काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो । त्यस्तै भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।
पाँचथर: यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् । सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पुर्याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करेन्ट लागेर घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले हालैमात्र घरमा उक्त मिल जडान गरेको स्थानीयवासीले बताएका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार भई झिनो मतान्तरले पराजित भएका थिए ।
काठमाडौँ: संसदीय विशेष छानविन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु गरेको छ । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई सम्लग्न गराएको भनी गठित छानबिन समितिले अर्थमन्त्रालयमा डिलिट गरिएको भनिएको सिसीटिभी फुटेजको वास्तविकता पत्ता लगाउन विधि विज्ञान प्रयोगशाला पठाएको थियो । आज बिहान बसेको समितिको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरणका सम्बन्धमा अध्ययन सुरु गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । प्राविधिक विषयमा थप जानकारी लिन हामीले सम्बन्धित अधिकारीलाई बोलाएका छौँ । समितिको बैठक अपराह्न ४ बजे पुनः बस्नेछ । बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।
काठमाडौँ: मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो । सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । यो आव २०७७/७८ को भन्दा रु २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो । यस्तै आव २०७८७/९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिप/कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो ।मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजस्व सङ्कलन उल्लेखीय बढेको उहाँको भनाइ थियो ।
काठमाडौं: अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको हो । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको बताइएको छ । ती क्लिपहरु केही सेकेन्डका छन् । राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि छन् । मान्छेहरु आउ–जाउ गरेको जस्तो देखिए पनि स्पष्ट देखिंदैन । जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए । सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि शर्मा थप आलोचित बनेका थिए ।
काठमाडौँ: नेपालले साफ यू २० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो । कप्तान आयुष घलानको फ्रि,किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो । खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् । त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । माल्दिभ्सले पनि केहि अवसरलाई खेर फालेको थियो । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौँ: देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । बिहीबारदेखि मनसुन थप सक्रिय हुने बताइएको छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु सबैमा अनुरोध गरेको छ । रातको समयमा देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
बाँके: बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ । “घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, प्रनाउ न्यौपानेले भन्नुभयो । उहाँले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
कास्की: गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश र मुख्यगरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारीका काम अघि बढाइएको छ । करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका जुरेको हो । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको मिति घोषणा गरेर जिम्मेवारी बाँडफाँट गरेसँगै स्थानीस्तरमा पनि खेल पूर्वाधार निरीक्षण, खेलाडी प्रशिक्षणलगायतका काम अघि बढेको छ । प्रतियोगिता सञ्चालनका लागि राखेपले गठन गरेको खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता कास्कीका विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरेको छ । सो उपसमितिका संयोजक एवं रोखप सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा सहारा क्लबको फुटबल मैदान, पोखरा–१९ स्थित गोष्टेघाट खेलमैदान, माछापुच्छ्र गाउँपालिकाको महेन्द्र मावि खेलमैदान, हेमजाको गौरीशङ्कर खेलमैदान र नेपाली सेनाका खेलमैदान निरीक्षण गरिएको छ । संयोजक गुरुङले प्रतियोगिता पोखरा रङ्गशालामै सञ्चालन हुने भए पनि सहभागी टोलीको प्रशिक्षणलाई ध्यान दिएर अभ्यास मैदानको खोजी गरिएको बताउनुभयो । खेल पूर्वाधारका लागि पोखराका विभिन्न वडामा निर्माण सम्पन्न भएका कभर्डहल र खेलमैदानको भरपुर उपयोग गरिने छ । उहाँले भन्नुभयो, “देशको गौरवको रूपमा रहेको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि अहिलेदेखि नै तयारीका काम अघि बढाएका छौँ । खेलस्थलको अनुगमन सुरु गरेका छौँ, पूर्वाधार कस्तो अवस्थामा छन्, के–के काम गर्नुपर्ने हुन्छ भनेर अनुगमन गर्छौँ । प्रतियोगितामा सहभागी टोलीलाई अभ्यास र तयारीमा राम्रो सुविधा दिने योजना छ ।” गण्डकी प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी सङ्घ सरकार मातहतको राखेपको भए पनि आफ्नो प्रदेशमा हुने प्रतियोगितालाई सफल बनाउन प्रदेश खेलकुद परिषद्ले पनि काम अघि बढाएको हो । परिषद्को सोमबार सम्पन्न पूर्ण बैठकले नवौँ राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति, बसोबास व्यवस्थापन, स्वास्थ्य, यातयात व्यवस्थापन, सुरक्ष, प्रचार प्रसार, खेल सामग्री तथा पोशाक व्यवस्थापनलगायतका समिति गठन गरी जिम्मेवारी तोकिएको छ । परिषद्ले खेल सञ्चालन कार्यविधि–२०७९ स्वीकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ । राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिब रु सात करोड खर्च लाग्ने अनुमान रहेको सदस्यसचिव गुरुङले बताउनुभयो । राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुने निर्णय यसअघि नै भइसकेको छ । अधिकांश खेल पोखरामा नै सञ्चालन हुनेछ । केही खेलको पूर्वाधार अझै पनि तयार हुनसकेको छैन । स्वीमिङ, सुटिङ र हक्की खेलको पूर्वाधार पोखरामा पनि छैनन् । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता आयोजकलाई छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना छ । लामो समयपछि हुन लागेको राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई दिन सबै जिल्लामा खेल आयोजना गर्न प्रस्ताव गरिएको भए पनि फुटबल, क्रिकेट, भलिबल, ह्यान्डबललगायत मुख्य–मुख्य खेलसहित अधिकांश खेल पोखरामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो । उहाँले भन्नुभयो, “चार दशकपछि हुन लागेको प्रतियोगितामा सबैको अपनत्व होस् भनेर हामीले ३६ वटा खेलको खेलस्थल सिफारिस गरेर पठाएका छौँ । यसबारेमा राखेपले केही दिनमै निर्णय गर्ला । धेरैजसो खेल पोखरामै सञ्चालन हुने निश्चित छ ।” योगीका अनुसार प्रतियोगिता तयारीका लागि निर्माणाधीन खेल पूर्वाधार सम्पन्न गर्ने, भइरहेकाको स्तरोन्नति तथा प्रतियोगिताका लागि क्षमतावान् खेलाडीको खोजी, नयाँ खेलाडी उत्पादन र उनीहरूलाई प्रशिक्षण दिने गरी योजना निर्माण गरिएको छ । राष्ट्रिय खेलकूदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाभित्र ‘इन्डोर’ र ‘आउटडोर’ खेलका पूर्वाधार तयारी छन् । पोखरामा फुटबलको अन्तर्राष्ट्रिस्तरको रङ्गशाला, सुविधासम्पन्न बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, टेनिस कोर्ट, क्रिकेट मैदानलगायत अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहे पनि केहीको मर्मत र स्तरोन्नति गर्नुपर्ने छन् ।

