पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

काठमाण्डौँ :      निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारको व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नो आठ महिने कार्यकाल सफल भएको दाबी गर्नुभएको छ । मन्त्री पदबाट हटेपछि आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो नेतृत्वमा छोटो समयमा चालिएका कतिपय कदम उल्लेखनीय रहेको बताउनुभयो ।       “जति दिन म मन्त्रीको रुपमा रहेँ । निष्ठापूर्वक आफ्नो काममा प्रतिबद्ध र दृढ रहेँ । जनताले म प्रति देखाएको विश्वास अक्षुण्ण राख्न निरन्तर प्रयास गरिरहेँ । अब आउने नेतृत्वले मैले गरेका सुधारका प्रयासहरुलाई निरन्तरता दिने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ ।”      वैदेशिक रोजगारीमा जाने श्रमिक सेवा लिन लाइन बस्नुपर्ने बाध्यता रहेकामा छोटो अवधिमै पूर्ण रुपमा अनलाइन सेवाको प्रभावकारी कार्यन्वयन हुनु ऐतिहासिक उपलब्धिका रुपमा रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारी सम्बन्धी सेवालाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिमार्फत सेवा प्रवाह गरिएको उहाँले जनाउनुभयो ।       वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमा नेपाल अग्रस्थानमा रहेको उल्लेख गर्र्दै उहाँले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्काउन सफल भएको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन ज्यालादर वृद्धि, दुर्घटना बीमाको व्यवस्था, स्वास्थ्य र शिक्षा क्षेत्र समेट्ने गरी कार्यक्षेत्र थप गरिएको उहाँले बताउनुभयो ।       आफू मन्त्रीका रुपमा आइसकेपछि श्रम कूटनीतिमार्फत रोजगार गन्तव्य मुलुकको विस्तार गरिएको जनाउँदै निवर्तमान मन्त्री श्रेष्ठले नेपाल–बेलायत श्रम समझदारीको मस्यौदा तयार भइसकेको बताउनुभयो । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका श्रमिकलाई निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल पठाउन सुरु गरिएको उहाँले बताउनुभयो ।      श्रमिकहरुको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि वढाउने क्रममा साउदी अरेविया तथा सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरव इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तथा माल्दिभ्स, सिसेल्स र इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने सम्बन्धी श्रम सम्झौताको पनि तयारी भइरहेको उहाँको भनाइ छ ।      गन्तव्य मुलुकहरुको सहयोगमा सातवटै प्रदेशमा सीप विकास तालिम सञ्चालन गर्नका लागि प्रस्ताव अघि बढाइएको उहाँले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम वजारको माग वमोजिमका तालिमहरु सञ्चालन गर्न आवासीय सुविधा सहितको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको स्थापना गर्न बनेको गठन आदेश स्वीकृतिको चरणमा रहेको उहाँको भनाइ छ ।      “अधिकारसम्पन्न स्वायत्त तालिम प्रतिष्ठानमार्फत ठुलो संख्यामा श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्याङ्क प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातासँग समन्वय गरी युवाहरुलाई रोजगारीमा आबद्ध गराउने योजना अघि बढाइएको छ”, उहाँले भन्नुभयो । 

चितवन :      चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् ।    नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो । निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । असारको पहिलो साताबाट बच्चा कोरलिन थालेका हुन । सङ्कलन भएका अण्डामध्ये २० वटालाई इन्कुभेटरमा राखिएकामा १४ बच्चा निस्किएका थिए । बाँकी बालुवामा राखिएको पौडेलले बताउनुभयो ।    राप्ती नदीमा छ वटा र नारायणीमा पाँच वटा बच्चा छाडिएका थिए । तीमध्ये राप्तीको खोरसोर नजिक दूधौरामा ११० बच्चा देखिएका छन् । नारायणीमा पनि बच्चा देखिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “एकीन तथ्याङ्क त आएको छैन, हाम्रो अनुमानमा २०० भन्दा बढी गोहीका बच्चा प्रकृतिमा रहेका छन् ।” प्रकृतिमा सङ्कलन गरेको गोहीका अण्डाबाट यति धेरै बच्चा कोरलिएको सम्भवतः यो पहिलो भएको पौडेल बताउनुहुन्छ ।    गतवर्ष प्रकृतिमा सङ्कलन गरिएका ४३६ अण्डाबाट २५८ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा रहेका गोहीबाट यस वर्ष हालसम्म बच्चा कोरलिएका छैनन् । गएका दुईवर्ष प्रजनन केन्द्रमा माउले अण्डा पारेको भए पनि बच्चा कोरलिएको थिएन । पौडेलको भनाइमा यसवर्ष पनि ७/८ वटा गुड देखिए पनि बच्चा कोरलिएको छैन । यस वर्षसमेत सम्भावना घटेर गएको छ ।   प्रजनन केन्द्रमा एउटा भाले र ठूला १२ पोथी रहेका छन् । भाले ४३ वर्षको हो भने पोथी ४० वर्ष हाराहारीको हो । प्रजनन हुननसकेका कारण बच्चा नकोरलिएको अनुमान छ । प्रजनन केन्द्रमा तीसहित ५३१ साना गोही रहेका छन् ।     राप्ती र नारायणी नदीमा पाँच भाले गोही देखिएका छन् । नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबईबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।   हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यध्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ । नदी किनारमा बसोबास गर्नेहरुले माछा मार्ने क्रममा ठूला जाल हान्दा अड्किएर गोही मर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो ।    अनुमतिपत्र लिएकालाई हाते जाल प्रयोग गर्न दिइएको भए पनि ठूला तिहारी जाल प्रयोग गर्दा गोही अड्कीएर मर्ने गरेको उहाँ बताउनुहुन्छ । विगतमा नारायणी नदीको देवघाटसम्म गोही पाइने गर्दथ्यो । नदी प्रदूषित बन्दै गएपछि गोहीको सङ्ख्या घट्दै गएको आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “हामी सबैले संरक्षणमा ध्यान दिन सकेमा गोहीको सङ्ख्या बढाउन सकिन्छ ।”   नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न आचार्यको सुझाव छ । अहिले प्रजनन भएका गोहीका बच्चा केन्द्रमा राखेर पाँच वर्ष कटेपछि नदीमा छाडिने छ । चालू आर्थिक वर्षमा १०७ गोही नारायणी, कोशी र राप्ती नदीमा छाडिएको छ । नारायणी र कोशीमा २०/२० गोही छाडिएको हो भने अरु गोही राप्तीमा छाडिएको हो । 

काठमाडौं :    कृषीप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९ हजार रुपैयाँको तरकारीजन्य वस्तु आयात गरेको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तरकारीजन्य वस्तु नेपाल भित्रिएको हो । सो अवधिमा नेपालले आलु मात्र ७ अर्ब ६३ करोड ५२ लाख ४ हजार रुपैयाँको आयात गरेको छ । उक्त मूल्यमा ३० करोड ५६ लाख ४७ हजार ३९६ केजी आलु नेपाल भित्रिएको छ ।   पछिल्लो ११ महिनामा ६१ करोड १५ लाख ९ हजार रुपैयाँको ४ करोड ५८ लाख १३ हजार ९३५ केजी गोलभेडा नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । सोही अवधिमा ५ अर्ब ६३ करोड ९० लाख २१ हजार रुपैयाँको १५ करोड ३८ लाख ५५ हजार ४१६ केजी प्याज नेपाल भित्रिएको छ ।   बितेको ११ महिनामा ९९ करोड ९३ लाख ९७ हजार रुपैयाँको ८६ लाख ८६ हजार ३६६ केजी लसुन नेपालले आयात गरेको छ ।   विभागका अनुसार उक्त अवधिमा २० करोड ७० लाख १५ हजार रुपैयाँको च्याउ, २८ करोड ५० लाख ८४ हजार रुपैयाँको फ्रोजन आलु, १७ करोड २९ लाख ७३ हजार रुपैयाँको अदुवा, ३ अर्ब ७३ करोड ४४ लाख ४४ हजार रुपैयाँको केराउ र ३ अर्ब ३० करोड ५७ लाख ६२ हजार रुपैयाँको चना नेपाल भित्रिएको छ । सोही समयमा नेपालले ४ अर्ब १५ करोड १५ लाख १२ हजार रुपैयाँको दाल आयात गरेको विभागले जनाएको छ ।

   काठमाण्डौँ :      कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ठूला आयोजना लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ बजेट ठूला आयोजनातिर केन्द्रीत गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।   केन्द्रीय विद्युत् नपुगेका हिमाली जिल्लामा सौर्य मिनिग्रेटमा लगानी गरी त्यहाँ विद्युतीकरण गर्ने अभियान सुरु भएको उहाँले बताउनुभयो  । मुगु, हुम्ला र डोल्पामा सौर्य मिनिग्रेट स्थापना कार्य सुरु भएको छ ।    त्यस्तै अन्य जिल्लाका विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेट स्थापना गरी गाउँमा विद्युतीकरण गर्ने काम सुरु भएको उहाँले जानकारी दिनुभयो । ग्रामीण विद्युतीकरणअन्तर्गत विद्युत् प्रशारण लाइन पुगेका सात जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् पु¥याइ जनताले महसुस गर्ने गरी काम गर्नका लागि समेत बजेट खर्च गरिन लागिएको हो ।    त्यस्तै १० जिल्लामा कर्णाली उज्यालो कार्यक्रबाट थप अन्य ठाउँमा विद्युत् पु¥याइरहेकाले यसलाई थप व्यवस्थित गरी बन्द भएका साना जलविद्युत्लाई सञ्चालन गर्न सक्रियाताका साथ काम सुरु गरिएको मन्त्रालयले जनाएको छ । बीस मेगावाट सम्मका विद्युत् आयोजना पहिचान गरी विस्तृत सम्भाव्यता अध्ययन गर्ने, डिपिआर तयार भएका आयोजनालाई निर्माण कार्यमा लिनका लागिसमेत बजेट विनियोजन गरिएको छ ।  तिला र जोवा नदीमा जलविद्युत् परियोजना अध्ययन तथा निर्माणका लागिसमेत बजेट विनियोजना गरिएको मन्त्री सिंहले बताउनुभयो । एक सय सात मेगावाट उत्पादन क्षमता रहेको जगदुल्ला जलविद्युत् आयोजना डोल्पा, रारा जलविद्युत् आयोजना दैलेख र ताक्सुगाड जलविद्युत् आयोजना जाजरकोटलाई समेत जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले बजेट विनियोजन गरी काम सुरु गर्नका लागि रु ८७ करोड ६० लाख खर्च गर्न लागिएको छ ।    कर्णाली जनता सिंचाइ कार्यक्रम, सिँचाइ संरचना निर्माण तथा टार सिँचाइ कार्यक्रम र सिँचाइ पूर्वाधार आवधिक तथा नियमितलाई रु ५६ करोड लगानी गरी काम सुरु गर्न लागिएको छ  । प्रदेशमा प्रयोगशाला नहुँदा समस्या भइरहेको भन्दै निर्माण सामग्री परीक्षण प्रयोगशाला, प्रदेश स्तरिय पानी परीक्षण प्रयोगशालाको स्थापना तथा सञ्चालनका साथै मोबाइल भ्यान खरिदको काम सुरु भएको मन्त्रालयले जनाएको छ  ।     पानी शुद्ध गर्ने उपकरण भए पनि प्रयोगमा नल्याउँदा समस्या भएको भन्दै यसलाई आर्थिक वर्ष २०७९/८० बाट सुरु गर्ने अभियान सुरु गरिएको छ । प्रदेश राजधानी सुर्खेतमा खानेपानी कार्यक्रमलाई मुख्यरुपमा ध्यान दिइएको छ । सल्यानको शारदा नगरपालिकामा बृहत खानेपानी सञ्चालन ल्याइने भएको छ ।    त्यस्तै खानेपानी गुणस्तर कार्यक्रम र खुल्ला दिसामुक्त क्षेत्र घोषणा क्षेत्रको अवस्था विश्लेषणसमेत गर्न लागिएको छ । खानेपानी पूर्वाधारको आवधिक तथा नियमित मर्मततर्फ पनि बजेट विनियोजन गरिएको छ । नदी नियन्त्रण तथा पहिरो व्यवस्थापन र कर्णाली प्रदेश जनता तटबन्धको कार्यक्रमलाई जोड दिइएको छ ।    ठूला आयोजनाको पूर्व सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा गुुरुयोजना तयार गरी आवश्यक काम गर्ने कार्य सुरु गरिएको छ । प्रदेशमा रहेको भारी औद्योगिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यकपर्ने खानेपानी, विद्युत् र अन्य पूर्वाधार निर्माणलाई समेत विशेष प्राथमिकता दिइएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताउनुभयो ।    रु दुई अर्ब २२ करोड बजेट विनियोजन गरेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले यस पटक पुराना तथा निर्माण पूरा नभएका अधिकांश योजनामा बजेट विनियोजन गरी अधुरा काम सबै सम्पन्न हुने बताएको छ । असन्तुलित बजेटलाई समावेशी बनाएर काम गर्नका लागि आफूहरु सधैँ गतिशील भएको मन्त्री सिंहले बताउनुभयो । जगदुल्ला, ताक्सुगाड र रारा जस्ता जलविद्युत् कर्णालीका लागि राम्रो परिणाम दिने योजनामा पर्दछन् ।

काठमाण्डौँ :      राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।       राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो ।      नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुहुन्छ ।       राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोक्नुभएको थियो ।      मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।      समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । 

वीरगञ्ज :    चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ ।     अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।       उहाँका अनुसार चालु आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ । दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएकोे छ ।       चालु आवको असार १० गतेसम्म ५०० भन्दाबढी बिरामीलाई उपचार प्रदान गरिसकेको डा सिंहले जानकारी दिनुभयो । उहाँले गरिब तथा विपन्न नागरिकको उपचारमा रु १९ लाख भन्दाबढी रकम हालसम्ममा खर्च भइसकेको बताउनुभयो । निःशुल्क उपचार योजनाले धेरै ननगरिकलाई अकालमा मृत्युबाट जोगाएको डा सिंहको भनाइ  छ । 

काठमाण्डौँ :    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत योजना अघि बढाएको निगमले रणनीतिक महत्वको व्यावसायिक योजनाको परिमार्जन गर्ने निर्णय गरेको हो ।   निगमका नवनियुक्त महाप्रबन्धक दीपुराज जुहार्चनले तत्कालको आन्तरिक हवाई बजारलाई मध्यनजर गर्दै निगमले व्यावसायिक योजना समीक्षा गरी आवश्यक परिमार्जन गरिने बताउनुभयो । उहाँका अनुसार निगमले ६४औँ वार्षिकोत्सवका अवसरमा यही असार १७ गते लामो समयदेखि सञ्चालनमा आउन नसकेको निगमको नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय गरेको छ ।   त्यसैगरी हाल सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस् व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय गरिएको छ । निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्नेसमेत निगम व्यवस्थापनले निर्णय गरेको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने निगमले उल्लेख गरेको छ ।    निगममा नयाँ नेतृत्व आएसँगै तदारुकताका साथ प्रशासनिक कार्यमा देखिने गरी गतिशीलता तथा नीतिगत कार्यमा ठोस सक्रियतासहित कार्यारम्भ गरिएको पनि निगमले जनाएको छ ।

काठमाण्डौँ :     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।

   काठमाडौं :      मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविद हिरा भट्टराईले जानकारी दिए ।   ‘आज केहीबेर पानी पर्न रोकिए पनि दिनभर घाम लाग्ने चान्स छैन,’ मौसमविद हिरा भट्टराईले भने, ‘भोलि रातिदेखि पर्सिसम्म आजको भन्दा पनि धेरै पानी पर्ने सम्भावना छ ।’ उनले प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए ।   आज अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा भने कम पानी पर्ने अनुमान गरिएको बताए । पर्सि पनि अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम पानी पर्ने सम्भावना रहेको बताए । मनसुन सक्रिय भएकाले कर्णाली र सुदूरपश्चिममा पनि मध्यम वर्षा भने हुने मौसमविद भट्टराईको भनाइ छ ।   वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।   गत जेठ १२ गते प्रदेश १ मा प्रवेश गरेको यस वर्षको मनसुन असार १२ गतेमात्र सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा जेठ २६ गते तथा लुम्बिनी र कर्णाली प्रदेशमा असार १० गते मनसुनी प्रणाली प्रवेश गरेको थियो ।