पोखरा:  गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा  विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।   संघको वरिष्ठ उपाध्यक्षमा मा...

काठमाडौं:   ललितपुरको चापागाउँ दोबाटोस्थित ड्युटीमै रहेका ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङ घर भई हाल ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई रहेका छन् ।   चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए ।  त्यसपछि उनी फरार थिए ।    पक्राउ परेका राईलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

पाेखरा:  गण्डकी प्रदेश सरकारले ६६८ किलोमिटर सडक कालोपत्र गरेको छ।   प्रदेश स्थापनादेखि आर्थिक वर्ष २०७९/०८० को अवधिमा ८५ वटा सडक पुल बनाएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।    मन्त्रालयका पूर्वाधार विकास निर्देशक राम पराजुलीले प्रदेश सरकारले हालसम्म ६६८ किलोमिटर सडक कालोपत्र, ५९९ किलोमिटर सडक ग्राभेल, ८५ वटा सडक पुल र ६३ वटा झोलुंगे पुल निर्माण भएको जानकारी दिए।    उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कालोपत्र, ग्राभेल र कच्ची गरी कुल ३६० किमी सडक निर्माण भएको थियो। त्यसमध्ये १६५ किमी कालोपत्र, ११६ किमी सडक ग्राभेल र ७९ किमी कच्ची सडक निर्माण गरेको थियो।    आर्थिक वर्ष २०७७/७८ मा कुल ४५१ किमी सडक बन्दा २११ किमी कालोपत्र, १५२ किमी ग्राभेल र ८८ किमी कच्ची सडक बनेको थियो। आव २०७६/७७ मा ६५ किमी कालोपत्र, १३८ किमी ग्राभेल र ७१ किमी कच्ची गरी कुल २७४ किमी सडक निर्माण तथ्यांक रहेको छ।    गत वर्ष समग्रमा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका लागि नयाँ आर्थिक वर्षका लागि ११ अर्ब १६ करोड बजेट विनियोजन भएको छ । यो खबर अन्नपूर्ण पोष्टमा सन्तोष गौतमले लेखेका छन् ।  

पोखरा:   लोकतान्त्रिक तमु संघ मादी गाँउपालिकाको अध्यक्षमा मनोज गुरुङ चयन भएका छन् ।   लोकतान्त्रिक तमु संघ कास्की जिल्ला कमिटिले संगठन विस्तार अभियान अन्तरगत शुक्रबार भएको प्रथम अधिवेशनबाट १७ सदस्यीय समिति गठन गरेको हो ।   सो समितिको उपाध्यक्षहरुमा नरबहादुर गुरुङ र कमला गुरुङ, सचिवमा टिकाराम गुरुङ, उपसचिवमा यज्ञप्रसाद गुरुङ र स्नेह गुरुङ, कोषाधयक्षमा शोभा गुरुङ छानिए ।   यस्तै सदस्यहरुमा राजबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, ज्ञानमाया गुरुङ, पुजन गुरुङ, बुद्ध गुरुङ, धनमाया गुरुङ, कुमानसिंह गुरुङ र रनबहादुर गुरुङ रहेका छन् ।   नवनिर्वाचित पदाधिकारीहरुलाई लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव एवम लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।    नवनिर्वाचित अध्यक्ष मनोज गुरुङले लोकतान्त्रिक तमु संघलाई सशक्त, जुझारु संगठनको रुपमा विकास गर्नका लागि आफु र आफ्नो कमिटि जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।    नवनिर्वाचित वडाध्यक्ष मादी गाउँपालिका ९ का वडाध्यक्ष हुन् ।

लमजुङ:  साउनको पहिलो हप्ता बित्नै लाग्दा सम्म लमजुङ जिल्ला भित्र करिब ६५ प्रतिशत मात्र रोपाइँ भएको छ ।   कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो।    रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रँदा रोपाई ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरू पानी पर्ने र खेत रोप्न पाउने आशामा बसेका छन् ।   जिल्लाको राईनास, मध्यनेपाल, बेसीसहर, क्व्होंलासोथार र दोर्दीका केही ठाउँहरूमा धान रोपाई अझै बाँकी रहेको उनले बताए।   रेग्मी भन्छन्, 'वर्तमान समयमा पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको कारण पनि किसानहरू मारमा परेको र रोपाई ढिला भएको हो र यतिखेर पानी नपरेका कारण रोपेको धानखेत समेत सुक्ने अवस्थामा पुगेको छ ।' कृषि ज्ञान केन्द्रका अनुसार विविध कारणले गत वर्ष भन्दा केही कम मात्रामा जिल्लामा धान खेती हुने प्रक्षेपण गरिएको उनले बताए।   कुलो र नहर नलाग्ने साथै पानी नपर्दा मूल पलाउन नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता छ ।   असारको पहिलो दोस्रो हप्ता पानी परेर रोप्न सकिने भए पनि समयमा पानी नपरे पछि समय मै बीउ राख्न नपाएकोले पनि समयमै धान रोप्न नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने प्रक्षेपण गरिएको छ ।   विशेष गरी लमजुङको धमीलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटार लगायतका क्षेत्र धानका प्रमुख पकेट क्षेत्र मानिन्छ। जिल्लाका केहि सिमसार क्षेत्रहरूमा चेतै धान खेतीसमेत हुने गरेको पाइन्छ।

दमौली:   नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा फर्किएका छन् ।   एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवंम् गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।   शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रम गरि जिल्ला अध्यक्ष कार्की सहित चार जनालाई एमालेमा फर्काएको हो ।   जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।

पोखरा:  पोखरा ७ बुलौदीमा शनिबार बिहान दुर्घटना भएको छ ।   ग​ १९ प ६०६८ नम्बरको बुलेट बाईकमा बिजुलीको पोलमा ठोकिदा बाईकमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।   बिहान ५ः४५ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक र पछाडी बस्ने दुबै जना  घाइते भएका हुन् ।   उनीहरुको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भईरहेको छ । दुवै जना अचेत अवस्थामा छन् ।

इटहरी:   सुनसरीको धरानमा गोली प्रहारबाट एक जना युवकको हत्या भएको छ।   शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए।   गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको एसपी ढकालले बताए।   चौधरी मोटरसाइकलमा धनकुटाबाट विराटनगरतर्फ जाँदै थिए। उनको पछाडि एक युवती पनि थिइन्।   ढकालका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गो?ली प्रहार गरेका थिए।   गोली प्रहार गरेर उनीहरु फरार भएका छन्। तर प्रहरीले उनीहरुको हुलिया पत्ता लगाइसकेको जनाएको छ।   युवतीले दिएको जानकारीका आधारमा प्रहरीले ती व्यक्तिहरूको हुलिया पत्ता लगाएको हो।   धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको हो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ।   घटनाको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए।

पोखरा:   जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले राज्यले जिल्ला समन्वय समितिलाई अपहेलित गरेको बताएका छन् ।  समन्वय प्रमुख पौडेलले गत आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।  ‘अहिले देशभर नै राज्य, संघ र प्रदेश सरकारले अपहेलित गरेको संस्थामा जिल्ला समन्वय समिति पर्छ’, समन्वय प्रमुख पौडेलले भने, ‘अहिले अधिकांस क्षेत्र संघ र स्थानीय तहलाई दिएको छ, हामीलाई संघले २३ र प्रदेश सरकारले १० लाख मात्र दिएको छ ।’ उनले अहिले कृषि ज्ञान केन्द्रलाई पैसा बाड्ने कार्यालयकोरुपमा स्थापित गराएको समेत बताएका छन् ।  ‘यहाँहरुलाई थाहा छ, २०७२ को संविधानले दुई जिल्ला हेर्ने गरी कृषि ज्ञान बनाएको थियो, विज्ञ कर्मचारी राख्ने सरकारको प्रावधान थियो’, उनले भने, ‘कृषि ज्ञान केन्द्रलाई रुपान्तरण गरेर जिल्ला जिल्लामा आयो, जिल्ला जिल्लामा आउँदा पैसा बाँड्ने कार्यालयको रुपमा आएको छ ।’ समन्वय प्रमुख पौडेलले कृषि निर्देशनालयमा पनि कृषि निर्देशक बस्ने भनिए पनि अहिले यसलाई पनि पैसा बाँड्ने कार्यालय बनाइएको उनको आरोप छ । उनले कास्कीमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु अवैधानिक भएको बताए ।  ‘ढुङ्गा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ बमोजिम गठित जिल्ला अनुगमन समितिले कास्कीको केही क्रसर उद्योगको अनुगमन गरेको थियौ’, उनले भने, ‘कास्कीमा सञ्चालन भएका क्रसर व्यवसायी मापदण्डमा छैनन् सबै अवैधानिक हुन् ।’ कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता मालले योजना अनुगमनमा जाँदा समन्वयमा प्राविधिक नहुँदा काम कारवाहीमा समस्या भएको बताईन् ।  ‘स्थानीय र प्रदेश सरकारलाई करारमा प्राविधिक कर्मचारी राख्ने सक्ने व्यवस्था छ तर जिल्ला समन्वयलाई त्यो अधिकारी छैन’, उनले भनिन्, ‘जिल्ला समन्वयमा प्राविधिक अभावका कारण योजनाको अनुगमनमा जाँदा काम कारवाहीमा असहज भएको छ ।’

नवलपुर:     नवलपुरमा डेंगुको सङ्क्रमण उच्च जोखिममा रहेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा ३६६ जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम बढेको जनाएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आगामी दुई महिना थप सङ्क्रमण बढ्ने प्रक्षेपण गरेको छ । डेंगुको जोखिमपूर्ण जिल्लाहरूमध्ये गण्डकी प्रदेशको नवलपुर पनि एक हो । यहाँ अहिले नै डेंगु सङ्क्रमण बढिसकेको नभए पनि जोखिम भने बढ्दो छ । भर्खरै मनसुन सक्रिय भएकाले लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय बल्ल सुरु भएको मध्य विन्दु जिल्ला अस्पताल नवलपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले बताउनुभयो ।  डा कँडेलले भन्नुभयो, ‘‘निरन्तरको वर्षा र पानीले सङ्क्रमण बढ्ने जोखिम छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज ए जिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ ।’’ जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख डा। केशवप्रसाद चापागाईँका अनुसार नवलपुरमा सबैभन्दा बढी असोज र कात्तिक महिनामा डेंगुका बिरामी देखिएका छन् । आर्थिक वर्ष २०७९/०८० को वैशाखदेखि फागुनमा एक सय ५६ जना महिला र २ सय १० पुरुष गरी ३ सय ६६ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । जसमध्ये असोजमा एक सय ५ जना र कात्तिकमा एक सय ११ जना रहेका कार्यालय  प्रमुख डा। चापागाईँले जानकारी दिनुभयो । गत आवमा नवलपुरमा डेंगुबाट १ जनाको मृत्यु भएको छ भने एक जना अहिले अस्पतालमा उपचाररत छन् । मेसु डा। कँडेलका अनुसार बर्खा लागेकाले देशभर डेंगुको सङ्क्रमण बल्ल सुरु भएकाले सतर्क हुन जरुरी छ । ‘मनसुन सकिने बेलासम्म सङ्क्रमण बढ्दै जान्छ, डा। कँडेलले भन्नुभयो, यो समयमा लामखुट्टेको लार्भा नियन्त्रण गर्न नसक्ने हो भने नियन्त्रण गर्न नसक्ने गरी यसले महामारीको रूप लिन सक्छ, त्यसैले आम नागरिक आफै सतर्क भएर सरसफाइमा ध्यान दिन जरुरी छ ।’  डेंगुको जोखिम कम गर्नका लागि प्रयास गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयका प्रमुख डा कँडेलले भन्नुभयो, ‘जनचेतना जगाउने, लामखुट्टेका वासस्थान खोजेर नष्ट गर्ने काम भइरहेको छ, स्थिति थप भयावह बन्दै गएमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर औषधि छर्किने काम गर्छौ ।’