तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

काठमाडौँ:    समृद्ध समाजका लागि सकारात्मक चिन्तन आवश्यक पर्ने भएकाले त्यसका लागि समाजका अगुवाहरूले सही र प्रगतिशील विचार प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय बुटवलले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरूले समाजमा हिंसा र अशान्ति बढिरहेकाले यसलाई नियन्त्रण गरी शान्त एवं समृद्ध समाजका लागि सकारात्मक विचार आवश्यक रहेको बताउनुभयो ।   सतविचारबाटै सतमार्गमा हिँड्न सकिने धारणा बताउँदै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले भन्नुभयो, “सयमा ९९ काम राम्रो गरे पनि एउटा काम नराम्रो भयो भने त्यही नराम्रो कामको चर्चा हुन्छ । सकेसम्म हाम्रो असल आचरण र व्यवहारका साथ काम गर्नुका साथै विचार फराकिलो बनाएर अघि बढ्नुपर्छ ।”   सो उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले सकारात्मक सोच लिएर अगाडि बढ्न सके शान्ति र समृद्धि छाउने विश्वास व्यक्त गर्नुभयो । “हामीले आफ्नो भूमिका निर्वाह गर्दा सकारात्मक सोच राखेर जनताका बीचमा जान सके नगर सुन्दर बन्छ । हामी आवेसमा आउँदा हामीलाई नै समस्या हुन्छ”, उहाँले भन्नुभयो ।   ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख कमला दिदीले सबै जनप्रतिनिधिले सकारात्मक सोचका साथ काम गर्ने हो भने उपमहानगर नमूना बन्ने बताउनुभयो । “तपाईँहरू पाँच वर्षलाई चुनिएर आउनुभएको छ, चुनौती धेरै छ । जनताको आशा धेरै छन् । हामी आफ्नो पदमा रहँदा सकारात्मक विचार आवश्यक छ । कहिलेकाहीँ जनता रिसाएर आउँदा तपाईँहरू पहिले सुन्नुस् अनि मुस्कुराएर बोल्न सुरु गर्नुस्”, उहाँले भन्नुभयो ।   उहाँले क्रोध गर्न शक्ति नचाहिने तर सहन शक्ति चाहिने भएकाले कुनै पनि कुराको सामना हात र मुखले नभई धैर्यता र बुद्धिले गर्नुपर्ने बताउनुभयो । “निन्दा गर्नेको पनि इस्ट बन्नुपर्छ । विचारमा शान्ति, बोलीमा शान्ति भयो भने नागरिकको मनमा बस्न सकिन्छ”, उहाँले भन्नुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जनप्रतिनिधिलाई कामको बोझका कारण तनाव बढी हुने भएकाले यस्ता प्रशिक्षण आवश्यक रहेकामा जोड दिनुभयो ।   कार्यक्रममा प्रशिक्षण दिँदै ब्रह्मकुमार राजुले कुनै पनि परिस्थितिलाई सहजरूपमा लिन सके तनाव नहुने बताउनुभयो । “खुसीजस्तो खुराक छैन, चिन्ताजस्तो रोग छैन”, उहाँले भन्नुभयो, “हाम्रो मनमा उत्पन्न नकारात्मक विचार नै दुःखको कारण हो । त्यसैले सधैँ सकारात्मक सोचौँ”, उहाँले भन्नुभयो ।   ब्रहमकुमारी राजयोगिनी सीमाले सकारात्मक चिन्तनले जीवन परिवर्तन हुने बताउनुभयो । अशान्त मनलाई शान्त बनाई आफ्नो जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्न सकारात्मक सोच राख्नुपर्ने उहाँको भनाइ छ । अग्रज पत्रकार डा बालकृष्ण चापागाईँले शान्ति स्थापना गर्नमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ब्र्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुखसचिव नारायणले यो विश्वविद्यालय अन्तर्राष्ट्रिय आध्यात्मिक शैक्षिक संस्था भएकाले सकारात्मक विचारको प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो । 

  महोत्तरी:   महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको रु पाँच लाख लुटिएको छ ।   इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको रु पाँच लाख लुटेको छ ।   आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र२–०२–००४प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो । अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाई रकम लुटेर सो समूह भागेको थियो ।   छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराहरूको खोजतलास व्यापकरूपमा भइरहेको प्रहरीले जनाएको छ ।

  काठमाडौँ:     स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।   एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलालाई आज सम्बोधन गर्दै उहाँले स्वास्थ्यकर्मीका समस्या सम्बोधन तथा स्वास्थ्य क्षेत्र सुधारमा आफू लाग्ने बताउनुभयो ।   स्वास्थ्यकर्मीका समस्या समाधान र स्वास्थ्य क्षेत्रमा सुधारको अनुभुति दिलाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “सेवाग्राहीले अनुभुति गर्नेगरी सुधारका कदम चालिन्छ ।” राज्यमन्त्री केसीले अहिले पनि गाउँ–गाउँमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागिरहेको बताउनुभयो ।

  काठमाडौँ:   आज चार सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार छ सय ९९ जनामा गरिएको परीक्षणमध्ये चार सय ३८ मा सङ्क्रमण पुष्टि भएको हो ।   सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ६९ रहेको छ । विगत २४ घण्टामा दुई सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ६६ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।    यस्तै मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य सङ्क्रमित रहेका छन् । हाल होम आइसोलेशनमा चार हजार दुई १८, संस्थागत आइसोलेशनमा एक सय ५१ र सघन उपचारकक्ष (आइसीयू)मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

  काठमाडौँ:    नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताउनुभयो ।   “मलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ”, उहाँले भन्नुभयो । उहाँले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गर्नुभयो ।   नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रुपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको जिकिर गर्नुभयो । “समाजवादी पार्टी समाजको अगुवा क्रान्तिकारी पार्टी हो, यथास्थितिवादीलाई निमिट्यान्न पारी समाजवाद स्थापना गर्नु नै यो पार्टीको उद्देश्य हो”, उहाँले भन्नुभयो ।   यथास्थितिवादी र पूँजीपति वर्गले नागरिकलाई अझै शोषण र दमन गरिरहेकाले नेपालको मानवअधिकार खुम्चन पुगेको नेता खनालको तर्क थियो । उहाँले भन्नुभयो, “तीनै यथास्थितिवादी, शोषण र दमनको अन्त्य गर्न समाजवादको आवश्यकता परेको हो ।”   कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाले लोकतन्त्रका लाभहरू सबै समुदाय र वर्गले समानरूपमा पाउनुपर्ने बताउँदै सबै दलले वर्गीय र लैङ्गिक असमानताको विरुद्धमा लाग्ने प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो । पार्टीका केन्द्रीय सदस्य टोकबहादुर वाइबाले एकीकृत समाजवादी पार्टी स्थापित गर्न सङ्गठन विस्तार अभियानमा लागिएको बताउनुभयो ।      

  काठमाडौँ:      नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ ।      अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्पे्रषण गरी राज्यलाई रु सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गर्नुभएकाले पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो । काठमाडौँमा आज आयोजित इन्जाको पाँचौँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नगद रु एक लाख राशि र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गर्नुभएको हो ।       त्यसैगरी मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई, ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई जनही रु ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो । मन्त्री कार्कीले आजै वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गर्नुभयो ।      टक्सार मासिकका प्रधानसम्पादक बुढाथोकीलगायतका पत्रकारहरुलाई सम्मान गर्दै मन्त्री कार्कीले इन्जाले गाह्रो, साह्रो र अप्ठेरोमा परेका पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरुआत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली पत्रकारिता आवाजविहीनहरुको आवाजलाई बाहिर ल्याउने सशक्त माध्यम बन्नुपर्नेमा जोड दिनुभयो ।       इन्जा संसारभर छरिएर रहेका नेपाली भाषी पत्रकारहरुले स्थापना गरेको संस्था हो । इन्जाको प्रधान कार्यालय अमेरिकामा छ । इन्जा अमेरिकाका अध्यक्ष गुणराज लुइँटेलले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विभिन्न अप्ठेरोमा परेका नेपाली पत्रकारलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।       नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले अप्ठेरामा परेका पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासङ्घ इन्जासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।       समारोहमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा०, एसियाका अध्यक्ष टङ्क पन्त, केन्द्रीय सचिव दीपक रिजाल, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहलगायतले आ–आप्mनो धारणा राख्नुभएको थियो । 

काठमाडौँ:    बाटो मर्मतको कारण साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौैँको सडमा फोहर थुप्रिन थालेका छन् ।        सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहर थुप्रिन थालेको छ ।        यही असार ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उहाँको भनाइ छ ।       त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।        कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणका रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ ।        यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो  । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो ।

  स्याङ्जा:    जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७८/७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।   सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, सवारीको स्वरुप परिवर्तन गर्ने, अनावश्यक स्टिकर टाँस्ने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।   गत आवको असारमा मात्रै कार्यालयले सबैभन्दा धेरै एक हजार छ सय १३ विभिन्न सवारी साधनलाई कारबाही गर्दा रु ११ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो ।   कार्यालय प्रमुख कुँवरका अनुसार गत आव २०७८/७९ को साउनमा चार सय ७६, भदौमा पाँच सय ४४, असोजमा छ सय ८०, कात्तिकमा आठ सय १४, मङ्सिरमा छ सय ३९, पुसमा सात सय, माघमा सात सय ५०, फागुनमा आठ सय, चैतमा आठ सय ५०, वैशाखमा नौ सय ५०, जेठमा एकहजार एक सय र असारमा एक हजार छ सय १३ सवारी साधन कारबाहीमा परेका थिए ।   गत आवको साउनमा कारबाहीमा परेका सवारी साधनबाट कार्यालयले रु तीन लाख ३७ हजार पाँच सय, भदौमा रु तीन लाख ९५ हजार पाँच सय, असोजमा रु चार लाख ८४ हजार पाँच सय, कात्तिकमा रु छ लाख ६५ हजार, मङ्सिरमा रु चार लाख ८५ हजार पाँच सय, पुसमा रु चार लाख ८५ हजार, माघमा रु पाँच लाख ३१ हजार, फागुनमा रु पाँच लाख ७१ हजार, चैतमा रु छ लाख १४ हजार, वैशाखमा रु छ लाख ६४ हजार पाँच सय, जेठमा रु सात लाख ७१ हजार पाँच सय र असारमा रु ११ लाख ३७ हजार पाँच सय गरी कूल रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन भएको हो ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।   स्वर्गद्वारी मन्दिर दर्शन गरेर भिङ्ग्रीतर्फ आउदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार मध्याह्न भ्यागुतेमा दुर्घटना भएको हो ।   दुर्घटनामा परी रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ ।   प्रहरीका अनुसार दुर्घटनामा १४ जना  घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १७ जना सवार थिए । यद्यपि, जीप दुर्घटनाको कारण खुलिसकेको छैन ।