टोलमै भत्ता र बस्तीमा सेवा बाड्दै छन् मादी गाउँपालिकाका कान्छा वडाध्यक्ष

पाेखरा | साउन १३, २०७९

टोलमै भत्ता र बस्तीमा सेवा बाड्दै छन् मादी गाउँपालिकाका कान्छा वडाध्यक्ष

 

कास्की:    कास्कीको मादी गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष देवीजंग गुरुङ गाउँपालिकाकै कान्छा वडाध्यक्ष हुनुहुन्छ । उमेरले ३० वर्ष पुगेका उहाँ यसअघि सिक्लेस युवा क्लबलगायतका सामाजिक संस्थामार्फत क्रियाशील हुँदै आएकामा अहिले भने जनताको अभिमत पाएर वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो । उहाँसहित निर्वाचित जनप्रतिनिधि यतिखेर जनताका काममा क्रियाशील हुनुहुन्छ । 

  

 सिक्लेस कास्कीको पर्यटकीय गाउँ पनि हो । नेपालकै ठूलो गुरुङ गाउँका रुपमा रहेको सिक्लेसको पर्यटकीय विकास त उहाँहरूकोे प्राथमिकतामा छँदैछ ,उहाँ भौगोलिक विककटताका कारणले सहजरुपमा सेवा लिन नसक्नेका लागि विभिन्न कार्यक्रमका साथ जनतामाझ पुग्ने कार्यक्रम लिएर अघि बढ्नुभएको छ ।

  

 राज्यले ज्येष्ठ नागरिकलगायत समाजका विभिन्न वर्ग र समुदायलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा कतिपयले शारीरिक अवस्थाका कारण वडा केन्द्रमा आएर सेवा लिन सकेका छैनन् । यही अवस्थालाई दृष्टिगत गरी गुरुङले आफू निर्वाचित भएसँगै टोलटोलमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाउनुभयो नै त्यसको कार्यान्वयनमा पनि जुट्नुभएको छ ।

  

 “हामीले टोलटोलमा पुगी सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेका छौँ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “भौगोलिक अवस्थिति आदिका कारण वडा केन्द्रसम्म आउन नसक्ने ज्येष्ठ नागरिक एवं सर्वसाधारणका लागि सोही टोलमा पुगेर भत्ता वितरण गरिरहेका छौँ ।” वडाको क्षेत्रफल ठूलो भएका कारण यहाँका सोँदा, खिलाङ, नयाँ गाउँलगायत टाढाटाढाका गाउँबाट सामाजिक सुरक्षा लिन वडा केन्द्र सिक्लेस पुग्नुपर्ने बाध्यता अन्त्य भएको खिलाङका ९३ वर्षीय रनसिरि गुरुङ बताउनुभयो ।

  

 सामाजिक सुरक्षाभत्तासँगै वडाका तर्फबाट ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य समस्याअनुसार सरकारबाट प्राप्त हुने औषधि निःशुल्करुपमा उपलब्ध गराउने गरिएको उहाँको भनाइ थियो ।  

  

 समाजमा सबै वर्ग र समुदायको शिक्षामा समान पहुँच पुग्नुपर्छ भन्ने उद्देश्यका साथ वडाभित्रबाट एसइई उत्तीर्ण हुने दलित समुदायका विद्यार्थीलाई यसै वर्षदेखि १२ कक्षासम्म निशुल्क पढाउने आफूहरूको योजना रहेको उहाँको भनाइ छ । 

  

 मादी गाउँपालिका–१ भित्र दुई वटा माध्यामिक विद्यालय रहेका छन् । वडाको सोँदास्थित दूधपोखरी मावि र सिक्लेसस्थित अन्नपूर्ण माविमा यहाँका विद्यार्थी अध्ययन गर्दै आएका छन् । वडाभित्र अध्ययन गर्ने दलित समुदायका विद्यार्थीबीचमा नै पढाइ छाड्ने गरेको बताउँदै उहाँले उनीहरूलाई पढाइप्रति अभिप्रेरित गर्न यो योजना अघि सारिएको बताउनुभयो ।

  

 “जनताको दैनिकीसँग जोडिएका विषय नै हाम्रा प्रमुख प्राथमिकता हुन्”, उहाँले भन्नुभयो, “पाँचवर्षे कार्यकालमा यस क्षेत्रमा पर्यटन विकासका योजना ल्याउने, यातायातको सहज व्यवस्थालगायतका कामलाई प्राथमिकताका साथ अघि बढाउने हाम्रो योजना छ ।”

  

 पर्यटकीय गाउँ सिक्लेसदेखि मनाङसम्म पदमार्ग विकास गर्न प्रयास गर्ने बताउँदै उहाँले भन्नुभयो, “यहाँबाट माछापुच्छे्र गाउँपालिकासँग जोडिने टिइँ भन्ने ठाउँ एक दिनमा पुग्न सकिन्छ, त्यहाँ जाने पदमार्गलाई प्रवद्र्धन गर्ने योजना बढाएका छौँ ।” टिइँबाट माछापुच्छ्रे, अन्नपूर्ण दुई, लमजुङ, मनास्लुलगायतका हिमाल नाङ्गो आँखाले देख्न सकिने उहाँले बताउनुभयो ।

 

 पछिल्लो समयमा चर्चामा रहेको कपुचे हिमताल पनि यही वडामा पर्ने जनाउँदै वडाध्यक्ष गुरुङले सिक्लेसबाट उक्त तालमा पुग्न आठ घण्टा लाग्ने जानकारी दिनुभयो । उक्त मार्गको हुगु भन्ने ठाउँ नपुग्दासम्म छ घण्टाबीच बास बस्ने ठाउँ र टि सप नरहेका कारण पर्यटकलाई सहज हुने गरेर रुटको कुनै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।

    

उहाँका अनुसार सिक्लेसदेखि कपुचेसम्म घोडाबाट यात्रा गराउने योजनाका साथै त्यसबीचमा केही पूर्वाधार बनाउने लक्ष्य राखिएको छ । मादी गाउँपालिका वडा नं १ बाट ठूलो सङ्ख्यामा सर्वसाधारण पोखरामा रहेकाले वडा कार्यालयबाट प्रदान गरिने सबै किसिमका सेवा दिने गरी प्रत्येक दुई÷दुई महिनामा घुम्ती सेवा दिन थालिएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिसलगायतका वडाबाट हुने काम घुम्तीसेवामार्फत पाउँदा धेरै सर्वसाधारण लाभान्वित बनेको सिक्लेस पार्चे समाज पोखराका अध्यक्ष क्या शमशेर गुरुङले बताउनुभयो । 

 

   वडाले गत असारको ३०, ३१ र यहीसाउनको १ र २ गते पोखरामा घुम्ती सेवा सञ्चालन गरेको छ । “घुम्ती सेवाका कारण वडा केन्द्र सिक्लेससम्म पुग्न नसक्ने सर्वसाधारण लाभान्वित बनेका छन्”, उहाँले भन्नुभयो, “जनताको सेवालाई लक्षित गरी वडाका तर्फबाट गरिएका यी काम अरु स्थानका जनप्रतिनिधिका लागि पनि अनुकरणीय छन् ।”

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्