पोखरा: गण्डकी प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा बिहीबार नियुक्त भएका कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज शपथ लिदैछन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज दिउँसो करिब साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिने भएका हुन् । पाण्डेले सपथ लिएसँगै अन्य मन्त्रीहरुलाईसमेत नियुक्त गर्ने बताएपनि नेकपा माओवादी केन्द्रसँगको भागबण्डा मल्नि नसकेको माओवादी केन्द्रका एक सांसदले बताए । ‘उनीहरुले आज मन्त्रिपरिषद् बिस्तार गर्ने भनेपनि हामीसँग अझै सहमती जुटेको छैन,’ ति प्रदेश सांसदले भने । माओवादी केन्द्रले गण्डकीमा तीन मन्त्रालयको दाबी गर्दै आएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपश्चात पाण्डेले सातवटै मन्त्रालयलाई नै कायम गर्ने बचन दिए । यस्तै सत्ता साझेदार माओवादी केन्द्रका संसदीय दलको नेता हरि बहादुर चुमानले पनि मन्त्रालयलाई ७ वटै कायम गर्ने प्रष्ट पारे । उनले मन्त्रालय बिस्तार गर्न आवश्यक नरहेको बताउदै भने, ‘मन्त्रालय सँख्या ७ वटै हुन्छ । अहिले नमिलेको मन्त्रालयहरुलाई मिलाउने काम हुन्छ ।’
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गोरखा क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्य चुनिएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हालै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्र पाण्डेले पद गोपनियताको सपथ भोलि (शुक्रबार) लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ सहित ३५ सांसदको हस्ताक्षरसहित पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी गरिएको थियो । गत पुस २५ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले वैशाख ९ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुख) बाहेक, राप्रपाका २ र स्वतन्त्र हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद रहेका छन् ।
दाङ: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य चुनिएका चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन् । चौधरीलाई ५३ सांसदको समर्थनसहितको हस्ताक्षर बुझाएको नेपाली कांग्रेस प्रदेश सभा सदस्य राजु खनालले जानकारी दिए । गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।
पोखरा: गण्डकी प्रदेश सरकारको नेतृत्व गरेका खगराज अधिकारीको सरकार वैशाख ९ गते ढलेसँगै प्रदेशको मुख्यमन्त्री को बन्ने भनेर माओवादी र कांग्रेसको हानथाप छ । गण्डकी प्रदेश सभामा कुनै राजनीतिक दलको स्पष्ट बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बनाउनुपर्ने भएकाले माओवादी र कांग्रेसको मुख्यमन्त्री बन्न हानथाप छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् । प्रदेश प्रमुखले दिएको समय भित्र माओवादीको समर्थनमा मुख्यमन्त्री बन्न नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले तयारी गरेका छन् । स्रोतका अनुसार केही समयमा दलको बैठक बसेर प्रदेश प्रमुख समक्ष दाबी गर्ने कांग्रेसको तयारी छ । यद्यपी गण्डकीमा शीर्ष तहमै कांग्रेसमा र माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरु बताउछन् । पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको कांग्रेस निकट स्रातको भनाई छ । तर नेकपा माओवादीले केन्द्रका स्रोतका अनुसार पहिले कसले दाबी गर्ने भनेर केन्द्रको आधिकारिक निर्णय अझै नआएकाले गण्डकी प्रदेशको सरकारको मुख्यमन्त्री को भन्छ भनेर अन्यौल छ । यद्यपी दुइपटक प्रदेशको मन्त्री भइसकेको हरिब बहादुर चुमानले पनि मुख्यमन्त्री बन्ने अडान लिएपनि केन्द्रको निर्णर्य कुरिरहेको बताइएको छ । पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस र माओवादीको सरकार बन्न लागेको हो । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए । कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो । कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।
पोखरा: गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ सिल्डमा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की कुल ३२ पदक प्राप्त गर्दै टिम च्याम्पियन बनेको हो । कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदक जित्दै नगद ३० हजार हात पारेको छ । यसै गरी गत वर्षको च्याम्पियन बागलुङ यस पटक भने दोश्रो भएको छ । प्रतियोगितामा बागलुङ १० स्वर्ण, ५ रजत र १० कास्य पदक गरी कुल २५ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ भने नवलपुर ७ स्वर्ण, ३ रजत र ८ कास्य गरी कुल १८ पदक जित्दै तेश्रो स्थान हात पारेको छ । दोश्रो भएको बागलुङले नगद २० हजार र तेश्रो हुन सफल नवलपुरले नगद १० हजार प्राप्त गरेका छ । यता मंगलबार नै सम्पन्न छात्र भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८-२६, २५-२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५-२०, २५-१८ ले जित्दै तेश्रो भएको छ । त्यस्तै छात्रा भलिबलमा कास्कीले बाजी मारेको छ । कास्कीले स्याङजालाई २५-१८, २५-२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५-२०, १९-२५ र २५-१९ ले जितेर तेश्रो भएको छ । सम्पन्न एथलेटिक्सतर्फ कास्कीले ६ स्वर्ण ८ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर ५ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेर दोश्रो र स्याङजाले ४ स्वर्ण र १ कास्यका साथ तेश्रो भएको छ । यसै गरी कबड्डी छात्रतर्फक कास्की प्रथम भएको छ । कास्कीले म्याग्दीलाई ४३ का विरुद्ध ४५ अंकले पराजित गर्दै पहिलो भएको हो भने बागलुङ र गोर्खा तेश्रो भएका छन् । छात्रा कबड्डीतर्फ बागलुङले तनहुँलाई ६६ का विरुद्ध २० अंकले पराजित गर्दै पहिलो हुँदा नवलपुर र स्याङजा तेश्रो भएका छन् । मार्शल आर्ट उशुतर्फ समग्रमा बागलुङले ४ स्वर्ण २ रजतका साथ पहिलो, कास्की २ स्वर्ण र २ रजत र २ कास्य पदकका साथ दोश्रो म्याग्दी २ रजत र ५ कास्य पदकका साथ तेश्रो हुँदा तेक्वान्दोतर्फ म्याग्दीले २ स्वर्ण १ रजत, कास्कीले २ स्वर्ण, २ रजत र १ कास्य तथा नवलपुर १ स्वर्ण २ रजत १ कास्य पदकका साथ क्रमश पहिलो, दोश्रो र तेश्रो भए । यस्तै करातेतर्फ म्याग्दी जिल्ला प्रथम भएको छ । दुई दिन सम्म चलेको प्रतियोगितामा कुल ६ वटा खेलहरु भएका थिए । जस मध्ये मार्शल आर्टतर्फ छात्र÷छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए । विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको थियो । उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु यहि बैशाख १५ गतेबाट काठमाण्डौमा सुरु हुने तेह्रौं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन १४ गते प्रस्थान गर्नेछ ।
नवलपुर: गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा थापाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार रहनुभएका थापामगरले चुनावमा कुल ७ लाख ५० हजार ४७५ खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार चुनाव प्रचारप्रसारको प्रयोजनमा सो रकम खर्च भएको हो । सो निर्वाचनमा सवारीसाधन, छपाई, कार्यालय सञ्चालन, प्रचार प्रसार सामाग्री लगायत विभिन्न शिर्षकमा ७ लाख ५० हजार ४७५ खर्च भएको थियो । कुन शिर्षकमा कति खर्च ?
प्रदेश प्रमुखको कार्यालय, गण्डकीले आगामी १४ गते बिहीबार नयाँ सरकार गठनकालागि आव्हान गरेको छ । प्रदेशले हालै विज्ञप्ती जारी गरी उक्त दिन ४ बजे सरकार गठन गर्न आव्हान गरेको हो । सरकार गठन गर्न प्रदेशले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आव्हान गरिएको छ । उक्त धाराको उपधारामा ‘ प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’ उल्लेख छ । जसअनुसार नेपाली कांग्रेस वा नेकपा माओवादी केन्द्रमध्ये एक दलका नेता मुख्यमन्त्री हुने सम्भावना रहेको छ । गण्डकीमा कांग्रेस र माओवादी दुबैले आलोपालोको सहमति गरेको जिम्मेवार नेताहरुले बोलिसकेका छन् । यदि आलोपालको सहमति भएको हो भने संसदीय दलका नेताकारुपमा कांग्रेसबाट सुरेन्द्रराज पाण्डे र माओवादीबाट हरिबहादुर चुमानलाई गण्डकीवासीले मुख्यमन्त्रीकारुपमा देख्न पाउनेछन् । प्रदेशमा २७ सांसद रहेको कांग्रेस ठूलो दल हो भने माओवादीसँग ८ सदस्य रहेको छ । सिटको आधारमा कांग्रेसले मुख्मन्त्रीको दाबी गरिरहेपनि यसको छिनोफानो गण्डकीबाट नहुने प्रष्ट देखिएको छ । यसैबीच, माओवादीबाट संसदीय दलका नेता चुमानले माओवादीले सुरुबाटै मुख्यमन्त्रीमा दाबी गरिरहेको बताएका छन् । चुमान भन्छन् ‘हाम्रो दाबीमात्र हैन सहमति नै भएको छ ।’ तर सहमति नै भएपनि पहिला कसले मुख्यमन्त्री पाउने भने टुंगो लाग्न बाँकी रहेको चुमानले बताए । ‘कांग्रेस र हामीबीच को पहिला मुख्यमन्त्री भन्ने कुरा हो’ चुमानले भने ‘यसमा निर्णय गर्ने काम माथि (केन्द्र)बाट हुन्छ । हाल गठबन्धनको सरकार रहेको उल्लेख गर्दै नेता चुमानले माथिबाट भएको निर्णय स्वीकार्न दुबै तयार रहेको जनाएका छन् ।
गत शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परी बाहिरिएपछि रिक्त रहेको पदमा आजसम्म प्रतिपक्ष दलले दाबी गर्न पाएका छैनन् । नयाँ मुख्यमन्त्री चयन गर्न प्रदेश प्रमुखले आव्हान गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले जनाएअनुसार आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ले मुख्यमन्त्री दाबीकालागि आव्हान गर्ने तयारी गरिरहेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले अहिले यही विषयमा काम भइरहेको जनाउँदै प्रमुख गुरुङले आव्हान गर्ने जनाए । ‘प्रदेश प्रमुखको कार्यालय यही काममा जुटिरहेको छ’ प्रवक्ता अर्याल भन्छन् ‘अबको केही समयमा मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखबाट आव्हान हुनेछ ।’ यद्यपि, प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को कुन उपधारामार्फत आव्हान हुनेछ भन्ने विषयमा भने कुनैपनि जानकारी दिइएको छैन । ‘यस विषयमा केही समय कुर्नैपर्ला’ अर्यालले भने । धारा १६८ को उपधारा (१) मा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ’ उल्लेख छ । त्यस्तै, (२) उपधारा (१) बमोजिम ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाउँदा पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् । माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिएका हन् । सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी छ ।