पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ । बिहिवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले साउन २८ गतेको बाढीले कागवेनीमा ठुलो क्षति पुगेको, स्थानीयले अहिलेपनि सास्ती भोग्नुपरेको, ब्यक्तिगत, सामुदायिक सरकारी संरचनाहरु ध्वस्त भएको बताउँदै सहयोगकालागि यूएनडीपीको ध्यानाकर्षण गराएका हुन् । प्रदेश सरकारको सिमित स्रोत र साधनका विच पुन निर्माणका सबै काम तत्काल पुरा गर्न सहज नभएकाले दातृ निकायहरुले सरकारको योजना अनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो । गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम अनुसारका योजनालाई प्राथमिकता दिन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश भित्रको बसाईसराई रोक्न उत्पादनमुखी कार्यक्रमा सहयोग गर्न सुझाब दिनुभयो । साना तथा मझौला उद्योगको स्थापना गरि रोजगारीको अवसर सिर्जना गर्दै युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रममा जोड दिन मुख्यमन्त्री पाण्डेले यूएनडीपीलाई सुझाव दिनुभयो । यूएनडीपीका नेपाल प्रमुख मिशा ने मेदागंगोडा लाबेले गण्डकी प्रदेश भित्र संचालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम संचालन गरिने बताईन । प्रदेश सरकारको प्राथमिकतालाई ध्यान दिएर सहयोग गरिने बताउँदै उनले कागवेनीको पुन निर्माण र पुर्नस्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताईन । फोहोरमैला ब्यवस्थापन, जलवायु परिर्वतन संम्बन्धी कार्यक्रम अगाढी बढाउन चाहेको बताउँदै उनले कालिगण्डकी करिडोरमा जीवनयापन तथा आय आर्जन सम्ंबन्धी कार्यक्रम सुरुवात गर्ने, हिमताल संम्बन्धी अध्ययन अनुसन्धान को अघि बढिरहेको बताईन । भेटघाटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले विपद् जोखिम ब्यवस्थापन तथा भू उपयोग नीति निर्माणमा प्रदेश सरकारलाई सहयोगको खाँचो रहेको बताए । प्रदेश भित्र अनुगमन तथा मूल्याङ्कन प्रणालीको बिकास गरि आयोजनाको प्रभावकारी अध्ययन, तथ्याङ्क ब्यवस्थापन र अध्ययन अनुसन्धान, स्थानीय शुसासन र योजना तर्जुमामा प्रदेश सरकासँग सहकार्य गरि अघि बढ्नुपर्ने बताए ।
पोखरा: डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा वैज्ञानिक मनिषा द्वालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।आफूलाई युवा वैज्ञानिकका रूपमा स्थापित गराउन लामो समय संघर्षरत मनिषा हाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक रहेकी छन् । नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक, परियोजना संयोजकसमेत रहेकी द्वासँग शिक्षणको अनुभवसमेत छ । स्वतन्त्र फोटो पत्रकारको छवि बनाएकी द्वा अन्नपूर्ण आर्चरी क्लबकी सदस्य पनि हुन् । उनले विज्ञान प्रविधिका क्षेत्रमा विकासका लागि खगोल (ओएडी) सँगको सहकार्यमा नेपालमा समाज सशक्तिकरणका लागि खगोल विज्ञान अन्तर्गत ३६ स्कुलमा विभिन्न प्राजेक्टको सफल सञ्चालनसमेत गरिसकेकी छन् । द्वा यस अघि विज्ञान प्रविधिका क्षेत्रमा इमर्जिङ स्पेस लिडर्स सन् २०१६, विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार सन् २०२१ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छन् । उनी जोन्टा क्लब अफ काठमाडौंले विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान छात्रालाई प्रोत्साहनका लागि अन्तरिक्षमा महिला उद्घोषका साथ सञ्चालन गर्दै आएको इन्द्रकला छात्रवृत्ति सन् २०२१ समेत प्राप्त गर्न सफल प्रतिभा हुन् । मनिषाले नेपाल, भारत, चाइना, रोमानिया, इन्डोनेसिया, अमेरिका, मेक्सिको, दुबई, थाइल्याण्ड, अष्ट्रिया, जर्मनी, हङ्गेरीलगायतका देशमा सम्पन्न दुई दर्जन बढी सेमिनारमा सहभागी तथा आफ्नो प्रस्तुति राखेकी छन् । गण्डकी बोर्डिङ स्कुल लामाचौरबाट विज्ञानमा प्लस टु गरेकी द्वा पृथ्वीनारायण क्याम्पस पोखराबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरी सोही विषयमा त्रिभवुन विश्वविद्यालयमा विद्यावारिधि अनुसन्धानरत छन् । प्रतिष्ठानले वार्षिक साधारण सभाको सन्दर्भ पारेर अर्पण गर्ने उक्त पुरस्कार यस अघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ पुरस्कृत भइसकेका छन् । नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा अर्पण गरिने पुरस्कारको राशि १० हजार पाँच सय नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ । पुरस्कार असोज ३ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बिन्दु श्रेष्ठले जानकारी दिइन् ।
पोखरा: गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले यहि बहालवाला प्रहरी कर्मचारीलाई सिपयुक्त बनाउने उद्देश्यसहित ड्राइभिङ तालिम प्रदान गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ५० जना प्रहरी कर्मचारीलाई हलुका सवारी साधन (कार/जिप) ड्राइभिङ तालिम प्रदान गरिएको हो । गण्डकी प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयहरुमा रहि उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई प्रेरणा स्वरुप प्रदान गरीएको सो तालिममा गोरखा जिल्लाबाट ३ जना, नवलपरासी (पुर्व) ४, कास्की १६ , तनहुँ ८, स्याङ्जा ४, बागलुङ ४, म्याग्दी २, पर्वत २, मुस्ताङ २, लमजुङ ३, मनाङ जिल्ला अन्तर्गतबाट–२ जना प्रहरी कर्मचारीहरुको सहभगिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले तालिमबाट सिकेका कुराहरुलाई उपयोग गरी प्रहरी सेवामा कुशल चालकका रुपमा आफुलाई स्थापित गराउन शुभकामना व्यक्त गरेका थिए । सो तालिममा सनराइज ड्राइभिङ इन्सटिच्युटले सहजीकरण गरेको थियो ।
रुकुमपश्चिम: रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो घरनजिकै बारीमा गाईबस्तुलाई घाँस काट्नेक्रममा विष्टलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उनलाई गाउँकै घरेलु उपचारले ठीक हुने झारफुक गरेर राखिएको थियो । आज बुधबार बिहान २ बजे नवजात शिशुलाई जन्म दिएकी विष्टलाई रक्तस्राव समेत भइरहेको थियो । उनलाई उपचारका लागि बिहान ५ बजे चौरजहारी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए । उनका अनुसार सर्पको विष शरीरमा फैलिएको थियो भने रक्तस्राव पनि रोकिएको थिएन । समयमै अस्पतालमा ल्याएको भए उनको ज्यान बचाउन सकिने अवस्था रहेको प्रशासक गिरीले उल्लेख गरे । अन्तिम अवस्थामा मात्र सुत्केरीलाई अस्पताल ल्याइएको थियो । सर्पले टोकेपछि व्यथा नलाग्दै बच्चा जन्मेको थियो । अस्पतालका अनुसार बच्चा जन्मने समयावधि पनि कात्तिक महिनामा रहेको थियो । समय नपुगेर जन्मेको नवजात शिशुको अहिले अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । शिशुको शरीरमा पनि सर्पको विष फैलिएकाले एन्टिस्नेक भेनममार्फत उपचार सुरु गरिएको चिकित्सकको भनाइ छ । बच्चाको अवस्था पनि गम्भीर रहेको छ । रुकुमपश्चिममा बर्सेनि सर्पदंशका बिरामीले उपचार अभावमा ज्यान गुमाउँदै आइरहेका छन् । चौरजहारी अस्पतालका अनुसार गत साउन महिनामा पनि सानीभेरी गाउँपालिकाका एक बालकको सर्पको टोकाइबाट मृत्यु भएको थियो । कर्णाली प्रदेशको रुकुमपश्चिमलाई सरकारले विषालु सर्प नपाइने जिल्लाको सूचिमा राखेका कारण सर्पदंशबिरुद्ध लगाइने एन्टीस्नेक भेनम सरकारी कोटाबाट पाइँदैन । सर्पदंशबिरुद्धको खोप अत्यन्तै महँगो हुने र सरकारीस्तरबाट यस जिल्लामा सप्लाई नहुने भएकाले समयमै उपचार नपाउँदा बिरामीको ज्यान जाने अवस्था छ । सर्पले टोकेका बिरामीलाई जिल्ला बाहिर सुर्खेत, नेपालगन्ज पठाउँदा कतिपय बिरामीको बाटोमा नै ज्यान जानसक्ने जोखिम समेत हुनेगरेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।
काठमाडौं: नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी भएका हुन् । सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी भने उनका प्रतिद्वन्द्वी रिजालले ४७७ मत पाए । त्यसै गरी अन्य पदाधिकारीहरूमा भने मिश्रित परिणाम आएको छ । त्यसै गरी उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए । पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यसै गरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी बाँकेकी बसन्ती अधिकारीले ३५१ मत पाए । सचिव पदमा कँडेलकै समूहका लक्ष्मण आचार्य सोमबार नै निर्विरोध निर्वाचित भएका थिए । अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मङ्गलवार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो । यो निर्वाचनपछि लुम्बिनी प्रदेशमा स्पष्ट दुई गुट देखिएको छ । अध्यक्षमा निर्वाचित कँडेल एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट छन् भने पराजित रिजाल महासचिव शंकर पोखरेल पक्षका हुन् ।
पोखरा: गायिका सुप्तिहाङ राईको ‘लाहुरेनी’ बोलको गीत सार्वजनिक भएको छ । गायिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको पाँच दिनमै ट्रेडिङमा उक्लिएको छ । अहिले उक्त म्युजिक भिडियो म्युजिकको २७ नम्बर ट्रेडिङमा देखिएको छ । गायिका राईले आफ्नो जन्मदिनमा सार्वजनिक गरेको ‘लाहुरेनी’ गीतमा मिस मगर मिलन थापामगर र मानबहादुर रानाको अभियन देख्न पाइन्छ । उक्त गीतलाई टिकटकमा पनि रुचाइएको छ । गायिका सुप्तिहाङ राईको स्वर रहेको लाहुरेनी बोलको गीतलाई कमल राणाले एरेन्जर गरेका छन् भने नितेश लामा (नियोन)ले सम्पादन गरेका हुन् ।
नवलपुर: लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’ बाट नवलपुरमा एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका–१७ निवासी ६६ वर्षीया महिलाको ‘जापानिज इन्सेफ्लाइटिस’ बाट मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिनुभयो । ‘जिल्लामा चालु आर्थिक वर्षमा दुई जना महिलामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको मृत्यु भएको छ’, उहाँले भन्नुभयो, ‘एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।’ गएको आव २०७९ ८० मा जिल्लामा पाँच जनाको ‘जापानिज इन्सेफ्लाइटिस’ बाट ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । गएको आवमा सात जनामा सङ्क्रमण पुष्टि भएको मध्ये पाँच जनाको मृत्यु भएको थियो । जिल्लामा गएको आवदेखि ‘जापानिज इन्सेफ्लाइटिस फेला परेको प्रमुख चापागाईंले बताउनुभयो । जिल्लामा रोग देखिएपछि पालिकामार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो । ‘जापानिज इन्सेफ्लाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो, यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङ्गको र पेटतिर भने सेतो चिह्नहरू भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन्’, उहाँले भन्नुभयो, ‘विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापानिज इन्सेफलाइटिस बढी देखिने गर्दछ ।’ यस रोगबाट धेरै व्यक्तिहरू गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी ज्यान जाने गरेको चापागाईंले बताउनुभयो । ‘यस रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाइ वा कमजोरी देखिन्छन्’, उहाँले भन्नुभयो, ‘यस रोगका खतराका लक्षणहरू छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ ।’
गण्डकी: वासस्थानको अभावमा प्रकृतिको कुचीकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर विसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको क्रमसँगै विगत दुई दशकयता गिद्धका प्रजाति लोपहुँदै गएका छन् । गिद्धको वासस्थान विशेषतः अग्लो सिमलको रूख नै हो । सिमलका रूखमा उनीहरू बस्ने र गुँड लगाउने गर्दछन् । पोखरा आसपासका क्षेत्रमा बस्तीको विकाससँगै यहाँ रहेका सिमलका रूख काटिने क्रमसँगै उनीहरूको वासस्थान सङ्कटमा परेको छ । पोखरा उपत्यकाका चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायत स्थानमा करिब १५÷१६ वर्ष अघिसम्म ठुलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा लोप भइसकेका छन् । सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवम् उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध सङ्कटमा परेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै छिनेडाँडास्थित फोहर विसर्जन केन्द्रलाई पोखरा– ३२ लामेआहालमा सारिएपछि गिद्ध पुनः सङ्कटमा परेका छन् । फोहर विसर्जन केन्द्र सारिए पनि त्यहाँबाट गिद्ध पूर्णरुपमा वासस्थान छाडेर गई नसकेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिनुभयो । १५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा पोखरा र तनहुँका विभिन्न आठ ठाउँमा गरिएको गिद्ध गणनाका क्रममा पुरानो ल्यान्डफिल साइडमा ४०–५० वटा गिद्ध फेला परेका ढकालले बताउनुभयो । नेपालमा गरिएका विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको सङ्ख्या घट्दै गएको देखाएको छ । वासस्थान सङ्कटमा पर्दै जानुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका हुन् । पछिल्लो समयमा गाईबस्तु पाल्ने क्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा पनि उनीहरूको आहारामासमेत समस्या आएको देखिन्छ । डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउनुहुन्छ । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ । विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एसियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै प्रजाति पोखरामा पाइने घिमिरेले जानकारी दिनुभयो । सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचीकार भएका कारण यसको संरक्षणमा जागरूकता आवश्यक रहेको देखिएको छ । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि कास्कीको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । घिमिरेका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । त्यस्तै हिउँदको समयमा लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान र किर्गिस्तानबाट आउने गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार तथा डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध करिब पाँचरपाँच सयको सङ्ख्यामा रहेको बताइएको छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारी छ । पोखरा पक्षी समाजले विगत १० वर्षयता प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ । समाजले पोखराका पाँच ठाउँ घाचोक, पुम्दीभुम्दी, पुरानो एवम् नयाँ ल्यान्डफिल साइड र दोभिल्लामा यसवर्ष पनि गिद्ध गणना गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । समाजले आजै तनहुँका तीन ठाउँ व्यास नगरपालिका–१० स्थित शिशुवाभतेरी, शुक्लागण्डकी नगरपालिकास्थित गौ संरक्षण केन्द्र र दमौलीस्थित ल्याण्डफिल साइडमा गिद्धको गणना गरेको उहाँले बताउनुभयो ।