काठमाडौं । आज देशभर मेघ गर्जन साथ चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणालीमा थप सक्रियता आएसँगै देशका विभिन्न भागमा हल्का देखी मध्यम र केही स्थानमा भारी वर्षासम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । पुर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपाल हुँदै वाहिरीने भएपनि हाल देशभर मनसुनी चक्र सक्रिय रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार विहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङलगायत देशभर भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ । स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गर्दा क्षतिको विवरण आइनपुगेको, टेलिफोन र विजुली सुचारु अवस्थामा रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेँडाईले जानकारी दिनुभयो । साता दिनदेखि लगातार पानी परेकाले राजमार्गहरु अवरुद्ध हुने सम्भावना बढी रहेकाले विपद् जोखिम न्यूनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।
साफ यू-२० च्याम्पियनसिप फुटबलमा आज नेपालले तेस्रो खेल घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ । भारतलाई हराएमा नेपालले फाइनल यात्रा तय गर्नेछ । नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरिरहेकोले जित निस्कनेमा विश्वास ब्यक्त गर्नुभएको छ । ‘‘भारत घरेलु टोली हो । तर, हाम्रो खेलाडीको मनोबल उच्च छ । हामी सबै खेल जित्दै अगाडि बढ्न चाहन्छौं,’’ केसीले भन्नुभयो । नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ । उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको नेपालले अघिल्ला दुई खेलमा लगातार जित निकालेको छ । नेपालले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलङ्कालाई ३-० गोलले पराजित गरेको थियो । पाँच टोली सहभागि प्रतियोगितामा नेपाल तालिकाको दोस्रो स्थानमा छ । नेपालले दुई खेलबाट ६ अङ्क बनाएको छ । तीन खेलमा अपराजित रहेको बङ्गलादेश ९ अङ्कसहित शीर्षस्थानमा छ । यता अघिल्ला दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको भारतका लागि नेपालसँगको खेल महत्वपूर्ण छ । भारत पनि नेपाललाई रोकेर अगाडिको यात्रा कायम राख्ने दाउमा छ । दुई खेलबाट तीन अङ्क बनाएको भारत तेस्रो स्थानमा छ । माल्दिभ्स र श्रीलङ्काले भने अङ्कको खाता खोल्न सकेका छैनन् । नेपालले लिग चरणको अन्तिम खेल मङ्गलबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ ।
नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतान्त्रिक, गणतन्त्र नेपाल भनेर संविधानमै लेखिसकेको र अहिलेको आवश्यकता नै सङ्घीयता भएकाले विकल्प सोच्न नहुने बताउनुभएको छ । एमाले जिल्ला शाखा लमजुङद्वारा आज बेँसीसहरमा आयोजित प्रशिक्षणमा उहाँले भन्नुभयो, “अहिले आएर यदाकदा सङ्घीयता चाहिँदैन भनेर सङ्घीयता कमजोर बनाउन धेरै खर्च भयो, अप्ठ्यारो भयो भन्दै अनेकौँ टिकाटिप्पणी उठाउँदै सङ्घीयता विरोधी सक्रिय हुन थालेका छन् । काम गर्ने ढङ्ग, शैली, पारदर्शिता भएको भए त सङ्घीयता नराम्रो लाग्दैन थियो होला नि ।” देशको विकासका लागि सङ्घीयता नै अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । त्यस्तै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा एमालेले ५१ प्रतिशत सिट जित हासिल गर्न सकेमा एमालेले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुने बताउनुभयो । आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउनका लागि सबै कार्यकर्ता नेता एकजुट भएर लाग्नलाई उहाँले आग्रह गर्नुभयो । त्यस्तै स्थानीय निर्वाचनमा आफ्नै पार्टीमाथि डोजर चलाउनेहरूलाई कडा कारबाही गर्ने एमाले उपमहासचिव गुरुङले भन्नुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, टुकाभद्र हमाल, केन्द्रीय कार्यालय सचिव भीष्मनाथ अधिकारी, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दबाडी, प्रदेश सदस्य मोहनहरि पौडेललगायतले प्रशिक्षण दिनुभएको थियो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावअघि कसैसँग पार्टी एकता हुँदैन, बरु चुनावी मोर्चा बन्न सक्छ ।” सोही भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सबैलाई सम्मान हुने तरिकाले निर्वाचनमा सहभागी भए वर्तमान गठबन्धन पछि सम्म पनि कायम रहने जानकारी दिनुभयो । पाँचदलीय गठबन्धन भए पनि सबै नेता, कार्यकर्ताले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टीले सबैभन्दा बढी सिट ल्याउनका लागि कम्मर कस्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले थप भन्नुभयो, “गठबन्धन छ भनेर मख्ख हुने बेला छैन, आफूलाई कसरी बढी सिट आउँछ र जनताको मन कसरी जित्न सकिन्छ त्यो विषयमा बढी ध्यान दिनुहोला ।” अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूबीचमा खासै इमान्दारिता नदेखिएकाले अबको निर्वाचनमा सबैले इमान्दारिता देखाउनुपर्ने बताउनुभयो । पाँचदलीय गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) इमान्दार भएको र अन्य दलहरू पनि आफूहरूजस्तै इमान्दार हुनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो । नेकपा(एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म मन्त्री हुँदा डोटीसहित समग्र सुदूरपश्चिममा थुप्रै विकास निर्माणका लागि बजेट विनियोजन गरेको छु, अब विकासका लागि सुदूरपश्चिमेलीले अन्य नेताको ढोका ढक्ढकाउनु पर्दैन ।” यसैगरी पूर्वमन्त्री आलेले नेताले आफ्ना लागि नभई गरिब, विपन्न तथा निमुखा जनताका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापा मगर चयन भएका छन् । शनिबार बसेको संघको केन्द्रीय समितिको बैठकले सभापतिमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् । नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुदै सभापति चयन भएका थापामगरले लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताए । उनले निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने पनि प्रतिबद्धता जनाए ।
विराटनगर: प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिकोत्सवमा उहाँले बढ्दो आयातलाई प्रतिस्थापन गर्न सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । “कृषि प्रधान मुलुकमा कृषिजन्य वस्तुकै आयात बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “बचत तथा ऋणमा दर्ता भए पनि कृषिक्षेत्रलाई प्रवद्र्धन हुने गरी लगानी गर्न म आग्रह गर्छु ।” सहकारीहरूले गर्ने लगानी उत्पादनमुखी कार्यमा बढी केन्द्रित हुनसके मात्र मुलुकको अर्थतन्त्र सबल बन्दै जाने उहाँको भनाइ थियो । राज्यको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा सहकारी रहेकाले राज्यको आवश्यकतानुसार सहकारी ढल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीमा समस्या हुनुका साथै केही विकृति बढेको चर्चापरिचर्चा हुन थालेकाले उहाँले जटिलता र समस्याका बारेमा छलफल नगरे सहकारी क्षेत्रले अपेक्षाकृत गति लिन नसक्ने जनाउनुभयो । कार्यक्रममा हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गालले संस्था स्थापनाको छोटो अवधिमै संस्थाले रु दुई अर्बको वासलात बनाउन सफल भएको जानकारी दिनुभयो । संस्थाको हाल रु १७ करोड ५० लाख शेयर पूँजी, रु ९० करोड ७५ लाख बचत सङ्कलन र रु एक अर्ब ७५ लाख ऋण लगानी रहेको छ । संस्थाले झापा, मोरङ र इलाम जिल्लामा ३० वटा सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल २४२ कर्मचारी कार्यरत छन् । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चाल शिव डाँगी, नेफ्स्कुनका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्ली दाहललगायतले संस्थाको प्रगतिको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
काठमाडौँ: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २८औँ प्रकाश मानवअधिकार पुरस्कार राजुराम भुललाई प्रदान गर्ने भएको छ । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील सुर्खेतको दशरथचन्द नगरपालिका–४ का भुललाई उक्त पुरस्कारबाट सम्मानित गर्न थालेको जानकारी गराउनुभयो । इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले भुललाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो । इन्सेकका संस्थापक महासचिव स्व प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायत क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसका अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । उक्त पुरस्कार हरेक वर्ष एक जनालाई प्रदान गरिँद आइरहेको छ । अहिलेसम्म २७ जना सम्मानित भइसक्नुभएको पनि इन्सेकले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा साउन १६ गते काठमाडौँमा आयोजित कार्यक्रममा भुललाई पुरस्कृत गरिने जनाइएको छ ।
काठमाडौँ: नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्नसमेत निर्देशन दिनुभयो । एमाले लुम्बिनी प्रदेशस्तरीय सङ्गठन व्यवस्थापन तथा परिचालन विषयक दुईदिने कार्यशालामा आज प्रशिक्षणमूलक मन्तव्य दिँदै उपाध्यक्ष पौडेलले एमालेले स्थानीय चुनावमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा कार्यक्षेत्रको सुझाव, जित्न सक्ने सम्भावना र जितिसकेपछि पनि अनुचित काम नगर्ने व्यक्तिलाई प्रथमिकता दिई टिकट वितरण गर्ने पार्टीको नीति रहेको स्पष्ट पार्नुभयो । पार्टी केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट सुरू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख खगराज अधिकारीले एमाले योग्यतापूर्वक सङ्गठन सञ्चालन गर्ने पार्टी रहेको दाबी गर्नुभयो ।

