काठमाण्डौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरुबारे जानकारी भए अवगत गराउन सांसद्हरुलाई आग्रह पनि गर्नुभयो । मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने भएको र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने स्पष्ट गर्नुभयो । उहाँले विश्वविद्यालयमा तालाबन्दी र हड्ताल गर्ने कार्य गलत भएको र कुनै समस्या भएमा आपसी सम्वादबाट समाधान गर्नुपर्ने सांसद्हरुको भनाइमा सहमत हुँदै विश्वविद्यालयको पढाइ र शैक्षिक क्यालेण्डरलाई प्रभावित पार्न नहुने जनाउनुभयो । बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । प्रतिवेदन पेश बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी विधेयक माथिको दफाबार छलफल र निर्णयसहितको प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभापति पोखरेलले तेजाब नियन्त्रणसम्बन्धी विधेयकमाथिको दफाबार छलफल र निर्णयसहितको प्रतिवेदन पेश गर्नुभयो । बैठकमा मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २२ गते बुधबार बिहान ११ बजे बस्नेछ ।
काठमाण्डौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ । कूल २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता शेयर ७५ हजार ७९० पटक कारोबार भयो । आजको कूल कारोबार रु चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ बराबरको रह्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६१ अर्ब ८५ करोड ९१ लाख ८६ हजार २९० बराबर रहेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने नो उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जीवन बीमा ५८.६८, सामूहिक लगानी कोष ०.०१, निर्जीवन बीमा ४८.०७ र व्यापार १४०.१५ अङ्कले उकालो लाग्यो । बैंकिङ १.९७, विकास बैंक ५२.९६, वित्त ६.३१, होटल तथा पर्यटन ४६.८९, जलविद्युत् १२.८५, लगानी ०.०५, उत्पादन ४५.३८, लघुवित्त ६१.२५ र अन्य उपसमूह २९.६९ अङ्कले ओरालो लाग्यो । कारोबार भएकामध्ये आज ७१ कम्पनीको शेयर मूल्य उकालो लाग्यो भने ११६ कम्पनीको ओरालो लागे । ६ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५८ लाख ८३ हजार २७१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९० लाख ५१ हजार ४२७, एशियन लाइफ इन्स्योरेन्स रु १२ करोड ९६ लाख ६७ हजार २१८, अरुण काबेली पावर रु ११ करोड ७८ लाख ८६ हजार ६५४ र माथिल्लो तामाकोशी रु ११ करोड ६७ लाख तीन हजार १२७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार सिवाइसिएल नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी ग्रुप पावर ९.९८, सामलिङ पावर कम्पनी ७.७०, साल्ट ट्रेडिङ कर्पोरेशन ६.८५ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६.६७ प्रतिशतले कमाए । ग्लोबल आइएमई बैंकको ऋणपत्र ९.७५, युनियन हाइड्रोपावर ६.१८, ग्रीन लाइफ हाइड्रोपावर ६.०४, मैलुङ खोला जलविद्युत् कम्पनी ५.९३ र समटि लघुवित्तका लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाए ।
काठमाडौँ: विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ । देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसद्देखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिती घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ । ती सामानको आयातमा मात्रै अर्बौं बराबरको रकम विदेशिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै रु ३० करोड ८३ लाख ५१ हजार रकम बाहिरिएको छ । विशेषगरी महिलाले प्रयोग गर्ने लिपिस्टिकलगायतका सामग्रीको आयातमा उक्त परिमाणको रकम बाहिरिएको हो । स्वास्थ्यका दृष्टिले लिपिस्टिकको प्रयोगलाई राम्रो मानिँदैन । चालु आवको जेठ मसान्तसम्म कूल दुई लाख ३७ हजार ४२९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ । ती सामग्रीको आयात गर्दा सरकारले रु ११ करोड ३७ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै रु १२ करोड ५९ लाख ५३ हजार मूल्य बराबरको करिब ४० हजार ७६३ केजी लिपिस्टिकलगायतका सामग्री आयात भएको छ । त्यस्तै चीनबाट एक लाख ९० हजार ६८७ केजी बराबरको सामग्री रु ११ करोड ६० लाख ४८ हजार मूल्यमा आयात भएको छ । यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागिसमेत निकै रकम खर्च भएको छ । ती सामानको आयातका लागि २२ करोडभन्दा बढी रकम विदेशिएको छ । चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि रु २२ करोड ८१ लाख ९७ हजार बराबर रकम बाहिरिएको छ । यसबाट राज्यले रु आठ करोड ६४ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । आँखा सजावटका सामान भारतबाट मात्रै रु १० करोड ५६ लाख २६ हजार मूल्य बराबरको कूल छ हजार ६२९ केजी परिमाणमा आयात भएको छ । त्यस्तै चीनबाट रु छ करोड ९९ लाख २७ हजारमा ७८ हजार ३५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ । त्यस्तै मेकअपका अर्को सामानका रुपमा रहेको क्रिम पाउडरको आयातमासमेत करोडौँ रकम खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा रु ९३ करोड ४९ लाख ९६ हजारका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले रु ३५ करोड २९ लाख ८० हजार बराबरको राजस्व सङ्कलन गरेको छ । यस अवधिमा विभिन्न मुलुकबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि रु २८ करोड ६६ लाख ४२ हजार मूल्य विदेशिएको छ । यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै रु ६४ करोड ८३ लाख ५५ हजार मूल्यमा दुई लाख ६२ हजार ७२५ केजी मुलुकमा भित्रिएको छ । विभागका अनुसार यस अवधिमा २४ हजार ४१८ लिटर नङमा लगाउने ‘नेलपोलिस’ आयात भएको छ । एघार महिनामा नेपालीले रु पाँच करोड नौ लाख २३ हजार मूल्य खर्च गरेर नेलपोलिस आयात गरेका छन् । मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका मुलुकबाट आयात हुने गरेको पाइएको छ । यस अवधिमा चीनबाट रु दुई करोड ५८ लाख ४१ हजार तथा भारतबाट रु दुई करोड ३९ लाख १८ हजार बराबरको नेलपोलिस आयात भएको छ । ४३ करोडभन्दा बढीको बडीलोसन विभागको विवरणअनुसार जेठ मसान्तसम्म रु ४३ करोड ५७ लाख ५२ हजार मूल्यमा पाँच लाख सात हजार ५८८ केजी लोसन आयात भएको छ । त्यसबाट सरकारले रु १६ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै रु ३१ करोड ४२ लाख ६८ हजार मूल्यमा दुई लाख ८४ हजार २०२ केजी बराबरको लोसन आयात भएको छ । त्यस्तै थाइल्यण्डबाट रु पाँच करोड ७६ लाख ४५ हजार, इन्डोनेशियाबाट रु दुई करोड ६२ लाख ३५ हजार मूल्य बराबरका लोसन आयात भएका छन् । महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत लाखौँ खर्च हुने गरेको छ । एघार महिनामा रु ९८ लाख १५ हजार मूल्य बराबरको ४५ हजार ८०७ केजी सिन्दुर आयात भएको छ । सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ । विभागका अनुसार भारतबाट रु ९७ लाख ९२ हजार बराबरको सिन्दुर आयात भएको छ । त्यस्तै शृङ्गारका अन्य समानको आयातमा रु दुई अर्ब ८९ करोडभन्दा बढी रकम विदेशिएको छ । स्याम्पु आयातमा एक अर्ब विदेशियो हामीले नुहाउँदा प्रयोग गर्ने स्याम्पु आयातमा अर्बौं विदेशिने गरेको विवरण सार्वजनिक भएको छ । चालु आवको ११ महिनामा रु एक अर्ब आठ करोड १० लाख ५४ हजार बराबरको रकम स्याम्पु आयातमा खर्च भएको छ । करिब ५७ लाख ८० हजार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो । स्याम्पुको आयातबाट सरकारले भने रु ४६ करोड ४७ लाख ९० हजार राजस्व जम्मा गरेको छ । यसैबीच कपाल रङ्गाउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा रु ५० करोड ५१ लाख २९ हजार बराबरको रकम मुलुक बाहिर गएको छ । एघार महिनाका अवधिमा कूल सात लाख ५८ हजार ७२६ केजी यस्ता रङ आयात भएको छ भने कपालमा लगाउने क्रिमका लागि रु छ करोड १७ लाख ६६ हजार बराबरको रकम मुलुक बाहिर गएको छ ।
बागलुङ : बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रवद्र्धनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृकार्य(श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संकृतिको विकास गर्न अभियान थालिएको हो । आफन्तको सम्झनामा वृक्षरोपण गर्न प्रेरित गर्दा सर्वसाधारणलाई बुझाउन सहज हुने र बिरुवा रोप्ने संस्कारको विकास गर्दा वातावरण जोगाउन सहज हुने भएकाले यो अभियान सुरुआत गर्न थालिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । “हिजो पितृको सम्झनामा रुख रोप्ने, चौतारी पोखरी बनाउने प्रचलन थियो, अहिले त्यो हरायो”, श्रेष्ठले भन्नुभयो, “हामीले संस्कारलाई वातावरणसँग जोड्न नसकेकाले हिजोको चलन हराएको हो, त्यो वैज्ञानिक चलन थियो भनेर यो कार्यक्रम ल्याएका हौँ ।” सडक तथा पूर्वाधार निर्माणका क्रममा मासिएका रुखको पुनःस्थापनाका लागि यो कार्यक्रम प्रभावकारी हुने श्रेष्ठको विश्वास छ । “आज सडक बनाउँदा सबैले जङ्गल, चौतारी र पोखरी खोजीखोजी मासे, तर नयाँ बिरुवा लगाउन कसैको ध्यान गएन”, श्रेष्ठ भन्नुहुन्छ, “अब श्राद्ध गर्दा होस् वा स्मृतिसभा गर्दा दान गर्ने साटो रुख रोप्ने अभियान चलाउनुपर्छ ।” नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा यो अभियानलाई जोड्ने योजना छ । नगर क्षेत्रभित्रका सङ्घसंस्थालाई समेत वातावरणको संरक्षणमा जोड्ने योजना नगरपालिकाले बनाएको छ । ‘एक संस्था एक पार्क’ निर्माण गर्ने कार्यक्रम ल्याइनेछ’, श्रेष्ठ भन्नुहुन्छ, “सामान्य प्रयासले मात्रै धेरै काम गर्न सकिन्छ ।” वन्यजन्तु र वातावरण संरक्षणलाई सँगै लैजाने योजना बनाएको नगरले सामुदायिक वन विकास कार्यक्रमलाई उत्पादन र रोजगारीसँग जोड्ने भनेको छ । कृषि बालीमा हानी पु¥याउने बाँदरलगायतका जीवजन्तुलाई प्राकृतिकरुपमा नियन्त्रण गर्न ‘फुड फरेस्ट’ कार्यक्रम सञ्चालन गर्ने योजना नगरले बनाएको छ । बाँदर प्रभावित क्षेत्रमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, केराखेती, मौरीपालन र पशुपालनलाई प्रवद्र्धन गरिने नगरप्रमुख श्रेष्ठको घोषणा छ । नगरक्षेत्रभित्रका महत्वपूर्ण तालतलैया, कुवा, पोखरीलगायत प्राकृतिक जलाशयको संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पु¥याउन एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । वर, पीपल, स्वामीलगायतका वृक्ष र परम्परागत चौतारी, पोखरीको संरक्षण र सम्वद्र्धन गर्ने योजना पनि नगरले अगाडि सारेको छ ।
काठमाडौँ: काठमाडौँ–३२ का सुमन अधिकारी सडकमा रहेको हिलो आफ्नो पसल भित्रै पस्दा हैरान हुनुहुन्छ । केही दिन पहिले मात्रै खानेपानीका लागि भन्दै सडक खनिएकामा अझै राम्रोसँग पुरिइसकेको छैन । वर्षाको समय सडक हिलाम्मे हुँदा सडकमा सवारी साधनले हिलो छ्याप्ने गरेको उहाँले बताउनुभयो । साँझमा सामान्य सडक आफू बिहान उठ्दासम्म खनिसकेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान गाडी र मोटरसाइकलसमेत निकाल्न नसक्ने गरी खनिएको रहेछ ।” वर्षाका समयमा सडक खन्न नहुने भन्दै कतिपय स्थानीयवासीले विरोध गरे पनि नरेफाँट क्षेत्रमा अहिले धमाधम सडक खनिरहेको देख्न सकिन्छ । एकातिर ढल निकास छैन भने अर्कातिर वर्षाको समयमा सडक खनेकाले भित्री सडक अस्तव्यस्त बनेको छ । सङ्घीय सरकारले केही वर्षयता मुख्य सडक सबैतिर कालोपत्र थप्ने काम गरिरहँदा भित्री सडकमा भने खाल्डा भएको हो । कामपा वडा नं १० शङ्खमूल क्षेत्रमा सहजरुपमा आवागमन गर्ने अवस्था नरहेको स्थानीय नीता शर्माले गुनासो गर्नुभयो । शर्माका अनुसार धेरै ठाउँमा खाल्डा भएकाले बालबालिका विद्यालय जाँदा वा फर्कंदा पानी छ्याप्ने गर्छ । आफूले काम परेर निस्कँदा पनि हैरान भएर फर्कने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नपरेको दिन जेनतेन हिँडे पनि पानी परेको समयमा बाटो परिवर्तन गरेर लामो बाटो हिँड्नु पर्नेछ ।” त्यसैगरी कामपाको वडा नं १८ स्थित दमाईंटोलमा धेरै ठाउँमा खाल्डैखाल्डा भएको छ । यस वर्ष असार लागेसँगै नियमित पानी परिरहेको छ । वर्षा पहिले नै सडकमा खाल्डा परेको भए पनि पुरिएको थिएन । अहिले वर्षाका कारण सडकमा धेरै ठाउँमा र पहिलेभन्दा ठूलाठूला खाल्डो परेको स्थानीय विगुल कपालीले भन्नुभयो । उहाँका अनुसार सडकमा भएको खाल्डा र त्यसका कारण स्थानीयलाई परेको प्रभावका कारण वडा कार्यलयमा जानकारी गराइसकेको छ । वडाका प्रतिनिधिले महानगरमा जानकारी गराएमा खाल्डा पुरिँने स्थानीयवासीको अपेक्षा छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नयाँ पाइप खन्ने र नेपाल विद्युत् प्राधिकरणले तार अण्डर ग्राउण्ड गर्दा काठमाडौँ महानगरका भित्रि सडक खाल्डैखाल्डा भएको छ । वर्षाको समयमा सडक खनिँदा हिलोका कारण पैदलयात्रु र सवारी चालक दुवैलाई यात्रा गर्न गाह्रो भएको छ । राम्रो बाटो अहिले बिग्रेको र पहिले बिगारेको सडक पनि अझैसम्म नबनाउँदा वर्षाको समयमा नागरिकले दुःख पाइरहेका छन् । सडक खन्नुमा आफ्नो कमजोरी नभए पनि महानगरवासीको अनावश्यक गुनासो सुन्नुपरेको महानगरले जनाएको छ । महानगरपालिका प्रमुखमा बालेन्द्र साह निर्वाचित भएपछि प्राधिकरण र लिमिटेड दुवैसँग यस विषयमा छलफल भएको महानगरका भौतिक पूर्वाधार शाखाका प्रमुख राम थापाले बताउनुभयो । नगर प्रमुखको कार्यकक्षमा बैठक भएपछि पनि दुई पटकसम्म पत्राचार गरिएको र पटकपटक मौखिम भनिएकोे उहाँले बताउनुभयो । बैठकमा र कुराकानीमा काम चाँडो गर्ने भने पनि ढिलाइ भइरहेको उहाँले बताउनुभयो । खनिएको सडक नबनाउँदा अरु सडक बिग्रने प्रमुख थापाले बताउनुभयो । सडक खनेको समयमा मर्मत नहुँदा महानगरवासीले दुःख पाउने गरेका छन् । प्राधिकरणलाई विद्युत् नआउँदा वा लिमिटेडलाई पानी नआउँदा गुनासो गर्ने भए पनि सडकमा खाल्डा हुँदा महानगरलाई नै गुनासो गर्ने उहाँले बताउनुभयो । सडक जसले बिगा¥यो उसले बनाउनुपर्ने समझदारीपत्रमा उल्लेख भए पनि खन्ने निकायले मर्मत गर्न ढिलाइ गर्दा महानगरवासीले हैरानी भोग्न बाध्य हुने गरेका हुन् । समयमा सडक नबनाउँदा वर्षाको पानीले थप बिग्रिरहेको प्रमुख थापाले बताउनुभयो । बिगार्ने निकायले जति क्षेत्रफल बिगारेको हो त्यसमा मात्रै मर्मत गर्ने भए पनि समयमा मर्मत नहुँदा त्यसले थप ठाउँ बिगार्छ । सडक खन्नका लागि बालुवाटार, लाजिम्पाट, कलङ्की, डल्लुलगायतका स्थानमा मात्रै अनुमति दिइएको भए पनि अहिले धेरै स्थानमा खनिरहेको पाइएको छ । पुस र माघमा नै ती ठाउँमा वैशाख, जेठभित्रै काम सकाउने भने पनि अहिले पनि खनिरहेको देख्न सकिन्छ । उहाँले भन्नुभयो, “पानी, बत्तीका लागि भनेपछि स्वीकृति पनि दिनुपर्यो, तर सम्झौताअनुसार काम हुँदैन ।” गोङ्गबु, सामाखुसी, नयाँ बजारलगायतका स्थानमा सहमति नदिए पनि धमाधम सडक खन्ने काम भइरहेको देख्न सकिन्छ । महानगरले स्वीकृति नै नदिएका धेरै ठाउँमा खनेको प्रमुख थापाले बताउनुभयो । स्वीकृति दिएको ठाउँमा त सडक समयमा बनाएको छैन भने स्वीकृति नै नदिइएको ठाउँमा महानगरले केही गर्न सक्दैन । महानगरपालिकाको वर्षामा दुई महिना खन्न नदिने नीति रहेको छ । यो समयमा सहमति र स्वीकृति नदिने गरिएको भए पनि पहिले दिइएको सहमतिका आधारमा खनिरहेको उहाँले बताउनुभयो । सामान्यतया सबैतिरका सडकमा वर्षाका समयमा खाल्डाखुल्डी बढी देखिन्छ । पानी जम्दा गाडीको चक्काले उछिटेर झन बढी खाल्डा हुनेहुँदा महानगरले त्यसका लागि एक महिनादेखि कन्सट्रक्सन एम्बुलेन्स सञ्चालन गरिरहेको छ । यहीबीचमा खाल्डाखुल्डी पुरिएको र कतिपय ठाउँमा काम भइरहेको उहाँले बताउनुभयो । ‘कन्स्ट्रक्सन एम्बुलेन्स’ मा दुई एम्बुलेन्स र १० जना जनशक्ति मात्रै भए पनि एकैपटक धेरैतिरबाट माग भइरहेको प्रमुख थापाले बताउनुभयो । यसरी खाल्डा पुर्ने काम एउटै ठाउँमा नभएर ठाउँठाउँमा हुने भएकाले बढी समय लागेको उहाँले बताउनुभयो । स–सानो कामलाई मिलाएर गर्नुपर्ने र सडकमा सवारीसाधन पनि व्यवस्थापन गर्नुपर्ने हुँदा बढी समय लाग्ने उहाँले बताउनुभयो । बिहान, बेलुका र दिउँसो ३२ वटै वडामा काम भइरहेको छ । उहाँले भन्नुभयो, “एकैपटक नभ्याए पनि गुनासोका आधारमा गरिरहेको छौँ, गुनासो र हामीले गर्ने कामको सन्तुलन अझै मिल्न सकेको छैन ।” समयसमयमा सडक खनेको लामो समयसम्म नपुर्ने गर्दा महानगरवासी कामपालाई नै गुनासो गर्छन् । कुनैकुनै ठाउँमा एउटै ठेक्कामा खन्ने, पुर्नेदेखि कालोपत्रसम्मको हुन्छ । त्यस्तोमा महानगरले कानुनीरुपमा पनि काम गर्न मिल्दैन । तर खन्ने र पुर्ने मात्रै गरी सम्झौता भएको र लामो समयसम्म काम नभएको पाइएमा आफैँले पनि पुर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समय काम नगर्दा हामीलाई नै लागत दिनुहोस् हामी गर्छौंभन्दा उहाँहरु सकेसम्म तोकिएको कम्पनीमार्फत नै काम सम्पन्न गर्न लाग्नुहुुन्छ ।” महानगरपालिकाले गत महिनाबाट नागरिकको गुनासो सुन्न सुरु गरेको थियो । त्यसमा सडक खाल्डाखुल्डी भएको गुनासो १५ देखि २० प्रतिशत छ । भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी नागरिकको गुनासो सडक खाल्डाखुल्डी भएर आवतजावत कठिन भएको भन्ने छ । फोहर, नक्सा पास र वडाबाट दिने सेवाको गुनासो पछि सडकका गुनासो रहेको पाइन्छ । कामपाले बर्सेनि सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधारका क्षेत्रमा विनियोजन गर्दै आएको छ । आगामी आवका लागि पनि महानगरले रु ११ अर्ब बजेट छुट्याएको छ । चालु आवमा पनि भौतिक पूर्वाधारको रु नौ अर्ब सात करोड बजेट विनियोजन भएको थियो ।
काठमाडौँ: बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार सो जिल्लाका नागरिकले मात्रै रु ९३ करोड ७३ लाख बराबरको रकम मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राखेको पाइएको छ । केन्द्रीय बैंकले सातवटै प्रदेशको आर्थिक अवस्थाका बारेमा नियमित विवरण सार्वजनिक गर्दै आएको छ । सोही क्रममा पछिल्लो पटक लुम्बिनी प्रदेशको विवरणसमेत प्रकाशित गरेको छ । बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कूल निक्षेप गत वर्षको तुलनामा न्यूनरुपमा मात्रै वृद्धि भएको छ । कूल रु चार खर्ब दुई अर्ब ८३ करोड ७६ लाख बराबरको निक्षेप सो प्रदेशभित्र रहेको पाइएको छ । विसं २०७८ असारको तुलनामा ९ प्रतिशतले निक्षेप बढेको छ । रुपन्देहीको हिस्सा सबैभन्दा बढी रहेको पाइएको छ । केन्द्रीय बैंकको विवरणअनुसार कूल ४४.४८ प्रतिशत बराबरको हिस्सा सो जिल्लाको छ । बुटवल, भैरहवालगायतका क्षेत्रमा औद्योगिक विकास भएको, गौतमबुद्ध विमानस्थलसमेत सञ्चालनमा आएको, उद्योग व्यवसाय विस्तार भएकाले सो जिल्लाका नागरिकको कमाई पनि बढ्दो छ । सोही कारणले गर्दा त्यस जिल्लाका नागरिकले बैंक तथा वित्तीय संस्थामा बढीमात्रामा निक्षेप जम्मा गरेका छन् । विवरणअनुसार सो जिल्लाका नागरिकले रु एक खर्ब ७९ अर्ब १८ करोड सात लाख ८० हजार बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थामा राखेका छन् । बाँके जिल्लाको १२.२७ प्रतिशत बराबरको हिस्सा रहेको छ । त्यो भनेको कूल रु ४९ अर्ब ४१ करोड ४५ लाख २० हजार बराबर हो । दाङ जिल्ला आर्थिकरुपमा विकासको गतिमा अगाडि बढेको भए पनि त्यहाँका नागरिकले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप भने कमै देखिएको छ । केन्द्रीय बैंकको विवरणअनुसार सो जिल्लाको हिस्सा मात्रै १०.८१ प्रतिशत बराबर छ । त्यो भनेको कूल रु ४३ अर्ब ५३ करोड ११ लाख ८० हजार बराबर रहेको छ । केन्द्रीय बैंकको विवरणअनुसार कपिलवस्तुको हिस्सा ६.३२ प्रतिशत रहेको छ । सो जिल्लाका नागरिकले रु २५ अर्ब ४४ करोड ३० लाख ४० हजार बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थामा राखेका छन् । लुम्बिनी प्रदेशको पाल्पाको हिस्सा ५.७३ प्रतिशत मात्रै छ । त्यो भनेको कूल रु २३ अर्ब आठ करोड ९१ लाख ५० हजार बराबरको निक्षेप पाल्पावासीले बैंक तथा वित्तीय संस्थामा राखेका छन् । नवलपरासी पश्चिमको हिस्सा ५.५० प्रतिशत अर्थात् रु २२ अर्ब १३ करोड ८० लाख ४० हजार बराबरको रकम निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा राखेका छन् । यसैगरी गुल्मीको हिस्सा ५.२९ प्रतिशत रहेको छ । त्यस जिल्लाका नागरिकले बैंक तथा वित्तीय संस्थामा रु २१ अर्ब ३० करोड ७९ लाख १० हजार बराबरको रकम निक्षेपका रुपमा राखेका छन् । कम निक्षेप राख्ने जिल्लामा क्रमशः अर्घाखाँची, बर्दिया, प्यूठान र रोल्पा रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । अर्घाखाँचीको हिस्सा रु १२ अर्ब ५४ करोड ८६ लाख ३० हजार अर्थात् ३.१२ प्रतिशत बराबरको निक्षेप राखेका छन् । बर्दियाको रु १२ अर्ब ८७ करोड ७४ लाख ७९ हजार अर्थात् ३.२० प्रतिशत बराबर रकम मात्रै निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका छन् । प्यूठानको रु सात अर्ब ७६ करोड ६६ लाख ३० हजार अर्थात् १.९३ प्रतिशत, रोल्पाको रु चार अर्ब ६० करोड ५६ लाख ७० हजार अर्थात् १.१४ प्रतिशत बराबरको रकम मात्रै निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा राखेका छन् । ऋण लिनेमा पनि रुपन्देहीका नागरिक नै अग्रस्थानमा छन् । सो जिल्लामा मात्रै प्रदेशको कूल १२ जिल्लामध्ये सबैभन्दा बढी ऋण लिएको पाइएको छ । केन्द्रीय बैंकको अध्ययनअनुसार सो जिल्लामा मात्रै ५०.१० प्रतिशत बराबरको ऋण लगानी भएको छ । सो जिल्लामा रु दुई खर्ब ६९ अर्ब १४ करोड १२ लाख १० हजार बराबरको ऋण लगानी भएको छ । दाङमा रु ६४ अर्ब २१ करोड ७९ लाख ७० हजार, बाँकेमा रु ८९ अर्ब ८२ करोड तीन लाख ७० हजार, बर्दियामा रु १६ अर्ब ४६ करोड ४३ लाख ३० हजार बराबरको ऋण लगानी भएको छ । निक्षेपसमेत कम राखेको रुकुमपूर्वमा बैैंक तथा वित्तीय संस्थाको लगानी रु ६८ करोड ९० लाख सात हजार बराबर गरेका छन् । प्रदेशगत रुपमा हेर्दा बैंक तथा वित्तीय संस्थाले ०. १३ प्रतिशत बराबरको रकम मात्रै ऋणका रुपमा लगानी गरेको पाइएको छ । प्रदेशभर नै रु चार खर्ब दुर्ई अर्ब ८३ करोड ७६ लाख बराबरको निक्षेप उठाएका बैंक तथा वित्तीय संस्थाले रु पाँच खर्ब ३७ अर्ब १९ करोड १४ लाख ९० हजार बराबरको ऋण लगानी गरेका छन् ।
काठमाडौं: नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको आरोप लगाउनुभएको छ । सोमवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताउनुभएको हो । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उहाँले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताउनु भयो । मन्त्रीहरु मल लिनका लागि भनेर विदेश गए पनि त्यहाँ गएर भूमाफियाहरुको कमिसनमा डुबेर आउने गरेको र मल छिट्टै आउँछ भनेर जनतालाई ढाँट्ने गरिएको उहाँको भनाइ छ । ‘‘कमिसनको चक्करमा यो सरकार फसेको छ । नेपालमा धान उत्पादनको निम्ति मल, बीउ समयमै ल्याएपछि त नेपाली जनताको उत्पादन वृद्धि हुन्छ र नेपाली जनता आफैँमा आत्मनिर्भर हुन्छन् । त्यसप्रति विदेशबाट आउने चामल मित्र राष्ट्र होस् वा बाहिर देशबाट आउने त्यस्ता खालका कृषिजन्य उपजहरु नेपालमा त्यसै पनि आयातमा प्रतिस्थापन हुन्छन् ।,’’ सांसद श्रेष्ठले भन्नुभयो, ‘‘ तर नेपालमा त्यो गर्न चाहिँदैन, किनभने यो त खालि घुम्नका निम्ति, त्यहाँ गएर कुन–कुन भूमाफियासँग सङ्गत हुन्छ । अथवा त्यहाँको सरकारी पक्षसँग सङ्गत हुन्छ । उहाँहरुको कमिशनको चक्करमा मन्त्रीज्यूहरु डुबेर आउने गर्नुहुन्छ र यहाँ ढाँटेर सदनमा प्रस्तुत गर्नुहुन्छ कि नेपालमा जति चाह्यो त्यति मल आउँछ अब तपाईहरु ढुक्क हुनुस् ।’’
काठमाण्डौँ: भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ । कालोपत्र भएको दुई महिनामै कतै भत्कने र कतै भत्काइएको देख्दा नेपालको विकासको दुर्दशा हेरेर बसिरहन परेको स्थानीय ईश्वर श्रेष्ठ बताउनुहुन्छ । सडक ठेक्का भएको सात वर्षसम्म खानेपानीको पाइप नबिच्छ्याउने र तार भूमिगत नगर्ने तर सडक कालोपत्र हुनेबित्तिकै यी काम थालिएको छ । कालोपत्र भएको सडक दुई महिनामै भत्कँदा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको छ । यो समस्याबाट एक दशकसम्म दुःख पाएका स्थानीयवासी र यात्रु फेरि समस्यामा पर्ने भएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महत भत्काइएको सडक निर्माण व्यवसायीले बनाउने प्रतिबद्धता जनाएको बताउनुहुन्छ । नेपाल टेलिकमले सडक कालोपत्र भएपछि खन्न थालेको, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरण पनि सडक बन्नुअघि काम गर्न नआउने र बनिसक्ने बित्तिकै खन्न आउँदा सडकमा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको उहाँको गुनासो छ । गोकर्णेश्वर महादेव मन्दिरमाथिको भागमा भने धाराबाट सडकमा जाने पानीका कारण सडक बिग्रिएको जनाइएको छ । दुई महिनामै सडक भत्किएको सम्बन्धमा प्रतिक्रिया लिन निर्माण व्यवसायी सन्तकुमार श्रेष्ठसँग फोन सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउनुभएन । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाका प्रमुख कृष्ण ओझा जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको काम सकेर निर्माण व्यवसायीले नबुझाएकाले बिग्रिएको काम फेरि गरेर बुझाउनुपर्ने बताउनुहुन्छ । नयाँपाटी पुलबाट सुन्दरीजलसम्मको केही भाग अझै कालोपत्र गर्न बाँकी रहेकाले त्योसँगै भत्किएको भागमा पनि काम गर्ने प्रतिबद्धता आशीष÷सिएम जेभीले जनाएको उहाँको भनाइ छ ।
काठमाडौं: नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीअन्त्य हुनुपर्ने बताउनुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरु खर्च गर्न थालिएको बताउनुभयो । उहाँले वर्ष दिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा मात्रै खर्च गर्ने परिपाटीले विकासको गतिलाई तीव्रता दिन नसकिने र दिगो विकास नहुने भएकाले यस्तो परिपाटी अन्त्य हुनुपर्ने बताउनुभयो । काम गर्ने अख्तियारी पाउनेले आर्थिक वर्षको सुरु समयमै काम गर्न र बजेट खर्च गर्न पाउने व्यवस्था गर्नसके असारमा मात्रै खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुने उहाँको भनाइ छ । ‘‘सडक डिभिजन कार्यालयले क्र्याक सिल बनाउने बहानामा गोलमोटल रुपमा अहिले असारे बजेटहरु खर्च गरिरहेको अवस्थामा छ । चालु वर्षको १२ दिन बाँकी रहँदा विकासे अड्डाहरुमा खर्च गर्ने चटारो बढेर आएको छ । चालु आर्थिक वर्ष पुँजीगत ३ खर्ब ७८ अर्ब बजेट विनियोजन भएकोमा गएको हप्तामा मात्रै आठ अर्ब १६ करोड बजेट खर्च भएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘बजेट फ्रिज हुने बहानामा योजनाहरुमा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ । यसले विकासको गतिलाई तीव्रता दिन सक्दैन । विकास दिगो हुन सक्दैन । विनियोजित बजेट फ्रिज हुने तरिकालाई अब निरुत्साहित गर्नका लागि नीतिगत रुपमा सुधार गर्नुपर्छ भनेर संविधानमै जेठ १५ मा बजेट ल्याउने व्यवस्था हामीले राख्यौँ ।’’ उहाँले थप्दै भन्नुभयो, ‘‘संविधानमा व्यवस्था त ग¥यौँ तर एक वर्षसम्म काम नै नगर्ने जब असार आउँछ तब बजेटहरु फ्रिज हुन्छ भन्ने बाहानामा बजेट खर्च गर्ने प्रवृत्तिले हामीले नीतिमा त परिवर्तन ल्यायौँ नियतमा परिवर्तन ल्याउन सकेनौँ । आर्थिक वर्षको सुरुवातमै जसले काम गर्ने अख्तियार प्राप्त गर्छ त्यसले काम गर्न पाउँछ । त्यसरी अख्तियारी प्राप्त गर्दा समयमै काम गर्ने र विनियोजित बजेटलाई खर्च गर्ने भयो भने हामी हतार–हतारमा, बजेटको नाममा फ्रिज हुने बहानामा खर्च सक्ने जुन प्रवृत्ति छ, यो निरुत्साहित हुन्छ । यतातर्फ सबैको ध्यान जानुपर्छ । सम्बन्धित निकायको ध्यान जानुपर्छ भन्ने मलाई लाग्छ ।’’ खेतीको सिजनमा पनि मल नपाएकाले किसानहरु चिन्तित रहेको औंल्याउनुहुँदै सांसद देवकोटाले समयमै मल उपलब्ध गराउन सरकारको ध्यान जानु जरुरी रहेको बताउनुभयो । मल ल्याउने प्रक्रिया लामो भएकाले पनि मल आउन नसकेको उल्लेख गर्दै उहाँले फास्ट ट्रयाकबाट रासायनिक मल ल्याउनुपर्ने बताउनुभयो ।