काठमाण्डौँ: आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशभर धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १ र मधेस प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
काठमाण्डौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘रेडियो नेपाल’लाई सबैको पहुँच मात्रै नभएर सबैको रोजाइको रेडियो बनाउनुपर्ने बताउनुभएको छ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज आयोजना गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक विमोचन’ तथा समावेशी तालिम समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले रेडियो नेपालले अझै सबै भाषाभाषी, जातजाती र भूगोलालाई एकीकृत र प्रोत्साहन गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको रोजाई बन्नुपर्ने बताउनुभयो । “अहिले रेडियो सबैको पहुँचमा छ, सबैको पहुँचमा मात्रै होइन, यसलाई स्वदेश र विदेशमा रहेका सबै नेपालीको रोजाई बनाउँदै हरेक भाषामा बज्ने समाचार, गीत र कार्यक्रम सबैको लागि लोकप्रिय बनोस्, त्यस उद्देश्यका साथ अगाडि बढनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री कार्कीले रेडियो नेपालले प्रकाशन गरेको ‘रेडियो नेपाल प्रसारण निर्देशिका तथा शैली पुस्तक’को विमोचन गर्दै नेपालको आर्थिक र सामाजिक, धरातलीय यर्थातलाई मनन गर्दै रेडियो नेपालको गरिमालाई अझै अभिवृद्धि गर्ने उद्देश्य र समर्पणका साथ लाग्न निर्देशनसमेत दिनुभयो । सरकारका प्रवक्ता कार्कीले नेपालको विविध भाषाभाषी, जातजाती, पहाड, हिमाल र तराई सबै भू–भागलाई राष्ट्रिय पूँजीको रुपमा विकास गरेर मधेश, पहाडबीचमा भएको अन्तरसम्वन्धलाई अझ सुदृढ गरेर मुलुकलाई जतिसक्दो चाँडो विकासको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले भन्नुभयो, “हाम्रो मुलुक भूगोलका हिसाबले हिमाल, पहाड र तराई मधेसमा विभाजन छ, जातजातीको, भाषाको हिसाबले विविधतामा छ, यो हाम्रो मुलुकको विशिष्ट पहिचान हो, विश्वमा नै यस किसिमको भौगोलिक विविधता भएको र यती धेरै भाषाभाषि भएको देश धोरै छन्, नेपालको जातीय सद्भावलाई अझ समृद्ध गर्दै लैजानुपर्छ । सबै भाषाभाषीको संरक्षण गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउनुपर्छ ।” सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले रेडियो नेपालले स्रोताको मन जित्ने गरी समाचार तथा कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । तीन दिनसम्म सञ्चालित सो तालिममा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, पत्रकार टिकाराम यात्री र विज्ञ अनिता गुरुङले प्रशिक्षण दिनुभएको थियो ।
पोखराः सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्ना बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड बजेट विनियोजन गरेका छन् । यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थमन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व. बाबू पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०र५० लाख विनियोजन गरिएको हो । पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्टमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ । पुननारायण र धनकुमारी सामान्य व्यक्तिहरू थिए । स्याङजा भीरकोट नगरपालिका १ मा उक्त भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ ।मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बाबुआमाको नाममा खुलेको ट्रष्टमा बजेट विनियोजन गरेका हुन् ।
काठमाण्डौं: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि बसेको पहिलो मुल आयोजक समितिको बैठकले प्रतियोगिताका लागि विजेताले पाउने नयाँ मुख्य ट्रफि निर्माण गर्ने निर्णय गरेको छ । काठमाण्डौंमा आज बसेको मुल आयोजक समितिको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट लागु हुने गरी मुख्य ट्रफि निर्माण गर्ने लगायत ६ वटा निर्णयहरु गरेको हो । समितिको निर्णय अनुसार उक्त मुख्य ट्रफि लगातार तीन संस्करणको उपाधि विजेता टोलीले प्राप्त गर्नेछ । तर रनिङ्ग ट्रफिको रुपमा रहेको उक्त मुख्य ट्रफि कति लागत र कस्तो निर्माण गर्ने भन्ने विषयमा समितिले आधिकारिक रुपमा कुनै पनि जानकारी गराएको छैन । यसबाहेक समितिको पहिलो बैठकले प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने, प्रतियोगिताकालागि १४ वटा उपसमिती गठन गर्ने, प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिमलाई सहभागी गराउने निर्णय गरेको छ । त्यस्तै प्रतियोगितामा विभिन्न ३६ खेल विधामा प्रतिष्पर्धा गराउने,नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी निर्माण गरिने भनिएको मुख्य ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा डुलाउने निर्णय गरेको छ । यस्तै बैठकले आर्थिक वर्ष २०७८–७९ मा सरकारले छुट्याएको ६० करोडको बजेट स्विकृत भएको जानकारी गराएको छ । प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुनेछ ।
पोखरा: बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र ४ कास्यपदक सहित रनिङ शिल्ड हत पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङजा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उपाधि सहित बागलुङले रनिङ शिल्ड सहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङजाले नगद १० हजार प्राप्त गरेका छन् । असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उशुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबल छात्र तर्फ एक कास्य कव्वडी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ । त्यस्तै प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कास्य पदक जितेर सनसनी मच्चाएको छ । नवलपुरले कराँतेमा १ रजत हात पार्दा तेक्वान्दोमा १ रजत र १ कास्य तथा कब्बडी छात्रातर्फ १ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थान प्राप्त गरेको स्याङजाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कास्य, कराँतेमा १ कास्य तथा भलिबल छात्ररछात्रा तर्फ १÷१ स्वर्ण प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, प्रदेश निति तथा योजना आयोगका सदस्य डा।सुवास अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनौट गरिएको छ । उनीहरुलाई दुई दिन सम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरु यहि असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य सचिव गुरुङले जानकारी दिए । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौमा सञ्चालन हुनेछ ।
काठमाण्डौँ: देशभर पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार १५४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६१ जनाले पिसीआर र एक हजार ९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा २७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ६२५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । एक लाख ६२ हजार ९७१ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा ५५५, संस्थागत आइसोलेसन नौ, आइसियू सात र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ एउटा रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपरासी पूर्व, जाजरकोट, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, बझाङ, डढेलधुरा र कञ्चनपुर रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २९० र ललितपुर ५४ र भक्तपुरमा आठ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा हुँदैन र रु दस महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारमा अभिभावक, त्यसमा पनि आमाको अहं भूमिका हुन्छ । बालबालिका हुर्किएर विद्यालय जान थालेपछि उनीहरुको शैक्षिक उन्नयनका लागि अभिभावक विद्यालयप्रति विश्वस्त हुन्छन् । आमा–बाबा घर, व्यवसाय र कार्यालयका काममा व्यस्त हुनुपर्ने बाध्यता पनि छ । जाँगरिलो र पेसाप्रति प्रतिबद्ध शिक्षकले अभिभावककोे त्यो विश्वासलाई आफ्नो कर्तव्यमा रुपान्तरण पनि गरिरहेका हुन्छन् । विद्यालयको एक्लो प्रयासले विद्यार्थीको गुणस्तरीय शिक्षाको लक्ष्य पूरा हुन सक्दैन । शिक्षाविद् प्रा डा विनयकुमार कुसियतले आफूले पढाइमा ढिलासुस्ती गर्दा आमाले सम्झाउने गरेको र त्यसबाट प्रेरित भएको हालै एक आलेखमा व्यक्त गर्नुभएको छ । “बाबु तिम्रो पिताजीले शिक्षा आर्जन गर्न नसकेको परिणाम मैले भोगेँ । मेरो त्यो सपना तिमीबाट पूरा होस् भन्ने चाहान्छु ।” आमाका ती भनाइलाई डा कुसियतले सम्झनुमात्र भएको छैन, नयाँ पुस्ताका लागि प्रेरणा मिलोस् भनेर सार्वजनिक गर्नुभएको छ । शैक्षिक गुणस्तर सुधारमा आमाहरुको त्यही भूमिकालाई विद्यालयले अनुभूत गर्ने गरी प्रयोग गराउन पहल हुन थालेको छ । काठमाडौँको मुटु पद्मोदयमोडस्थित पद्मोदय माध्यमिक विद्यालयले विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका आमाहरुलाई बोलाएर आजदेखि बालबालिकाको शिक्षाबारे विमर्श सुरु गरेको छ । विद्यालय र घरमा बालबालिका कसरी पढिरहेका छन् ? त्यसबारे अभिभावकसँग सामुदायिक विद्यालयमा कमै मात्रामा दोहोरो संवाद हुने अवस्थामा उक्त विद्यालयको निमन्त्रणालाई आमाहरुले सहर्ष स्वीकारेर शिक्षा सुधारको यात्रामा सामेल हुने सङ्कल्प गरेका छन् । ‘पद्मोदयको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा’ भन्ने आदर्श वाक्य बोकेको यस ऐतिहासिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतम आमाहरु सक्रिय नभई विद्यार्थीले राम्रोसँग सिक्न नसक्ने पक्षलाई आत्मसात् गरेर चरणबद्धरुपमा आमाहरुको भेला आयोजना गरिएको र यो प्रयोगलाई निरन्तरता दिने बताउनुभयो । “छोराछोरीले गृहकार्य गरेका छन् कि छैनन् भनेर नियमित हेर्दिनु । सफासुग्घरमा ध्यान दिन लगाउनु । विद्यालयले नबोलाए पनि समय समयमा आएर सोधपुछ गर्दिनु ।” आमाहरुसँगका अपेक्षा राससलाई सुनाउँदै प्रधानाध्यापक गौतमले भन्नुभयो । आमा समूहको बैठकमा सहभागी निर्मला खत्रीले यस प्रकारको बैठक विद्यालयमा पहिलो पटक भएको र यसमा बच्चाहरुको पढाइबारे शिक्षक र अभिभावकबीच दोहोरो संवादको अवसर मिलेको प्रतिक्रिया दिनुभयो । अभिभावक शिक्षक सङ्घकी सदस्य खत्रीका दुई सन्तान सोही विद्यालयमा अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र ९तुल्सीप्रसाद० अवस्थीले पढाइमा सुधार ल्याउन अभिभावलाई बोलाएर विद्यार्थीका समस्या बुझ्ने र समाधान गर्ने कोसिस भइरहेको बताउनुभयो । आधारभूत तहदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइने सो विद्यालय स्थानीय व्यापारी र व्यवसायीका छोराछोरी बढी अध्ययन गर्छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, पूर्वप्रधानन्यायाधीशहरु केदारनाथ उपाध्याय, अनुपराज शर्मा, पूर्वमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, कमल थापा, कलाकारहरु हरिवंश आचार्य, मनोज गजुरेल, रामकृष्ण ढकालका पूर्वविद्यालयको रुपमा रहेको पद्मोदयमा पछिल्लो समयमा विद्यार्थीको सङ्ख्या क्रमशः बढ्दो छ । पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा १ देखि ३ सम्म मन्टेश्वरी ढाँचामा सिकाइन्छ । विद्यालयले खेल्दै सिक्दैको मान्यतालाई कार्यान्वयन गरेको छ । विद्यालयमा हाल पूर्वप्राथमिकदेखि कक्षा १० सम्म ४९० र कक्षा ११ र १२ मा ५७० विद्यार्थी अध्ययनरत छन् भने शिक्षक कर्मचारीतर्फ कक्षा १० सम्म ४२ र माथिल्लो कक्षामा २८ जना कार्यरत छन् । आठ रोपनी जग्गामा फैलिएको सो विद्यालयले विद्यार्थीको चाप थेग्न कक्षा ६ देखि ९ सम्म भर्ना गर्नुपूर्व प्रवेश परीक्षा लिने गरेको छ । यस वर्ष ती कक्षामा ३५० जनाले प्रवेश परीक्षा दिएकामा १५० नयाँ विद्यार्थीलाई मात्रै भर्ना गरिएको प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो । उहाँले पुरानो कमला भवन भूकम्पपछि पुनः निर्माण भइनसकेकाले भवन र शिक्षकको अभावका कारण आए जति विद्यार्थी लिन नसकिने बताउनुभयो । केन्द्रीय सरकारको नमूना विद्यालयको अनुदान पाउने मापदण्डका लागि दुई रोपनी जग्गा नपुग्दा यस विद्यायले त्यस कार्यक्रममा आवेदन दिन पाएको छैन । विसं २००३ मा स्थापित सो विद्यालयलाई काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा विज्ञानतर्फ नमूना बनाउने लक्ष्यसहित अनुदान दिन थालेको छ । उक्त रकम न्यून भएको विज्ञान प्रयोगशालाको पूर्वाधार निर्माणका लागि करिब रु एक करोडको जोहो गर्न विद्यालयले कसरत गरिरहेको छ । काठमाडौँ महानगरपालिकाका–२८ का अध्यक्ष भाइराम खड्गीले सो विद्यालयको पूर्वाधारका लागि सक्दो लगानी गर्न योजना तय गरिएको बताउनुभयो । विद्यालयको भवनमा विभिन्न १४ वटा सटर भाडाबाट मासिक रु साढे पाँच लाख आम्दानी हुने गरेको छ । उक्त आयबाट पूर्व प्राथमिक तहलाई सवलीकरण र निजी स्रोतका शिक्षकको पारिश्रमिक दिने गरिएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो । मलामी बोकेर फर्किंदै गरेको ट्र्याक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बर्दिया: बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को मिर्चैया गाउँका स्थानीयवासीले बर्खायाममा पनि पानी नपरेर खडेरी भएपछि भ्यागुताको बिहे गरिदिएका छन् । असार महिना सकिन लाग्दा पनि आकाशबाट पानी नपरेकाले लामो खडेरीका कारण चिन्तित बनेका स्थानीय किसान भेला भइ गाउँमा पूजापाठ गरी भ्यागुताको बिहे गरिदिएका हुन् । बर्खा लागिसक्दा पनि पानी नपरेर अत्यधिक गर्मी भएर खडेरी परेपछि वर्षाका देवता इन्द्रदेवलाई खुसी बनाउन भन्दै बेला–बेला विभिन्न खाले परम्परागत जुक्ति लगाइन्छ । कतै महिलाले दौरासुरुवाल लगाएर हलो जोत्छन् त कतै महायज्ञ लगाइन्छ, कतै बाजागाजासहित भ्यागुताको बिहे गरिदिने चलन पनि छ । त्यही चलनअनुसार भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वास रहेकाले मिर्चैयाका स्थानीयवासीले पनि भ्यागुताको बिहे गरेका मिर्चैया गाउँका बडघर राजु थारुले बताउनुभयो । परम्पराअनुसार गाउँका स्थानीय बालबालिकाहरू वर्षाका देवता इन्द्रलाई पानी पारिदिन प्रार्थना गर्दै पानीको आहाल बनाएर लडीबुडी खेल्ने पनि गरेका बडघर थारुले बताउनुभयो । बर्खाको समयमा पानी नपरेपछि बर्दियाका धेरैजसो किसानले धान खेती लगाउन पाएका छैनन् भने अत्यधिक गर्मीका कारण जनजीवन पनि प्रभावित भएको छ ।

