सिमित समयका लागि आएको छु, काम गरेर देखाउँछु: भूवन केसी
पाेखरा | साउन २२, २०७९

पोखरा: चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफु सिमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफुले काम गर्ने बताए ।
‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ । काम गर्न आएको हुँ । छोटो समय नै सही काम गरेर देखाउने छु ।’
नेपालको मौलिक कथाका विषयमा आफ्नो चिन्तन पहिलेदेखि नै भएको अभिव्यक्ति उनको थियो । नेपाली सिनेमालाई विश्वबजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । जसका लागि विकास बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भनाई उनको छ ।
जीवनको ४० वर्ष आफुले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए । ‘जीवनको लामो समय मैले चलचित्र क्षेत्रमा नै बिताएको छु । यसमा भएका विविध समस्या सँग म जानकार नै छु । हिजो प्रश्न गर्ने ठाउँमा म थिए । आज उत्तर दिने ठाउँमा छु । प्रशासनलाई बुझ्दै छु । सबैलाई समेटेर चलचित्र क्षेत्रको सुधारमा लाग्ने प्रण गर्दछु ।’, उनले भने ।
केसीले निर्माता तथा निर्देशक एवम् कलाकार बिमल पौडेलले चालेको कदमको प्रशंसा गरे । समाजको कथा खोज्ने कार्यमा बिकास बोर्डले सक्दो सहयोग गर्ने भनाई उनको छ ।
क्याराभान नेपाल प्रालीका निर्देशक एवम् कार्यक्रम ‘आफ्नो कथा आफ्नो सिनेमा’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको अभिव्यक्ति प्रस्तुत गरे । हामीले आफ्नो कथालाई चलचित्रमा प्रस्तुत गर्न नसक्दा यस्तो समस्या आएको भनाई उनको छ । उनले आफुले एक अभियानको थालनी गरेको बताए । ‘कार्यक्रम आफ्नो कथा आफ्नो सिनेमा एक अभियान हो । जून अभियान मार्फत हामी समाजमा भएका कथा खोज्छौं । हरेक व्यक्तिका व्यथालाई प्रस्तुत गर्छौं ।’, उनले भने ।
पौडेलले यो अभियान गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने बताए । हरेक जिल्लाको स्थानीय तहसँग समन्वय गरी समाजका कथालाई बुझ्ने प्रयासमा आफु रहेको भनाई उनको छ । उनले प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्नुपर्ने आवश्यकतालाई समेत औंल्याएका छन् ।
चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सिमित नरही कथाको खोजी गर्ने र सिनेमाको संरक्षणमा लाग्नुपर्ने बताए । उनले यसका लागि सहज नीति नियमको अवधारणामा जानुपर्ने आवश्यकतालाई सुझाएका छन् ।
कलाकार प्रकाश घिमिरेले नेपाली कथावस्तुअनुसार कलाकारले अभिनय गर्ने हुँदा मौलिकतामा विशेष ध्यान दिनुपर्ने बताए । सिनेमा बुझेको निर्माता चलचित्र क्षेत्रमा आउनुपर्ने भनाई उनको छ ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले किताबी विषयलाई घोेकेको आधारमा मात्रै चलचित्रको कथावस्तु उत्कृष्ट बन्न नसक्ने बताए । यसका लागि समाजमा नै गएर बुझ्नुपर्ने धारणा उनको छ ।
गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्ज बहादुर गुरुङले पूर्वदेखि पश्चिमका कथालाई खोज्नुपर्ने धारणा राखे । जिफानका निवर्तमान अध्यक्ष भोज बहादुर गुरुङले भाषागत चलचित्र अब च्यारेटीमा मात्रै सिमित हुन नहुने बताए । भाषागत चलचित्रलाई सेन्सरमा समस्या भएकोले यसको निवारण तर्फ विकास बोर्डले ध्यान दिनुपर्ने तर्क उनको छ ।
मगर चलचित्र संघ कास्कीका अध्यक्ष राहुल थापाले मगर चलचित्रको व्यवस्थापन र संरक्षणमा सरकारी निकायले साथ दिनुपर्ने बताए ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यह...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीन वटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा बिहीबार बसेको ५३औँ सचिवालय बैठकले विधान...
पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट छुट्टाएको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गाउँपालिका भित्र बाँदर आतंक नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाइएको हो ।...