म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा
म्याग्दी | साउन १०, २०७९

म्याग्दी: म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पुर्याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो ।
गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा खानेपानी पुर्याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पुर्याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । चौधवटा खानेपानी योजनामार्फत धारा निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा एक हजार ३४७ घरमा धारा निर्माण गरिएको छ । “स्थानीयवासीले स्वच्छ र सफा खानेपानी उपभोग गर्न पाएका छन्”, पौडेलले भन्नुभयो । विसं २०७५ देखि गण्डकी प्रदेश सरकारले हरेक घरमा सफा र स्वच्छ खानेपानी सुविधा विस्तार गर्न ‘एक घर एक धारा’ कार्यक्रम अघि सारेको हो । जिल्लाभर २९ हजार ४९९ घरमा आधारभूत खानेपानीको पहुँच पुगेको पौडेल बताउनुहुन्छ । आयोजनाले ९६ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच पु¥याउने लक्ष्य लिएको छ ।
प्रदेश सरकारको बजेटबाट अन्नपूर्ण गाउँपालिका–८ मा थावन खानेपानी योजना, रघुगङ्गा गाउँपालिका–१ मा बेगखोला खानेपानी योजना, बेनी नगरपालिका–९ मा गलेश्वर पम्पिङ खानेपानी योजना, निलदह खानेपानी योजना र वडा नं ४ मा सिङ्गा खानेपानी योजना सम्पन्न भई घर–घरमा धारा निर्माण गरिएका छन् ।
यस्तै अन्नपूर्ण गाउँपालिका–६ मा घारा खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–२ मा हिदी खानेपानी योजना, वडा नं १ मा कुहुँ खानेपानी योजना र मालिका गाउँपालिका–२ रुममा सेतखोला खानेपानी योजना सम्पन्न भएको इञ्जिनीयर राजेश उलकले जानकारी दिनुभयो ।
त्यसैगरी बेनी नगरपालिका–२ मा ज्यामरुककोट अर्जम रत्नेचौर खानेपानी योजना र मालिका गाउँपालिका–५ मा देवीस्थान खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–१ मा भर्जुला सल्यान खानेपानी योजना र अन्नपूर्ण गाउँपालिका–६ घारामा नेपाने खोनेपानी योजना सम्पन्न भएको छ। जिल्लामा सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका १० र प्रदेश सरकारका २२ खानेपानी योजना सञ्चालित छन् । सङ्घीय सरकारबाट हस्तान्तरण भएका दुई सम्पन्न तथा ८ योजना निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारका १८ योजना हाल निर्माणाधीन अवस्थामा छन् ।
पोखरा: राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...
पोखरा: छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन ...