पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट छुट्टाएको छ।    आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गाउँपालिका भित्र बाँदर आतंक नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाइएको हो ।...

पोखरा:    गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।      सभाको यस अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएकामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामा उहाँले विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।      मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको विषय यतिखेर चर्चामा छ । केन्द्रमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको गण्डकीमा स्पष्ट बहुमत रहेका अवस्थामा अब बन्ने सरकारको गठन कसरी हुने भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ ।      संविधानले गरेको व्यवस्थाअनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार गठनका लागि दाबी पेस गर्ने उल्लेख छ । कुनै एक दलको बहुमत नभएका अवस्थामा उक्त धाराकै उपधारा २ अनुसार सरकार गठन हुने व्यवस्था छ । सो उपधारामा दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार बनाउने गरी दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था गरिएको छ ।       त्यस्तै, उपधारा ३ मा प्रदेशसभाको सबैभन्दा ठूलो दललाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ । अधिकारी नेतृत्वको सरकारले शनिबार विश्वासको मत नपाएसँगै नयाँ सरकार गठन गर्न आह्वान हुनुपर्ने भए पनि प्रदेश प्रमुख गुरुङ काठमाडौँ रहनुभएको र आइतबार मात्रै पोखरा फर्कनुभएकाले ढिलाइ भएको छ । प्रदेश प्रमुख पोखरा आएसँगै सरकार गठनका लागि आवश्यक कानूनी परामर्श सुरु गर्नुभएको र सोमबार सम्म आह्वान हुन सक्ने प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।   

रुपन्देही:   बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रूपमा मनाउने गरिन्छ ।  यसपटक वैशाख २२ गते परेको २५६७औँ   बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरिसकेको छ ।  बुद्धजयन्तीको तयारीका लागि विकास कोषका उपाध्यक्ष भिक्षु अवधेशकुमार त्रिपाठीको  संयोजकत्वमा मूलसमिति गठन गरिएको छ । विकास कोषका कोषाध्यक्ष सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयंसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति  र योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ र वृक्षारोपण उपसमिति गठन गरिएको छ । यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ । विश्व शान्तिको प्रमुख केन्द्र लुम्बिनीमा हुने बुद्धजयन्तीको औपचारिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन कार्यक्रम भएकाले उक्त अवसरलाई प्रभावकारी बनाउन भव्य तयारी भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । सो अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ ।  बुद्ध जयन्तीको अवसरमा गरिने कार्यक्रमका लागि लागि रु एक करोड बजेट विनियोजन गरिएको विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो । गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रूपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो ।  पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो । राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो ।  वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । त्यसै वर्षदेखि बुद्धजयन्ती मनाउन थालिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।  राजकीय बुद्ध बिहार लुम्बिनीका प्रमुख संरक्षक भिक्षु सागर धम्मका अनुसार सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभएको थियो । जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो । बुद्धले आर्य अष्टाङिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ ।  बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्कि मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो । यसमा सम्मिलित ८ मार्गको इमानदारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने भिक्षु धम्मको भनाइ छ । आर्य अष्टाङ्कि मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्द दर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् । वि।संं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । बुद्धजयन्तीका अवसरमा लुम्बिनीसहित विभिन्न जिल्लामा रहेका बौद्ध विहार तथा गुम्बामा बुद्ध पूजा र शोभा यात्राको तयारी गरिएको छ । लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनी र कपिलवस्तुमा विशेष सरसफाइ अभियान चलाइएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन् । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित– ४ नं र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाइ गरेर अभियानको सुरुवात गरेको हो । ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको हो । विकास कोषका योजना प्रमुख तथा  मञ्च, सरसफाइ र वृक्षारोपण उपसमितिका संयोजक सरोज भट्टराईले बुद्धजयन्तीको अवसरमा विकास कोषभित्रको फोहर सङ्कलन गरेको बताउनुभयो । “सङ्कलन गरिएको फोहोर कहाँ फाल्ने भन्ने समस्या छ । दिगो समाधानका लागि उपाय पनि खोज्दै छौँ”, उहाँले भन्नुभयो । नियमित रूपमा सफाइ गर्दै आए पनि ४ नम्बर र ५ नम्बर गेट नजिकै स्थानीयले फोहर फाल्ने गरेकाले सचेतनाका लागि कोषका पदाधिकारी, कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय अगुवाको सहभागितामा जनचेतनाका लागि सरसफाइ गरिएको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनको दिगो समाधान नहुँदा स्थानीय केही होटल व्यवसायी विकास कोषको परिसरलाई नै डम्पिङ साइट बनाएका छन् जसले गर्दा महिलबार क्षेत्रमा प्रदूषण बढेको छ । लुम्बिनीमा वृक्षारोपण गरिने  बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा पाँच सय ६७ बिरुवा रोपिने भएको छ । विकास कोषभित्र विभिन्न फलफूलका बिरुवा रोप्ने तयारी गरिएको विकास कोषका योजना प्रमुख तथा मञ्च, सरसफाइ र वृक्षारोपण उपसमितिका संयोजक भट्टराईले जानकारी दिनुभयो । विकास कोष परिसरमा आँप, लिची, अम्बा लगायतका विभिन्न जातका फलफूलका बिरुवा रोपिने विकास कोषले जनाएको छ । रासस

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् ।   शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री अधिकारीको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५९ सांसदमध्ये २४ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा ३५ मत पर्‍यो ।  मुख्यमन्त्री अधिकारीलाई सरकार टिकाइराख्न ३१ मत कायम राख्नु पर्दथ्यो । तर, उनका पक्षमा २४ सांसदले मात्रै मत दिए । ६० सदस्यीय गण्डकी प्रदेशमा , कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) , राप्रपाको २ र एकजना स्वतन्त्र सांसद छन् ।    नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।  

पोखरा:    गण्डकी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।    गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेपछि दलको तर्फबाट बोल्दै  नेता चुमानले विभिन्न कारण देखाउँदै विश्वासको मत दिन नसकिने बताएका हुन् ।    प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा गण्डकीमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका नेता खगराज अधिकारी राप्रपा माओवादीको समर्थनमा पुस ५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।     माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारीले नेतृत्व गरेको सरकार अल्पमतमा परेसँगै आज विश्वास मत लिदैं छ । 

पोखरा:    गण्डकी प्रदेश सभा सदस्य लिलबहादुुर थापामगरले केही राजनीतिक दल सत्ता मोहको लागि ओल्लो र पल्लो घर सर्दा राजनीतिक फोहोरी खेल बताएका छन् ।  मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेपछि दलको तर्फबाट बोल्दै उनले राजनीतिक दलहरुमा सत्ता मोह हुँदा राजनीति फोहोरी खेल भएको बताएका हुन् ।  ‘यो राजनीतिलाई फोहोरी खेल कसरी बनाउन थाल्यौ, कहाँ देखि सुरु गर्न थाल्यो, त्यसको जिम्मेवार दलहरु बन्ने कि नबन्ने, बन्न पर्छ, सांसद थापामगरले भने, ‘दुई महिना अगाडि यता थियौं, आज उता छौं, कहिले फेरी यता आउने हो, यता र उता गर्दा राजनीतिक फोहोरी खेल भयौं अब सच्चिनुपर्छ ।’   उनले मुख्यमन्त्री अधिकारीलाई नै विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गर्दै सबै दल मिलेर मिलिजुली सरकार बनाउन प्रस्ताव समेत गरेका छन् ।    सांसद थापमगरले प्रदेश सभामा समाहित रहेका सबै दल मिलेर प्रदेश सरकार संचालन गर्नुपर्ने बताए । ‘सबै ६ वटै दल मिलेर पालै पालो प्रदेश चलाऔ न, उनले भने, ‘कस्ले कति काम गर्न सक्छ पछि मुल्यांकन गरौला । त्यसैले मुख्यमन्त्री अधिकारीलाई आज मत दिऔं ।’

पाल्पा:  पाल्पाको झुम्सामा गएराती बसले  स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्युु हुनेमा स्कुटरमा सवार बगनासकाली गाउँपालिका–६, यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपाने रहेका छन् ।   गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलेवा:   सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो ।    गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन ।   बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ ।   यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक÷एक वनमा आगलागी भएको छ ।   जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ  दर्ता भएका निजी र बाँकी राष्ट्रिय वनक्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताउनुभयो । गतवर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वनक्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगो समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यस वर्ष हिउँदमा सुक्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताउनुभयो । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन् ।      जङ्गली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाइन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई  क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कैयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जङ्गल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन् । 

पोखराः    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ः०० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिइसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छ।

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सत्ताको मोह नभएको भन्दै आफ्नो तारिफ गर्दै शिलालेखमा नभएर इतिहासमा नाम लेखाउन मन भएको बताएका छन् ।  आज (शुक्रबार) मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले तीन वर्ष अगाडि प्रदेशले सुरु गरेर सम्पन्न भएको योजनाको उद्घाटन गरेर प्रदेशको संरचनाको किन आवश्यक छ भन्ने औचित्यको पुष्टि गरेको बताए ।  ‘प्रदेशले तीन वर्ष पहिले सुरु गरेका योजना केही सम्पन्न भएका थिए केही सम्पन्न हुँदै छन, मुख्यमन्त्री अधिकारीले भने, ‘सम्पन्न भएका योजनाको उद्घाटन गर्दा शिलालेखमा मेरो नाम लेखिन्छ भन्ने थाहा थिएन, लेखियो धन्यवाद छ, मेटाउन मिल्ने भएन, नाम लेखाउन इतिहासमा मन छ शिलालेखमा  होइन ।’ आफुमा कुनै सत्ता मोह नभएको भन्दै मुख्यमन्त्री अधिकारीले संविधानका रक्षाका निम्ति नै २९ दिनमा विश्वासको मत लिन लागेको उल्लेख गरे ।  ‘सत्ताको मोह छैन, संविधानमा जे उल्लेख छ त्यही अनुसार अगाडि बढेको छु, उनले भने, राजनीतिक दलले राजीनामा दिन सुझाव दिने, संविधान निर्माण गर्दाको क्याबिनेत मिनिस्टर हुँ, त्यसैले २९ औं दिनमा विश्वासमा मत मागेको हुँ ।’ उनले प्रदेश सभाको दोस्रो निर्वाचनपछि प्रदेशको नेतृत्व गर्दा जनताको भावनालाई कदर गर्दै मन्त्रालय घटाएको बताए ।   ‘जनताको भावनालाई सम्बोधन गर्दै १२ मन्त्रालयबाट प्रदेशमा ७ मन्त्रालय कायम गरेको छु, उनले भने, ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्रमुख राख्दै निःशुल्क डायलासिस सेवा विस्तारसँगै स्तरोन्नती गरिएको छ ।’ गण्डकी प्रदेशमा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआउँदा मुख्यमन्त्री अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उपधारा २ मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ ।  प्रदेश सभाको दोसा्रे निर्वाचनपछि नेकपा माओवादी, राप्रपा र स्वतन्त्र सांसद दिपक मनाङ्गेको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका नेता खगराज अधिकारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  ६० सदस्य गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र १ जना स्वतन्त्र सांसद रहेका छन् ।  मुख्यमन्त्री अधिकारीले प्रदेशको नेतृत्व समालेपछि गरेका कार्यहरु हेर्नुहोस् ।