काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् । यस्तै पाँच जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार २२९ पुगेको छ ।
काठमाडौं: साउन १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीका अनुसार नवनियुक्त अर्थमन्त्री शर्माको शपथ ग्रहण आइतबार साँझ ५ः३० बजे शीतल निवासमा हुनेछ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । सोही प्रयोजनका लागि संसदीय छानबिन समिति गठन भएको थियो । समितिको प्रतिवेदनले उहाँलाई निर्दोष सावित गरेपछि पुनः अर्थमन्त्री नियुक्त हुनुभएको हो । उहाँले साउन २२ गते संसदीय छानबिन समिति गठन भए लगत्तै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको थियो ।
जनकपुरधाम । चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ । सुकुम्बासीहरूले चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्नेलगाएका माग राखेर जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् । सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् । यसअघि जनकपुरधाम बन्द, झाडू जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाइसकेको अभियानका संयोजक सुनिलकुमार यादवले बताए । उनका अनुसार पछिल्लो समयमा सुकुम्बासीहरू रिले अनसन समेत बस्दै आएका छन् । यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए । उनले वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको आरोप समेत लगाएका छन् ।
काठमाडौं । निर्मलराज काफ्ले सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै काफ्ले सो पदमा नियुक्त हुनुभएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई सो पदमा नियुक्त गर्नुभएको हो ।
खोटाङ । गृहमन्त्री बालकृष्ण खाँडले खोटाङ केन्द्रविन्दु बनाएर आज विहान गएको भुकम्पबाट भएको क्षतिका सबै विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । खोटाङ लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री खाँडले यस्तो निर्देशन दिनुभएको हो । उत खोटाङको साकेला गाउँपालिका–५ केन्द्र बनाई आज बिहान ८ बजेर १३ मिनेटमा गएको भुकम्पबाट ठूलो क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ । ६ म्याग्निच्युडको भुकम्पबाट केही घर चर्कनु बाहेक अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिनुभएको छ । भुकम्पको केन्द्रविन्दु मानिएको मार्तिमविर्तामा २ वटा घर, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १ घर र महादेवस्थानमा १ घर चर्किएको छ । कुनै घर चर्केको र कुनै घरको टायल खसेको छ प्रजिअ सेढाईले भन्नुभयो । मानवीय तथा पशुचौपायको क्षति पनि भएको छैन । क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । भुकम्पको क्षति संकलनका लागि सबै वडा समितिलाई परिचालित गरिएको र कार्यपालिकाका सम्पूर्ण अंगहरुलाई नागरिकको सहयोगका लागि परिचालित गरिएको राईले सुनाउनुभयो । यस्तै, हलेसी तुवाचुङ नगरपालिका लगायतका स्थानीय तहहरुले पनि क्षति बिवरण संकलन गरिरहेको जनाएका छन् । भुकम्प लगत्तै आइलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाइ छ । विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय भइरहेको छ ।।
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । सरकारी निवास बालुवाटारमा उहाँहरुबीच बिहान छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विवादपछि अर्थमन्त्री पदबाट राजीनामा दिनुभएका जनार्दन शर्माको नियुक्तिलगायत समसामयिक राजनीतिक विषयमा उहाँहरुबीच छलफल भएको हो ।
महोत्तरी । महोत्तरीको गौशालामा शुक्रबार छुरा प्रहार गरी पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै झुटो उजुरी दिनेलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटपाटको बनावटी घटना बनाउदै उजुरी दिएको पाइएपछि प्रहरीले रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने अरुणकुमार चौधरीलाई पक्राउ गरेको हो । शुक्रबार बेलुका आफुलाई अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरि बैंकमा जम्मा गर्न लगेको पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै प्रहरीमा उजुरी दिएको तर घटना झुटो भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनुभयो । गौशाला नगरपालिका–२, सम्सी गौशाला सडक खण्ड स्थित रेडक्रस भवन नजिकै छुरा प्रहार गरि पाँच लाख लुटिएको उजुरीमा उल्लेख गरेका थिए । घटनाको अनुसन्धान पछि झुटो भएको भन्दै पिडित चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । धेरै मानिससँग लिएको सापटी र ऋण रकम तिर्न चौधरीले छुरा प्रहारको कथा बुनेर रकम अपचलन गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गाउँमै दाजु भाई मिलेर बैष्णवी मणि ट्रान्सफर सञ्चालन गर्दै आएका चौधरीले भाईको रकमलाई अपचलन गर्न प्र–२–०२–००४ प ३३४७ नम्बरको मोटरसाइकलबाट पाँच लाख रुपियाँ बैंकमा जम्मा गर्न गएको र बैंक बन्द भएकोले फिर्ता ल्याउँदै गर्दा तीन जना व्यक्तिहरुले छुरा प्रहार गर्दै लुटपाट गरेको घटना प्रहरीलाई बताएका थिए ।
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय बागमतीका प्रमुख जयन्ती सत्यालले भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १.६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको जानकारी दिनुभयो। उहाँका अनुसार विज्ञानबाहेक शिक्षा, व्यवस्थापन, मानविकी विषयमा अनिवार्य तथा ऐच्छिक विषयका रूपमा गणित पढ्न चाहनेले पनि एसईईमा ‘सी प्लस ग्रेड’ प्राप्त गरेकै हुनुपर्छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना नै हुन नपाउने अर्थात् जिरो दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन्। बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा व्यवस्था गरेको छ। तर सोभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले आगामी भदौको ११ र १२ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ। परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले ‘सी’ वा सोभन्दा कम ग्रेड हासिल गरेकाले बढीमा दुई विषयसम्म ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिनुभयो।
काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

