नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो । सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८/७९ को बजेटबाट नगरपालिकाले प्रतिबस रु १८ लाख अनुदान दिएको छ । विद्यालयको लागत रु पाँच लाख मात्र रहेको छ । “हामीले नगरपालिकाको करिब ८० प्रतिशत अनुदानमा सामुदायिक विद्यालयलाई बस प्रदान गरेका छौँ”, पाण्डेले भन्नुभयो, “बसमा विद्यालयको लागत अनिवार्य गरेका छौँ ।” नगरपालिकाले मध्यविन्दु–३ को जनता मावि, मध्यविन्दु–११ को वीरेन्द्र मावि, मध्यविन्दु–१२ को यादव मावि, मध्यविन्दु–१३ को सरस्वती मावि र मध्यविन्दु–१५ को ज्ञानोदय माविलाई अनुदानमा बस प्रदान गरेको हो । नगरपालिकाले हालसम्म नगरका १० सामुदायिक माध्यमिक विद्यालयलाई बस प्रदान गरिसकेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाभित्र १३ वडामा १३ सामुदायिक माध्यमिक विद्यालय छन् । वडा नं ९ को नेपाल लोकसेवा माविलाई भने स्थानीय सामुदायिक वनले सहयोग गरेर बस प्रदान गरेको छ । पन्ध्र वडा रहेको मध्यविन्दुको वडा नं १ र ५ मा सामुदायिक माध्यमिक विद्यालय छैनन् । विद्यालय यातायात व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत नगरभित्रका सामुदायिक माविलाई बस उपलब्ध गराइएको हो ।
पोखरा: पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अभिषेक यादवको अध्यक्षतमा चौथौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की , श्रद्धा बञ्जारा ,सचिवमा जगदिश भण्डारी,सह सचिवमा संदेश श्रेष्ठ,सदस्यहरुमा लोकेन्द्र चन्द ,दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला, तृष्णा देवकोटा,दिनेश चापागाईं साथसाथै वोमन कोर्डिनेटरमा दीपा तिवारी , एड्भाइजरी कमिटीमा प्रशान्त भुसाल ,विकल बराल ,भुपेन्द्र भट्ट ,संदेश रेग्मी चयन गरेको जानकारी पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष भुपेन्द्र भट्टले जानकारी दिए। " पोखरा विश्विद्यालयको क्रिकेट क्लव लाई आफ्नो कार्यकालमा थप उचाइ दिने र क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता र आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेट लाई उजागर गर्ने जानकारी "पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निर्वाचित अध्यक्ष अभिषेक यादव ले भने।
काठमाण्डौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गाडी छोडेर विद्युतीय माइक्रोबसमा यात्रा गरेका छन । एमाले अध्यक्ष ओली सुन्दर यातायात प्रालीले सञ्चालनमा ल्याएको विद्युतीय माइक्रोबसमा भक्तपुरको बालकोट देखि ललितपुरको च्यासलमा रहेको पार्टी कार्यालयसम्म पुगेका हुन । सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबस देखेपछि आफ्नो गाडी छाडेर सुन्दर यातायातको माइक्रोबस चडेका हुन । एमाले अध्यक्ष ओली युवा संघका नेतालाई साथमा लिएर च्यासल पुगेका हुन । ओलीका अंगरक्षक माइक्रो बसमै बसे भने स्कर्टिङ गाडी पछि पछि लाग्यो । काठमाडौं देखि सिन्धुली हुँदै धनुषा रुटमा चल्ने माइक्रोबसमा सवार गरेर पार्टी कार्यालय पुगेका ओलीले वातावरण संरक्षण र पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सार्वजनिक यातायात आवश्यक रहेको बताएका छन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि पनि बुटवल भैरहवा रुटमा सुन्दर यातायात प्रालिले सञ्चालनमा ल्याएको विधुतिय बसमा सवार गरेका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकै बेला नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक यातायात नेपालमा सञ्भालनमा ल्याइएको थियो ।
काठमाण्डौँ: बिहान जोरपाटीको एक घरमा बोरिङ खन्नेक्रममा बिहान करिब १० बजे तिर लेदो माटो र पानीको फोहोरा निक्लिएको थियो । लेदो माटो र पानीको फोहोरा निरन्तर रुपमा निक्लिएपछि खानी तथा भूगर्भविद्को टोलीले छानबिन गरेको थियो । छानबिनपश्चात लेदो र पानीको फोहोरा नभई मिथेन ग्यास रहेको ग्यास शाखा प्रमुुख वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले बताए । ‘जमिन मुनि जम्मा भएर बसेको मिथेन ग्यास ड्रिलिङ गर्ने क्रममा निक्लिएको हो, उनले भने, ‘यस्ता ग्यास सामान्यतया पानीसँग मिसिएर बसेको हुन्छ ।’ उनले यसलाई कुनै ठुलो घटना नभई सामान्य प्राकृतिक प्रक्रिया भएको उल्लेख गरे । ‘यो ग्यास कहिले निक्ल्नि बन्द गर्छ त्यो ग्यासको मात्रा कति छ त्यसमा भर पर्छ । यो कुनै खतराजन्य छैन्, ग्यासको मात्रा सकिएपछि आफै निक्लिन बन्द हुन्छ ,उनले भने ।
काठमाण्डौँ: धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले उकालो लागेर दुई हजार ४५.६९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३९१.५३ मा पुगेको छ । कूल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर रु दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६.५६, व्यापार ३२.४७, होटल तथा पर्यटन २७।४१, विकास बैंक ४१.५८, जलविद्युत् १५.९५, वित्त ४४.२, निर्जीवन बीमा ७२.६, उत्पादन ६४.१९, अन्य ३.१८, लघुवित्त ८१.६२, जीवन बीमा ८०.२२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २१ अर्ब ३५ करोड ३४ लाख ९५ हजार ४६२ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ९७ लाख ७१ हजार ३३७ बराबरको कारोबार भयो । एभरेष्ट बैंक रु १० करोड पाँच लाख २६ हजार ६२३, हिमालयन डिस्टिलरी रु आठ करोड ४८ लाख ३६ हजार ६३७, एनआइसी एशिया बैंक रु छ करोड ८८ लाख र अरुण काबेली पावर रु पाँच करोड ९४ लाख २२ हजार ८४४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पन सफल भए । नेप्सेका अनुसार, इमर्जिङ नेपाल ८.०१, गणपति लघुवित्त ६.९४, ग्रीन भेञ्चर्स ५.५४, आइसीएफसी फाइनान्स ५.२७ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, सिभिल बैंकको ऋणपत्र ७.७५, ग्लोबल आइएमई बैंकको ऋणपत्र ५.७०, सनराइज बैंकको ऋणपत्र ३.९१ , आरबीबी म्युचुअल फण्ड एक ३.२७ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ३.२६ प्रतिशतले गुमाए ।
बागलुङ: बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो । तर, यसवर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो । रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए । तर, वर्षा नहुँदा ढकालको काम आकाश नियाल्ने मात्रै भएको छ । असारको अन्तिम सातायता भल चल्ने गरी बागलुङमा पानी परेको छैन् । असारको अन्तिम साताको एक दिनको वर्षाले एक दिन मात्रै रोपाइँ गर्नुभएका अमलाचौरकै गेश्वर घिमिरेले पनि अझै पाँच/सात दिन रोपाइँ गुर्नपर्ने छ । खेतको छेवैमा भएको खहरे खडेरीले सुक्न थालेपछि ढकाल र घिमिरे जस्ता किसान मर्कामा छन् । “गज्जबले वर्षा भइदिएको भए खेतमै मूल फुट्थ्यो, भल छोपेर रोपाइँ गरे पनि धानलाई पानी पुग्थ्यो”, ढकाल भन्नुहुन्छ, “२५ रोपनी खेत अझै बाँझो गाभो हाल्नै पाइएन् ।”पोहोर सालको तुलनामा यो वर्ष असारमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएको किसानको गुनासो छ । असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बूढिएर रोप्नै नमिल्ने भइसकेको छ । मनसुन सुरु भएको समाचार आएपछि काचोँबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाइँ गर्न नपाएको गुनासो गर्न थालेका छन् । जिल्लाभर कुलो र नहरको सुविधा भएको, खोला तथा नदी किनार र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेतहरू पनि सिँचाइको समस्यामा पटपटी फुटेका छन् । “यस्तै खडेरी रहने हो भने त यो वर्ष रोपाइँ गर्न पाइन्छ की पाइदैन्”, किसान घिमिरेले भन्नुभयो, “जसोतसो रोपेपनि धाँजा फाटेर खेत हेरिनसक्नु हुन्छ, कमिलाको लाइन लागेको खेतमा के धान फल्ने आशा गर्नु ।” कृषि ज्ञान केन्द्र कार्यालय बागलुङका प्रमुख भानुभक्त भट्टराईका अनुसार आइतबारसम्म जिल्लामा करिब ७० प्रतिशत रोपाइँ पूरा भएको छ । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ । “मकै लगाएको खेत भएकाले ढिला भइसकेको त छैन्, तर अझै एक दुई दिन खडेरी परे रोपाइँ ढिला हुन्छ”, भट्टराईले भन्नुभयो “लामो समय पानी नपर्दा बीउ जोगाउने चुनौती हुन्छ ।” अझै पनि मूल फुट्ने गरी वर्षा हुन सकेमा रोपाइँ धमाधम गर्न सकिने किसान बताउँछन् । डाँडाकाँडा र लेक रहेको क्षेत्रमा छिटो रोपाइँ गर्न सकेमा मात्रै पछि समयमै धान पाक्छ र अनुकूल मौसममा थन्क्याउन पाइन्छ । बेँसीमा तापक्रमका कारण छिटो धान पाक्ने भए पनि लेकमा ढिला गरी पाक्छ । तिनै लेकमा साउन लाग्दासम्म पनि रोपाइँ हुन नसक्दा यसवर्ष धान नै उत्पादन गर्न नसकिने चिन्तामा किसान छन् ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले अत्याधुनिक प्रविधिसहित त्यहाँबाट तीन वटा दमकल नेपाल ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार लिटर क्षमता भएको ती दमकलले १० तलासम्म आगो निभाउन सक्नेछन् । पिटिज्याक कम्पनीले निर्माण गरेको दमकल काठमाडौंसम्म ल्याइपुग्दा दुई करोड ४० लाख रुपियाँ लागत परेको उहाँले जानकारी दिनुभयो । उहाँले ती दमकल काठमाडौंका बालाजु, धर्मपथ न्यूरोड र बौद्धस्थित रामहिटिमा राखिनेछन् । दमकल सञ्चालनमा आउन करिब १५ दिन लाग्नेछ भने इन्डोनेसियाबाट आउने प्राविधिकहरूले दमकल सञ्चालन गर्ने छन् । काठमाडौं आइपुगेको दमकल यसअघिका महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो ।
कालिकोट: कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो । “गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो । एकहप्तादेखि स्वास्थ्यचौकी बन्द छ । उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ”, स्थानीय रामबहादुर बटालाले गुनासो गर्नुभयो । उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिनुभएको थियो । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिनुभयो । “दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ”, उहाँले भन्नुभयो, “यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।” उहाँले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएकोे भनाइ छ । “अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ ।”
सुर्खेत: पछिल्लो समय सुर्खेतमा लागुऔषधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा लागुऔषधका १८० मुद्दा दर्ता भएका र त्यसमा सम्लग्न २९२ प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा लागुऔषधका ५२ मुद्दा दर्ता भएका र त्यसको कारोबारमा सम्लग्न छ महिलासहित ९० जना पक्राउ परेका थिए । आव २०७७/०७८ मा सोही प्रकारका ४९ मुद्दा दर्ता भएकामा कारोबारमा सम्लग्न आठ महिलासहित ६९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आव २०७८/०७९ मा ७९ वटा मुद्दा दर्ता भएकामा त्यसमा सम्लग्न नौ महिलासहित १२३ पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीको सक्रियताका साथै सचेतना अभिवृद्धि गराइएका कारण धेरै मुद्दा दर्ता भएको जानकारी दिनुभयो । “पछिल्लो समय प्रहरीको सक्रियता बढेको छ”, उहाँले भन्नुभयो, “सबैतिर सचेत गराउँदै आइएको भएर पनि होला लागुऔषधको विषयमा हामीलाई सूचना आउने गर्दछ त्यसकारण सूचनाको आधारमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सहज भएको छ ।” प्रहरीको तथ्याङ्कअनुसार आव ०७६/७७ मा ९८ ग्राम ४३० मिलीग्राम ब्राउन सुगर, चार किलोग्राम ३२८ चरेस, ३३२ ग्राम ७३० मिलीग्राम गाजा बरामद गरिएको थियो । ७७/७८ मा ९२ ग्राम ६४० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको थियो यस्तै ७८÷७९ मा १८७ ग्राम ९४० मिलीग्राम ब्राउन सुगर, सात ग्राम १४० मिलीग्राम ह्वाइट सुगर, २५२ ग्राम ९३० मिलीग्राम गाजाका साथै नाइट्राभेट, ट्रामोल, कोरेक्सलगायत ट्याब्लेट पनि बरामद गरिएको जनाएको छ ।

