पोखरा: गण्डकी प्रदेश सभा सदस्य प्रकाश बहादुर केसीले गाँजाबाट बन्ने औषधि उत्पादनदेखि निर्यातसम्मको वातावरण निर्माण गर्नेबारे प्रदेश सरकारमा प्रश्न उठाएका छन् । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको बजेट छलफलको क्रममा सांसद केसीले उक्त प्रश्न गरेका हुन् । ‘प्रदेश सरकारले नीति तथा कार्यक्रमदेखि बजेटसम्म गाँजाको औषधिजन्य प्रयोगका लागि अध्ययन गर्ने भनेको छ’ सांसद केसीले प्रश्न गरे, ‘गाँजाको व्यवसायिक खेती र घरेलु मदिरालाई ब्राण्डिङ गर्नेबारे प्रदेश सरकारसँग योजना के छ ?’ ‘प्रदेश सरकारले घरेलु मदिराको गुणस्तर वृद्धि र ब्राण्डिङको विषय समेटेको छ । गाँजाबाट बन्ने औषधि उत्पादनदेखि निर्यातसम्मको वातावरण निर्माण छिटो गरौं,’ उनले थपे । सांसद केसीले विदेशबाट आयात हुने मदिराको बजारको हिस्सा ठूलो रहँदा नेपाली उत्पादन भनेर हामीले घरेलु मदिरा बेच्न नसकेकोमा दुखेसो पोखे । उनले फरक प्रसंगमा प्रदेश सरकारले विश्वविद्यालयको ९ करोडको बजेट कटौटी गरेको भन्दै संस्थाको शैक्षिक, भौतिक विकासमा मलजल गर्न प्रदेश सरकार किन अघि नबढेको होला ? भन्ने जिज्ञासा राखे । ‘विश्वविद्यालयको अधुरा काम पूरा हुन्छ हुँदैन भनेर यो निर्णय गरिएको हो रु,’ केसीले प्रश्न गरे । उनले प्रदेश सभाको भवन साँघुरो भएको विषयमा प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।
पोखरा: नेकपा एमाले पोखरा महानगर कमिटीको ११ औ पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले कास्की इन्चार्ज थममाया थापाको प्रमुख आतिथ्यता आज बैठक सम्पन्न भएको हो । कमिटी बैठकले कार्यकर्ताले पालना गर्नुपर्ने २२ बुँदे आचार संहिता पास गरेको कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । उनका अनुसार मदन भण्डारीको जयन्तीको दिनमा महानगर कमिटीका सदस्यले आफ्नो घर वा टोल क्षेत्रमा कम्तीमा २ वटा विरुवा रोप्ने, नियमित रुपमा पार्टी स्कुल सन्चालन गर्ने योजना तयारी गर्ने, असार १४ गते मदन जयन्तीको दिनमा विशेष कार्यक्रम सन्चालन गर्ने, विभागहरुलाई पूर्णता दिनुका साथै वडा कमिटीका इन्चार्जहरुको जिम्मेवारी हेरफेर समेतको निर्णय गरेको छ । बैठकमा नेकपा एमालेका कास्की इन्चार्ज थममाया थापा ,महानगर इन्चार्ज कृष्ण थापा ,जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीले मार्गनिर्देशन गरेका थिए ।
बझाङ: बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिए । उनलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएको थियो । दुर्घटनामा मन्त्री सिंह, उनकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।
गण्डकी: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ। रु ३३ अर्ब ४२ करोड ७२ लाखको कुल बजेटमध्ये रु ११ अर्ब १६ करोड पुल तथा सडक पूर्वाधारमा विनियोजन गरिएको हो। गत शुक्रबार सार्वजनिक बजेटमा प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिइने उल्लेख छ। आगामी आवमा थप तीन सय किमी सडक कालोपत्र गर्ने र २५ वटा पक्की पुल बनाउने प्रदेश सरकारको लक्ष्य छ। बजेटमा टुक्रे योजना कटौती गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ठूला र रणनीतिक महत्वका सडक निर्माणलाई प्राथमिकता दिएको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सडकका बहुवर्षीय आयोजनामा धेरै बजेट खर्च हुने बताए। ‘प्रदेशको गौरव र रणनीतिक महत्त्वसँग जोडिएका सडकमा सरकारको बढी जोड छ, बजेट पनि त्यसरी नै आएको छ’, उनले भने, ‘पक्की पुल निर्माणलाई पनि प्राथमिकता दिइएको छ। पूर्वाधारतर्फका पुरानै आयोजनामा बजेटको दायित्व थपिएपछि सडकमा नयाँ आयोजना कम परेका छन्। पक्की पुलमा भने सरकारले लगानी थपेको छ। पुल नबनेकै कारण कतिपय सडक बाह्रैमास चल्न नसकेको स्थिति छ। एकातिर स्तरहीन सडक त्यहीँमाथि पुलसमेत नहुँदा वर्षात्का बेला ग्रामीण भेगको यातायात सेवा प्रभावित हुने गरेको छ। प्रदेश सरकारको प्राथमिकताप्राप्त उत्तर–दक्षिण द्रुतमार्गअन्तर्गत भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कीबास–त्रिवेणी खण्डको निर्माणलाई पनि आगामी वर्ष गति दिइने भएको छ। प्रदेश गौरवको आयोजना शालिग्राम करिडोरको स्तरोन्नति र रणनीतिक महत्त्वको बुद्धसिंह मार्ग निर्माणका लागि रु १९ करोड ५० लाख बजेट छुट्याइएको छ। सडकको मर्मतसम्भार र दिगो व्यवस्थापनसहित बाह्रैमास यातायात सञ्चालनका गर्न आपत्कालीन मर्मत तथा पुनःनिर्माणका लागि रु २१ करोड ७५ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले जानकारी दिए । एसियाली विकास बैंकको सहयोग तथा स्थानीय पूर्वाधार विभागको समन्वयमा ग्रामीण पहुँच सुधार कार्यक्रम–अतिरिक्त लगानीमार्फत प्रादेशिक र स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ। नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई सङ्घ सरकारको समेत लगानीमा अगाडि बढाइने जनाइएको छ। बूढीगण्डकी करिडोर, मस्र्याङ्दी करिडोर, त्रिशूली करिडोर र शालिग्राम करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने भएको छ। पूर्वाधारतर्फ आगामी आवमा थप २० वटा झोलुङ्गे पुल निर्माणको लक्ष्य लिइएको छ। तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानाबाट मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि बजेटको प्रबन्ध गरिएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले यसै वर्षभित्र सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम अगाडि बढ्ने बताए। ‘बजेट छुट्टिएको छ, यसै वर्ष सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु हुन्छ’, उनले भने । घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङमार्ग निर्माण गर्ने सङ्घ सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो। केन्द्रमा सडक विभागले ‘सुरुङमार्ग विकास कार्यक्रम’मार्फत सुरुङमार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ। प्रदेश सरकारले आफ्नै लगानी र पहलमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको हो। कतिपयले सुरुङमार्गलाई प्रदेशको महत्वकाङ्क्षी लक्ष्यका रूपमा लिएका छन्। मन्त्री जुग्जालीले व्यवस्थित कार्ययोजनासहित पूर्वाधार विकासमा लगानी गरिने उल्लेख गरे। प्रादेशिक सडक सञ्जालको गुरुयोजनासमेत निर्माण गर्ने तयारीमा मन्त्रालय छ। गुरुयोजनाले यातायात क्षेत्रको योजना बनाउन, सडक मर्मतसम्भार तथा प्राथमिकीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ। रासस
हुम्ला: सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जीप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा जीप अगाडी बढ्न नसकेर ब्याक भएपछि नदीमा खसेको हो । प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सोमबार बिहान साढे सात बजे च्याछरामा बोलेरो जीप दुर्घटना हुँदा शान्तिपुर–२ धनुसा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङ घटना स्थलमै मृत्यु भएको बताए। कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप खसेको हो । नदीमा खस्दै गरेको जिपबाट चालकले हाम फालेको भए पनि जीपले लछारेर लगेपछि सख्त घाइते भएको अवस्थामा प्रहरीले भेटाएको भए पनि पछि मृत्यु भएको उनले बताए । चालकलाई प्रहरी उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने तयारी गरी रहेको अवस्थामा मृत्यु भएको हो । नदीमा खसेको जीपको पाङ्ग्रा मात्र नदी बाहिर देखिएको छ । उकालो भीरमा गाडी चढ्न नसक्ने भन्दा चालक तामाङले बाह्र जना यात्रुलाई झारेर आफुले गाडी चलाउनु भएको थियो । यसबाट मृतक चालकले ठुलो मानवीय क्षती हुनबाट भने जोगाएको उनले बताए ।
विराटनगर: कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा सहभागी पहिचान पक्षधर समूह र कोशी प्रदेश सरकारबिच वार्ता सुरु भएको छ । आइतबार प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारसँग वार्ता गर्नका लागि समिति बनाएपछि वार्ता भएको हो । लामो समयदेखि प्रदेशको नाममा असहमति जनाउँदै आएका पहिचान पक्षधर समूहलाई प्रदेश सरकारले वार्ताबाट सहमति खोज्न आग्रह गरेसँगै अहिले विराटनगरमा आन्दोलनरत पक्ष र सरकारबिच वार्ता सुरु भएको छ । पहिचान पक्षधरबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, लगायत उपस्थित हुनुहुन्छ भने प्रदेश सरकार पक्षबाट सिँचाइ खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधार मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारी सहभागी रहनु भएको छ । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान मृत्यु समेत भएको थियो ।
पोखरा: युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडीको भविष्य सुनिश्चित हुने तथा खेल क्षेत्रको दिगोविकासका लागि लागि परेको बताएका छन् । पोखरा रङ्गशालामा आजदेखि सुरु भएको तेस्रो प्रदेशस्तरीय तथा पहिलो कास्की जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि नीतिनिर्माण गर्नुका साथै आवश्यक कानुनहरु परिमार्जन गर्नकालागि लागि परेको बताएका हुन् । उनले यस कार्यका लागि सरकार एक्लैले मात्रै सम्भव नभएकोले खेलकुदमा निजी क्षेत्रको समेत लगानी सुनिश्चित गर्दै सबैको साथ र सहयोगले यस क्षेत्रलाई गर्भ गर्न लायकको बनाउने प्रतिवद्धता व्यक्त गरे । मन्त्री लिम्बुले पुरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन नसक्ने भन्दै प्रदेश र जिल्लाका विगतका खेलकुदका कार्यालय तथा संरचनालाई सङ्घीयताअनुसार परिर्वतन गर्नुपर्नेमा जोड दिए । उनले विगतमा जस्तो खेलाडीले वितृष्णा मान्नुपर्ने वाताबरण नहुने बताउदै अव ढुक्क भएर यसमै आफ्नो भविश्य देख्न खेलाडीहरुलाई आग्रह गरे । त्यसै गरि गण्डकी प्रदेशका सांसदहरु लिल थापामगर,दोर्ण कुवँर,जीत शेरचन,प्रकाश बराल लगायतले खेलाडीहरुले अन्तराष्ट्रिय सम्बन्ध बजबुत बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै खेलकुद र खेलाडीहरुका लागि आर्थिक,नैतिक,भौतिक तथा नीतिनिर्माणमा सहयोग गर्न जरुरी रहेको बताए । उनीहरुले खेलाडीहरुले आफ्नो खेलकौशलताको प्रयोग गरि नेपाललाई देशविदेशमा चिनाउन सक्षम रहेको बताउदै विगतामा हेरिएको खेलकुदप्रतिको दृष्टिकोणलाई परिवर्तन गरेर अव खेलकुदलाई देशको अर्थतन्ञसंग जोड्ने पहल गरिने बताए । देशलाई खेलकुद पर्यटनमा अगाडी बढाउन सके खेलाडी र देशको अर्थतन्त्रले फड्को मार्ने बताए । कार्यक्रममा नेपाल आईटिएफ तेन्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष घम बहादुर थापाले आईटिएफ तेक्वान्दो खेलबाट देशका विभिन्न दुरदराजमा खेलाडीहरु उत्पादन भई विभिन्न विभागिय टिमहरुमा समेत आवद्ध भएको जानकारी दिए । उनले यस विद्याका खेलाडीले आफ्नो खेलकौशलता प्रदर्शन गरि गण्डकी प्रदेशलाई मात्रै नभई अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट देशलाई विभिन्न पदकहरु दिलाउन महत्वपुर्ण भुमिका खेलेको भएतापनि सरकारबाट भने खेल र खेलाडी नजरमा नपरेको भन्दै गुनासो गरे । उनले खेलाडीहरुको बृढीविकास र हौसलाका लागि भौतिक विकास,खेलाडीहरुको सेवाका लागि पर्याप्त बजेट विनियोजनका लागि पहल गर्न गरिदिन प्रदेश सांसदहरुलाई अनुरोध गरे । भोली सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाका तीन सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीको सहभागिता छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्री अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर जानकारी दिए । खेलाडीबीच एकल काता स्पाइरिङ तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौलसम्म तथा महिलातर्फ ४० देखि ७० केजीसम्म प्रतिस्पर्धा गराइने भएको छ । यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्टदेखि ब्ल्याकबेल्ट तेस्रो डानसम्मका खेलाडी प्रतिस्पर्धामा उत्रिने छन् ।
पोखरा: गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् । कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका हुन् । यसअघि चालु आर्थिक २०७९/८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । यसआधारमा आगामी वर्षको बजेट झण्डै ४ अर्बभन्दा बढी घटेर आएको छ । पूर्ण पाठ:
पोखरा: गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा २ दिनसम्म चलेको फेस्टिभल सम्पन्न भएको हो । उक्त फेस्टिभलमा पोखराको सैनिक आवासीय महाविद्यालय प्रथम भएको छ । सैनिक आवासीय महाविद्यालयको प्रोजेक्ट प्रथम भएको हो । यस्तै, पोखराको सृजना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भए । सान्त्वना हुनेमा जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमुना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखरा छन् । उनीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री माननीय सुशीला सिंखडाले पुरस्कार वितरण गरिन् । प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयहरूले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर पाउने छन् । यसैबीच, सो—अवसरमा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ । विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो । स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत हुन् । फेस्टिभलमा विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै विद्यार्थीले बनाएका प्रोजेक्टको ५० स्टल राखिएका थिए । पोखरामा आयोजित फेस्टिभलले शैक्षिक गुणस्तरियतामा प्रभावकारी कदम चाल्ने विश्वास मन्त्री सिंखडाको छ । उनले गण्डकी प्रदेशका लागि नौलो कार्यक्रम भएकाले यसको निरन्तरताको आवश्यकतालाई औंल्याएकी छिन् । सरकारले नै यस्ता कार्यक्रमको आयोजना गर्नुपर्नेमा नीजि क्षेत्रबाट भएका कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्ने भनाई उनको छ । फेस्टिभलमा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले सरकारको नीति तथा कार्यक्रम समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले पोखरा महानगरपालिका पनि डिजिटल महानगरका रुपमा अगाडि बढेको जानकारी गराए । फेस्टिभलका संयोजक हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आंतक बस्नेतले विद्यालयमा विज्ञान विषयको पढाईमा फरकपन आउनुपर्ने उल्लेख गरे । उनले घोकन्ते विद्याले मात्र विद्यार्थीको शैक्षिक स्तरमा सुधार नहुने हुँदा प्रयोगात्मक रुपमा नै अगाडि बढ्नुपर्ने बताए । सरकारको सहयोग अहिले सिमित रहेता पनि कालान्तरमा फेस्टिभलको महत्व सरकारी निकायमा अझ बढ्दै जाने विश्वास उनको छ ।