पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

रामेछाप:  रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।   ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।    उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ,  काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् ।  प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।    आज बिहान ७ बजेतिर सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको थियाे। 

झापा :     यहाँस्थित दमक नगरपालिका– १० का धिमाल महिलाको आयआर्जनमा सहयोग पुर्याउन नौ थान पेटानी बुन्ने घरेलु तान हस्तान्तरण गरिएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्दै आएका धिमाल समुदायका नौजना महिलालाई सो तान हस्तान्तरण गरेको हो ।     कार्यक्रममा वडाको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को रु एक लाख ५० हजार बजेटबाट जनही करिब रु १७ हजार मूल्य बराबरका नौ थान पेटानी बुन्ने तान वितरण गरिएको वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले बताउनुभयो ।  वडा सचिव योगेश भट्टराईका अनुसार वडाको सेतुमारी, नलबारी र नौ भाइ चोक आसपास धिमाल बस्तीका महिलालाई तान वितरण गरिएको हो । लाभग्राही पुसमाया धिमालले अझै पनि आफ्नो समुदायभित्र तानको अभाब रहेको गुनासो गर्नुभयो । उहाँले आफ्नो गाउँ छिमेकमा तीनवटा मात्र पेटानी बुन्ने तान रहेकाले आलोपालोमा पेटानी बुन्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । 

काठमाण्डौँ:    रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुले पछिल्लो समय सीपमूलक तालिम लिन थालेका छन् । सीप सिकेर विदेश जाँदा सिकेकै काम पाइने, पारिश्रमिक राम्रो पाइने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरु सीपमूलक तालिममा सहभागी हुन थालेका हुन् ।      स्विट्जरल्यान्ड र नेपाल सरकारको साझेदारीमा बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले राहदानी बनाउने बेला नै युवाहरुलाई सीपमूलक तालिमका लागि प्रेरित गर्ने गरेको छ । परियोजना सुरु भएपछि चालु आर्थिक वर्षमा खाडी मुलुक, मलेसिया लगायतका देशहरुमा जाने १३१ जनाले सीपमूलक तालिम लिएका छन् ।           “यो सकारात्मक तथ्याङ्क हो, युवाहरुलाई सीप सिकेर विदेश जाँदा धेरै कुरामा सहज हुन्छ,” वैदेशिक रोजगार बोर्ड सामी परियोजनाका कार्यक्रम अधिकृत शिव रेग्मीले भन्नुभयो, “सुरुआतमा भन्दा यो वर्ष सीप सिक्न चाहने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।” कार्यक्रमले मेसन, कार्पेन्टर, हाउस किपिङ, कुक, तथा अन्य सीपमूलक तालिमहरु निःशुल्क उपलब्ध गराउने गरेको छ । “सीप सिकेपछि मजदुर दक्ष हुन्छ, सोही अनुसारको पारिश्रमिक पाउँछ, अदक्षले १० वर्षमा कमाउने पैसा दक्ष कामदारले पाँच वर्षमा कमाउन सक्छ,” उहाँले भन्नुभयो, “अझै पछि एजेन्टहरुको दबाबमा सीप नसिकी विदेसिने धेरै छन्, यो गलत हो ।”      सामी परियोजना बागलुङका संयोजक मीनप्रसाद पौडेलका अनुसार परियोजनाले स्थापना गरेको आप्रवासी स्रोत केन्द्रबाट व्यक्तिगत परामर्श चार हजार ५६५ जनाले लिएका छन् । जसमा महिलाको सङ्ख्या एक हजार ७२६ छ । परियोजनाले समुदायमा आधारित कार्यक्रम चलाउँछ । आप्रवासी स्रोत केन्द्रमा दर्ता तथा समाधान भएका घटनाहरुको सङ्ख्या ९१ रहेका छन् । विदेश जान गरेको लगानी ठगिएका, विदेशमा ठगिएका, अप्ठयारोमा परेका, तलबभत्ता नपाएका लगायतका गुनासा तथा समस्या केन्द्रमा आउने गरेका छन् ।      वैदेशिक रोजगारीमा भएका घटनामा भएको क्षतिमा राहतस्वरुप केन्द्रले तीन करोड नौ लाख ४५ हजार ६८ आर्थिक सहायता दिलाउन सहजीकरण गरेको जनाइएको छ । चालु आवमा वैदेशिक रोजगारीका क्रममा समस्या (ठगी, जालसाजी तथा पासपोर्ट होल्ड)मा परेका कामदार तथा उनीहरुका परिवारलाई कानुनी सहायताका लागि प्राप्त ४८ उजुरी, गुनासा वा समस्याहरुमध्ये पाँचका उजुरी पूर्ण रुपमा समाधान भएको पौडेलले बताउनुभयो । ती घटनाका पीडितहरुले १० लाख  क्षतिपूर्ति पाएका छन् । परियोजनाले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ जनाको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ । विदेशमा मृत्यु भएकामध्ये अधिकांशको हृदयघातका कारण मृत्यु हुने गरेको तथ्याङ्क आप्रवासी स्रोत केन्द्रसँग छ ।

काठमाण्डौँ:    वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड मङ्गलबार बिहान १०ः३० देखि पुनः सञ्चालनमा आएको छ । स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो ।       पहिराका कारण मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो । मङ्गलबार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेको थियो । उक्त खण्डको ठाउँठाउँमा स–साना पहिरा खसेका थिए । सडक पुनः सञ्चालनमा आएसँगै लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ गइरहेका छन् ।       त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मिशेरा सडक पनि सञ्चालनमा आएको छ । पहिराका कारण अवरुद्ध भएको सडक बागलुङ नगरपालिको सहयोगमा पन्छाइएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो ।

  रामेछाप:   रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो ।   जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चारजना महिला र पाँचजना पुरुष रहेका छन् । साथै, मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।   दुर्घटनामा परी २६ जना घाइते भएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको छ भने २३ जनालाई धुलिखेल अस्पताल, काभ्रेमा पठाइएको उहाँले बताउनुभयो । प्रजिअ पहाडीका अनुसार धुलिखेल अस्पताल पठाइएका घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।

धनगढी:   सुदूरपश्चिमको सहर धनगढीस्थित शिवपुरीधाम जिल्लाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । पछिल्ला समयमा उक्त धाममा निर्माण भइरहेका संरचना, भौगोलिक अवस्थिति आदिका कारण यो स्थल पर्यटकको रोजाइँमा पर्न थालेको हो ।एकसय आठ फिट अग्लो शिवलिङ्ग, १०८ तुलसीका मोठ, द्वादश ज्योतिर्लिङ्गजस्ता धार्मिक महत्वका संरचनाका कारण यस तीर्थस्थलप्रतिको आकर्षण दिनप्रतिदिन  बढिरहेको शिवपुरीधाम व्यवस्थापन समितिका अध्यक्ष बलदेवप्रसाद भट्टले जानकारी दिनुभयो । पछिल्ला समयमा धनगढीबाट मात्र नभएर आसपासका जिल्लाका साथै भारतीय दर्शनार्थी पनि शिवपुरीधाम आउने गरेको उहाँले बताउनुभयो ।   “धाममा पूजाआजाका साथै अवलोकन, भ्रमण र दिनको समयमा पनि मन्दिर परिसरमा घुमफिर गर्न आउनेको सङ्ख्या बढिरहेको छ”, अध्यक्ष भटृले भन्नुभयो, “धनगढीको मुख्य बजार क्षेत्रबाट नजिकै रहेका कारण पनि यो आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।” धाममा विशेष गरी महाशिवरात्रीमा ठूलो भिड लाग्ने गरेको मन्दिरका पूजारी हरिनारायण भट्टले जानकारी दिनुभयो ।    मन्दिरमा विभिन्न महत्वपूर्ण तिथि, मिति र पर्वमा भक्तजन अत्यधिक आउने गरेका छन् भन्दै  उहाँले यस क्षेत्रको प्रचारप्रसार भएमा राम्रै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने अपेक्षा गर्नुभयो । पछिल्ला समयमा शनिवार र विभिन्न सार्वजनिक बिदाका दिनमा धाममा घुम्न र दर्शन गर्न आउनेहरूको चाप देखिन्छ ।धामको प्राचीनकालदेखि नै अस्तित्व रहे पनि यहाँको मन्दिर भने लगभग ४०/४२ सालतिर बनेको स्थानीयवासीले बताए । धाममा दर्शन गरेमा मनले चिताएको पुग्छ भन्ने जनविश्वासका कारण धनगढी र आसपासका दर्शनार्थी यहाँ आइपुग्ने गरेका छन् ।   मन्दिर दैनिक बिहान ५ बजेदेखि बेलुका ७:३० बजेसम्म खुल्ने पुजारी भट्टले जानकारी दिनुभयो । धामको धार्मिक महत्वसँगै भौगोलिक अवस्थिति पनि सुन्दर र रमणीय रहेका कारण पछिल्ला समयमा छिमेकी राष्ट्र भारतबाट पनि ठूलै सङ्ख्यामा धार्मिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो । गएको शिवरात्रिमा पनि अत्याधिक सङ्ख्यामा भारतीय पर्यटक आएका थिए  । धामलाई  धार्मिक पर्यटनको रुपमा  विकास गर्न  र पूर्वाधार निर्माणका लागि समय समयमा विभिन्न महायज्ञ एवं अनुष्ठान गर्दै आइएको छ । स्थानीयवासीका अनुसार शिवपुरी वनसँगै जोडिएको आठ बिघा क्षेत्रमा फैलिएको धाम सुन्दर र रमणीय छ । धनगढी आसपासका शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबालगायत गन्तव्यलाई जोडेर यस क्षेत्रमा पर्यटकीय गतिविधिलाई अघि बढाउन सकिने सरोकारवालाले बताए । यस क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणसँगै प्रवद्र्धनका लागि धनगढी उपमहानगरपालिका र प्रदेश सरकारको ध्यान पुग्नु जरुरी भएको छ । वरिपरि जङ्गलले ढाकिएको शिवपुरी उत्तररामेश्वर ज्योतिलिङ्ग धाममा १०८ फिट अग्लो शिवलिङ्ग सबैको आकर्षण बनेको छ ।       दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिङ्गका रुपमा रहेको जिकिर गरिएको यस धाम वरपरका एक सय आठ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायणको मन्दिर आदिले यहाँको गरिमा र महिमा बढाएका छन् । पछिल्ला वर्षमा धाममा विवाह, व्रतबन्धजस्ता धेरै माङ्गालिक कार्य हुने गरेका छन् । माङ्गालिक कार्यलाई लक्ष गरी विभिन्न मण्डप बनाउनुका साथै गणेश मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायणको मन्दिर, दुर्गा मन्दिर र उग्रतारा मन्दिर आदिले यहाँको शोभा बढाएको देखिन्छ ।     मन्दिर परिसरमा साधुसन्तका  लागि आवास भवन पनि निर्माण गरिएको छ । धामको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नका  स्थानीय एवं प्रदेश सरकारले चासो दिनुपर्ने देखिएको स्थानीयवासी एवं धाम व्यवस्थापन समितिका महासचिव योगेश मल्ल (योगेन्द्र) ले बताउनुभयो । धाम वरपर रहेको धार्मिक वनमा तारबार नहुँदा छाडाचौपाया जाने ठाउँ भएको बताउँदै उहाँले यसतर्फ सम्बद्ध सबैले चासो दिनुपर्ने देखिएको उल्लेख गर्नुभयो ।    धाम परिसरमा विभिन्न सङ्घ संस्थाले समय समयमा वृक्षरोपण गरे पनि ताराबार नहुँदा छाडा चौपायासँग जोगाउन नसकिएको महासचिव मल्लले बताउनुभयो ।“शिवपुरीधाम धनगढीको गहना जस्तै हो, यसको संरक्षण गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा स्वदेशी पर्यटकका साथै भारतीय पर्यटकको पनि आकर्षक गन्तव्य बन्न गएको यस क्षेत्रको प्रचारप्रसार मात्रै गर्न सकेपनि विकासमा ठूलो योगदान पुग्न सक्ने देखिन्छ ।” झण्डै आठ बिघा क्षेत्रफलमा रहेको धामलाई व्यवस्थित गर्न सकिएमा यो यस क्षेत्रको विशिष्ट गन्तव्यका रुपमा विकास हुने उहाँको महासचिव मल्लको भनाइ थियो । 

  गण्डकी:   गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले प्रदेशका अर्थमन्त्री रामजी बराललाई निर्वाचन पूर्वाधार कार्यक्रम किन ? भनेर प्रश्न गरेका छन् ।     आर्थिक वर्ष २०७९/०८० को बजेट माथि छलफल क्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले आफुहरु प्रतिपक्षमा हुँदा आफुले निर्वाचन पुर्वाधार कार्यक्रम खारेज गर्न माग गर्दा आवश्यक रहेको भन्दै गर्दा अहिले किन हटाएको भन्दै प्रश्न गरे ।    व्यवसायीहरुलाई प्रदेश सरकारले करको भार दिएको भन्दै करको विषयलाई सच्चाएर ल्याउन माग गरे । आर्थिक वर्षको बजेटमा मन्त्री केन्द्रित भएको भन्दै उनले जुन मन्त्री नजिक छ त्यही मन्त्रीले बजेट पाएको बताए ।    सांसद मल्लले पुर्वाधार विकासमा ध्यान नदिएर डिपिआरको चाङ लगाएको भन्दै असन्तोष व्यक्त गरेका छन् ।    

  काठमाण्डौँ:  तन्त्र भनेको झारफुक र अन्धविश्वास मात्रै नभइ ज्ञान पनि भएकाले तन्त्र विद्याबाट लाभ लिन सक्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा आइतबार आयोजित ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा विद्यानाथ उपाध्यायले तन्त्रका विषयमा जनमानसमा अन्योल रहेको उल्लेख गर्दै भन्नुभयो, “यो झुठा विद्याको रूपमा यो परिचित छ । यो झारफुक गर्ने र मन्त्रको प्रयोग गर्ने मात्रै होइन, मन्त्रको मूल पक्ष भनेको ज्ञान हो ।” तन्त्र शब्द रुढ भइसकेको भन्दै उहाँले अर्थ बुझाइमा कमजोरी रहेको बताउनुभयो ।    उहाँले तन्त्रको प्रयोगबाट मानवजीवनले फाइदा लिनु त्यसको प्रमुख लक्ष्य रहेको भन्दै संसार भोगको लागि बनेको तर भोगमै मात्र लिप्त नभएर मोक्ष पनि प्राप्त गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । “हाम्रा मानसिक र शारीरिक कष्ट वा दुःख नष्ट गर्न जुन साधना गर्छौँ त्यो तन्त्र विद्या हो ।  तन्त्रको स्रोत भगवान शिव रहेकाले तन्त्रबाट शास्त्र आउँछ, शास्त्रबाट ज्ञान आउँछ ।” प्रा उपाध्यायले  भन्नुभयो, “शिवले पार्वतीलाई शिष्य बनाएर दिएको मन्त्र र ज्ञान नै अहिले गुरुदक्षिणाको रूपमा हामीले प्राप्त गरिरहेका छौँ । तन्त्र साधना हो । तन्त्रविद्या र स्नायुविज्ञानको संयोजनबाट अब अघि बढ्नुपर्छ । ब्रह्मविद्या वा आत्मविद्या सम्पूर्ण विद्या हो । ध्यान, योग, साधना ज्ञानसम्म पुग्ने बाटा हुन् । तन्त्रविद्या पनि मोक्ष, खुसी वा सुख प्राप्तिको साधन हो ।”   गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठान ज्ञानको उत्खनन गर्ने संस्था भएको बताउँदै त्यसै सन्दर्भमा आफ्नो कार्यक्षेत्रभित्र परेको विषयमा यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “वैदिक वा परम्परागत विज्ञान र आधुनिक विज्ञान एकआपसमा सहकार्य नगरी पूर्ण हुँदैनन् । पश्चिमा वैज्ञानिकहरू पनि पूर्वीय दर्शन र परम्पराको अध्ययनमा लागिपरेका छन् । परम्परागत र आधुनिक विज्ञान एकअर्काका परिपुरक रहेको हुँदा यस कार्यक्रमको औचित्य र उद्देश्य पनि यसैमा केन्द्रित रहेको हो ।”   प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले तन्त्र,मन्त्र र साधनाले धेरै रोग निको हुने र मानव जीवन सफल हुने बताउनुभयो । उहाँले विभिन्न मठ, मन्दिरमा तन्त्रविद्यासहित पूजा र अनुष्ठान गरे रोग निको हुने उदाहरण दिँदै त्यसले विज्ञानलाई पनि चुनौती दिएको विचार व्यक्त गर्नुभयो । दर्शनशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध केलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले आत्मिक शान्तिका लागि पनि तन्त्र र योगको आवश्यकता रहेको विचार व्यक्त गर्दै परिषद्ले मानव जीवनका हरेक क्षेत्रमा अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो ।    वरिष्ठ मुटुरोग विशेषज्ञ डा रत्नराज पौडेलले चेतनाको विषयमा आधुनिक विज्ञानले अध्ययन गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।

बागलुङ:    बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ ।  नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालिको लागि आवश्यक पर्ने सो मल वितरण गर्न लागिएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   वीरगञ्ज साल्ट टेडिङ बाट मल आउन शुरु गरेको र यहा पनि  करिब दुई गाडी मल भित्रिएको उहाँको भनाइ छ । रासायनिक मलको मुल्य  सम्बन्धित पालिकाले तोके बमोजिम बिक्री वितरण गरिने कर्पोरेशनले जनाएको छ । मल आउने क्रम जारी रहेको छ ।      रासायनिक मल बागलुङ सहित पर्वत र म्याग्दीमा समेत वितरण गरिने कर्पोरेशनको भनाइ छ । तत्कालका लागि आवश्यक युरिया र डिएपी मल भित्रिएकाले मल अभावमा निरास बनेका किसानको लागि अब केही राहत हुने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।