पोखरा:  गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा  विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।   संघको वरिष्ठ उपाध्यक्षमा मा...

विराटनगर:     कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय आज साँझ ५ बजे सकिँदैछ । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्ति गर्न केन्द्रीय गठबन्धनमा रहेका दलले अपरान्ह मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी थालेका हुन् ।  भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन दलको बैठकले मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न प्रदेशका नेतालाई निर्देशन दिएको छ ।  नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजै मुख्यमन्त्रीको दाबी लिएर प्रदेश प्रमुखसमक्ष पेश हुने बताउनुभयो । कोशी प्रदेशसभाको गणित नयाँ सरकार गठन गर्न त्यति सहज भने छैन ।  सरकार गठनको तयारी गरिरहेको विपक्षी गठबन्धनसँग ४७ सांसद हुनुहुन्छ । तर, उक्त सङ्ख्या प्रदेशसभाका सभामुखसहितको सङ्ख्या हो । दलबाट अलग भइसक्नुभएका सभामुखको सङ्ख्या देखाएर नयाँ सरकार गठन गर्न नमिल्ने तर्क सत्तारुढ दल नेकपा (एमाले) ले दाबी गर्दैआएको छ ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैगर्दा गणितका कारण अर्को सरकार गठन भइहाल्ने अवस्था नरहेको जिकिर गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘प्रदेशमा तत्कालै अर्को सरकार बन्ने अवस्था छैन ।’ आज बालुवाटारमा भएको गठबन्धन दलको बैठकमा पनि यस विषयमा छलफल भएको छ । कांग्रेसले संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्न र विश्वासको मतका लागि संयुक्त पहल गर्नुपर्ने प्रस्ताव गरेको छ । मुख्यमन्त्रीमा दाबी गर्दै आउनुभएका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पनि उक्त बैठकमा  बोलाएर नेताहरुले सहयोग गर्न आग्रह गर्नुभएको छ ।  ‘नेताहरुले सरकार गठनका लागि सहयोग गर्नुस् भन्नुभयो’ आङ्बोले भन्नुभयो, ‘गठबन्धनको निर्णयअनुसार अघि बढ्नु मेरो कर्तव्य हो, त्यसमा कुनै शङ्का गर्नुपर्दैन ।’ आज (बिहीबार) अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्ने तयारी छ ।  प्रदेश प्रमुखका प्रेस  सल्लाहकार देवेन्द्र खापुङले आज नै अन्तिम दिन भएकाले समय नलिए पनि अन्तिम समयभित्र दाबी आउन सक्ने बताउनुभयो । माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्त भएपछि सम्भवतः शुक्रबार मन्त्रिपरिषद् गठनका विषयमा दलबीच छलफल हुने जानकारी दिनुभयो ।  अहिलेसम्म कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सरकार गठन गर्न सहयोग गर्न तयार भइसकेका छन् । तर जनता समाजवादी तत्कालै सरकारमा सहभागी हुने सम्भावना भने देखिएको छैन ।  जसपा संसदीय दलका नेता निर्मला तावा लिम्बूले सरकारलाई समर्थन गर्ने तर मन्त्रिपरिषदमा सहभागी हुनका लागि भने प्रदेश नामकरणको विषयमा पार्टीले अगाडि सारेको सर्तका विषयमा छलफल हुनुपर्ने बताउनुभयो । जसपाले प्रदेश पुनः नामकरणका लागि गठबन्धन दलभित्र सहमति बन्नुपर्ने सर्त अगाडि सारेको छ ।  कोशी प्रदेशसभाका ९३ सदस्यमध्ये ठूलो दल एमालेका ४० सांसद छन् । सुरुदेखि नै एमाले नेतृत्वको सरकारलाई समर्थन गर्दैआएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अहिलेसम्म नयाँ सरकार गठनका लागि तयार भइसकेको छैन ।  सत्ता गठबन्धन दल कांग्रेससँग २९, माओवादी केन्द्रको १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीका १ सांसद हुनुहुन्छ । 

 राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च लिन्न भनेर पनि अहिले लिन खोजेपछि अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल, गण्डकी प्रदेश सांकेतिक विरोधमा उत्रिएको छ ।      अनेरास्ववियू र युवा संघले संयुक्तरुपमा आज पोखराको नदीपुरस्थित प्रदेशको सभा भवन अगाडी राष्ट्रपतिलाई सहयोग गर्न भन्दै १ रुपैयाँका दरले चन्दा उठाउँदै छन् ।      उनीहरुले राष्ट्रपतिले सुरुमा उपचार खर्च नलिने बताएपनि हाल पराराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासा गर्न ताकेता गरेपछि पौडेललाई थप सहयोग जुटाइदिन चन्दा उठाउन सुरु गरेको बताए ।    ‘राष्ट्रपतिज्यूले आफ्नो अडान र बोली फेर्नुभयो’ अनेरास्ववियु गण्डकीका सहसंयोजक सुशन घिमिरेले भने ‘उहाँलाई सहयोग गर्न १ रुपैयाँ उठाएर हामीले व्यंग्यात्मक विरोध गरेका हौं ।’ घिमिरेले देशभित्रै उपचार गर्न लायकको अस्पताल निर्माणमा ध्यान दिन आग्रह गर्दै उपचारकै नाममा राष्ट्रिय ढुकुटीमा आँखा गाड्ने प्रवृत्ति गलत भएको जनाए ।      विरोधस्वरुप गरिएको कार्यक्रम प्रदेशका सबै जिल्लामा एकसाथ सुरु गरेको उनले बताए । ‘संकलित रकम मुख्यमन्त्रीमार्फत राष्ट्रपतिलाई दिइनेछ’ घिमिरेले भने ।    राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा पेटको उपचार गर्दा ५५ लाख २ हजार २७९ रुपैयाँ खर्च भएको भन्दै भर्पाई गरिदिन अर्थमा पत्राचार गरेका छन् ।    पौडेल बैशाख ६ गते उपचारका लागि दिल्ली गएर बैशाख १७ मा फर्किएका थिए । 

पोखरा:    नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग सुरु हुन पाँच दिन बाँकी हुदा प्रदेश खेलकुद परिषद् गण्डकीले महिला/पुरुष टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।  नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने सातौ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबलमा सहभागी हुन् गण्डकी प्रदेशले १८ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य आर्थिक सहयोगमा असार २३ देखि ३० गते त्रिपुरेश्वरस्थित कभर्ड हलमा सञ्चालनमा हुने एनभिए लिगमा गत वर्ष क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  गण्डकी प्रदेश खेलकुद परिषद्ले असार १४ देखि १६ सम्म आयोजना गरेको प्रदेशस्तरीय महिला भलिबलमा खेलाडीको प्रर्दशनलाई हेरेर ८ जिल्लाका १८ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेको हो ।  महिला टोलीको बन्द प्रशिक्षणमा म्याग्दीका ७,पर्वतका ३, नवलपुर र बागलुङ २/२, कास्की, गोरखा, लमजुङ र स्याङ्जाका १/१ जना खेलाडी बन्द प्रशिक्षणमा परेका हुन् । बन्द प्रशिक्षणमा अरुणा शाही (राष्ट्रिय महिला टोली कप्तान), सस्मिता पुन, रेविना घर्ति, एलिसा रोका, पवित्रा शिर्पाली, सजिना बुढाथोकी, मनिषा तिलिजा, पुजासेन ठकुरी, लक्ष्मी राना, रोश्मिना गुरुङ, हिमाली रोका, हिरा बुढा, रोमा महतो, पृथ्वी मगर,कविता गर्बुजा, सोइन थापा र विमला गुरुङ बन्द प्रशिक्षणमा परेका हुन् ।  गण्डकी प्रदेश महिला भलिबलका प्रशिक्षक मलिन रोकाले केही दिनको बन्द प्रशिक्षणबाट अन्तिम १२ जना छनोट हुने जानकारी दिए ।  यस्तै गण्डकी प्रदेश पुरुष भलिबलका प्रशिक्षक रमेश केसीले गत वर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई अरु बन्द प्रशिक्षणमा बोलाएको जानकारी दिए ।  ‘गण्डकी प्रदेश पुरुष टोलीमा कुनै हेरफेर गरिएको छैन्, गतवर्ष क्लब च्याम्पियनसिप खेलेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ’, प्रशिक्षक केसीले भने, ‘वर्षा याम भएकाले खेलाडीहरु आज वा भोलि बिहानसम्म पोखरा आइपुग्ने जानकारी दिएका छन् अनि बन्द प्रशिक्षण सुरु गछौं ।’ घरेलु दर्शकले गण्डकी प्रदेशमा खोजेका खेलाडीहरु अन्य क्लबका अनुबन्धित भएकाले समेत्न नसकिएको र सम्भव भएसम्म तीन जना बिदेशी खेलाडी टिममा राख्ने प्रशिक्षक केसीले बताए ।  लिगबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब काठमाडौं, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागदश स्पोर्टस क्लब रामेछापले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।  महिला तर्फ नेपाल प्रहरी, होडवाजी न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोलीको सहभागिता रहनेछ ।  

पोखरा:     प्रदेश खेलकुद परिषद् गण्डकीले ११ वटै जिल्लाका खेलकुुद विकास समितिलाई अतिथिको सम्मानमा खादा, दोसल्ला प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको छ ।  पोखरामा असार १६ गते बसेको परिषद्को बैठकले खेलकुदको कार्यकक्रममा खादा तथा दोसल्लाको प्रयोग निरुत्साहन गर्न ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरेको हो ।  गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री एवम् प्रदेश खेलकुद परिषद्का अध्यक्ष सुशिला सिंखण्डाको अध्यक्षतामा बसेको बैठकले परिषद् र जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा हुने प्रतियोगिताको प्रमुख अतिथि, अतिथि र पाहुनाहरुलाई स्वागत सम्मानमा खादा तथा दोसल्लाको प्रयोगलाई निरुत्साहन गर्न पत्राचार गरेको हो ।  प्रदेश खेलकुद परिषद् गण्डकीले खेल संघसंस्थाहरुलाई निर्णय कार्यान्वयन गर्न समेत आग्रह गरेको छ ।     

मुस्ताङ:  मुस्ताङको लोमन्थाङ गाउँपालिकाले बिहे मनाउन सार्वजनिक बिदा दिएको छ ।   मुस्ताङ्गी राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाहको अवसरमा असार १८ गते भोलि (सोमबार) सार्वजनिक बिदा दिएको हो ।   मुस्ताङी राजाको जेठो छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ गाउँपालिका अध्यक्ष  टसि न्हर्वु गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।  

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ बागलुङ तेस्रो भएको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।  जिल्ला भबिलल संघ बागलुङले पहिलो सेट १९–२५ ले गुमाएको थियो । पहिलो सेट गुमाएको बागलुङले उत्कृृष्ट पूनरागमनसहित २५–१२, २५–२३ र २५–१५ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो ।  तेस्रो भएको बागलुङले नगद  ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  यस्तै उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वतबीच खेल भइरहेको छ ।  जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ र पर्वत र स्याङ्जालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ म्याग्दी र पर्वत भिड्ने भएका छन् ।  उपाधि दावेदार मानिएका म्याग्दीले बागलुङ र पर्वतले स्याङ्जालाई सेमिफाइनलमा पराजित गर्दै उपाधिका लागि भिड्ने भएका हुन् ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको दोस्रो सेमिफाइनल खेलमा पर्वतले स्याङ्जालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो ।  पर्वतले २५-१९, २५-१६ र २५-१६ले स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  यस्तै जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।   म्याग्दीले पहिलो सेट २७-२५, दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो । फाइनल केही समय पछि सुरु हुने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ ।  सेमिफाइनलमा पराजित जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:   जिल्ला भलिबल संघ म्याग्दी पोखरामा जारी गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  प्रतिस्पर्धात्मक भएको पहिलो सेटमा म्याग्दीले सुरुवाती अग्रता लिएपनि बागलुङले २०-२० बराबरी गर्दै खेलमा फर्कने प्रयास गरेपनि म्याग्दीले २७-२५ ले पहिलो सेट जितेको थियो । म्याग्दीले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो ।  अब उपाधिका लागि म्याग्दीले दोस्रो सेमिफाइनलको विजेता जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीचको विजेता टोलि संघ प्रतिस्पर्धा गर्ने छ ।  पराजित टोलीले बागलुङसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । अहिले दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल आज नै हुने प्रदेश खेलकुद विकास समितिले जनाएको छ ।  प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो ।