पोखरा:  सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड...

तनहुँ :      मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।   बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा  अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।   गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति र्पुयाएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो ।

काठमाडौँ:      भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ ।   गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गर्नुभएकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी हुनुहुन्छ ।   “गत वर्ष दुवै छोरालाई दरबार हाइस्कुलमा भर्ना गरेँ, कान्छो छोरो कक्षा ७ बाट ८ मा गयो, ९ मा भर्ना गरेको छोरो उत्तीर्ण भएन, विद्यालयको नाम दरबार, पढाइ राम्रो भएन”, उहाँले भन्नुभयो । दोलखाबाट राजधानी आएर दरबार हाइस्कुलमा दुवै छोरा पढाइरहनुभएकी सुजना न्यौपानेको अनुभव पनि गिरीको भन्दा फरक छैन । उहाँका छोराहरू कक्षा सात र एकमा अध्ययनरत छन् ।    विद्यालयका निमित्त प्रधानाध्यापक शारदाकुमारी पौडेल कोरोनाका कारण अनलाइन कक्षा हुँदा धेरै विद्यार्थी जुम प्रविधिमा जोडिन नसकेका कारण गत शैक्षिकसत्रमा राम्रो परिणाम आउन नसकेको स्वीकार गर्नुहुन्छ । “परिणाम राम्रो नहुनुमा विद्यालय मात्र जिम्मेवार छैन, कोरोनाको समयमा विद्यालय खोल्न नसक्नु, विद्यार्थी प्रविधिमा जोडिएर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन नसक्नुलगायत कारणले सोचेजस्तो परिणाम आउन सकेन”, उहाँले भन्नुभयो ।   सङ्घीय कानुनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन अभिभावक नै हुनुपर्ने व्यवस्था छ । तर स्थानीय सरकारले बनाएको कानुनमा भने अभिभावकसँगै शिक्षाविद् र स्थानीय समाजसेवी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सक्ने प्रावधान राखिएको छ । यही व्यवस्थाका कारण छोराछोरी संस्थागत विद्यालयमा पढाउने अभिभावक पनि विद्यालय व्यवस्थापन समितिको पदाधिकारी बन्ने गरेका छन् ।   अहिले भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनुभएका गोपाल महर्जनका बालबालिका पनि यहाँ अध्ययन गर्दैनन् । महर्जन स्थानीय समाजसेवीका रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको हो । सङ्घीय कानुनमा अभिभावक नै व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था भएका बेला पनि यहाँ भने बाहिरबाटै अध्यक्ष बनाउने गरिएको विद्यालयका शिक्षक र  अभिभावकको आरोप छ । यसअघि व्यवस्थापन समिति गठन हुँदा शिक्षकहरूले अभिभावकलाई नै अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।   काठमाडौँ महानगरपालिका शिक्षा शाखाका कर्मचारी र जिल्ला शिक्षा समन्वय एकाइबाट खटिइआएका कर्मचारीले भने स्थानीय सरकारले बनाएको कानुन देखाएर शिक्षाविद् वा समाजसेवीमध्येबाट पनि बनाउन सकिने सुझाव दिएपछि महर्जन अध्यक्ष हुनुभएको हो । विद्यालयका शिक्षक पदमबहादुर बटाला वरिष्ठ शिक्षक अखिलेशप्रसाद आजादले प्रधानाध्यापक पदबाट राजीनामा दिएपछि शैक्षिक, प्रशासनिक र आर्थिक काम गर्ने गरी तेस्रो नम्बर वरियताकी शिक्षिका पौडेललाई निमित्त दिएको बताउनुहुन्छ । निमित्त दिएको लामो सयमसम्म पनि उहाँलाई प्रधानाध्यापक बनाउने वा अर्कोलाई दिने भन्ने निर्णय नहुँदा केही समस्या आएको उहाँले स्वीकार गर्नुभयो ।    बटाला शिक्षक नियुक्त भएर आउँदा २०७० सालमा करिब ७० मात्र विद्यार्थी थिए । त्यसबेला औँलामा गन्न सकिने विद्यार्थीमात्र उत्तीर्ण हुने गरेको उहाँको स्मरणमा अझै ताजा छ । त्यसबेलाको भन्दा अहिले ५० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा पनि गुणस्तर सुध्रिएको मान्नुपर्ने उहाँको तर्क छ ।   करिब ५०० विद्यार्थी रहेको विद्यालयमा अहिले भर्ना गर्न आउने क्रम जारी छ । तर कक्षामा स्थान अभावका कारण विद्यालयले भर्ना लिन सकेको छैन । एउटा कक्षामा करिब ४० विद्यार्थीमात्र अटाउँछन् । अर्को सेक्सन बनाउनसमेत स्थान अभाव भएपछि भर्ना हुन आउने विद्यार्थीलाई फर्काउनुपरेको अध्यक्ष महर्जनले बताउनुभयो ।   काठमाडौँ महानगरपालिका वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गी आफू निर्वाचित भएलगत्तै विद्यालयको कमजोर गुणस्तरका बारेमा धेरै गुनासा आएको बताउनुहुन्छ । विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य भए पनि आफू निर्वाचित भएपछि बैठकका लागि कुनै जानकारी नआएको उहाँले सुनाउनुभयो ।   “विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडा कार्यालयले आफैँ केही गर्न सक्छ कि सक्दैन भन्ने विषयमा मैले कानुनी पक्षको अध्ययन गरिरहेको छु, वडाले केही गर्न नसक्ने अवस्था भएमा महानगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरेर सुधारका कामको थालनी गछौँ”, उहाँले भन्नुभयो ।  

लमजुङ :     लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका परियार  बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको  उद्धार गरिएको हो ।   विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा भेटिएका हुन् । परियारको उद्धार गरी ल्याइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।   प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, दिल्लीस्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुरको सहयोग र समन्वयमा परियारको उद्धार गरी नेपाल ल्याएको हो । परियारलाई प्रहरीले उनका आफन्तको जिम्मा लगाएको छ । 

  काठमाण्डौँ :        बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठक सम्पन्न भएको छ । आज दिउँसो बसेको बैठकमा आर्थिक वर्ष २०७८/७९ को प्रदेश आर्थिक सर्वेक्षण प्रस्तुत गरिनुका साथै विभिन्न प्रतिवेशन पेश गरिएका थिए ।      बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।       त्यस्तै, बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नुभयो । आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा मन्त्री जम्मकट्टेलले आर्थिक वर्ष २०७८÷७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकामा बागमती प्रदेशको अंश सबै प्रदेशको भन्दा बढी ३६.९ प्रतिशत अर्थात् रु १७ खर्ब ९० अर्ब ६८ करोड रहने अनुमान रहेको बताउनुभयो ।    त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा बागमती प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु १७ खर्ब ९० खर्ब ६८ करोड हुने अनुमानमध्ये थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको अंश सबैभन्दा बढी .  २५.१० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।       त्यसैगरी मन्त्री जम्मकट्टेलले वित्तीय तथा बीमा उत्पादन उद्योगको अंश क्रमश ११.१० र ५.५० प्रतिशत रहेको बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५.८४ प्रतिशत रहने अनुमान गरिएकामा प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.६० प्रतिशत कायम हुने मन्त्री जम्मकट्टेलले बताउनुभयो ।      सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ४ बजेसम्मका लागि स्थगित गर्नुभयो । उहाँले आर्थिक सर्वेक्षण प्रस्तुत र विभिन्न प्रतिवेदन पेश भएसँगै आजको बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।      बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि असार १ गते बजेट ल्याउँदैछ । 

काठमाण्डौँ :      सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषद्ले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने निर्णय गरेको छ ।    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यही जेठ २७ गते मन्त्रिस्तरीय निर्णय गरेर कृषि क्षेत्र निर्धारण नभएका कुनै पनि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरिएको छ । मन्त्रालयले मातहतका मालपोत र नापी कार्यालयलाई त्यस्तो निर्णय कार्यान्वयनका लागि पठाएको छ ।    बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा धितो बन्धक राख्दा खेतीयोग्य वा गैर खेतीयोग्य क्षेत्रको वर्गीकरण गरेर मात्रै लिखत पारित गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो निर्णय भएसँगै अब कृषियोग्य भूमिको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाइने भएको छ ।    कुनै व्यक्ति, फर्म कम्पनी वा संस्थाले जुनसुकै प्रकारका लिखतबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने गरी लिखत पास गर्न आएका स्थानीय भूउपयोग परिषद्ले गरेबमोजिम स्थानीय तहबाट सिफारिश भई आएमा खेतीयोग्य जग्गा भए भूउपयोग नियमावली अनुसार गर्नुपर्नेछ ।    गैर कृषि क्षेत्रको भए नियमावलीको अर्को प्रबन्ध अनुसारको क्षेत्रफल भन्दा कम नहुने गरी कित्ताकाट गर्नुपर्नेछ । मन्त्रालयका अनुसार पुनः नापीको क्रममा कुनै जग्गा ब्लकमा नापजाँच भई हाल साविक दर्ता गर्दा कित्ता छुट्याउनुपर्ने भएमा साविक प्रमाण बमोजिम कित्ताकाट हुनेछ । तर, साविकको एक कित्ता हाल साविक गर्दा हाल कायम रहेको बाटो, कुलोलगायतले सिमाना छुट्याइएको अवस्थामा बाहेक एउटा ब्लकबाट कित्ताकाट हुँदा एकभन्दा बढी कित्ता कायम हुने गरी हाल साविक गर्न पाइने छैन ।    भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै आवासीय प्रयोजनका लागि आधिकारिक निकायबाट प्लानिङ अनुमति प्राप्त गरेका कम्पनी वा निकायले प्लानिङ अनुमति पाएका कम्पनी वा निकायले प्लानिङ पर्मिट प्राप्त गरी स्वीकृत नक्शा बमोजिम कित्ता नापी नक्शामा बाटो तथा सार्वजनिक क्षेत्र कायम गरी सकेको भए सोही अनुसार नै कित्ताकाट हुनेछ । त्यसमा कुनै पनि बाधा पर्नेछैन । मन्त्रालयका अनुसार भूउपयोग नियमावली, २०७९ लागू हुनु अगावै प्लानिङ अनुमति प्राप्त गरी स्वीकृत नक्शा बमोजिम कित्ता नापी नक्शामा कित्ताबाट गर्न बाँकी रहेको भए नियमावलीको नियम १२ बमोजिमको क्षेत्रफल कायम हुने गरी मात्रै कित्ताकाट गर्नुपर्नेछ ।    कुनै पनि कित्ता जग्गा कित्ताकाट गरी प्लट मिलान गर्दा तोकिएको क्षेत्रफल भन्दा कम क्षेत्रफल बाँकी नहुने मात्र प्लट मिलान गर्न गराउन सकिने प्रबन्ध गरिएको छ ।  पछिल्लो व्यवस्थाले कृषियोग्य भूमिको खण्डीकरण गर्ने काममा निरुत्साहन हुने विश्वास गरिएको छ । मन्त्रीस्तरीय निर्णय कार्यान्यनका लागि मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभागलाई कार्यान्वयनका लागि पठाएको छ ।      त्यस्तै, राष्ट्रिय भूमि आयोगलाई पनि सोही अनुसार गर्न भनिएको छ । भूउपयोग ऐन र नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयनमा सहजीकरण गर्न नेपाल राजपत्रमा यसअघि नै सूचना प्रकाशित भइसकेको छ । भूउपयोग कार्यक्रम सञ्चालन नहुन्जेलसम्म वा भूउपयोग नियमावली, २०७९ को नियम ५ को उपनियम ७ बमोजिम चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नैपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार कार्यान्वयनका लागि मातहतका कार्यालयलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।   नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखेर रु ३१ खर्ब ५८ अर्ब बराबरको ऋण प्रवाह गरेका छन् । अधिकांशले घर जग्गालाई धितो राखेर ऋण प्रवाह गरेको पाइएको छ । यस्तै, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषलगायतले पनि घर जग्गा धितोमा ऋण प्रवाह गरेका छन् । सामाजिक सुरक्षा कोषले समेत त्यसका लागि आवश्यक तयारी गरिरहेको छ ।   

काठमाण्डौँ :      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने भन्दै विमानस्थललाई सफाइको नमूना बनाउने बताउनु भएको छ ।   काठमाडौँ विमानस्थलमा कार्यरत निजी क्षेत्रका १५२ जना सरसफाइसम्बन्धी कामदार तथा कर्मचारीलाई दिइएको दुइ  हप्ते अन्तर्राष्ट्रिय स्तरको सफाइ प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरु आउँदा फोहरका कारण अब नाक छोप्नुपर्ने अवस्था नहुने बताउनु भएको हो ।       उहाँले भन्नुभयो, “हामीले एअरपोर्टमा पर्यटक आउँदा फोहरले नाक छोप्नुपर्ने अवस्थाको अन्त गरेका छौँ, विमानस्थल विमान सरसफाइ राख्ने जिम्मा सरसफाइकर्मीको हातमा छ, आफूले लिएको सरसफाइसम्बन्धी तालिमको भरपुर प्रयोग गर्नुस्, के सहयोग चाहिन्छ, म सहयोग गर्छु ।” विमानस्थलमा सरसफाइसम्बन्धी टेन्डर गर्दा प्रत्येक वर्ष ठेकेदार फेरिने तर सरसफाइ कर्मचारी उही रहने भएकाले विमानस्थल सधैँ सफा राख्ने जिम्मा सफाइकर्मीकै हातमा भएकाले देशको प्रतिष्ठा राख्न विमानस्थल सधैँ सफा राख्नुपर्ने मन्त्री आलेले आग्रह गर्नुभयो ।      विमानस्थलमा सरसफाइसम्बन्धी काम गर्ने कर्मचारीहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्था मिलाउनसमेत मन्त्री आलेले विमानस्थल प्रमुखलाई निर्देशन दिनुभयो । मन्त्री आलेले सरसफाइको काममा कामदार मात्रै दोषी नहुने भन्दै यहाँका कर्मचारी, सुपरभाइजरहरुले पनि कामको गुणस्तार हेर्नुपर्ने र त्यस्तै सेवा दिनुपर्ने बताउनुभयो ।        यसैगरी मन्त्री आलेले आफुले दिएको निर्देशनबमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न विकासका कामहरु भएका र थुप्रै राम्रा कामहरु भएको दाबीसमेत गर्नुभयो । विमानस्थलमा ब्यागेज बेल्टदेखि टर्मिनल भवनको शिलान्यास गरिनाका साथै पानीका फोहरा निर्माणका कामहरु पनि आफ्नै निर्देशनमा भएको मन्त्री आलेको भनाइ थियो ।    उक्त सरसफाइ प्रशिक्षणको पहिलो चरणमा आज ७० जनालाई प्रमाणपत्र दिइएको थियो । यस अभियानका १५२ जनामध्ये अर्को चरणको तालिम आगामी बिहीबारदेखि सुरु हुनेछ । सरसफाईसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षक खेम शर्माले सरसफाईसम्बन्धी प्रशिक्षण दिइरहनुभएको छ । यसअघि पनि पाँच वर्षअघि उहाँले आफ्नो नेतृत्वको खेम्स क्लिनिङ नामक सरसफाई सम्बन्धी कम्पनीमार्फत् स्वयंसेवी रुपमा यस विमानस्थलको सफाई गरी एक नमूना प्रस्तुत गर्नुभएको थियो ।         यस प्रशिक्षण एवं तालिमबाट विमानस्थल थप सफा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।   

  काठमाण्डौँ :       वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले नेकपा (माओवादीकेन्द्र)बाट वाग्मती प्रदेशमा निर्वाचित जनप्रतिनीधिलाई जनताको मन जित्नेगरी काम गर्न सुझाव दिनुभएको छ ।    माओवादीका वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका जम्कट्टेलले आज हेटौँडामा आयोजित कार्यक्रममा प्रदेशमा निर्वाचित जनप्रतिनीधिलाई बधाई दिँदै जनताले महसुस गर्नसक्ने काम गरेर उनीहरुको मन जित्नुपर्ने बताउनुभएको हो । “व्यवस्था बदलिए पनि अवस्था नबदलिएका कारण जनतामा निराशापन छाएको छ, अब जनप्रतिनीधिले जनतालाई विकास दिएर सुखी र खुसी बनाउनुपर्नेतर्फ लाग्नुपर्दछ, यसका लागि उत्कृष्ट कामका योजना ल्याउनुस्” उहाँले भन्नुभयो ।   कार्यक्रममा वन तथा वातावरणमन्त्री विशाल खड्काले अब जनताको लागि जनप्रतिनीधिले उपलब्धिमूलक काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “जितभन्दा पनि जितेपछि जनताको मन जित्नसक्ने काम चुनौतीपूर्ण छ यस चुनौतीलाई सामना गर्दै जनताको सिंहदरबारमा जनताकै हितमा काम गर्नुपर्दछ ।”    कार्यक्रममा वाग्मती प्रदेशमा माओवादीबाट निर्वाचित जनप्रतिनीधि, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, युवा तथा खेलकूदमन्त्री रत्न ढकाललगायतको उपस्थिति थियो ।   कांग्रेसद्वारा जनप्रतिनीधिको स्वागत    नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई बधाइ तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै स्वागत तथा सम्मान गरेको छ ।    कार्यक्रममा कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले निर्वाचित जनप्रतिनिधिलाई जनताको मर्मभावना अनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले सबैलाई समेटन सके कांग्रेसको शिर उच्च हुने भन्दै कांग्रेस साँच्चै जनताप्रति इमान्दार छ भन्ने प्रत्याभूति गराउने अवसर पुनः आएको बताउनुभयो ।    सो अवसरमा वाग्मती प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्यलगायत ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, धादिङको नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुङगाना, काठमाडौँको दक्षिणकाली नगरपालिका उपप्रमुख वसन्ती डङ्गोल तामाङ, रसुवाको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका उपाध्यक्ष अम्सरा लामिछानेको उपस्थिति रहेको थियो । 

गल्छी, मैलुङ, स्याफ्रुबेँसी सडक खण्डका विभिन्न स्थानमा ३२ पक्की पुल निर्माणाधीन रहेका छन्  । विस्तृत अध्यायन प्रतिवेदन (डिपिआर)ले औँल्याएका साना–ठूला ती पुलमध्ये  १३ वटाको निर्माण सम्पन्न भइसकेको  पुल निर्माणमा हालसम्म रु ५७ करोड ९५ लाख खर्च भइसकेको सडक सुधार आयोजनाका प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो ।    उहाँका अनुसार सबै पुलको भारवहन क्षमता ४० टनसम्म हुने र निर्माण भइसकेका अधिकांश पुलबाटै सवारीसाधन ओहोरदोहोर भइसकेको जनाइएको छ ।    गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटरमध्ये हालसम्म २६ किमी सडकको निर्माण सम्पन्न भइसकेको छ । मैलुङ, गल्छी खण्ड सडक सुधारको जिम्मा पाएको कोभेट÷तुन्दी जेभी कन्ट्रक्शनको काम निरन्तर अगाडि बढिहेका कारण सो कम्पनीले हालसम्म ७४ प्रतिशत प्रगति हासिल गरिसकेको छ । मैलुङदबाट स्याफ्रुबेँसीसम्मको १९ किमी राजमार्ग सडक विस्तार जिम्मा लिएको भारत–सिद्विसाई कन्ट्रक्शन जेभीले भने आफूले जिम्मा लिएको कार्य पूरा नगरी गत फागुनदेखि निर्माणको काम छाडेको छ ।   राष्ट्रिय गौरवको राजमार्गमा काम अलपत्र पारि छाडेकाले सिद्विसाई जेभीको ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाने गृहकार्य भइरहेको सडक सुधार आयोजनाले जनाएको छ । भारत सिद्विसाईले रु ३५ करोड भुक्तानी लिएर निर्माणको काम छाडेपछि पटक–पटक कार्यक्षेत्रमा फर्कन आग्रह गरिएता पनि सम्पर्कमा नआएपछि नियमानुसार ठेक्का रद्दको प्रक्रिया अगाडि बढिसकेको छ  । आर्थिक वर्ष २०७२÷७३ देखि सुरू भएको सडक सुधार आयोजनामा रु छ अर्ब ५६ करोड खर्च भएको बताइएको छ ।

महोत्तरी  ः     महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।    मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।   सोही घटनामा परेर टेम्पो चालक बर्दिबास नपा–३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे  घाइते भएका छन् । उनीहरुको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।   गए राति बर्दिबास नपा–३ स्थित स्मृतिपार्क नजिकैबाट पाटुतर्फ जाँदै गरेको ज १ ह ३५०१ नंको टेम्पोलाई विपरीत दिशाबाट आउँदै गरकोे नम्बर नखुलेको बोलेरो पिकअपले ठक्कर दिँदा दुर्घटना भएको थियो ।