पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिस अनुसार फोनिज गण्डकीको मंगलबारको बैठकले तमु र थकालीको नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । उनका अनुसार पुरस्कार राशी जनही २५ हजारसहित सम्मानपत्र र दोसल्ला रहेको छ । वरिष्ठ अधिवक्ता तथा फोनिज गण्डकीका प्रमुख सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले नाम सिफारिस गरेको थियो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए । पुरस्कृत हुने तमु पोखराबाट प्रकाशित हुने कास्की आवाज दैनिकका प्रधानसम्पादक हुन् । थकाली अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र समाधान दैनिकका लागि मुस्ताङका संवाददाता हुन् । उनीहरुलाई साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ । पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङलाई यो पुरस्कार अर्पण गरिसकेको छ ।
विराटनगर: कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । आज बेलुकासम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउनुहुनेछ । तर,बहुमत जुटाउन भने दलहरुलाई कठिन भइरहेको छ । राप्रपालाई फकाएर सरकार बनाउने प्रयास विफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने रणनीतिमा छ । तर, सभामुख गौतम भने मुख्यमन्त्रीको टुङ्गो नलागेसम्म तत्काल राजीनामा नगर्ने अडानमा हुनुहुन्छ । आज बेलुकासम्ममा बहुमतको सरकार गठन हुन नसके प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्नु हुनेछ । गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो । सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख परशुराम खापुङले आजसम्म नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक सांसद छन् । सभामुखबाहेक सत्ता गठबन्धनसँग ४६ सांसद छन् जुन बहुमतभन्दा एक मत कम हो ।
पोखरा: गण्डकी प्रदेशमा ‘नेपालमा महिला सम्भावना र चुनौति’ विषयक प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ । नेपाल सारथि फाउन्डेसन र इक्नोमिक्स हब नेपालको संयुक्त आयोजनामा आइतबार पोखरा सभागृह हलमा सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जित प्रकाश आलेले महिला स्वयम् सशक्तिकरण हुन आवश्यक रहेको बताए । उनले राज्यको हरेक तहमा पुरुष भन्दा महिलाको उपस्थिति ज्यादा रहेको र सबै काम राज्यले मात्र गर्नुभन्ने भन्ने भावनाबाट बाहिर निस्किन आग्रह गरे । उनले समाजको सन्तुलित विकासका लागि राज्यमात्र नभई हरेक क्षेत्र लाग्नुपर्नेमा जोड दिए । उनले महिलाको वर्तमान अवस्थासँग जुध्न सक्यो भनेमा उदेश्य प्राप्ती हुने बताए । यस्तै पोखराका मेयर धनराज आचार्यले पोखरामा सान्दर्भिक र महत्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले महिलाको सवालमा महानगर सद्यैँ काम गर्न तत्पर रहेको सुनाउँदै अन्धविश्वासबाट टाढा भएमा परिवर्तन हुन सक्ने बताए । सारथि फाउन्डेसनका सिइओ आयुष अधिकारीले प्रादेशिक सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए । नेपालमा महिलाको कस्तो अवस्था छ भन्ने बारे बुझ्न कार्यक्रमको आयोजना गरेको उनले सुनाए । उनले नेपालमा महिलाको शिक्षा, स्वास्थ्यको अवस्था बारे बुझ्नका लागि कार्यक्रमको आयोजना गरेको बताए । शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले आफुहरुले लामो समयदेखी महिलाको आवाज वुलन्द पार्दै आएको सुनाइन् । दुरदराजका महिलाहरु अझैपनि लुटिने स्थिति रहेको र राज्यले त्यसतर्फ ध्यान नदिएको उनले बताइन् । राज्यले दिएको ३३ प्रतिशतको कार्यान्वयन नभएको उनले गुनासो पोखिन् । राज्यको संयन्त्रमा र सहभागितामा हेर्दा न्याय पुर्ण सहभागिता हुन नसकेको उनको भनाई छ । कार्यक्रममा लक्ष्मी दाहाल, डा विनोद विन्दु शर्मा, मोतिलाल तिमिल्सिना, डा अञ्जली सुवेदी, डा सरस्वती, विना सिवाल, कोपिला नेपाल डाइरेक्टर शोभा भण्डारि लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा शुभारम्भ नेपाल, योंग इकोनोमिस्ट सोसाइटी नेपाल र आशीर्वाद क्लब अफ नेपालले सहआयोजकमा साथ दिएको सम्मेलनका निर्देशक अंकित सुवेदीले जानकारी दिए । सम्मेलनमा अवसर, स्वास्थ्य र कानुनका विषयमा अन्तरक्रिया भएको थियो । महिलाका लागि अवसर सिर्जना गर्नु, उनीहरुको स्वास्थ्यमा ध्यान दिन र महिलालाई कानुनका विषयमा ज्ञान दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको निर्देशक सुवेदीले बताए । काठमाडौंमा भदौ २९ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।
पोखरा: गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले मुलुकको विकासका लागि तीनै वटै तहको सरकार एउटै बाटोमा हिड्नु पर्ने बताएका छन् । भिमाद नगरपालिकाको नीति, बजेट कार्यक्रमको सार्वजनिक गर्दै आज (सोमबार) मन्त्री आलेमगरले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले मुलुकको दिगो विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक आपासमा समन्वय गरी अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले तीन वटै तहको सरकार तीन तिर फर्केको प्रति गुनासो गरे । ‘मुलुकको दिगो विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकार समन्वय गरेर संगै हिड्नु जुरूरी छ, उनले भने, त्यसका लागि आर्थिक मामिला मन्त्री हैसियतले समन्वय गर्ने प्रयास गरिरहेको छु ।’ उनले एक आपसको सहकार्यले मात्र देशको दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउदै एउटै लयमा हिड्नेपर्ने बताए । ‘तीन वटै सरकार तीन तिर हिडेर मुलुकको हित कहिल्यै हुदैन । अब तीन तहकै सरकार एउटै बाटोमा हिड्नु विकल्प छैन,’ उनले भने । जनप्रतिनिधिहरू आर्थिक शुसानमा बस्नुपर्ने मन्त्री आले मगरले बताएका थिए । मन्त्री आलेमगरले घिरिङ १ पुट्टार उत्तर बाहिनी क्षेत्रमा संचालित पुरूषोत्तम महायज्ञको समापनसमेत गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका ३२ स्थित बडहरे तालखोलामा अस्थायी पुल निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली नेतृत्वको टोलीले आज (आइतबार) जोखिमयुक्त पुलको स्थलगत अवलोकन गरेर तत्कालै अस्थायी पुल बनाउने निर्णय गरेको हो । स्थलगत अवलोकन पश्चात बोल्दै मन्त्री जुग्जालीले सो खोलामा अबको दश दिनभित्र सम्पन्न हुने गरी अस्थायी फलामको पुल बनाउने बताए । त्यसका लागि पूर्वाधार विकास कार्यालय कास्कीलाई मन्त्री जुग्जालीको निर्देशन छ । यस्तै पोखरा–३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले वडा, महानगर र मन्त्रालयले समन्वय गरेर तत्काल अस्थायी पुल बनाउनले सहमति भएको बताए । ‘पक्की पुल बनाउन तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन बजेट अभावमा कार्यान्वयन भएको छैन’ उनले भने ‘दिर्घकालिन समस्या समाधानका लागिमोटरेबल पुल बनाउन मन्त्रालयको टोलीसँग छलफल गरेका छौ ।’ वडा अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरेपनि समन्वयको कमीले कार्यान्वयन भएको थिएन । तालखोलामा आवत जावत गर्न बनाइएको पक्कीकल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका २०० घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षयता जोखिम मोलेर आवतजावत गर्दै आएका थिए । सो स्थलगत अवलोकनका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीसँगै मन्त्रालयको योजना अनुगमन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, पुर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, पोखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, मन्त्रीका निजी सचिव ई. आनन्द भट्टराई लगायतको टोली तालखोलामा पुगेको थियो ।
पोखराः पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस कास्कीका केही नेता, कार्यकर्ताले अन्तर्घात गरेको प्रमाणसहित पेश गरिएको उजुरी पार्टीको केन्द्रीय अनुशासन समितिमा पुगेको छ । समितिले यस उपर छानबीन गरी अन्तर्घातीलाई कारवाही गर्ने आशमा कास्की कांग्रेस रहेको छ । तर अनुशासन समितिको संयोजक चुनिएपनि बाँकी सदस्य मनोनयन गर्न बाँकी छ । स्रोतका अ्नुसार कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले निवर्तमान सभापति कृष्ण केसीविरुद्ध समितिमा निवेदन दिएका छन् । बरालले निर्वाचनमा अन्तर्घात र असहयोग गरेको भन्दै प्रमाणसहित निवेदन दिएका हुन् । कांग्रेसमा अन्तर्घात भएको प्रमाणसहित स्वयं उम्मेदवारले निवेदन दिन सकिने प्रावधान छ । त्यस्तै, जिल्ला समन्वय शाखामार्फत पनि उजुरी अघि बढाउन मिल्नेछ । कास्की सभापति बरालले आफुले पनि सोझै कारवाही गरिपाउँ भनि निवेदन दिएको प्रष्ट्याए । ‘निर्वाचनका दौरान खटिएका कार्यकर्ताले प्रत्यक्ष देखे, भोगेको कुरा हो’ बराल भन्छन् ‘पछि सम्पूर्ण प्रमाण जुटाएर केन्द्रीय अनुशासन समितिसमक्ष पु¥याएका छौं ।’ बरालले आफुलाई चुनावमा कृष्ण केसीले असहयोग र अन्तर्घात गरेको प्रमाणसहित निवेदन दिएको बताए । बराल प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा नेकपा एमालेका मनबहादुर गुरुङसँग २ हजार ५१९ मतले पराजित भएका हुन् । उनी पराजित भएपछि कांग्रेस कार्यकर्ताले निवर्तमान सभापति केसीको घरमा तोडफोडको प्रयाससमेत गरेका थिए । वर्तमान सभापति बराल भन्छन् ‘म हार्नुको कारण सबैलाई थाहा छ, अडियो–भिडियो प्रमाणसहित कारवाहीकालागि समितिमा निवेदन दिएको छु ।’ यता, निवर्तमान सभापति केसी भने आफुमाथि झुठो आरोप लगाइएको बताउँछन् । केही अघि सम्वाददातासँग भएको कुराकानीमा निर्वाचनमा पराजित भएपछि त्यसको जस, अपजस स्वयं उम्मेदवारले लिनुपर्ने बताउँदै हारेपछि प्रोपोगण्डा गर्नु गलत भएको प्रतिक्रिया दिएका थिए । सोहीबेला उनले भनेका थिए ‘मैले अन्तर्घात गरेको, चाल चलेको प्रमाणित होस्, जस्तोसुकै कार्वाही भोग्न म तयार छु ।’ त्यस्तै, कास्कीबाट प्रदेशसभा सदस्यमा निर्वाचित बिन्दुकुमार थापाले पनि आफुमाथि अन्तर्घात र असहयोग गरिएको भन्दै समितिमा निवेदन दिएको सभापति बरालले बताए । ‘उहाँले जित्नुभयो तर हराउने प्रयास डरलाग्दो थियो’ बराल भन्छन् ‘प्राप्त मतको लेखाजोखा गर्दा उहाँमाथि पनि ठूलै अन्तर्घात भएको हो ।’ थापालाई असहयोग गर्नेमा पार्टीबाट सँगै प्रदेशसभामा विजयी भएका कुमार खड्काको नाम मुछिएको छ । थापाले कास्की–२ (२) मा नेकपा एमालेकी उम्मेदवार मिना गुरुङलाई १ हजार ३१० मतान्तरले हराएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पनि अन्तर्घातीलाई तत्काल कारवाही गर्ने आवाज उठेको बरालले बताए । केन्द्रीय बैठकमा ७७ जिल्लाका सभापतिलाई पनि बोलाइएको बताउँदै उनले अधिकांश सभापतिले निर्वाचनताका अन्तर्घात भएको धारणा राखेको बरालले सुनाए । कारवाही होला त ? भन्ने प्रश्नमा बराल भन्छन् ‘म स्वयं पीडित हो, मैले न्याय पाउनुपर्छ, यस्ता तत्व पार्टीभित्र रहिरहे कांग्रेसको भविष्य बन्दैन ।’ यस विषयमा धेरै कार्यकर्ताले आफुलाई बाराम्बार प्रश्न गरिहेको र कारवाहीको माग गरिरहेकाले पनि अनुशासन समिति सक्रिय हुनुपर्ने उनको धारणा छ ।
पोखरा: पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले शनिबार तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे । सो अवसरमा बोल्दै सुनारले समय सापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई आभार प्रकट गरे । उनले पछिल्लो समय हुने अवैधानिक सुनचाँदी कारोबारबाट बच्नका लागि व्यवसायी आफै पनि सचेत हुनुपर्ने उल्लेख गरे । सुनारले व्यवसायीको हकहितका लागि विशेष मापडण्डसहितको नीति निर्देशिका तर्जुमा गर्ने पक्षमा महासंघ रहेको बताए । नेपाल सरकारले अहिले सुन आपुर्ती कम गर्दै आएको बताउदै उनले सो विषमा सरकारलाई ध्यानाकर्षण गर्नका लागि महासंघले पहल गरिरहेकोसमेत बताएका थिए । कार्यक्रममा अधिवक्ता विनिता नेपालीले व्यवसायीलाई पर्ने समस्याको बारेमा सहजीकरण गर्दै कानुनी सहायताका विषयको बारेमा प्रशिक्षण दिएकी थिइन् । यस्तै सिए अमृत गदलले व्यवसाय मर्यादित र व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्नका लागि मद्दत पुग्ने तरिकाले लेखा सम्बन्धि तालिम दिएका थिए । सो तालिमपश्चात निकै उपयोगी कार्यक्रम रहेको सहभागि व्यवसायीहरुले बताएका थिए । सोही क्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको तर्फबाट रेडिमेट सुनका गरगहनकाे सट्टा ५० ग्राम काँचो सुन भन्सार छुटमा पाउने व्यवस्था गर्नका लागि महासंघलाई ध्यानाकर्षण गराएको थियो । कास्कीका अध्यक्ष राम बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्कीका प्रथम उपाध्यक्ष भरत विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव इश्वर विकले गरेका थिए ।
कास्कीः जिल्ला प्रशासन कार्यालय कास्कीमा २ जनाले आमाको नामबाट नागरिकता लिने प्रक्रिया सुरु गरेका छन् । नागरिकता ऐन संशोधन गर्न ल्याइएको नयाँ विधेयकले आमाको नामबाट मात्र नागरिकता पाइने सुनिश्चित गरेको छ। यसअघि २०७५ सालमा ल्याएको विधेयक फिर्ता लिएको सरकारले हाल नयाँ विधेयक ल्याएको हो। कास्कीबाट २ जनाले आमाको नामबाट नागरिकता लिन निवेदन दिएको र सम्बन्धित वडाबाट प्रमाणित कागजात र सिफारिश पेश गर्न निवेदकलाई जानकारी दिइसकेको कास्की प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । ‘कार्यालयमा निवेदन आएपछि मैले आवश्यक कागजात पेश गर्न भनेको छु’ सहायक प्रजिअ क्षेत्रीले भने ‘सम्भवतः यही हप्ता उहाँहरुले विवरण पेश गरेपछि नागरिकता पाउनुहुनेछ ।’ यद्यपि अहिले यससम्बन्धी विधेयक बनेपनि पहिल्यैदेखि आमाको नामबाट नागरिकता दिइँदै आएको क्षेत्री बताउँछन् । संसदबाट यससम्बन्धी विधेयक पारित भएपछि २ जनाले सुरु गरेको प्रक्रिया कास्कीमा पहिलो नै भएको उनले जनाए । आमाको नामबाट नागरिकता लिन विधेयकमा ४ शर्त राखिएका छन् । जसमध्ये पहिलो पहिलो सर्त हो, नेपाली आमाबाट नेपालमै जन्मिएको हुनुपर्ने। दोस्रो, नेपालमै बसोबास गरेको हुनुपर्नेछ । त्यस्तै, तेस्रो, बाबुको पहिचान नभएको र चौथोमा बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने। यस्तो स्वघोषणा नागरिकता लिने व्यक्ति वा उनकी आमाले गर्नुपर्ने हुन्छ। आमाको मृत्यु भएको रहेछ भने त्यसको प्रमाण ल्याएर नागरिकता लिने व्यक्ति आफैंले आफ्नो बाबुको पहिचान नभएको बेहोरा खुलाएर घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, कास्की प्रशासनले नागरिकतासम्बन्धी नयाँ सूचना निकालेको छ । सूचनामा नेपाली नागरिक आमाबाट जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा वंशजको आधारमा नेपाली नागरिकता दिइने उल्लेख छ ।
पोखरा: पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा फसेका चार जनाको गएराती सकुशल उद्धार गरिएको छ । नेपाल सशस्त्र प्रहरी बलको टोलीले गएराती २३ वर्षिय प्रेम सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षिय क्षितिज नेपालीको सकुशल उद्धार गरेको हो । उनीहरु रातीसाझास्थित निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा फसेका थिए । त्यसपछि फोनसम्पर्कमार्फत उनीहरुले आफुहरु बाढीमा फसेको परिवारलाई जानकारी दिएका थिए । त्यसलगत्तै सशत्र प्रहरीलाई खबर पुग्यो र कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उनीहरुको सकुशल उद्वार गरेका थिए ।

