तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

महोत्तरी:    महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो ।   बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो । 

काठमाण्डौँ:   निर्वाचन आयोगमा नयाँ दल नेपाल गाँजा पार्टी दर्ता गर्ने गरी तयारी थालिएको छ ।  हाल यो दलका लागि पार्टीको विधान लेख्ने काम भइरहेको नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय संयोजक जोसेफ मदन कोइरालाले जानकारी दिए ।    नेपाल सरकारले गाँजालाई वैधानिकता नदिएका कारण नयाँ दल खोल्न बाध्य भएको संयोजक कोइरालाले जानकारी दिए । पाटीको लागि २१ जना कार्यसमिति तयार रहेको र राजनीतिक बुझेको, नेतृत्व गर्ने क्षमता भएको अध्यक्षको खोजी भइरहेको उनले बताए ।    कोइरालाले  भने– ‘अर्को हप्ता पार्टी दर्ता गर्ने योजना बनाएर काम गरिरहेका छौँ । पार्टीको विधान लेख्ने काम भइरहेको छ । २१ जनाको कार्यसमिति पनि तयार पारेका छौँ तर संयोजक वा अध्यक्ष तोक्ने काम भएको छैन । हामी राजनीति पृष्ठभूमिको व्यक्ति नभएको हुनाले राजनीति बुझेको र सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने पार्टीको प्रथम व्यक्तिको खोजी गरिरहेका छौँ । गाँजाबारे बुझेको र सक्षम ब्यक्ति भेटिने वित्तिकै अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने योजनामा छौँ ।’   नेपाल गाँजा वैधानिक महाअभियान अन्तर्गत सामाजिक सञ्जालमा ५ लाख सदस्य रहेको र ५० हजार जुनसुकै बेला सम्पर्कमा रहने सदस्यहरु रहेको उनले बताए ।  नेपालमा गाँजा खेती र विक्रीलाई वैधानिक बनाउने,  घर घरमा उद्यमी बनाउने र घर घरबाटै रोजगारी सिर्जना गरेर नेपाललाई आत्मनिर्भर मुलुक बनाउने पार्टीको उद्धेश्य रहेको कोइरालाले जानकारी दिए ।

पाल्पा:   अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ ।    पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । अभिभावक गुमाएका तथा हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरेको पाइएको छ । अभिभावक गुमाएपछि आफन्त या अरुको आश्रय लिएर बस्नुपर्ने अवस्था छ ।    छात्र सानै उमेरमा मजदुरी गर्न विभिन्न क्षेत्रमा पुग्ने गरेको पाइएको छ । कक्षा १२ सम्म आर्थिक अभाव भएका तथा अभिभावकविहीन परिवारका सदस्यलाई केन्द्रित गरी सहयोग गर्न खोजिएको गाउँपालिकाले जनाएको छ । पालिकामा अभिभावकविहीन बालबालिकाको तथ्याङ्क सङ्कलनसमेत गर्न थालिएको छ । आगामी आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

ताप्लेजुङ:    ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।    मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा  उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 

काठमाण्डौँ:    नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी बस्ने २५ वर्षीय रमेश राईलाई आज पक्राउ गरेको हो ।      ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले विसं २०७८ फागुन २७ गते काठमाडौँमा हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन गरी फरार रहेका राईलाई झापाको खुदुनाबारीबाट आज पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले राईसँग हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन संलग्न झापाका ५८ वर्षीय भक्तिकुमार लिम्बू र झापाकै ४२ वर्षीय अशोक कार्की र पाँचथरका ४३ वर्षीय रमेश सुवेदीलाई यसअघि पक्राउ गरिसकेको छ ।      पक्राउ परेकाबाट प्रहरीले १५.६८ किलोग्राम हात्तीको दाह्रा बरामद गरिसकेको छ । राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताउनुभयो । 

  पोखरा:  गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेशको दशौं अधिवेशन तथा अठ्ठाइसौं प्रदेश सभाको बैठकबाट आज (बिहीबार) बजेट पास भएको हो ।   प्रदेशका अर्थमन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९-०८० का लागि असार १ गते ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेका थिए । गण्डकी प्रदेशका सांसदहरुबीच तालमेल नमिल्दा बजेटउपर छलफल लम्बिएको थियो ।   पूर्व सरकारले राखेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्री बरालले कटौटी गरेपछि  सत्तारुढ दलमा विवाद चुलिएको थियो ।  सो कार्यक्रमलाई फरक शिर्षकबाट समेट्ने प्रतिवद्धता पछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि आज (बिहीबार) बजेट पारित भएको हो ।

  पोखरा:  पोखराको अन्नपूर्ण केवलकार एक साता बन्द हुने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केवलकार बन्द गर्न लागिएको जनाएको छ । सूचनामा असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने उल्लेख गरिएको छ ।      जापानी प्राविधिकहरुले केवलकारको  परीक्षण पश्चात  साउन ७ देखि केवलकार नियमितरुपमा संचालनमा आउने कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले बताए ।  पोखरामा अन्नपूर्ण केवलकार कम्पनीले सेदी सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर सञ्चालन गरिरहेको छ  । फेवाताल किनारको सेदीदेखि सराङकोटसम्म आउजाउ गर्ने पर्यटकलाई लक्षित गरि केवलकार सञ्चालन गरिएको हो । केवलकार फागुन ६ गतेदेखि नियमित सञ्चालनमा आएको थियो ।  

काठमाण्डौँ:     देशभर आज २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार आज तीन हजार ८४४ जनामा परीक्षण गरिएको थियो । आज थपिएकासहित सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १७१ पुगेको छ ।   सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ८५८ पुगेको छ । मन्त्रालयका अनुसार यो दर ९८।७ प्रतिशत हो । काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको छ ।    शून्य सङ्क्रमित भएका जिल्ला १२ रहेका छन् । अहिलेसम्म होम आइसोलेसनमा एक हजार १४८, संस्थागत आइसोलेसनमा २३ भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा  १४ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ७२ हजार ३२० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

काठमाडौं:    जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् ।   यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गरेकी छिन् ।