तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

  काठमाडौं:   प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधानले सुनिश्चित गरेका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको बताउनुभएको छ ।     विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ को उद्घाटन गर्दै उहाँले आदिवासी जनजातिका हितका लागि सरकारले विभिन्न महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्नुभयो ।      प्रधानमन्त्री देउवाले भन्नुभयो, “वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको छ । संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरी उनीहरूको उत्थान विकास गर्दै जातीय पहिचान र भाषा संस्कृतिको संरक्षणमा पनि काम गर्दै आएको छ ।”     प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने जरुरी औँल्याउनुभयो । उहाँले राज्यका सबै तह र तप्कामा समावेशीकरणको नीतिलाई प्रभावकारी बनाउँदै राष्ट्रको विकास र समृद्धिमा उनीहरूको योगदानको उच्च कदर गर्न आवश्यक रहेको बताउनुभयो ।     प्रधानमन्त्री देउवाले आदिवासी जनजाति समुदायको विकास, उनीहरूका हक अधिकारको सुनिश्चितका लागि महासङ्घले अघि बढाउने हरेक सवालमा सरकारले सदैव साथ दिने विश्वास व्यक्त गर्नुभयो । “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक, विविधताभित्रको एकता मूल मन्त्रका रूपमा रहेको भन्दै उहाँले थप्नुभयो, “नेपालका विभिन्न जाति, भाषा, समुदायबीच एकअर्काप्रति सामाजिक सद्भाव र सहिष्णुता अत्यन्त राम्रो छ । जुन नेपालको विशिष्ठ पहिचान भएकाले यसलाई चिरकालसम्म अक्क्षुर्ण राख्नुपर्छ ।”     प्रधानमन्त्री देउवाले नेपाल एकीकरणदेखि आजको अवस्थासम्म आइपुग्दा राष्ट्र निर्माणमा नेपालका आदिवासी जनजातिको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै दिवसले आदिवासी समूदायको हकहितको प्रवद्र्धनका साथै पारस्परिक सद्भाव, सहयोग र एकता अभिवृद्धिका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।     नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेस स्थापनासँगै प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको र त्यसमा सर्वमान्य नेता गणेशमान सिंह आदिवासी समुदायमा मात्र नभई अन्तर्राष्ट्रियरूपमा पनि चर्चित व्यक्तित्व भएको स्मरण गर्नुभयो ।      नेपालको संविधानले सामाजिक न्याय र समावेशिताको नीतिअन्तर्गत आदिवासी जनजातिलाई आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै उनीहरूलाई राज्यबाट प्राप्त हुने अवसर र लाभलाई विशेष व्यवस्था गरेर आत्मसात् गरेको उहाँको भनाइ थियो ।

  काठमाडौं:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताउनुभएको छ ।   चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको आजको छलफलमा मन्त्री पौडेलले भन्नुभयो, “नर्सिङलगायत विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ । कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔँ ।”    मेडिकल शिक्षा एकैदिन दुई ‘सिफ्ट’मा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएको बताउँदै उहाँले सो अनुसार कार्यान्वयन गर्न निर्देशन दिनुभयो । “दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ”, मन्त्री पौडेलले भन्नुभयो, “यसलाई कार्यान्वयन गरौँ आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थमन्त्रालयसँग बजेट मागौँ ।”

  काठमाडौं:  नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौँ माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।   पक्राउ ज्ञानेन्द्रले काठमाडौँको माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया एक महिलाले घाँटीमा लगाएको पहेँलो धातुको सिक्री लुटेर फरार भएका थिए । उनलाई प्रहरीले टोखा नगरपालिका–८ जाल्पाचोकबाट पक्राउ गरेको हो । प्रहरीले ज्ञानेन्द्रसँग तीन थान सिक्रीसमेत बरामद गरेको छ । 

  गण्डकी:  साउन महिनाको तेश्रो सोमवार पोखरा १७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिरमा आज विहानैदेखि दर्शनार्थिको भिड लागेको छ ।   रातोपैह्रा सामुदायिक वन समुहमा अवस्थित शिव र गणेश मन्दिरको दर्शन पुजा आराधना सहित १०८ शिवलिङ्गमा गाईको दुध र सेतीनदीको पवित्र जल अर्पण गर्ने श्रद्धालु भक्तजनाको भिड लागेको हो ।   साउन महिना र सोमवार भगवान शिवकोवारका रुपमा लिइन्छ । उक्त दिन शिवको पुजा आराधना एवम् दर्शन गर्नाले मनोकांक्षा पुरा हुने विश्वास भक्तजनामा रहेको छ । भक्तजनले सेतीनदीमा स्नान गरि पवित्र जल ल्याएर शिवलिङ्गमा चढाउने प्रचलन छ ।   गाईको दुध, विभिन्न पुजा सामाग्री सहित फुल प्रसाद लिएर पोखरा आशपासबाट भक्तजनहरु दर्शन गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले जानकारी दिनुभयो । साउन महिनाको पहिलो र दोश्रो सोमवार भन्दा तेश्रोवार आज बढी दर्शनार्थी श्रद्धालु भक्तजनको भिड लागेको बताउँदै उहाँले भन्नुभयो यसलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न सवैको साथ र सहयोग आवश्यक छ ।   ओमकारेश्वर मन्दिर लगायत पोखराका केदारेश्वर, गुप्तेश्वर महादेव, सदाशिव हरिहर महादेव लगायतका शिवालयहरुममा आज गाईको दुध र पवित्र जल चढाउने भक्तजनहरुको भीड लागेको छ । तस्वीर उपलव्ध छ ।  

  काठमाडौँ:    नागरिकताको अपमानजनक नाम सच्याउन गृहृ मन्त्रालयले निर्देशन दिएको छ।   मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको हो ।   त्यस्तै यसअघि नागरिकतामा अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्याएर सच्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।        

  काठमाडौं:   अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो ।                बालबालिकाको पठनपाठनमा केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्नका विभिन्न सामग्री, विद्यालय झोला, टिफिन बक्सलगायतका सामग्री सहयोग गरिएको तानसेन शाखाका प्रबन्धक विष्णुप्रसाद भण्डारीले बताउनुभयो । कर्मचारीले आफ्नो आम्दानीमध्येको केही रकम सङ्कलन गरेर अनाथ तथा बेसहारा बालबालिकालाई सहयोग गरिएको बैंकले जनाएको छ । नेपालगञ्जको मानवसेवा आश्रम, दाङको घोराहीमा रहेको नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्र, रुपन्देहीको सैनामैना र अमुवा, नवलपरासीको बर्दघाटमा समेत विभिन्न सामग्री सहयोग गरेको छ ।       सामाजिक कार्यसँगै बित्तिय कारोबार, साक्षरता कार्यक्रमलाई समेत प्रभावकारी रुपमा अगाडी बढाउँदै आएकोछ । बैंक सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्य गरिरहेको छ । 

  काठमाडौं:   हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नगरिकहरुको बाध्यता अभै हटेको छैन ।      पुल समयमा नबन्दा वर्षामा आवातजावात ठप्प हुने र हिउँदमा पनि डुङ्गाको भरमा यात्रा गर्नुपर्ने अवस्था रहेको गौरीगङ्जकी टीकामाया लिम्बुले बताउनुभयो । विसं २०६८ मा रु ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पुको जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ । तर पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन । वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ । वर्षातमा सधैँ काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन । यति ठूलो योजनामा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय अगुवा इश्वर माझीले बताउनुभयो ।      पुल नबन्दा त्यहाँ वर्षौदेखि नदि तर्न डुङ्गाको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन । झापामा हुलाकी सडकको अधिकांश कार्य सकिन लाग्दा मुख्य नदी र खोलाको तीन पुल नबन्दा भने सडक सञ्चालनमा मै समस्या हुँदै आएको गौरीगञ्ज वडा नं. १ चउरी बस्तीका अगुवा रामप्रसाद प्रसाईंले बताउनुभयो ।    दोस्रो विरिङ पुल भने आगामी वर्ष काम सकिने निर्माण कम्पन्नी लामा मैनाचुलीका इञ्जिनीयर राघव यादवले बताउनुभयो ।

पर्वत । पर्वत जलजला गाउँपालिका ७ धाइरिङ धारापानी गाउँमा हाइभोल्टेज लाइन प्रशारण  हुँदा एकजनाको मृत्यु भएको छ ।   प्रशारण लाइनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण हुदाँ करेन्ट लागेर धारापानीकी ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको हो ।    घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको स्थानीय मिलनचोकी प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्काले जानकारी दिए ।   खड्काका अनुसार थप १२ जना करेन्ट लागेर  घाइते भएका छन् ।   हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुईसय घरधुरीका मिटरबक्स जलेका छन् । वितरण लाइन चुँडिएर स्थानीय प्रताप आचार्यको बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा मरेका छन् ।   विद्युत कार्यालयको लापरवाहीका कारण दुःखद घटना घटेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । घटनाको जिम्मेवारी विद्युत कार्यालयले लिनुपर्ने उनको भनाइ छ । घटनास्थलमा अहिले पालिका अध्यक्ष आचार्य, वडाका जनप्रतिनिधि र प्रहरी टोली पुगेको छ ।    टान्सफर्मरबाट वितरण लाइनमा हाइभोल्टेज विद्युत प्रसारण भएकाले घटना घटेको हुनसक्ने अनुमान गरिएको छ ।   उता, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्योभन्दा धेरै भोल्टेज प्रसारण भएको बताए ।    आज बिहानै विद्युत समस्या समाधानका लागि केहि स्थानमा रुख हटाउने काम भएको उनले बताए ।    कार्यालय प्रमुख गोशेलीले कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए ।    गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताए।    

  पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धौलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ ।     जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन् । जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो ।    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बाँध र दुई वटा अडिटबाट सुरुङ निर्माण रोकिएको बताउनुभयो ।    “दग्नामबाट खसेको पहिरोका कारण झिँको सिमानामा रहेको बाँध, अडिट १ र २ को सुरुङ निर्माण रोकिएको छ”, उहाँले भन्नुभयो, “पावर हाउस र अन्य अडितको काम भने निरन्तर भइरहेको छ । बाँधतर्फ जाने पहुँचमार्गमा पैदल हिँडेर पनि जान नसकिने पहिरो खसेको छ ।” राहुघाट नदीमा आएको बाढीले ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले भाडामा लिएको डोजर बगाएको थियो । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिले निर्माण गरिरहेको २१।३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन् ।    तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले दग्नामको औरी, चिमखोला र मलाङको पहिरोका कारण डिजेल, सिमेन्ट, रड र विस्फोटक पदार्थ ढुवानी हुन नसकेको बताउनुभयो । भएका सामान सकिएपछि भरिया र खच्चरमा बोकाउँदा महँगो पर्न गएको इन्जिनियर तिमिल्सिनाले बताउनुभयो ।    धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर बालकुमार रोकाले पहिले दैनिक तीन पटक विस्फोटक हुने गरेकोमा बर्खा लागेपछि एक पटक मात्र गर्न सकिएको बताउनुभयो ।    धौलागिरि र मालिका गाउँपालिकामा अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण थालेको ५३.५० मेगावाट क्षमताको अपर म्याग्दी पहिलो र हाइड्रो इम्पायर प्रालिले धौलागिरि गाउँपालिका–४ मा निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनास्थल पनि सडक सम्पर्कविच्छेद भएको छ ।    नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको १३२ केभी क्षमताको डाडाखेत सवस्टेशन निर्माणस्थल जोड्ने सडक पनि अवरुद्ध भएको छ । निरन्तरको बर्सातका कारण दिनमा मर्मत गरिने सडक रातमा भत्किने गर्छन् । निर्माण सामग्री र इन्धनको व्यवस्थापन गर्न नसक्दा आयोजनाका निर्माण कम्पनीले मजदुर घटाएका छन् ।    अन्नपूर्ण गाउँपालिकामा सञ्चालित ७१ मेगावाट क्षमताको नीलगिरि क्यासकेड, ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो, १४ मेगावाट क्षमताको घारखोला र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण कार्यलाई भने निरन्तरता दिइएको प्रवद्र्धकले जनाएका छन् ।    विद्युत् विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।   ३४६.०३ मेगावाट क्षमताका छ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन् ।    सबैभन्दा बढी १० जलविद्युत् आयोजना रहेका अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छन् ।