गोरखा: गोरखामा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा आरुघाट गाउँपालिका १० गोरखाका मिनी ट्रकका चालक ४० वर्षिय उमेश श्रेष्ठ र मोटरसाइकलमा सवार दोलखाका ३२ वर्षिय विष्णु खड्का रहेका छन् । प्रहरीका अनुसार हिजो (सोमबार) दिउँसो करिब १ बजे गोरखा नगरपालिका ६ बिसौना मोडमा गोरखा बजार आउदै गरेको प्र.३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आएको बा ८६ प १७८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ट्रक र मोटरसाइकल सडकबाट करिब २० मिटर तल खसेको थियो । ‘ ट्रकको ओभरस्पिड देखिएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर सडक किनारमा रहेको सर्वसाधारणलाई पनि लतारेर लगेको देखिन्छ ।' घटनामा खटिएका एक प्रहरी अधिकृतले सुनगाभा न्यूजसँग भने । उनले सो दुर्घटनामा परी ६ जना घाइते भएको जानकारी दिए । हाल घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनबारे थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ ।
काठमाडौं: बागमती नदी नेपालीहरूको आस्थाको केन्द्र हो । हिन्दुहरूका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता त्यत्तिकै छ । हिन्दुहरूको मात्रै नभई किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यकता र औचित्य हिन्दु समान छ । बागमती नदीको सभ्यता धेरै गर्विलो छ । बागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाइमा चासो नहुनु नै हो । ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन । पछिल्लो समय बागमती सरसफाइ अभियानसँगै बागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन । ढल, फोहोर र दुर्गन्धपूर्ण बागमती नदी स्वच्छ, सफा र सुन्दर बागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि बागमती नदी छेउमा हरियाली र प्राकृतिक बास्नासहित बहनेछ । तर काठमाडौंवासी नै बागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्ने कुराबाट टाढा छन् । काठमाडौं उपत्यकाभित्र बागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौं बाहिरिने क्रममा पनि कालो बागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ । काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले बागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित बागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित सहरलाई गिज्याउँछ । काठमाडौं उत्तरबाहिनीस्थित बागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट बागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक बागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट बागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको बागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित सहरका अविकसित मानिसको सोचलाई दर्साउँछ । यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी सङ्घसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि बागमतीले आफ्नो पुरानो लय समात्नेछ । न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका बागमती नदीका तस्बिरहरु ।
पोखरा: आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका विद्यालयहरु तयारीमा जुटिरहेको बेला पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी समूह भने अदालत जाने तयारी गरिरहेको छ । स्वतन्त्र विद्यार्थी समूह (स्वविस)ले चुनावमा सहभागी हुन नाम दर्ता गरेपछि निर्वाचन समितिले आफुखुशी नाम परिवर्तन गरिदिएको भन्दै अदालतको ढोका ढक्ढक्याउन जान लागेको बताएको छ । समितिले नाम परिवर्तन गरी पृथ्वी विद्यार्थी मन्च राखिदिएको भन्दै स्वविसका सभापति दिप्सन गुरुङ्ले यसमा असहमति रहेको जनाएका छन् । स्ववियु निर्वाचनको लागि १९ गते स्वविसले नाम दर्ता गरेको र क्रम संख्या ‘९’ पाएको गुरुङले बताए । ‘निर्वाचन समितिले आफ्नो मनोमानी गरेको छ, कानुनी प्रक्रिया पुर्याएर दर्ता गरेका हौ’ संयोजक गुरुङ् भन्छन् ‘हामिमाथि अन्याय भएको छ, निर्वाचन समितिले न्याय दिएन भने अदालत जानेछौँ ।’ २५ गतेसम्म निर्वाचन समितिले कानुनी प्रकृयाअनुसार निर्णय नलिएमा रिटको प्रकृयामा जाने गुरुङको चेतावनी छ । ‘यथाशीघ्र उक्त नामावली सूचिलाई सच्याउँदै पुनः संगठनको नाम प्रकाशित गर्न आग्रह गर्दछौँ, अन्यथा अदालत गुहार्न बाध्य हुनेछौं’ गुरुङले भने । नामै परिवर्तन गरेर दर्ता सूची प्रकाशन गर्नु निर्देशिकाको विपरित भएको स्वतन्त्र विद्यार्थी समूहका कोषध्यक्ष अभिषेक विष्टले बताए । ‘सत्यको जित अवश्य हुनेछ,’ विष्टले भने, ‘निर्देशिका विपरितको उक्त कार्यको हामि सशक्त प्रतिकार गर्ने छौं ।’
पोखरा: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले महिला र पुरुषबीचको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घ संस्था तथा राज्यका सबै निकाय अग्रसर हुनुपर्ने बताउनुभयो । लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको उहाँको भनाइ छ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरिएको सन्देशमा उल्लेख छ । नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्नका निम्ति महत्त्वपूर्ण प्रावधानको व्यवस्था गरेको भन्दै सन्देशमा यसबाट महिलाप्रति हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको भनिएको छ । संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभएको छ । पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकमा नेपालले प्रगति गर्दै आएको देखिएकाले यसका प्रयास परिणाममुखी चरणमा रहेको भन्दै उहाँले यसबाट नेपाली महिलाको प्रतिष्ठा अभिवृद्धि हुँदै गएको आफूलाई लागेको बताउनुभयो ।
पोखरा: जिल्ला ट्राफिक कार्यालय कास्कीले होली पर्वको दिन हिजो (शुक्रबार) ट्राफिक नियम उल्लघन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । पोखराको सिर्जनाचोक, चिप्लेढुङ्गा, लेकसाइड र हेम्जामा होली मनाउने क्रममा ट्राफिक नियम उल्लघंन गर्ने ३ सय ५६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो । होलीको दिनमा कुनै अप्रिय दुर्घटना हुन नदिन ट्राफिक कार्यालयले १७ ठाउँ बढीमा सवारी चेकिङ गरेको थियो । कारबाहीमा पनर्मो मोटरसाइकल, स्कुटर, कार र जिप छन् । सवारी चालक अनुमति पत्र नभई गाडी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट क्षमताभन्दा बढि यात्रु राख्ने, तिव्र गतिमा सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल/स्कुटर कुदाउँने लगायत सवारी कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन,’ पाठकले भने, ‘धेरैले मादक पदार्थ सेवन गरेको, हेल्मेट नलगाएको, क्षमता भन्दा बढी सवार भएर यात्रा गरेको कारण बढी कारबाहीमा परेका छन् ।’ पाठकका अनुसार २०२ जना मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, १५४ जना हेल्मेट नलगाउने र क्षमता भन्दा बढी सवार गर्ने कारबाहीमा परेको छन् । भने ११९ जना पक्राउ परेका छन् । यसैबीच, हिजो मात्रै पोखरामा ८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् । घाइतेको हाल मणिपाल अस्पातालमा उपचार भईरहेको पाठकले बताए ।
काठमाडौं: नेपालका केही स्थानमा आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा अहिले जारी पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तो छ महाशाखाको तीन दिने मौसम पूर्वानुमान २०७९ फागुन २३ गते (मंगलबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ।साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति ː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। २०७९ फागुन २४ गते (बुधबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति ː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। २०७९ फागुन २५ गते (बिहिबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ। राति ː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले रंगै रंगहरुका पर्व फागु पूर्णिमा (होली) तथा थकाली समुदायको तोरन्ल पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री गाहामगरले शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, ‘ नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विशेषताहरुले सुसज्जित सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरुसँग आ–आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा छन् । जसले एक अर्का समुदायबीच आपसी सद्भाव बढाउदै आएको छ ।’ उहाँले एक समुदायले अर्काे समुदायको पहिचान र अस्तित्व स्वीकार्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, ‘असत्यमाथि सत्य र खराबमाथि असल विजय तथा रंगै रंगको पर्वका रुपमा मनाइने यस फागु पूर्णिमा (होली, फागुन २२, २३) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥याओस् भन्ने कामनासहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
पोखरा: नेपाल ट्रेड युनियन काँग्रेसको ७७ औं स्थापना दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा श्रमिक वर्गले भोग्दै आएका समस्याको दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिइएको छ । नेपालका परिवर्तनका आन्दोलनमा श्रमिक वर्गले अतुलनीय योगदान गरे पनि उनीहरूका समस्या समाधानलाई प्राथमिकतामा नराखिएको बताउँदै वक्ताहरूले उनीहरूका सामाजिक सुरक्षाका विषयलाई निष्कर्षमा पु¥याउनुपर्ने बताए । नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संघर्ष स्वरुप प्राप्त परिवर्तनलाई व्यवस्थापन गर्न समय समयमा चुक्दा समस्या आउने गरेको बताउनुभयो । हामीसँग पर्याप्त प्राकृतिक सम्पदा रहेपनि उपयोग हुन नसकेको वास्तविकतामा क्षमतालाई भरपुर उपयोग हुने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिनुभयो । श्रमिक क्षेत्रका समस्याको समाधानका लागि काँग्रेस प्रतिवद्ध भएको बताउँदै उहाँले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव राजेश पालिखेले श्रमिक वर्गले भोग्दै आएका सामाजिक सुरक्षा लगायत समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत व्यवस्थासँगै कानुनहरूको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस कास्कीका शुभेच्छुक संस्था संस्था संयोजक गंगाधर पराजुलीले नेपालका सबै किसिमका आन्दोलनमा दलहरूले मजदुर बर्गलाई प्रयोग गर्दै आए पनि उनीहरूका समस्या समाधानलाई प्राथमिकतामा नराखेको बताउनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, निवर्तमान कास्की जिल्ला अध्यक्ष कुलदेवी बराल, उपाध्यक्ष कमलबहादुर सापकोटा, सचिव रुद्र तिमल्सिना लगायतले मजदुरका समस्यालाई दीर्घकालीन समाधान गर्ने तर्फ लाग्नु जरुरी रहेको बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रङहरुको पर्व फागुपूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लहको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यी पर्वले नेपाली समाजलाई एक सूत्रमा बाँध्दै आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । “यस वर्षकोे फागुपूर्णिमा (होली पर्व) तथा तोरन्लह पर्वले नयाँ उमङ्ग एवं हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । नेपालका विभिन्न जात-जातिका आ-आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको सन्देशमा उल्लेख छ ।