उत्पादित आलुको बजार व्यवस्थापन नहुँदा किसान समस्यामा

रुकुम पूर्व | भदौ ११, २०७९

उत्पादित आलुको बजार व्यवस्थापन नहुँदा किसान समस्यामा

 

रुकुमपूर्व ।  रुकुमपूर्वमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ भने बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी भए पनि अहिलेसम्म एक किलो आलु पनि बिक्री गर्न नसकिएको त्यहाँका किसानले बताएका छन् ।

 

अहिले उक्त गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँमा फलेको आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको वडा–१० निवासी  चेबाङ कृषक समूहकी सदस्य सातमाया बुढाले बताउनुभयो । त्यहाँ चक्लाबन्दी कार्यक्रममार्फत समूहले धेरै आलु उत्पादन गरेपछि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको उहाँले गुनासो गर्नुभयो । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको सदस्य बुढाको भनाइ थियो ।

 

बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उहाँले बताउनुभयो । “अहिले पुथा उत्तरगङ्गा गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ ।”  सदस्य बुढाले भन्नुभयो, “आलु खनेर बारीमा थुपारेका छौँ, उत्तरगङ्गा नदीमा पुल नहुँदा पनि हामीले यहाँ उत्पादन गरेको आलु जिल्ला सदरमुकाम रहेको रुकुमकोटको बजारसम्म पु¥याउन पनि सकेका छैनौँ ।” उत्तरगङ्गा नदीमा पुल नहुँदा सवारी साधन वारपार गर्न नसक्ने र तकसम्म गाडी जान नसक्दा र आफूहरुले आलु बोकेर उत्तरगङ्गा नदी पार गर्न नसक्दा आलु घर तथा बारीमै थन्क्याएर राख्नुपरेको छ । 

 

यस्तै गाउँपालिकाको ११ नं वडा दमचनका नमूना कृषक समूहका सचिव हृदय बुढाले दमचनमा उत्पादन भएको आलुले बजार नपाएको गुनासो गर्नुभयो । दुःख गरेर गाउँवासीले लगाएको आलु बजारमा पु¥याउन नसक्दा कतिपयको आलु कुहिन सुरु गरेको उहाँको भनाइ थियो । उत्पादित आलुको मूल्य पनि आफूहरूले भनेजस्तो नभएको सचिव बुढाले बताउनुभयो । अहिले बजारमा आलुको मूल्य प्रतिकिलो  रु एक सय रहेको र आफूहरूले पनि आलु घरबाटै रु एक सयमा बेच्न खोज्दा ढुवानी खर्च पनि नउठ्ने पीडा सुनाउनुभयो ।

 

भूमे गाउँपालिका–९ का किसान धनबहादुर ओलीले पनि आफूले उत्पादन गरेको आलुले बजार नपाएको गुनासो गर्नुभयो  । आफूले उत्पादन गरेको र गाउँका अन्य मानिसले उत्पादन गरेको सबै आलु घरमै थन्क्याएर राख्दा आलु कुहिन थालेको उहाँको भनाइ थियो । आलु कुहिन सुरु गरेको र बजार व्यवस्थापनको सुरसार केही नदेख्दा किसानमा निराशा छाएको किसान ओलीले बताउनुभयो । यस्तै आलु ब्लक कार्यक्रम सञ्चालन भएको भूमे गाउँपालिकाको ७ नं वडामा उत्पादित आलु पनि घरमै थन्किएको छ । बीउ अभावका बेलामा खोजीखोजी लगाएको आलको उत्पादन राम्रो भए पनि बजारमा पु¥याउन नसक्दा विगतका वर्षहरू नै आफ्नो उत्पादन खेर गइरहेको किसानले बताउँदै आएका छन् । जिल्लामा कतै पनि सङ्कलन केन्द्र नहुँदा उत्पादनलाई पनि व्यवस्थितरूपमा राख्न नसकिएको उनीहरुले बताए  । 

 

एकीकृत कृषि तथा पशुपक्षी विकासरुकुमपूर्वको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आलुको बजार व्यवस्थापनमा भौगोलिक विकटताले केही समस्या भए तापनि किसानले मूल्य निर्धारण गर्न नसक्दा समस्या भएको बताउनुभयो । किसानले आफूले उत्पादन गरेको आलुको मूल्य बजारको मूल्यभन्दा चर्को भन्ने गरेका कारण पनि त्यहाँको आलु बजारसम्म पुग्न नसेको उहाँको भनाइ थियो ।

काठमाडौं:   पछिल्लो २ दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ ।  आज प्रतितोला रु ९ सयले बढेर रु १ लाख ४९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी...

थप पढ्नुहोस्

पर्वत:     स्वदेशमा उद्यम–व्यवसायका  अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक ...

थप पढ्नुहोस्

गुल्मी:    जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार ४ सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन  धान फलेको छ ।    कृषि ज्ञान के...

थप पढ्नुहोस्