तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

दार्चुला:   अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्नुहुन्छ । उहाँ वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउनुहुन्छ ।   पढाइ सामान्य साक्षर मात्र गर्नुभएका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउनुुहुन्छ । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उहाँ सुनाउनुहुन्छ । “एक महिना यार्सागुम्बा गरेर झण्डै रु चार लाख कमाइ भयो”, उहाँले भन्नभयो, “जङ्गलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुपर्यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ ।”           यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन् । यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन् । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा सङ्कलनमा समेत असर पर्यो । यस वर्ष यार्सागुम्बा वैशाखमै सङ्कलन भयो । सङ्कलन गरेकाहरुले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन् ।       अपिहिमाल–१ का ललित जाग्रीले भन्नुभयो, “एक महिना मेहनत गर्यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुपर्यो ? यार्सागुम्बा मात्र नभई सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन् ।”      यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन् । व्यापारी आफैँ घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन् । यस वर्ष व्यापारीले प्रतिकिलो रु १५ हजारदेखि रु १८ हजार हालेर यार्सागुम्बा खरिद गरेका छन् । विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन् । यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ । स्थानीय धनसिंह जाग्री जिल्लाभरिबाट अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको बताउनुहुन्छ । जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताउनुहुन्छ ।    यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन      अपि नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपि हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपि फेद, दूधीवनलगायतका वनमा यार्सागुम्बा सङ्कलन भएको हो ।      जिल्लाबाट यस वर्ष असारसम्म ७२२ किलोग्राम यार्सागुम्बाको छोडपूर्जी जारी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो रु ३० हजारका दरले कूल दुई करोड १६ लाख ६० हजार राजस्व सङ्कलन गरेको अपि नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिनुभयो ।       अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा सङ्कलन र निकासी घटेको थियो । यार्सागुम्बा सङ्कलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्वदर अझै बढ्ने अनुमान गरिएको छ ।     अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ६६९ किलो, २०७४÷७५ मा ७६४ किलो, २०७५÷७६ मा ५४५ किलो, २०७६र७७ मा ३२७ किलो र २०७७८ मा ३०५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो । 

काठमाण्डौैँ:     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार पुगेको छ ।   पहेंलो धातु आइतबार प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार १०० थियो ।    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ । 

काठमाण्डौँ:     बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ ।      बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो । 

काठमाण्डौँ:   अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ ।       सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको उहाँको भनाइ छ । लेदोले सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ ।  मस्र्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।       सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन । डुम्रे बेँसीसहर सडक खण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्ष समेत पहिरा गएपछि वैकल्पिकरुपमा सो स्थान नजिकै माथिबाट सडक सञ्चालन गरे पनि गत पहिरो हप्तामा आएको बाढी पहिराले उक्त सडकसमेत बगाएपछि उक्त सेनाको सडक हुँदै सवारी सञ्चालन हुन थालेको छ ।     सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन हुन सकेको छैन । यसअघि समेत गत असार २८ गते सोही स्थानमा सडक अवरुद्ध भएको थियो भने, सो अघि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । ४२ किलोमिटर दूरी रहेको यस सडकमा पहिराले यात्रुलाई समस्या उत्पन्न गराउँदै आएको छ । 

बाठमाण्डौँ:     देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई  कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ ।       स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो ।      दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान भनिएको छ । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गर्नुभयो ।      ती जिल्लामा प्रदेश नं १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र  पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर छन् ।      यस्तै गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुने छन् ।      यस्तै दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । 

काठमाण्डौँ:    नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।        सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु”, पदभार ग्रहणका क्रममा उहाँले भन्नुभयो, “चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।”        यसअघि आजै उहाँलाई राष्ट्रिपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।          प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियोे । उहाँ १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

नुवाकोट:    नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको निधन भएको हो ।       जिल्लाको ककनी गाउँपालिका–१ स्थित महालक्ष्मी थानमा आज भएको मिनीट्रक दुर्घटना हुँदा सोही स्थानकी वसन्ती बलामीको निधन भएको छ । ओखरपौवाबाट तरकारी लिएर काठमाडौँ जान लागेको बा ४ ख ३७२८ नम्बरको मिनीट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा ३२ वर्षीया बलामीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मिनीट्रकमा यात्रा गरिरहेका अन्य पाँच घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनापश्चात मिनीट्रकका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।    लिखु गाउँपालिका–६ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा सोही स्थानका २९ वर्षीय करण केसीको निधन भएको नुवाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिनुभयो । उहाँको अनुसार छहरे बजारबाट घरतर्फ जाँदै गरेका केसीले चलाएको ना ६२ प ९५२१ नं को मोटरसाइकल मध्यपहाडी सडक मार्गको छहरेस्थित सडकछेउको विद्युतीय खम्बामा ठोक्किँदा घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो । उनको छहरे बजारमा रहेको सेवा सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । 

काठमाण्डौँ:   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि भएको कारोबारमा नेप्से परिसूचक १.९३ अङ्कले उकालो लागेर दुई हजार ११.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले उकालो लागेर ३८५.९३ मा पुगेको छ ।    कूल २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर रु एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ८.५४, व्यापार ८.५३, उत्पादन ४३.५५, जीवन बीमा १५.२१ र लगानी ०.५९ अङ्कले उकालो लागेको छ ।    त्यस्तै होटल तथा पर्यटन ३१.८३, विकास बैंक १.४६, जलविद्युत् २६.३६, वित्त ११.५६, निर्जीवन बीमा ६.९६, अन्य १०.६३, लघुवित्त १७.१८ र सामूहिक लगानी कोष ०।०३ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ७२ अर्ब १० करोड ३७ लाख ३९ हजार ५२८ बराबर रहेको छ ।    कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड चार लाख ६६ हजार १४३ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ७६ लाख ५८ हजार ४९२, अरुण काबेली पावर रु चार करोड ६५ लाख ४७ हजार ७३३, एनआइसी एशिया बैंक रु चार करोड ५६ लाख ३० हजार ८४४ र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ४६ लाख चार हजार बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।    नेप्सेका अनुसार राधी विद्युत् कम्पनी ५.४८, प्रभु बैंक ४.७३, नयाँ सारथी लघुवित्त ४.४३, कुमारी बैंक ४.१९, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.९४ प्रतिशतले कमाए । त्यस्तै प्रभु सेलेक्ट फण्ड ९.७८, सामुदायिक लघुवित्त ७.५०, नबिल ब्यालेन्स फण्ड तेस्रो ५.२०, मिथिला लघुवित्त ४.५४ र छिमेक लघुवित्तका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए ।

  काठमाण्डौँ:    पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।    एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्।   ५९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।