तथा योजना आयोग वागमतीका उपाध्यक्ष डा. कृष्ण पन्त, सडक विभागका उपमहानिर्देश डा. विजय जैसी, सहसचिव ईश्वरराज मरहट्ठा लगायतले सडक निर्माण र विकासको अवस्थाका बारेमा प्रस्तुति राखेका थिए ।    बेनीघाट नगरपालिका प्रमुख बालकृष्ण आचार्यले सडक निर्माणले जनजीवनमा निकै सकारात्मक प्रभाव पार्ने भएकाले समन्वय गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना, सहिद लखन गापा अध्यक्ष रमेशबाबु थापा, धादिङको सिद्धलेक गापा अध्यक्ष परशुराम खतिवडाले सडकको अवस्थाका बारेमा भनाइ राखेका थिए ।    यही छलफलका आधारमा सडक विभागले डिपिआर तयार भएपछि सस्तो लागतमा प्रभावकारी र छिटो तरिकाबाट काम अगाडि बढाइने योजना आयोग उपाध्यक्ष डा. विश्व पौडेलले जानकारी दिए ।     

    पोखरा । लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेनको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ ।      शनिबार बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि चिफ एडभाइजर धनीराम बराल, लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कार्यक्रम संयोजक जयराम तिमल्सिना, लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष राम कंडेलले संयुक्त रुपमा बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गर्नुभयो ।      कार्यक्रमका प्रमुख अतिथि धनीराम बरालले विश्वका विभिन्न २१४ राष्ट्रमा फैलिएको लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण काम भैरहेको बताउनुभयो । लायन्स क्लबमा आवद्ध सदस्यहरू धनका मात्र नभै मनका धनी रहेको उल्लेख गर्दै उहाँले लायन्सका माध्यमबाट गरिने कुनैपनि सहयोग आवश्यकताका आधारमा लक्षित बर्गमा पुग्नुपर्नेमा जोड दिनुभयो ।   लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठले ज्येष्ठ नागरिक आश्रमहरूको दीर्घकालीन सञ्चालनमा राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । राधाकृष्ण बृद्धाश्रममा ज्येष्ठ नागरिकहलाई सम्मानपूर्वक सुखी र खुसी भएर बसेको पाइएको बताउँदै उहाँले संघ संस्थाका तर्फबाट गरिने सहयोगले यस्ता संस्थामा ठूलो राहत पुग्ने धारणा राख्नुभयो ।   कार्यक्रम संयोजक जयराम तिमल्सिनाले यो सांकेतिक सहयोग भएको बताउँदै आगामी दिनमा पनि यस किसिमका सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले लायन्स क्लबका तर्फबाट बृद्धाश्रमको सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै बृद्धाश्रममा प्राप्त कुल सहयोगको ६० देखि ६५ प्रतिशतसम्म लायन्सबाट सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।   लायन्स क्लब अफ पोखरा लेकसाइडका प्रथम उपाध्यक्ष कीर्तिबल्लभ त्रिपाठी, सचिव भीम आचार्य लगायतले बृद्धाश्रममा गरिने साना साना सहयोगले यहाँको सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

  पोखरा:  नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७९ को अवसर पारि पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा तीजमेला हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १० देखि १६ भदौसम्म चल्नेछ् ।    प्रबेश नि शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता, टपरि गास्ने प्रतियोगिता, गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य लगायतका प्रतियोगिताहरु हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।   नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि तिजगित प्रतियोगिता गर्दै आएको केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो । केरोनाका कारण गएको दुईवर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखी निरन्तरता दिन लागेको अधिकारीले जानकारी दिए ।    केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णलाई आर्थिक सहयोग जुटाउने उदेश्य समेत मेलाको रहेको छ । मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न केन्द्रले शनिबार वडामा रहेका विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधी, आमा समुह, क्लबहरु, विभिन्न संघ संस्थाको सहभागीतामा वडा भेला समेत आयोजना गरेको थियो । भेलामा सहभागीहरुले मेलालाई सम्पन्न गर्न सवैले आ आफनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । भेलाका प्रमुख अतिथी पोखरा १ का वडा सदस्य रामजी पौडेलले मेला केन्द्रको आयोजनामा संचालन हुने भएपनि यसलाई सफल पार्न सम्पुर्ण वडाबासीको कतव्य रहेकाले सहयोग गर्न आग्रह गरेका थिए । मेलाको सफलता असफलता वडावासी संग जोडीएकाले सकेको सहयोग गर्न अनुरोध गदै वडा कार्यालयका तर्फबाट गर्नुपर्ने सवै सहयोग केन्द्रलाई गर्ने प्रतिवद्धता जनाएका थिए ।  

  काठमाडौं:   प्रतिनिधिसभामा पाँच महिनाअघि दर्ता भएको सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको छ ।     गत फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सांसदले प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराउनुभएको थियो । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले दर्ता गर्नुभएको सो महाअभियोगको प्रस्तावमाथि छलफल नगराएको भन्दै आलोचना भएको थियो । महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्वित हुनुहुन्छ ।      प्रतिनिधिसभाको आजको बैठकमा सांसद खगराज अधिकारीले प्रतिनिधिसभा नियमावलीमा प्रतिनिधिसभा नबस्दा सभामुखले महाअभियोगको प्रस्ताव सात दिनभित्र बैठक बोलाउने र तीन दिनभित्र टुङ्ग्याउनुपर्ने व्यवस्था भए पनि पाँच महिनासम्म सोही उठाइरहेको बताउनुभयो ।      सांसद पुष्पकुमारी कायस्थ राणाले आफू प्रधानन्यायधीशका रुपमा रहँदा संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, अदालतको नेतृत्व नगरेको, कार्यक्षमतामा प्रश्न उठेको लगायतका कारण अभियोग दर्ता भएको उल्लेख गर्नुभयो ।        सांसद महेश बस्नेतले संसद्को कार्यकाल सकिन लागेकाले यो प्रस्ताव विचराधीन हुँदै राणाको कार्यकाल सक्ने योजना बुझिएको धारणा राख्नुभयो । सांसद निरुदेवी पालले विगतमा सुशीला कार्कीलाई हचुवाका भरमा प्रस्ताव लगाइएकामा त्यसबाट पाठ नसिकी पुनःमहाअभियोग दर्ता गरिएको बताउनुभयो ।      सांसद डा सूर्यप्रसाद पाठकले सांसदका गतिविधि नागरिकले नियालेका भन्दै अबको निर्वाचनमा सबै आआफ्नो क्षेत्रमा गएर नागरिकलाई आफ्ना कामबारे सोध्न सक्नुपर्ने  बताउनुभयो । सांसद चाँदतारा कुमारीले राणाले नै रञ्जन कोइरालाको मुद्दा उल्टाएको, बिचौलियामार्फत काम गरेको र राणामा नैतिकता, क्षमता नदेखिएकाले सो मुद्दा चाँडो छिनोफानो गर्नुपर्ने भनाई राख्नुभयो ।     सांसद घनश्याम खतिवडाले निर्वाचन घोषणा भइसकेको र सांसद पनि निर्वाचनमा जाने समय भएकाले यो विषय अहिले ढिलो आएको बताउनुभयो । सांसद सरिताकुमारी गिरीले प्रस्ताव दर्ता भएको तीन दिनमा छलफल गर्नुपर्ने भए पनि ढिलाइ भएर कामुले चलाउँदा न्यायालय अलपत्र भएको औँल्याउनुभयो ।      सांसद डा डिला सङ्ग्रौला पन्तले संविधानको भावनाविपरीत न्यायालय ध्वस्त पार्न खोजेकाले प्रस्ताव ल्याइएको भन्दै न्यायलयमा नैतिक र चरित्रवान् व्यक्ति चाहिने र न्यायालयको भ्रष्टाचारका विषयमा संसद्मा पक्ष विपक्ष हुन नहुने बताउनुभयो ।       सांसद डा भीमबहादुर रावलले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैतिर कानुन मिच्ने काम भइरहेको आरोप लगाउनुभयो । सांसद मीनबहादुर विश्वकर्माले प्रस्ताव दर्ता हुँदा सरकार र प्रतिपक्षमा विभक्त नभएकाले अहिले पनि छलफल गरेर प्रस्ताव सोही ढङ्गले टुङ्ग्याउनुपर्ने धारणा राख्नुभयो । सांसद दुर्गा पौडेलले प्रधानन्यायाधीशका विरुद्ध महाअभियोग लगाउनुपर्ने विषयमा नागरिक समाजदेखि सबै एकमत भएकाले संसद्बाट पारित गर्नुपर्ने बताउनुभयो ।      सांसद प्रकाश रसाइली स्नेहीले न्यायालयभित्र ढिलासुस्ती र अनियमितता भएकाले त्यो सुधार्न ढिला भए पनि प्रस्ताव पारित गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । 

    पोखरा:  सिद्धार्थ आर्थिक कोरिडोर सिकाई गोष्ठी पोखरामा सुरु भएको छ । प्रभावकारिता स्थानीय सेवाका लागि सार्वजनिक निजी साझेदारीका विषयमा गहन छलफल हुने उक्त गोष्ठीमा १६ वटा स्थानीय तह प्रमुख र उपप्रमुखका साथै प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता छ । सिद्धार्थ आर्थिक कोरिडोरका लागि स्थानीय तहका प्रमुखहरूको साझा मचद्धारा आयोजित गोष्ठीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।   गोष्ठीको उद्घाटन गर्दै प्रमुख आचार्यले सिद्धार्थ कोरिडोरको पर्यटनसँगै आर्थिक विकासमा महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा छलफल हुने हरेक विषयहरू माथिको सार्थकता र औचित्यले यस क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारणमा विशेष महत्त्व राख्ने उहाँले बताउनुभयो । सरकार सञ्चालनमा जनप्रतिनिधि र कर्मचारीहरू बिच प्रभावकारी समन्वय कायम गर्न समेत यस प्रकारका फोरमहरू फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरालाई पर्यटन राजधानी घोषणाका लागि सङ्घ सरकारलाई आग्रह गरिएको जनाउँदै प्रमुख आचार्यले हरेक स्थानीय पालिकाहरूले आफ्नो विशेषता अनुसारको योजना बनाउनुपर्नेमा जोड समेत दिनुभयो ।   गोष्ठीमा कोरिडोर अन्तर्गत रहेका पालिकाहरूको अवसर र चुनौती तथा नागरिक प्रति स्थानीय सरकारको जिम्मेवारीलाई मध्यनजर गरी आर्थिक विकासका अवसरको उच्चतम सदुपयोग गर्न र प्रभावकारी समन्वय एवं सहकार्यका प्रयास र त्यसका अनुभवको आदान प्रदान गरिनेछ । मेयर फोरमका अध्यक्ष सन्तोषलाल श्रेष्ठका अनुसार गोष्ठीमा कोरिडोर अन्तर्गतका पालिकामा भइरहेको विकाश निर्माण, भावी योजना र राष्ट्रिय परिस्थितका बारेमा समेत समीक्षा हुनेछ । यस क्षेत्रका सम्भावनाका विषयमा समेत विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । भारतको सहयोगमा निर्मित सिद्धार्थ राजमार्ग वि।सं। २०२८ मा सञ्चालन आएको थियो । पोखराबाट भारतीय सीमा सुनौलीसम्म १८० किलोमिटर लामो छ ।  

  गुल्मी:  गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा  पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ  ।      आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

  काठमाडौं:   सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार तीनसय तोकिएको छ ।   अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु पाँच सयले घटेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार आठसय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार तीनसय थियो ।        त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार दुई सय पाँच तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।