एक वर्षमा २०५ जङ्गली जनावरको मृत्यु

काठमाडाैं | साउन ७, २०७९

एक वर्षमा २०५ जङ्गली जनावरको मृत्यु


काठमाडौँ:   चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ । 

 

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन १ देखि २०७९ असार ३२ सम्म मरेका जनावरमध्ये चित्तल प्रजातिका जनावर सबैभन्दा बढी रहेका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको छ । मृत्यु भएका चित्तलमध्ये कुकुरको आक्रमणबाट ५२, प्राकृतिक कारणबाट १५, तारजालीमा परेर १४, सडक दुर्घटनामा चार र एउटा चित्तलको मृत्युको कारण नखुलेको तिवारीले बताउनुभयो । 

 

त्यस्तै गत वर्ष ३७ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये ३३ वटा प्राकृतिक कारण, दुई वटा चोरी सिकारी, एउटा खाडलमा परेर तथा एउटा गैँडाको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीको भनाइ छ । त्यस्तै गत वर्ष अर्ना, जरायो र बँदेल १०/१० वटा मरेका छन् । दशवटै अर्ना, सातवटा जरायो र आठवटा बँदेल प्राकृतिक कारणबाट मरेका थिए । त्यस्तै एक÷एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घटना तथा एउटा जरायो कुकुरको टोकाइबाट मरेको थियो भने एउटा बँदेलको मृत्युको कारण खुलेको छैन । 

 

यसैगरी सोही वर्ष छवटा बाघ, पाँचवटा रतुवा, पाँचवटा लगुना, चारवटा घडियाल गोही, तीनवटा भुँडीफोर गरुड, तीनवटा निर बिरालो तथा तीनवटा मगर गोहीको मृत्यु भएको छ । अधिकांश जनावरको मृत्यु प्राकृतिक कारणबाट भएको भए पनि केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । त्यस्तै हात्ती, सर्प, अजिङ्गर, निलगाई, चखेवा तथा बाँदर दुई/दुईवटा मरेका तिवारीले बताउनुभयो । 

 

निकुञ्जमा गत आवमा भालु, चितुवा, गिद्ध, मयुर, दुम्सी, पानी हाँस, गोहोरो, मलाहा बिरालो, गौरीगाई, कछुवा तथा बकुल्ला एक÷एकवटा मरेका छन् । गत वर्ष प्रकृतिक कारणबाट ११४ वटा, कुकुरको आक्रमणबाट ५९ वटा, तारजालीमा परेर १६ वटा, सडक दुर्घटनाबाट ११ वटा, चोरी सिकारीबाट दुईवटा, खाडलमा परेर एउटा जनावरको मृत्यु भएको छ भने १२ वटा जनावरको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

 

चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष नै वन क्षेत्र र मध्यवर्ती क्षेत्रका विभिन्न स्थानबाट २२२ वटा जनावरको उद्धार गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार गत वर्ष १५४ वटा अजिङ्गर १४ वटा चित्तल, नौवटा मगर गोही, आठवटा कछुवा, सातवटा बाघ, तथा एउटा राज गोमन (किङ कोब्रा)सहित सातवटा सर्पको उद्धार गरिएको छ । त्यस्तै चारवटा लगुना, तीनवटा गैँडा, तीनवटा निरबिरालो, दुईवटा निलगाई, दुईवटा चिल र दुईवटा रतुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो ।

 

निकुञ्जले गत वर्ष नै एक–एक वटा चितुवाको बच्चा, गिद्ध, जरायो, लाटोकसेरो, भुँडीफोर गरुड, बँदेल र मयुरको उद्धार गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९.३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जले जनाएको छ ।

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ ।  नेत्रविक्रम चन्दको  नेतृत्वमा ...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।  अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...

थप पढ्नुहोस्

कञ्चनपुर:    पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...

थप पढ्नुहोस्