राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

पाेखरा | साउन ३१, २०७९

राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

 

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका-१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औंँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो ।

 

राष्ट्रपति भण्डारीले भन्नुभयो, “सीपमूलक, वैज्ञानिक, व्यवहारिक शिक्षा समृद्ध नेपालको आधार शिला हो । मुलुकको सर्वाङ्गीण विकासको आधार शिक्षा भएकोले गुणस्तरीय शिक्षामा नगारिकको समतामूलक एवं न्यायोचित पहुँच स्थापना गर्नुपर्दछ ।”

 

राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक स्रोत साधनको परिचालन गर्ने, तिनको व्यवस्थापकीय क्षमताको विकास गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । गण्डकी प्रदेश अनुपम प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् उन्नत सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको बताउँदै राष्ट्रपति भण्डारीले यस क्षेत्रको प्राकृतिक स्रोत तथा सम्पदामा आधारित उद्यमशीलता प्रवद्र्धनका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधि उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

 

सामुदायिक शिक्षाका क्षेत्रमा राज्यले गरिरहेको लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकेका अवस्थामा विन्ध्यवासिनी माध्यमिक विद्यालयले आफूलाई मुलुकभरकै उत्कृष्ट पाँच विद्यालयमा स्थापित गर्न सकेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेकोमा पनि उहाँले खुसी व्यक्त गर्नुभयो ।

 

पूर्खाको त्याग र बलिदानबाट राष्ट्रिय एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले हामीले आफ्नो गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै मुलुकको विकास र प्रगतिको यात्रालाई बढाउनुपर्ने बताउनुभयो । विद्यालयले प्रदान गर्ने शिक्षाबाट समाज, राष्ट्र र राष्ट्रियताप्रतिको दायित्व बोध हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । 

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवीनतम प्रविधिको उपयोग गर्दै सक्षम जनशक्ति तयारीमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकमा महत्वपूर्ण राजनीतिक परिवर्तन भई तीन तहको सरकार क्रियाशील भइरहेको वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा पनि समयसापेक्ष परिवर्तन गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । शिक्षालाई समयसापेक्ष बनाउन नसक्दासम्म हामीले आफ्ना सपना पूरा गर्न नसकिने उहाँको भनाइ छ । 

 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो इतिहास बोकेको विद्यालयले आफूलाई उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न सकेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । शिक्षाको विकासका लागि महानगरले मर्यादित शिक्षक र अनुशासित विद्यार्थी कार्यक्रम अघि सारेको बताउँदै उहाँले सामुदायिक विद्यालयको गुणस्तरीयता अभिवृद्धि आफूहरूको प्राथमिकतामा रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले प्रविधिको प्रयोगमार्फत हीरक स्तम्भको अनावरण एवम् भवनको उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा)का निर्देशक रामशरण सापकोटा, अतिथि सत्कार समितिका संयोजक दानबहादुर बाँनिया लगायतले विद्यालयका विविध अवस्था सम्बन्धमा बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीका तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...

थप पढ्नुहोस्

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्