तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

म्याग्दी:    म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्र भएको छ । बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै छिमेकी बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।      सडक कालोपत्र भएपछि मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै पश्चिम बागलुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन् । विसं २०६३ मा निर्माण गरिएको २७ किलोमिटर लामो बेनी–दरबाङ सडक खण्डमध्ये १२ किलोमिटर लामो बेनी–सिमखण्ड कालोपत्र भएपछि अब जोखिमपूर्ण यात्रा हटेको छ ।        सडक कालोपत्र भएपछि करिब दुई घण्टाको यात्रा अवधि २५ मिनेटमा छोटिएको मालिका–५ का भुवन बूढाले बताउनुभयो । “सामान ढुवानी गर्न र आवतजावतमा सजिलो हुनुका साथै धुलो र हिलोबाट मुक्त भएका छौँ”, रणबाङका हरिकृष्ण पौडलले भन्नुभयो । अब सो क्षेत्रको व्यापार व्यवसाय फष्टाउने भएको छ ।       बेनी–सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र गरेको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीका अनुसार पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकको ठाउँमा कालोपत्र गरिएको छ । एघार मिटर फराकिलो सडकमा सात मिटर कालोपत्र गरिएको छ ।      सडक कालोपत्र गर्न २०७४ असोजमा रु ४५ करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा काम गर्न ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ  । तत्कालीन सडक डिभिजन कार्यालयले ठेक्का लगाएको उक्त सडक २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।       आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्मको आठ किलोमिटर खण्ड कालोपत्र गर्न रु २२ करोड ५७ लाखमा बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको छ । एक वर्षयता सो कम्पनीले काम नगर्दा काम अधुरै छ । यस्तै मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । 

कैलाली:   कैलालीमा मोटरसाइकल एकाआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन  घाइते भएका छन् ।      गौरीगङ्गा नगरपालिका–९ शङ्करपुरमा गए राति सुपप्र ०१–००९ प ७८९१ र से७प ११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।       सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा  उपचार भइरहेको छ । दुर्घटनामा सुपप्र ०१–००९ प ७८९१ नम्बर मोटरसाइकलका चालक गौरीगङ्गा–९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनकारी दिनुभयो ।

  काठमाडौं:    आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   विभागका अनुसार आज दिउँसो  देशभर सामान्य बदली रहनेछ । देशका  प्रदेश १ र वागमती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।    वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

भरतपुर:   भरतपुर महानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई बस वितरण गरेको छ । वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो ।        महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न पाँच विद्यालयलाई बस उपलब्ध गराएको थियो । प्रति बसको मूल्य रु २१ लाख ४५ हजार रहेको छ । विद्यालयबाट टाढा रहेका विद्यार्थीका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।        भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न महानगर लागिपरेको बताउनुभयो । उहाँले महानगरको शिक्षा क्षेत्रमा आफूले सोचेको भन्दा बढी विकास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत पाँच वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको छ ।”       सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि महानगरले विभिन्न कार्यक्रम गरी सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउन काम गरिरहेको छ । दाहालले भन्नुभयो, “पाँच वर्षमा सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी बढेका छन् ।” विद्यालयमा आधुनिक भवन निर्माण, छात्रालाई साइकल वितरण, विद्यालयलाई बस, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरणलगायत गरेको उहाँको भनाइ छ । महानगरपालिकाले ‘एक वडा, एक नमूना विद्यालय’ निर्माणको लक्ष्य लिएको छ । 

 झापा:    सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् ।       विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका छन् ।      परियोजनाले चालु आर्थिक वर्ष २०७८÷७९ मा सुपारी किसानलाई उत्पादन र बजारीकरणमा सहज तुल्याउने उद्देश्यले प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा सहकारी र व्यक्तिले सञ्चालन गरेको उद्योगमा लगानी गरेको कार्यालय प्रमुख रवीन्द्र सुवेदीले बताउनुभयो । झापामा २०७५ साउनदेखि सञ्चालनमा आएको सुपारी जोन कार्यक्रमपछि किसान उत्साहित छन् । जोनमा समावेश गरिएको सुपारी बालीमा पूर्वाधार विकास, व्यवसायीकरण एवं प्रशोधनतर्फ केन्द्रित रहेर परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।        सरकारले प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई समेट्ने गरी ७८८ हेक्टर जमिनमा सुपारी जोन कार्यक्रम सञ्चालन गरेको सुवेदी बताउनुहुन्छ । चालु आवमा सुपारी जोनअन्तर्गत दुई सुपारी प्रशोधन उद्योग र दुई सुपारीको पातबाट दुनाटपरी बनाउने उद्योगलाई ५० प्रतिशत अनुदान रहने गरी रु ८० लाख अनुदान उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।      विगत ३० वर्षदेखि सुपारी खेती गर्दै आउनुभएका मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका केदार रिजाल सुपारी प्रशोधन उद्योग सञ्चालनमा आएसँगै खुसी हुनुहुन्छ । उहाँले परियोजनाको रु २० लाख तथा आफ्नो रु २० लाख लगानीमा सुपारी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ । उहाँलाई परियोजनाले सुपारीको बोक्रा छोडाउने मेसिन, प्याकेजिङ, कटिङ मेसिन खरिद र गोदाम घर निर्माणका लागि अनुदान उपलब्ध गराएको छ । आफूले मात्र होइन स्थानीयले उत्पादन गरेको सुपारी खरिद गरी प्रशोधन गरेर बजीकरण गर्ने गरेको रिजालले बताउनुभयो ।       “यो अनुदानले राहत मिलेको छ”, उहाँले भन्नुभयो, “अब आधुनिक किसिमले प्रशोधन गर्दा जनशक्ति कम लाग्ने र काम गर्न सजिलो भएको छ ।” खरिद बिक्री केन्द्र सञ्चालन गर्दै आउनुभएका रिजालले मेसिनको सहयोगमा एक घण्टामा १० क्विन्टल सुपारी छोडाउने गरेको बताउनुभयो ।       परियोजनाले बुद्धशान्ति गाउँपालिका–१ स्थित श्री कृष्ण सुपारी सहकारीलाई रु २० लाख ५० प्रतिशत अनुदान सहयोग प्रदान गरेको छ । यो जिल्लाकै ठूलो सुपारी प्रशोधन उद्योग हो । सुपारी जोनका अध्यक्ष निलकण्ठ तिवारीका अनुसार जिल्लामा करिब दुई हजार ७०० हेक्टर जमिनमा सुपारी खेती हुँदै आएको छ । सुपारी जोन कार्यक्रमपछि उत्पादन बढेको छ । किसानले नयाँ प्रविधिबारे ज्ञान हासिल गरेका छन् । यसअघि सरकारले सुपारी जोनका लागि बजेट नछुट्याउँदा काम गर्न नसकिएको तिवारी बताउनुहुन्छ । सुपारी जोनका लागि सङ्घीय सरकारसँग रु सात करोड बजेट माग गरेको अध्यक्ष तिवारीले बताउनुभयो । सुपारी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन पहल गर्नुपर्ने उहाँको भनाइ छ ।  

काठमाण्डौँ:    प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहनुभएको बताउनुभएको छ ।      आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तका कविताले तत्कालीन नेपाली समाजको यथार्थलाई सरल तरिकाले चित्रण गर्नुका साथै समाजका लागि शिक्षा र सकरात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । भाषिक एकीकरणका नायक भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुयाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले रसिला साहित्यिक रचनाको माध्यमबाट आध्यात्मिक चेतना र जागरण फैलाई समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न आदिकवि भानुभक्तले पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभएको छ ।      आदिकवि भानुभक्तले रामायणजस्तो मौलिक, सांस्कृतिक महाकाव्यका साथै प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, रामगीताजस्ता काव्य र उल्लेख्य फुटकर कविताको रचना गरेर नेपाली काव्य साहित्यको बलियो जग बसाल्नुभएको छ । नेपाली भाषामा पहिलो महाकाव्य सिर्जना गर्ने उहाँ सबैका लागि आदरणीय व्यक्तित्व हुनुहुन्छ ।      आदिकवि भानुभक्तका रामायणलगायत कालजयी साहित्यिक कृतिहरू अहिलेसम्म पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति भानुभक्त जन्मजयन्तीको अवसरमा उहाँलाई श्रद्धापूर्वक स्मरण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यो दिवसले आदिकवि भानुभक्तको जीवनी र चरित्रबाट शिक्षा लिँदै सबैलाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्दै उहाँप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

काठमाण्डौँ:     नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।      संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।       पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।      ‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’ ।      नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरुको धारणा छ ।      त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ ।         घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।     भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।

म्याग्दी  :  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन् ।    रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताउनुभयो । “बेनी–जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ताबिनै, मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर सञ्चालन गरेको पाइयो”, उहाँले भन्नुभयो “हामी अनुगमनमा जाँदा भागाभाग भयो । कसले कसरी सञ्चालन गरेको हो भन्ने विषयमा जानकारी छैन् ।”   सो क्रसरको विषयमा अनुगमन र छानबिन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । स्थानीयवासीका अनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि र सरोकारवाला स्थानीय तह निर्वाचनमा केन्द्रित भएको मौका छोपेर गत वैशाख महिनामा क्रसर उद्योग स्थापना भएको थियो । केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालको अनुमति दिएको छैन् । सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खननमा रोक लगाएको छ ।    विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भए पनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।    कालीगण्डकी नदी किनारका निजी जग्गामा क्रसर उद्योगका संरचना बनाउन थालेपछि स्थानीयवासीले विरोध जनाउँदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका थिए । प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले अनुगमन र निगरानी गरेपछि त्यसबेला क्रसर स्थापना हुन सकेको थिएन् ।

लमजुङ। गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।   सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि याे खण्डसमेत पटक–पटक बाढीपहिराले अवरुद्ध बनाउँदै आएको छ ।   सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।   पहिरोले बेँसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ ।  गए रातिको वर्षाले बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा पहिरो खस्दाउक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन । उक्त स्थानमा सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेँसीसहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।   यस सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो । ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रुहरू मर्कामा परेका छन् ।