पोखरा: युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका ३३ तल्लो पुँडिटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताहव्यापी कार्यक्रम अन्तरगत आइतबार भुलभुला आधारभुत विद्यालयमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको हो । पुस्तकालयको पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै युनाइटेड क्लबद्धारा स्थापना गरिएको पुस्तकालयको संरक्षण र पुस्तकालयमा पुस्तकको ब्यवस्थाको लागि आफ्नो वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडाको विकासका लागि आफु हरदम लागीरहेको बताउदै भुलभुला देवी मन्दिर रहेको स्थानलाई पर्यटकीय स्थल बनाउन सकेको खण्डमा पुँडिटारमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सकिने उल्लेख गरे । युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आईरहेको सन्दर्भमा पोखरा ३३ तल्लो पुंडीटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरि शिक्षाको स्तरोन्नतीमा पुर्याएको सहयोग प्रति धन्यवाद व्यक्त गरे । यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर पोखरेलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे । विद्यालयका प्रध्यानाध्यापक छविलाल पौडेलले पोखरा महानगरपालिका भित्र रहेतापनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्गथामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी पुस्तकालय स्थापना गरेकोमा युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरे । ३३ नम्बर वडा महानगरको पनि कर्णाली जस्तो दुरदराजमा रहेकाले विद्यार्थी संख्या न्युन रहेको उनको भनाइ रहेको थियो । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा काम गर्दै आइरहदा एकदर्जन वढी सामुदायिक विद्यालयहरुमा अक्षयकोष, छात्रावृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामाग्री बितरण जस्ता कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा भुलभुला आधारभुत विद्यालयमा आएर पुस्तकालय स्थापना गर्न पाउदा खुसी लागेको बताउदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उज्जवल भविष्यको समेत कामना गरे । युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुलभुला सामुदायिक बनका अध्यक्ष बैकुण्ठ गोदार, भुलभुला आमा समुहकी अध्यक्ष इश्वरी पोखरेल लगायतले बोलेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले गरेका थिए । क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश तिमिल्सिनाले धन्यवाद मन्तव्य राखेका थिए ।
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक गम्भीर घाइते भएका छन्। सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट लडेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्। दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएका थिए । उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामिछानेसहितकाे टाेली आइतबार बेलुका चितवन आइपुगेका थिए। गम्भीर घाइते भएका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
पोखरा: गण्डकीको मन्त्रीपरिषद्को बैठकले प्रदेशको संसद अधिवेशन वैशाख ९ गते बोलाउने निर्णय गरेको छ । नेकपा एमालेका खगराज अधिकारीले नेतृत्वको प्रदेश मन्त्रीपरिषद्को बैठकले वैशाख ९ गते संसद अधिवेशन बोलाउने निर्णय गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेशका प्रवक्ता रोशनबहादुर गाहामगले जानकारी दिए । ‘हिजो बसेको मन्त्री परिषद्को बैठकले प्रदेश प्रमुख समक्ष बैशाख ९ गते गण्डकीको संसद बोलाउने निर्णय पेश गरेका छौं, कानूनमन्त्री गाहामगरले भने, ‘संसद अधिवेशन अगाडि राजनीतिक दलहरुसँग बैठक बस्ने तयारी छ, छलफलबाट जे निष्कर्ष आउँछ त्यही अनुसार अगाडि बढ्छौं ।’ गण्डकीको मन्त्री परिषद्को निर्णय अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख ९ गते गण्डकीको संसद अधिवेशन बोलाएका हुन । मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसाभो अधिवेशन प्रदेश सभा भवन नदीपुरमा २०८० बैशाख ९ गते दिउँसो ३ बजे बस्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । पुस २५ गते नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गेको सर्मथनमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि अधिकारी नेतृत्व सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदा प्रदेश सरकार अल्पमतमा परेको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा एमालेको सभामुख सहित ८ , राष्ट्रिय प्रजातन्त्र पार्टीको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गे गरी ६० सदस्य रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ वर्ष, २०८० मा नेपाली लोकतन्त्रको अझ विस्तार, विकास र सुदृढ हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८० का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान समारोहमा उहाँले राष्ट्रिय एकता, दिगो शान्ति र सामाजिक सद्भावसहितको आर्थिक समृद्धिमा जोड दिनुभएको हो । प्रदेश प्रमुख गुरुङले २०७९ साललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण वर्षका रूपमा लिन सकिने उल्लेख गर्नुभयो । “यसै वर्ष सङ्घीय संरचनाअन्तर्गत सबै तहका निर्वाचन सम्पन्न भएका छन्, आम जनताले विश्वास र भरोसा गरेर तीनै तहका लागि प्रतिनिधि छानेर पठाएका छन्”, उहाँले भन्नुभयो, “देशमा रहेका अथाह प्राकृतिक सम्पदा एवं मानवीय संशाधनको समुचित र दिगो प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध तथा समुन्नत बनाउने दायित्वसमेत हाम्रो काँधमा रहेको छ ।” सुन्दर, समुन्नत र व्यवस्थित गण्डकी प्रदेशको निर्माण सबै पक्षको सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्रदेश प्रमुख गुरुङले दलगत स्वार्थबाट माथि उठी समुन्नतिका लागि साझा धारणा बनाई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सोही समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायतले नयाँ वर्ष २०८० का उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना सन्देश दिनुभएको थियो ।
काठमाडाैँ: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गर्नुभएको छ । बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा प्रशिक्षार्थीलाई आयुक्त पद प्रदान गर्नुभयो । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि दिनुभयो । उक्त कार्यक्रममा उहाँले सैनिक भ्यानमा सवार भएर कवाज कार्यक्रमको अवलोकन गर्नुभयो ।
पोखरा: गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरालाई खेलकुदको राजधानी नभएर खेलकुदको आर्कषक गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्न टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हामी अहिले खेलकुदको राजधानी खोजिरहेको छौं, जहाँ आर्कषक गन्तव्य बन्छ त्यो राजधानी हो, सांसद बरालले भने, ‘पोखरा एकसमय राष्ट्रिय खेलाडीको जग नै थियो, अहिले विस्तारै हराउँदै गएको छ यसमा सबैको ध्यान पु¥याउँदै खेलाडी उत्पादनमा ध्यान दिन आवश्यक छ ।’ उनले खेलकुद क्षेत्रको पूर्वाधार विकास गर्ने जिम्मा राज्यको भएको भन्दै विभिन्न प्रतियोगिता सञ्चालन र खेलाडी उत्पादनमा क्लब र विभिन्न संघसंस्थाले त्यसमा सहयोग गर्नुपर्नेमा बताए । टाइगर कपमा १६ लाख बढीको टिकट बिक्री, ५ लाख बढी रकम बचत टाइगर ग्रुप अफ नेपालले आयोजना गरेको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैया आम्दानी भएको छ । पोखरामा माघ ८ देखि १४ गतेसम्म सञ्चालन भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी हुँदा ८५ लाख १५ हजार १ सय १४ रुपैया खर्च भएको टाइगर ग्रुप अफ नेपालका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । उनका अनुसार टिकट प्रवेश शुल्कबाट १६लाख ७५ हजार ५ सय, सुश्री मिडिया प्रालिबाट १४ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ८ लाख पोखरा महानगरपालिकाबाट ७ लाख, प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख र विभिन्न संघसंस्था, व्यक्तिबाट ३९ लाख ४१ हजार ५सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको टाइगर ग्रुप अफ नेपालले जनाएको छ । त्यस्तै खर्च तर्फ पुरस्कार तथा प्रोत्साहनमा १९ लाख ३० हजार, सहभागी टिमको यातायात र आवासमा १३ लाख २० हजार, विदेशी टिम खर्च ७ लाख ६६ हजार ९ सय, खेलाडीहरुको पोशाक तथा सोभिनियर ट्याक सुट खर्च १ लाख २४ हजार ९ सय, रेफ्रि अफिसियल र जुरी खर्च ६ लाख ३९ हजार ६ सय ७०, समारोह व्यवस्थापन खर्च ४ लाख २७ हजार ८ सय ७०, कार्यालय व्यवस्थापन खर्च २ लाख ६३ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको अध्यक्ष शर्माले बताए । त्यस्तै प्याराफिट,मञ्च टेन्ट र साउण्ड सिस्टम खर्च १३ लाख ३१ हजार ९ सय ४२, प्रवद्र्धन प्रचार र विज्ञापन खर्च ५ लाख ४७ हजार ५ सय, अतिथि सत्कार खर्च १ लाख ५० हजार, खेल मैदान खर्च २ लाख २२ हजार १ सय ५६, स्वंयमसेवक खर्च १ लाख ४९ हजार ८ सय २५, मसलन्द तथा स्टेशनी खर्च ८८ हजार ९ सय ३३, टफि मेडल तथा प्रमाणपत्र खर्च ३ लाख ९८ हजार ३ सय ३५, सचिवालय खर्च ८५ हजार र औषधी तथा खानेपानी खर्च ६८ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको टाइगर ग्रुप नेपालका कोषाध्यक्ष श्रेष्ठले बताए । पोखरामा सम्पन्न भएको तेस्रो टाइगर कप अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका थिए । यस्तै प्रतियोगितामा महिलातर्फ नेपाल एपिएफ क्लब, होङ्गाजी न्यू डायमण्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो । यस्तै पुरुषतर्फ नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एसटि जोसेफ वाड स्पोर्टस क्लब श्रीलंकाको टोलिकोे सहभागिता रहेको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गर्नुभएको हो । शौचालयको शिलान्यास गर्दै प्रमुख आचार्यले पोखराको महेन्द्रपुलमा सुविधा सम्पन्न शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । “यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ, अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, चमेनागृह सहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ ।” शौचालय कुनै पनि सुविधा सम्पन्न होटेलको बराबर हुने प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार शौचालयबाट निकाल्न सकिने ग्याँसको प्रयोगबाट चमेना गृह पनि सञ्चालन गरिने छ भने, त्यो टिपिकल नेपाली शैलीको हुनेछ । आसपासमा केही चौतारीहरू निर्माण गरिनेछन् । अधिकांश स्थान भने खुल्ला नै राखिने प्रमुख आचार्यले बताउनुभयो । शौचालयको आगामी २०८० को जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने गरी काम अगाडी बढाउन निर्देशन पनि दिनुभयो । नजिकै चोकमा हाइमास्ट लाइट समेत जडान भैसकेका रातिको समयमा पनि काम गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो । पोखराको पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो । एनआरएनएका मेगा प्रोजेक्ट संयोजक रविना थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले आफूहरूको पूर्व प्रतिबद्धता अनुसार जनताका सामु गरिएको बाचा पुरा गर्न लागिएको बताउनुभयो । चुनावताका जनताका सामु आफूहरूले गरेका प्रतिवद्धताहरु पुरा गर्नु निर्वाचित जनप्रतिनिधिको कार्यभार भएको भन्दै अव एक एक गर्दै ती प्रतिवद्धताहरु पुरा गर्दै जाने विश्वास दिलाउनुभयो । एनआरएनएका कार्यकारी अध्यक्ष बद्री बहादुर केसीले विदेशमा जस्तै पोखरामा पनि सुविधा सम्पन्न अत्याधुनिक शौचालय निर्माण गरिने बताउनुभयो । एनआरएनए मुलुकको विकास र समृद्धिमा सारथि बन्न चाहेको बताउँदै उहाँले विदेशमा बगाएको नेपालीहरूको पसिनाको मूल्य पोखराको सार्वजनिक शौचालयमा लगानी गर्न लागिएको उहाँले बताउनुभयो । महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुनेछ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ । करिब १ करोडको लागतमा निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले ब्यहोर्नेछ पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् ।
पोखरा: पोखरा महानगरपालिका १६ बस्दै आएकी अल्का गुरुङ गत मंगलबारदेखि बेपत्ता भएकी छिन् । स्थानीयहरुले पोखरा महानगर १ र १६ जोड्ने केआईसिंह पुलबाट एकजना हाम फालेको जानकारी दिएपनि कास्की प्रहरीका प्रवक्ता तथा डिएपसी श्रवण कुमार विकले हालसम्म बेपत्ता ३२ वर्षीया अल्का गुरुङ फेला नपरेको बताए । उनका अनुसार केआइसिंह पुलबाट सेती नदीमा एक जना हाम फालेको सूचनापछि कास्की प्रहरीले तत्काल खोजी गरेको थियो । डिएसपी विश्वकर्माले कास्की प्रहरीसँगै सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले सँयुक्त रुपमा सेती नदीको खोँचमा बुधबार पुनः खोजी गर्दा ७३ दिनदेखि सेती नदीमा नै हराएका ४४ वर्षीय विश्वबहादुर गुरुङको शव प्रहरीले फेला पारेको जानकारी दिए । उनले हप्तादिनदेखि बेपत्ता रहेका अल्का गुरुङलाई महिला हराएको सूचनामा राखेर खोजी तिब्र पारेको बताए । डिएसपी विश्वकर्माका अनुसार पोखरा महानगरपालिका १९ लामाचौर घर भई पोखरा १६ जोगीमडी माइती घर बस्दै आएकी थिइन् । परिवारको सम्पर्कमा नरहेकी गुरुङ मानसिक बिरामीसमेत रहेकी बताइएको छ ।
मुस्ताङ: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले मित्रराष्ट्र चीनसँग जोडिने कोरला नाकाको स्थलगत अवलोकन गर्नुभएको छ । विभिन्न कार्यक्रमसहित मुस्ताङ पुग्नुभएको मन्त्री गाहामगर नेतृत्वको टोलीले सीमाको अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको हो । मन्त्री गाहामगर नेतृत्वको टोलीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले सीमा र गाउँपालिकाको समस्याको बारेमा जानकारी गराएका थिए । स्थलगत अवलोकन पश्चात बोल्दै मन्त्री गाहामगरले कोरला नाकालाई सञ्चालनमा ल्याएको खण्डमा प्रदेशको आर्थिक विकासमा सघाउ पुग्ने बताउनुभयो । उहाँले सो नाकाको अवलोकन गर्न पहिलेपनि गएको बताउदै संघीय सरकारले नीतिगत रुपमा विशेष पहल गर्नुपर्ने धारणा राख्नुभयो । साथै चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट सो नाकामा भौतिक संरचना निर्माणका लागि रकम विनियोजन भएको बताउनुभयो । अवलोकनका क्रममा मन्त्री गाहामगर नेतृत्वको टोलीलाई चिनियाँ सीमा सुरक्षामा रहेका प्रहरी टोलीले खादा लगाएर स्वागत गरेका थिए । सो अवलोकनमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरी गण्डकी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, मन्त्रालयका सुचना अधिकारी शिव लम्साल, अन्य शाखा अधिकृतहरु तथा लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष, सदस्यहरु साथै स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।