बाँके: खेलकुदमा महिलाको अभिरुचि बढाउन नेपालगञ्जमा किशोरीलाई खेल प्रशिक्षण सुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र बाँके जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु गरिएको खेल प्रशिक्षणमा सहभागीलाई कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स, फुटबललगायत खेलको प्राविधिक र सैद्धान्तिक ज्ञानको बारेमा जानकारी गराउने बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार, तालिमका सहभागीलाई प्रशिक्षक कृष्णबहादुर चौधरीले कराते, चन्द्रप्रकाश श्रेष्ठले तेक्वान्दो, लालबहादुर मल्लले भलिबल, छबिलाल थापा मगरले एथलेटिक्स र रवीन्द्रकुमार श्रेष्ठले फुटबलको बारेमा प्रशिक्षण दिनुहुनेछ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा बाँके जिल्लाका विभिन्न विद्यालयका १५० जना किशोरीको सहभागिता रहेको छ । खेलकुदमा महिलाको अभिरुचि बढाउँदै आत्मरक्षाका सीप सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको व्यवस्थापक बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शाहले जानकारी दिनुभयो । प्रशिक्षणको उद्घाटन समारोहमा सहभागी हुनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महिलाले आत्मरक्षाको लागि पनि यस्ता तालिम लिन जरुरी रहेको बताउनुभयो । महिला खेलाडीलाई अगाडि बढ्नको लागि केहि नयाँ सीप र ज्ञान प्रदान गर्ने भएकाले तालिम महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा बाँके जिल्ला खेलकुद विकास समितिसँग मिलेर नेपालगञ्ज उपमहानगरपालिकाले महिलालाई लक्षित गरेर खेलकुदका अन्य कार्यक्रम गर्ने समेत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं: बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीमाथि आक्रमण गरेर घाइते बनाएको अभियोगमा एक ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनकुटा पाख्रिबास घर भई गोकर्णेश्वर(६ बस्ने बर्ष ४८ वर्षीय सुवास घिसिङ (सुन मुन्द्रे) रहेका छन्। घिसिङले सोमबार गोकर्णेश्वर ६ नयाँबस्तीस्थित एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै फोहोर अनुगमनमा निस्केका बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर घाइते बनाएका थिए। श्रेष्ठको अहिले उपचार भइरहेको छ। अनुगमनका क्रममा ठेकेदार घिसिङले फोहोरको विषयलाई लिएर विवाद गरी एक्कासी श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरकाअनुसार तत्कालै प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरी टोलीले घिसिङलाई नियन्त्रणमा लिइएको थियो। घिसिङलाई मुलुकी अपराध (सहिंता) ऐनअन्तर्गत ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। बागमती सभ्यताका कर्मचारीमाथि भएको घटनाको चौतर्फी विरोध भइरहेको छ।
काठमाडौं: भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा भृकुटीमण्डपमा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसरले बताए । उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ । नेपालको चार दिने भ्रमणको अन्तिम दिन बुधबार राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।
काठमाण्डौँ: नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदमा सरोज अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । युनियनको महाधिवेशन अगामी साउन ६ र ७ बागमती प्रदेश राजधानी हेटौँडामा आयोजना हुँदैछ । उहाँ युनियनको कार्यसमितिको कोषाध्यक्ष हुनुहुन्छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले विभिन्न कार्ययोजनाका साथ आफूले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । ती कार्ययोजनामा पत्रकारको पेसागत सुरक्षा र श्रमको मूल्य, पेशागत दक्षता, सीप, विकास र क्षमता अभिवृद्धि, मर्यादित र व्यावसायिक पत्रकारिताको प्रवद्र्धन, मिडिया मैत्री कानुन निर्माणका लागि निरन्तर पैरवी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र विस्तार छन् । उहाँले भन्नुभयो, “म प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु । श्रमजीवी पत्रकारको साझा संस्था युनियनको गरिमालाई अझ माथि उठाउनका लागि मेरो अध्यक्ष पदमा उम्मेदवारी हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, युनियनको निर्धारित समयमा महाधिवेशन, युनियनको सचिवालय चुस्त बनाउनेछु । पत्रकारको व्यावसायिक दक्षता बढाउनेछु ।” आफू सधैँ श्रमजीवी पत्रकारका साथमा रहेको उल्लेख गर्दै उहाँले यसका लागि कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले यसअघि नेपाली कांग्रेस ‘बिट’मा काम गरिरहेको क्रियाशील पत्रकार, विभिन्न सञ्चारमाध्यमका सम्पादक, युनियनका जिल्ला अध्यक्ष तथा केन्द्रीय पार्षदहरुसँग राय तथा सुझाव लिनुभएको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आन्दोलनमा सक्रिय उहाँ विसं २०५८ देखि विभिन्न सञ्चारमाध्यममा आबद्ध रही पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।
सर्लाही: असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताउनुभयो । गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । मल, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको जिल्लाका किसानको गुनासो छ । नियमित पानी नपरेको कारण रोपाइँ गर्न समस्या भएको हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले बताउनुभयो । धेरै किसानको खेतमा बीउ छिप्पी सक्दा पनि मलको अभावले समयमै धान रोप्ने काम सुरु नभएको रमेश अधिकारीले गुनासो गर्नुभयो । मल कुर्दा कुर्दै धानको ब्याड बिग्रदै गएको उहाँको भनाइ छ । केही किसानले भने महँगोमै भए पनि भारतीय रासायनिक मल किनेर धान रोपेका छन् । यसरी आएको मल बोराको रु दुई हजार २०० सम्ममा खरिद गर्नुपरेको किसानको गुनासो छ । मल ल्याउँदा सीमामा दुव्र्येवहार भोग्नु परेको किसान दीपेन्द्र महतोले गुनासो गर्नुभयो । बागमती सिचाइँमा पानी ढिलोगरी सञ्चालन हँुदा पनि किसानले समयमा धान रोपाइँ गर्न नपाएको बताइएको छ । बागमती सिचाइँले मूल नहर मर्मत, सफाइ, नहरको ढोका निर्माण, मर्मत लगायतको काम स्थानीय निकायको निर्वाचनले गर्दा ढिलागरी ठेक्का लगाएको र काम ढिला सकिएकाले पानी सञ्चालनमा ढिलाइ भएको बागमती भूमिगत जलस्रोत सिँचाइ आयोजनाले जनाएको छ । सिँचाइले नहरमा गत मङ्गलबारबाट पानी छोडेको हो । पानी सञ्चालन भएपछि नहर नजिकैका किसानले धमाधम धान रोपाइँ सुरु गरेका छन् । यसवर्ष धान रोपाइँ ढिला भएकाले उत्पादनसमेतमा कमी हुने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देवप्रसाद कुशबाहले बताउनुभयो । उहाँका अनुसार समयमै मल नपाउनु, बागमती नहरमा पानी समयमै नछाडिनु लगायतका कारण धान रोपाइँ ढिलो भएको र मौसमको समेत प्रभाव पर्ने भएकाले धान उत्पादनमा घट्न सक्नेछ । पम्पसेट तथा बोरिङको पानी लगाएर धान रोपाइँ गर्ने किसानसमेत दर्के पानीको पर्खाइमा छन् । जिल्लामा हरेक वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । मधेस प्रदेशमा चैते र बर्खे दुबै मिलाएर वार्षिक १४ लाख १६ हजार ५८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा चार लाख तीन हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानलाई मागेजति मल पुर्याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा सर्लाहीका प्रमुख दीपक थापा मगरले बताउनुभयो । उहाँका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन सर्लाही शाखाले जिल्लाका किसानलाई मल तथा बीउबिजन उपलब्ध गराउँछन् । (
काठमाण्डौँ: खानेपानी मन्त्री उमाकान्त चौधरीले जग्गा प्राप्तिलगायत समस्या समाधान गरेर सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ क्षेत्रको सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्धसम्बन्धी विषयगत समितिको कार्यशाला गोष्ठीलाई मङ्गलबार साँझ राजधानीमा सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले सन् २०३० सम्म ९० प्रतिशत जनतामा स्वच्छ खानेपानीको पहुँच पुर्याउने गरी तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्ने बताउनुभयो । “खानेपानीमा सङ्घ, प्रदेश र स्थानीय तहले कस्ता कस्ता योजना सञ्चालन गर्ने भन्ने विधि तयार गर्नुपर्छ, सङ्घबाट प्रदेशमा गएको सशर्त अनुदानको प्रगति विवरण मन्त्रालयमा आउनुपर्छ, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका योजनाको विवरण केन्द्रमा नआउँदा कार्यक्रममा दोहोरपना भएकाले समन्वय आवश्यक भएको छ”, मन्त्री चौधरीले भन्नुभयो । कुनै योजनामा २० वर्षदेखि रु पाँच लाख बजेट जाँदा पनि पूरा नभएका उदाहरण भेटिएकाले पनि समन्वय अत्यावश्यक भएकामा खानेपानी मन्त्रालयले जोड दिएको थियो । तीनै तहका सरकारको संयुक्त लगानी कोष बनाएर काम गर्नुपर्नेमा मन्त्री चौधरीको जोड थियो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रशासनिक सल्लाहकार जनार्दन शर्मा नेपालले खानेपानीको स्रोत नभएका स्थानमा लिफ्ट आयोजना सञ्चालन गर्न सुझाव दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खानेपानीका बारेमा तीनै तहका सरकारले गरेका कामको समन्वय गर्न सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले विश्वमा पेट्रोलपछि खानेपानीको समस्या आउने देखिएकाले जलस्रोतको धनी देशले विश्वमा पानी बेच्न सक्ने गरी तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचार अन्त्य गरी खानेपानी योजना कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ थियो । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धरले गुणस्तरीय खानेपानी प्रवाह गर्न प्रदेश र स्थानीय तहमा जनशक्ति अभाव रहेको बताउनुभयो । आधारभूत खानेपानी र स्वच्छ खानेपानीको तथ्याङ्कमा आफू नै विश्वस्त हुन नसकेको उहाँले बताउनुभयो । पर्याप्त मात्रामा खानेपानीका प्रयोगशाला र परीक्षण केन्द्र स्थापना गरिनुपर्ने मन्त्री मानन्धरको भनाइ थियो । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले मौलिक हकका रुपमा व्यवस्था गरिएको स्वच्छ खानेपानीको हक कार्यान्वयन गर्न दुई वर्षे कार्ययोजना बनाएर तीन लाख घरधुरीलाई सेवा दिन लागिएको जानकारी गराउनुभयो । सङ्घीयताको मूल मर्म अधिकारको विकेन्द्रीकरण भए पनि केन्द्रीकृत प्रणालीको अभ्यासले अन्य क्षेत्रमा जस्तै खानेपानी आयोजना सञ्चालनमा पनि समस्या रहेको उहाँको विचार थियो । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले तीनै तहका सरकारको प्राथमिकतामा अझै खानेपानी नपरेकाले स्वच्छ खानेपानीको मौलिक हक कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । नेपालमा भएको जलस्रोत उपयोग गरेरै देशले समृद्धि प्राप्त गर्नसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले, सङ्घीय खानेपानी मन्त्रालयका सहसचिव रत्नप्रसाद लामिछाने, सहसचिव मीना श्रेष्ठलगायत प्रदेश मन्त्रालयका सचिव एवं प्रतिनिधिले तीनै तहबाट खानेपानीका क्षेत्रमा भएका काम, सुधार हुनुपर्ने विषय र आगामी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।
काठमाण्डौँ: बागमती प्रदेशसभाको चालु दशौँ अधिवेशनको २५औँ बैठक आज बस्दैछ । गत असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी सबै सांसदलाई सूचना जारी गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकमाथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, बैठकमा संसद्मा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विधेयक–२०७९ माथि छलफल हुने कार्यसूची छ ।
काडमाण्डौँ: पहिरो झरेपछि बुटवल पाल्पा सडक खण्ड अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेको हो। पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवलदेखि दोभान सम्मको करिब ८ किलोमिटर सडक खण्डमा हिउँद होस् वा वर्षा हिले र धुले पहिरो झर्दा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। यसअघि माथिल्लो सिद्धबाबा मन्दिरदेखि अगाडिको भागमा पहिरो झर्दै आएकोमा बुधबार बिहान भने माथिल्लो सिद्धबाबा मन्दिरदेखि तल्लो भागमा पहिरो झरेको हो। अप्ठ्यारो र ठूलो चट्टान सहितको पहरो बीचमा रहेको सडकमा पहिरो झर्न थालेपछि सरकारले सिद्धबाबा सुरूङमार्ग निर्माण गर्दैछ।

