पोखरा: पोखरामा एक युवती बेपत्ता भएकी छिन् । कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा पोखरा महानगपालिका २७ डाँडाकोनाकका १३ वर्षीया निरुता थापा रहेकी छिन् । उनी गत महिनाको २२ गतेदेखि बेपत्ता रहेको कास्की प्रहरीले बताएको छ । प्रहरीका अनुसार घरमा कसैलाई नसोधी हिडेकी थिइन् । दुईहप्ता हुदाँ बितिसक्दासमेत सम्पर्कमा नआएपछि कास्की प्रहरीलाई खोजिदिन भन्दै निरुताको परिवारले गुहारेको छ । कास्की प्रहरीले पनि सामाजिक सञ्जालमा सूचना जारी गर्दै आम नागरिकलाई खोजतलासमा सघाउ पुर्याउन आग्रह गरेको छ ।
गोरखा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्। गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्। यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए। प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, धादिङ र गोरखाका संघीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत छन्। कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए। प्रधान र फिल्ड कार्यालय उद्घाटनसँगै बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ। सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ। घर गोठ, बोटबिरुवातर्फ रु छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ। आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्डले चासो राख्दै आएका थिए। चालु आर्थिक वर्षको बजेटमा समेत सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक र अन्य सार्वजनिक कार्यक्रममा समेत सो आयोजनाको निर्माण शीघ्र सुरु हुने उल्लेख गर्नुभएको छ । धादिङ र गोरखाका जनप्रतिनिधि र स्थानीयवासीले समेत शीघ्र आयोजनाको काम सुरु गर्न माग गर्दै आएका छन् । सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै सो आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ । आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ । केही दिन पहिले राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्वाधार करमार्फत उठेको रकम मुआब्जा वितरण लगायतका काममा खर्च भएको जानकारी गराएका थिए। सरकारले चालु आवको बजेटमार्फत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइलाई नै कम्पनीमा रुपान्तरण गरेको हो । गत असार २८ गते कम्पनीको प्रमुख कार्यकारी प्रमुखमा जगत श्रेष्ठलाई नियुक्त गरेको थियो।
काठमाडौं: बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्याउने उद्देश्य रहेकाे ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका देविका बन्दनाको स्वरको उक्त गीतमा डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाको शब्द सृजना रहेको छ । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ भने राजन ईशानसंगीत संयोजक हुन् । गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रविण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।
पोखरा: कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । कास्कीको पोखरा लगायतका स्थानमा बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको मिर्सालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का महसुस भएपछि पोखराबासीहरु घर बाहिरसमेत निस्केका थिए ।
गोरखा: गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का केही किसानले घरमै अरिङ्गाल पाल्न थालेका छन् । अरिङ्गालका लार्भा बेचेर दैनिकी गुजार्न सघाउ पुग्ने र आय आर्जनको वैकल्पिक स्रोत हुने भन्दै व्यवसायिक रुपमा अरिङ्गाल पालन गर्दै आएका हुन् । यद्यपी यो व्यवसाय गर्न चुनौती रहेको शहीद लखन– ६ घैरुङका विनोद थापामगरले बताए । उनले विगत १५ वर्षदेखि अरिङ्गाल पाल्ने र त्यसको लार्भा बेचेर आम्दानी गर्दै आएको सुनाए । ‘अरिङ्गाल पाल्ने भनेर मौरीजस्तै गरी पाल्ने त होइन, जङ्गलमा अरिङ्गालले बनाएको गोलालाई घर छेउमा लगेर राख्ने अनि हुर्केपछि बेच्ने हो ।’ उनका अनुसार शरीरलाई तागत दिन्छ भनेर अरिङ्गालको लार्भा तारेर खानेहरूको सँख्या बढ्दै गएको छ । उनले आँगन छेउका रुख र टौवामा डेढ महिनादेखि अरिङ्गालको ११ वटा गोला हुर्काइरहेका छन् । आउँदो असोजसम्ममा उक्त अरिङ्गालले व्यापार गर्न योग्य लार्भा तयार गर्छ । त्यसपछि विक्री गर्ने योजना रहेको थापामगरले बताए । उनका अनुसार अरिङ्गालको बच्चा अर्थात् लार्भालाई प्रतिमाना १५ सयदेखि २ हजार रुपैयाँसम्ममा विक्री हुन्छ । ‘एउटा गोलाबाट दुई पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उनले भने । थापामगरले जंगलमा पाइने अरिङ्गालको गोलालाई घर छेउमा सार्न त्यति सहज नहुने बताए । यो खबर उज्यालो अनलाइनमा किरण लोहनीले लेखेका छन् ।
झापा: झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिबाना गराइने नगरपालिकाले जनाएको छ । नगरसभाबाटै यस्तो निर्णय गरिएको मेयर राजेन्द्रकुमार पोखरेलले बताउनु भयो । ुमानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ, उहाँले भन्नुभयो, भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु । नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उहाँले बताउनु भयो । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थका कारण नगर कुरुप बनेको पोखरेलले बताउनु भयो । ुबाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छु, उहाँले भन्नुभयो, ुयसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ । कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिबाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । यस्तै, प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् ।
पोखरा: गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र बहादुर थापा मगरले कर्मचारीहरुले जनताको चाहाना र मनोभावना बुझेर काम गरेमा मात्र नागरिकले सरकारका सकरात्मक कामप्रति अनुभुति गर्न सकिने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन कास्कीले माछापुच्छ्रे गाउँपालिका अस्थाममा आयोजित बार्षिक प्रगति समक्षिा एवं अन्तरक्रियाको उद्घाटन पछि बोल्दै मन्त्री थापा मगरले यस्तो बताएका हुन् । उनले कर्मचारी प्रशासन भनेको मुलुकको स्थायी सरकार रहेकाले सुशासन, पारदर्शिता र जनमुखी कार्यको लागि पहिलो आधार रहेको बताए । मन्त्री थापाले जनताका काम गर्न कानुनका छिद्र खोज्ने र रस्व, दिर्घ हेरेर मात्र होइन्, कानुनलाई व्यवहारिक रुपमा हेरेर पनि कर्मचारीले जनतालाई सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले राम्रो काम गर्ने कर्मचारीलाई प्रदेश सरकारले उच्च मुल्याङ्कन गर्ने बताउँदै सरुवा–बढुवामा पनि न्याय हुने उल्लेख गरे । मन्त्री थापाले कर्मचारी एउटा मोटरको इन्जिन हो भने सरकार चालक हो, चालकलाई सफल बनाउने वा असफल बनाउने भन्ने इन्जिनको भुमिका रहे जस्तै सरकार सफल बनाउन कर्मचारीको योगदान उल्लेखनिय रहने स्पष्ट पारे । गण्डकी प्रदेश सरकारले वन ऐन ल्याउन नसक्दा बिकास निर्माणमा पार्ने प्रभावदेखि लिएर विदेशी काठको आयातले ठूलो धनराशी बाहिरिएकाले यसै सदनमा वन ऐन ल्याउन तयारी गरिरहेको खुलासा समेत मन्त्री थापाले गरे । यस्तै कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले सरकारले गर्ने सेवाप्रवाहको माध्यम नै कर्मचारी रहेकोले सरकारका नितिकार्यक्रम प्रभावकारी ढंगले अगाडी बढ्ने बताए । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवं प्रशासनिक विज्ञ बाबुराम आचार्यले सरकारले कर्मचारीको मनोबल उच्च बनाइ सँगसँगै लान सकेमात्र सरकारले लिएको लक्ष्य पूरा हुन सक्ने बताए । नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले राजनीतिक अस्थिरताले कर्मचारीतन्त्रमा पनि अस्थिरताको वातावरण निम्त्याउने बताए । नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले कर्मचारीको हकहितका लागि युनियनका गतिविधि आवश्यक रहेको बताउँदै संघिय निजामति ऐन समयमा आउन नसक्दा कर्मचारी मात्र नभए मुलुकको बिकास प्रक्रिया पनि पछाडि परेको बताए ।