खेलाडीलाई तीजले छोएन
काठमाडाैं | भदौ १३, २०७९

काठमाडौँ । हिन्दू धर्मावलम्बी नारीको महान् पर्व हरितालिका तीजमा कैयौँ महिलाले रमाइलो गरिरहँदा देशका लागि पसिना बगाउने कतिपय खेलाडी भने यतिबेला प्रशिक्षणमा व्यस्त छन् ।
घरपरिवार, इष्टमित्र, साथीसङ्गीसँग रमाउने रहर हुँदाहुँदै पनि देशको प्रतिष्ठा जोगाउनकै लागि पनि यतिबेला खेलाडी हरेक दिन मेहनत गरिरहेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विगतका केही वर्ष तीज मनाउन नपाएका खेलाडीका लागि यसपटकको तीज पनि यस्तैयस्तै हुन पुगेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्री भण्डारी (साम्बा) ले तीज पर्वमात्रै नभइ चाडपर्व नै बिर्सिसकेको बताउनुभयो । “खेल क्षेत्रमा आएको सुरुसुरुको वर्षमा परिवार साथीसङ्गी निकै मिस हुन्थ्यो तर अब त इज टु भइसकेको छ, खेलाडीका लागि चाडपर्वभन्दा पनि खेल नै ठूलो हो”, भण्डारीले भन्नुभयो ।
फुटबलका प्रायः सबै खेलाडीको भनाइ यस्तै नै रहेको छ । चाडपर्वभन्दा पनि उनीहरुको मुख्य प्राथमिकता खेल नै रहेको देखिन्छ । राष्ट्रिय फुटबल टोलीका टिम म्यानेजर विन्द्रा देवानले खेलाडी क्लोज क्याम्पमा भएका कारण यसपटकको तीजमा महिला खेलाडीलाई घर पठाउन सम्भव नभएको बताउनुभयो ।
उहाँले नजिकिँदै गरेको महिला साफ च्यापियनसिपका कारण पनि खेलाडीलाई तीज मनाउनकै लागि भनेर घरमा पठाउन नसकिएको बताउनुभयो । “नेपाली महिलाको महान् पर्व तीज हो, हामी प्रशिक्षणकै दौरानमा खेलाडीसँग शुभकामना आदान प्रदान गर्नेछौँ, खेलाडीमात्र नभई महिला प्रशिक्षकलाई पनि तीज पर्वले छोएको छैन”, उहाँले भन्नुभयो ।
तीज पर्वभन्दा पनि खेल क्षेत्रबाट नेपालको नाम कसरी उच्च बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित रहेको नेपाली राष्ट्रिय फुटबल टोलीकी सहायक प्रशिक्षक कमला खरेलले बताउनुभयो । उहाँले यसअघिका वर्षमा भने तीज मनाउँदै आउनुभएको थियो तर यसपटक भने उहाँको तीज खेलाडीसँग बित्नेछ ।
“अघिल्ला वर्षमा परिवार साथीसँग जमघट गरेर तीज मनाउँदै आउने गरेको थिएँ तर यसपटक साफ च्याम्पियनसिपमा नेपालले कसरी गोल्डमेडल भित्र्याउन सक्छ भने विषयमा नै मेरो ध्यान छ”, उहाँले भन्नुभयो ।
उहाँले साफ च्याम्पियनसिपमा प्रायः दोस्रो बन्दै आएको नेपाललाई यसपटक भने पहिलो बनाउने उदेश्यका साथ अभ्यास गरिरहेको बताउनुभयो । तीज पर्वभन्दा पनि घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने उदेश्यका साथ महिला खेलाडी प्रशिक्षणमा व्यस्त देखिन्छन् ।
सन् २०१९ मा भएको अघिल्लो संस्करणको साफ नेपालले विराटनगरमा आयोजना गरेको थियो । त्यतिबेला पनि नेपाल दोस्रो नै भएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले यही भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनसिप खेल्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्यापियनसिपमा आयोजक नेपालसहित भूटान, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भारत र माल्दिभ्सको टोली सहभागी हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउन भूटानी टोली भने नेपाल आइपुगिसकेको छ ।
नेपाली टोलिमा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषानाथ छन् । डिफेन्डरमा हीराकुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे र विमला विक छनोट भएका छन् ।
मिडफिल्डरमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल र रश्मिकुमारी घिसिङ छन् ।
फुटबल मात्र नभइ अन्य खेलका महिला खेलाडीलाई पनि तीज लागेको छैन । उनीहरुले तीज पर्वभन्दा पनि खेल पर्व नै ठूलो मानिरहेको देखिन्छ । अहिले विभिन्न खेलका महिला खेलाडी नवौँ राष्ट्रिय खेलको तयारीमा जुटिरहेका छन् ।
सागमा लगातार दुई स्वर्ण पदक हात पार्ने उसु खेलाडी निमा घर्तीमगर तीज मनाउनुभन्दा पनि प्रतियोगितामा कसरी स्वर्ण जित्न सकिन्छ त्यसतर्फ उहाँको ध्यान केन्द्रित भएको देखिन्छ ।
गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलका लागि उहाँ अहिले बिहान बेलुका नभनि तालिममा व्यस्त हुनुहुन्छ । तीजको खासै चासो नराख्ने उहाँलाई तीज कसरी मनाइन्छ भन्ने थाह नै छैन र हालसम्म उहाँले तीज मनाउने गर्नु नै भएको छैन ।
तीज पर्वमा खासै चासो नरहेको उहाँले हरेक खेलमा आफ्नो पफमेन्स कसरी राम्रो गर्न सकिन्छ भन्नेमा आफनो ध्यान केन्द्रित रहने बताउनुभयो । बाह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा १६ वर्षकै उमेरमा उहाँले नेपाललाई स्वर्णपदक दिलाएर नेपाली खेलप्रेमीलाई खुसी प्रदान गर्नुभएको थियो ।
उसुमा दुई स्वर्ण जित्ने निमा हालसम्म एक्ली खेलाडी हुनुहुन्छ । नेपालमा नै आयोजना भएको तेह्रौँ सागमा उहाँले उसुको नानछ्वानमा कुल २० मा १८ दशमलव ९१ अङ्क स्कोर गर्नुभएको थियो । १२ औँ सागमा स्वर्ण जित्दा उहाँको स्कोर १६ दशमलव ९१ थियो । निमाले भन्नुभयो, “फेरि पनि आफनो इफोर्ट स्वर्ण पदकै लागि हुनेछ ।”
नजिकिँदै गरेको नवौँ राष्ट्रिय खेलको तयारीका लागि चेस खेलाडीले पनि जमघट गरेर तिज मनाउन पाएनन् । चेस खेलमा सर्वाधिक सफलता हासिल गर्नुभएकी खेलाडी मोनालिसा खम्बुले पनि औपचारिकरुपमा तीज पर्व मनाउने गर्नुभएको छैन । आफू किरात समुदायमा रहेकाले औपचारिक तीज नमनाए पनि विभिन्न सङ्घसंस्थाले मनाउने गरेको तीज कार्यक्रममा भने उहाँले सहभागिता जनाउने गर्नुभएको छ ।
तीजमा स्पेसली खाने र नाच्ने कार्यक्रममा मात्र नभइ महिला सशक्तीकरणमा सबैले जोड दिन आवश्यक रहेको चेस खेलाडी मोनालिसाले बताउनुभयो । त्रिभुवन आर्मी क्लबमा चेस खेलको व्यवस्थापकको जिम्मेवारी सम्माल्नुभएको उहाँले यसपटकको तीजमा खेलाडीलाई तिजको लागि भनेर घर नपठाएको बताउनुभयो ।
उहाँका अनुसार आर्मीले केही दिनअघिमात्र औपचारिक कार्यक्रमको आयोजना गरेर महिला खेलाडीलाई दर खुवाएको थियो । मोनालिसा नेपालको पहिलो राष्ट्रिय महिला चेस च्याम्पियनका साथै अन्तर्राष्ट्रिय चेसमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ । उहाँ चेस सङ्घको सचिवका साथै नेपालको पहिलो महिला अन्तर्राष्ट्रिय चेस आर्विटसमेत हुनुहुन्छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण अधिकांश खेलका महिला खेलाडी क्लोज क्याम्म नै व्यस्त छन् । तीज पर्वभन्दा पनि आफ्नो टोलीलाई कसरी पहिलो बनाउन सकिन्छ र खेलमा राष्ट्रिय कीर्तिमान कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा खेलाडीको ध्यान केन्द्रित भएको छ । फेरि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले एशियाली खेलकुद (एसियाड) मा सहभागिताको मौका पाउने हुँदा पनि खेलाडीलाई चाडपर्वभन्दा पनि आफनो पफमेन्स नै महत्वपूर्ण रहेको छ ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...