काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत सूचिकृत हुन इच्छुक स्रोत व्यक्ति वा विषय विज्ञहरुलाई आव्हान गरेको छ । महानगरको सामाजिक विकास विभागले आइतबार सूचना प्रकाशन गरेर आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेटमा महानगरको गौरव योजनाको रुपमा रहेको सो योजनाले महानगरका बासिन्दालाई विभिन्न तालिम, सीपको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने, विभिन्न पेशा, रोजगारमा आबद्ध बनाउने तथा आर्थिक रुपमा सशक्त बनाउन विविध सीप विकास कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ । महानगरपालिकाको वेब साइटमा रहेको सूचनामा फाराम भरी एक हप्ताभित्र आवेदन पेश गर्न सम्बन्धित सामाग्री यसै सूचनासँग सार्वजनिक गरेको छ । महानगरपालिकाको स्थायी बासिन्दा, फोहोरमैला प्रभावित क्षेत्रका बासिन्दा, करदाता वा महानगरभित्र बसोबास गर्ने १८ वर्ष पुरा भइ ६० वर्ष ननाघेको नेपाली नागरिकले यसका लागि सूचीकृत हुन सक्ने सामाजिक विकास विभागले जनाएको छ ।
कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ । अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्न लागिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । रासस
कास्की: माछापुच्छ्रे गाउँपालिकाले अघिल्लो शुक्रबार पालिकाभित्र रहेका पर्यटकीयस्थलमा पदमार्ग जान आन्तरीक र बाह्य पर्यटकलाई शूल्क तोकेपछि त्यसको कार्यान्वयन हुन थालेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार शुक्रबारमात्रै २८ हजार २ सय रुपैैयाँ करवापत शूल्क उठेको छ । जसमध्ये ५ सय रुपैयाँकादरले बाह्य पर्यटकबाट १२ हजार ५ सय र आन्तरीकबाट १५ हजार ७ सय रुपैयाँ कर उठेको पालिका ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए । उक्त कर अनुसार शुक्रबार २५ बाह्य र १ सय ५७ जना आन्तरिक पर्यटक पालिकाको आकर्षण मानिएको मर्दी हिमालतर्फ लागेका छन् । पालिकाले शूल्क लिने भएपछि यसको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । तर पालिकाले भने पर्यटककै सुरक्षामा उक्त रकम खर्चिने जनाएको छ । विशेषतः सूचना र जानकारीमा विशेष ध्यान दिइने गाउँपालिकाले जनाएको छ । उक्त शूल्क बुझाएपछि पर्यटकलाई प्रत्येक दिन कहाँ, कस्तो अवस्थामा रहेको जानकारी लिइने र पदमार्गमा कुनै समस्या आए त्यसको समाधानमा जुट्ने वडाध्यक्ष गुरुङले बताए । ‘पर्यटक पदमार्गमा अघि बढेपछि उनीहरुको जानकारी लिइन्छ, कुनै अप्ठेरो परे तत्काल समाधानको पहल गरिन्छ’ गुरुङले भने ‘बेलुकी कुन होटलमा बसे र त्यहाँ मूल्य अनुसारको सेवा पाए वा पाएनन् त्यसको जानकारी लिइनेछ ।’ त्यस्तै, पदयात्राका दौरान कुनै संकट आइपरे गाउँपालिकाले तत्काल उद्दार र राहतमा पहल गर्ने उनको भनाई छ । यसैबीच आज शनिबार भने पदमार्गमा पर्ने हाइक्याम्पमा स्थानीय होटल व्यवसायीहरुले पालिकाद्वारा तोकिएको करप्रति असन्तुष्टी व्यक्त गरेका छन् । व्यवसायीका अनुसार पालिकाले बिनाजानकारी कर उठाएको भन्दै पदयात्रीलाई कर नतिर्न भनेका छन् । व्यवसायीहरुको यस्तो रवैयाबारे जानकारी पाएपछि पालिकाको एक टोली त्यता लागेको छ । व्यवसायहीहरुले सार्वजनिक जमिनमा होटल सञ्चालन गरेको र हालसम्म कर पनि नतिरेको भन्दै पालिकाले कडा कदम चाल्ने बताएको छ । यता, काठमाण्डौबाट मर्दीतर्फ लागेको एक समूहले भने सय रुपैयाँमा पदयात्रीको पुरै ख्याल राख्ने र पलपलको जानकारी लिने काम प्रशंसनीय भएको प्रतिक्रिया दिएको छ । मर्दी पदयात्रा जाने पर्यटकबाट लो क्याम्पमा डेस्क राखेर शूल्क उठाइँदैछ ।
पोखरा: गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले बताएको छ । प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौँ’ मुख्यमन्त्री पाण्डेद्धारा जारी अपिलमा भनिएको छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भुकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकार सँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताउनुभएको छ। शुक्रवार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दशैंको बिदामा मुस्ताङ भ्रमण गरेका छन् । परिवार र सहयोगीसाथ मुस्ताङ पुगेका राजदूत श्रीवास्तवले मुक्तिनाथ मन्दिरलगायत अन्य स्थान घुमघाम गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । ‘धेरै जानकारी दिन त मिल्दैन, उहाँको व्यक्तिगत भ्रमण हो’ जिप्रका मुस्ताङ प्रमुख एवं डिएसपी भोजराज पाण्डेले भने ‘उहाँ दूतावासकै सहयोगी लिएर आउनु भएको हो ।’ प्रहरीका अनुसार श्रीवास्तव घुमघाम र पूजापाठमामात्र व्यस्त रहे । श्रीवास्तव ३ दिन मुस्ताङ भ्रमण सकेर आज बिहानै सडक मार्गमार्फत पोखरातर्फ आउँदै छन् । मुस्ताङ रहँदा राजदूतले कुनैपनि सामाजिक कार्यक्रमको आयोजना नगरेको र समुदायसँग सम्पर्क नगरेको जनाइएको छ । मुस्ताङ धार्मिक र पर्यटन आकर्षणमात्र नभएर कूटनीतिक हिसाबले पनि महत्वपूर्ण जिल्ला मानिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत यहाँको भ्रमण गरेका छन् । चीनबाट नेपाल भित्रने कोरोला नाका उत्तरी भेगमा भएका कारण भारतले यस क्षेत्रलाई विशेष महत्व दिँदै आएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । त्यसैगरी सर्वोत्कृष्ट अनुसन्धान तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक राम बहादुर क्षेत्री अधिकारी, उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव निरीक्षक रुद्र बहादुर दरै , सुचना संप्रेशण तथा जनचेतना अभिवृद्धि तर्फ गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी सहायक निरीक्षक सहदेव पौडेल सम्मानित भएका छन । उत्कृष्ट सवारी चालक तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक जगेन्द्र गाहा, इलाका प्रहरी कार्यालय चन्द्रवती तनहुँका प्रहरी जवान कुमार फाल मगर योगेन्द्र स्मृति शाहसिक पुरस्कार र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी जवान किरन थापा बाह्य प्रशिक्षण तर्फ उत्कृष्ट भएका हुन । त्यसैगरी प्रहरी कार्यमा सहयोग पु¥याउने पोखरा १५ का समाजसेवी एवं शिक्षाविद प्रेम बहादुर थापा र मुस्ताङ थासाङ गाँउपालिका २ कोबाङ हाल म्यादी अन्नपूर्ण ३ दाना निवासी बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मानित भएका छन । समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी ढंगबाट सहयोग पु¥याउने सर्व–साधारण तर्फ सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका राम प्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानी कास्कीका अध्यक्ष मिरा आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका पूर्व अध्यक्ष मनपति भण्डारी र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ कास्कीका संस्थापक अध्यक्ष मोति गिरी सम्मानित भएका छन । त्यस्तै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी ढंगबाट सहयोग पु¥याउने स्थानीय तहतर्फ स्याङजाको अर्जुनचौपारी गाँउपालिका र बाग्लुङको बडिगाड गाउपालिका सम्मानित भए । ८५ वर्ष भन्दा बढी उमेरका पूर्व प्रहरी कर्मचारीतर्फ कास्कीको रुपा गाँउपालिका ५ देउरालीका पूर्व प्रहरी सहायक निरीक्षक सिद्धिनारायण श्रेष्ठ सम्मानित भए भने नेपाल प्रहरी विद्यालय उत्कृष्ट शिक्षक तर्फ नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका मा.बि. नेपाली शिक्षक राजन सिग्देल सम्मानित भए । सम्मानितहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान पत्रले सम्मान गरेका थिए
काठमाडौं महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । काठमाडौं म्हानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्यस्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ । शिविरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल आँखा अस्पतालका कर्मचारी राम केसीले सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको बताउनु भयो । उहाँले अप्रेशन गर्नुपर्ने भएकाहरुलाई पनि नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको हो । आज र भोलि यो शिविर सञ्चालन गर्नेछौँ । शिविरमा दुई हजारसम्म कर्मचारीलाई यो सेवा दिनसक्छौँ । यो निःशुल्क शिविर हो, निःशुल्क जाँच हुन्छ, निःशुल्क उपचार हुन्छ । अप्रेशन गर्नुपर्ने भए उहाँहरुलाई नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्नेछौँ ।’’
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र आयोजनाको समस्या सल्ट्याउन जोड दिएको छ । मन्त्रालयले गण्डकी प्रदेशका ११ वटा जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुस्ती भएका सडक, पुल, झोलुङ्गे पुल र भवनसम्बन्धी योजनाको समस्या पहिचान गरी गति दिन पहल सुरु गरेको हो । मन्त्रालयका सचिव शङ्करराज पण्डितले समस्याग्रस्त योजनाको स्थलगत निरीक्षणका साथै प्राविधिक, निर्माण व्यवसायी, जनप्रतिनिधि, सुरक्षा अधिकारी र समुदायसँग छलफल गरेर निर्माणलाई गति दिन पहल गरिएको जानकारी दिनुभयो । मन्त्री रेशमबहादुर जुग्जाली, सचिव पण्डित, मन्त्रालयका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले लमजुङ र गोरखाका समस्याग्रस्त योजनाको निरीक्षण गर्नुभयो । सचिव पण्डितले भन्नुभयो, “समस्याग्रस्त आयोजना पहिचान गरेर समस्या सल्टाउन मन्त्रालय तहबाटै पहल थालेका छौँ । सहजीकरण गरेर रोकिएका आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउने र पूर्णता दिने मन्त्रालयको नीति छ । सहजीकरण गर्दा पनि काम नगर्ने निर्माण व्यवसायीलाई प्रक्रिया पूरा गरेर कालो सूचीमा राख्ने, ठेक्का तोड्ने र नयाँ प्रक्रियाबाट निर्माणलाई पूर्णता दिन्छौँ।” गोरखाको राधाकृष्ण मन्दिर–कमलटार–पौवाटार–बिरुवाटार–मिलनचोक–मजुवा सडक स्तरोन्नतिको काम २०७८ साल असारमा सम्पन्न हुनुपर्ने थियो । २०७६ साल असारमा २३ करोड ३८ लाख ८७ हजार २४५ रुपियाँमा ठेक्का सम्झौता भएको करिब १० किलोमिटर दूरीको सडक अलपत्र अवस्थामा छ । पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न एमएस अमर कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति आधा मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का ओगटेर बस्ने, सुस्त रूपमा काम गर्ने र योजनालाई वर्षौंसम्म पूरा नगर्ने समस्या छ ।” नारेश्वर–पाणिनी–चौतारा–निबेल–ताकुकोट १० किलोमिटर दुरीको सडक दोस्रो पटक थपिएको म्याद अनुसार पनि २०८० साल असारसम्म निर्माण सक्नुपर्ने थियो । प्रिमिक्स प्रविधिको कालोपत्रे गर्न एमरएस अमररगणेश जेभी काठमाडौँले २३ करोड ७५ लाख ५७ हजार ८०२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले सडक निर्माणमा भएको ढिलासुस्तीका कारण यातायात सञ्चालन गर्न समस्याका साथै दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण सामग्रीको व्यवस्थापनदेखि स्थानीयस्तरमा सबै सहजीकरण गरिदिँदा समेत निर्माण व्यवसायीले बेवास्ता गरेका छन् ।” धेरैजसो आयोजना निर्माणमा ढिलासुस्ती हुनुको प्रमुख कारण निर्माण व्यवसायी व्यावसायिक बन्न नसक्नु र गैरजिम्मेवार देखिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो। नदीजन्य निर्माण सामग्रीको अभाव, निर्माण व्यवसायीले पर्याप्त उपकरण र जनशक्ति परिचालन गर्न नसक्नु, सहजीकरण तथा समन्वयको कमी, विपत्, सामाजिक र भौगोलिक कारणले पनि आयोजना निर्माणमा असर परेको उहाँले बताउनुभयो। मन्त्री जुग्जालीले भन्नुभयो, “गत वैशाखमा गण्डकी प्रदेश सरकारका समस्याग्रस्त आयोजनाको सङ्ख्या ४७ वटा थिए । असारसम्ममा १७ वटामा झारेका छौँ । प्रदेशका योजनामा बजेटको अभाव छैन। काम गरेका निर्माण व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाएका छौँ। काम हुन नसक्ने योजनालाई पहिचान गरेर व्यवसायीलाई कारबाही र निर्माणको कामलाई नयाँ प्रक्रियाबाट अघि बढाउने तयारीमा छौँ ।” एमएस बिरुवारवाइबारलामा जेभीका प्रतिनिधि कमल कार्कीले कमजोर भूगोल, मूल्यवृद्धि, ढुङ्गा, गिट्टी र बालुवाको असहजता तथा पर्याप्त बजेटको व्यवस्था नहुँदा योजना निर्माणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँअघि बाँकी संरचनाको काम सक्ने गरी सडक मर्मत गरेर यातायात सञ्चालन सहज बनाउने तयारीमा छौँ । चालु आर्थिक वर्षभित्रमै यो सडक कालोपत्रे गरिसक्ने कार्ययोजना बनाएका छौँ । ठेक्का सम्झौताको म्याद थपमा देखिएको अन्योलले अलमलिएका हौँ ।” नारेश्वर–ताकुकोट सडक आयोजनाको ठेकेदार कम्पनी अमररगणेश जेभीका साइट इन्जिनियर सन्तोष गौतमले बर्खामा भत्किएको सडक मर्मतको तयारी गरेको र बर्खा रोकिएलगत्तै निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो।
पोखरा: पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ । फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आउनुभएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताउनुभयो । हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उहाँको भनाइ थियो । दोस्रोपल्ट पोखरा आउनुभएका उहाँले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिनुभयो । उहाँसँगै पोखरा घुम्न आउनुभएकी ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा हुनुहुन्छ । धर्मकर्ममा विशेष रुचि भएका कारण उहाँले पोखराका प्रमुख धार्मिक मठमन्दिरको पनि अवलोकन गरेको बताउनुभयो । श्रीमान्का साथमा पहिलो पटक पोखरा आउनुभएकी उहाँले आफ्नो समूहमा ३० जना रहेकाले पोखराको सुन्दरतामा रमाएको अनुभव सुनाउनुभयो । अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताउनुभयो । उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ । हिन्दू धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन् । गत साता मात्रै भारतको गुजरातबाट नीलकण्ठवर्णी स्मृतियात्रामा मुक्तिनाथको दर्शनका लागि करिब सात सय पर्यटक एकैचोटि पोखरा आएका थिए । उनीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलको समेत अवलोकन गरेका थिए । पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ । “अहिले पोखरा भारतीय पर्यटकको रोजाइको सहर बन्न थालेको छ, एक थरी पोखराको प्राकृतिक सुन्दरतामा रमाउनेहरु छन् भने अर्को थरी धार्मिक मठमन्दिरप्रति आकर्षित पर्यटक रहेका छन्”, उहाँले भन्नुभयो । विभिन्न पर्यटकीय सङ्घसंस्थाले पनि भारतमा ‘चलिए पोखरा’ लगायतका प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको उहाँको भनाइ छ । भारतीय फिल्म छायाङ्कनमा सरकारले प्राथमिकता दिने हो भने नेपालको प्रचारप्रसार हुने र यहाँको सुन्दरताले थप पर्यटक आकर्षित गर्न सकिने उहाँको बुझाइ छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको बताउनुभयो । उहाँले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताउनुभयो । उहाँले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिनुभयो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटकीय मौसममा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई केही राहत प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मौसम विदेशी पर्यटकको चहलपहल हुने समय हो, तर कोभिड पछाडि विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन, अहिले भारतीय पर्यटकसँग केही चिनियाँ पर्यटकले लेकसाइडमा चहलपहल बढाएका छन् ।” उहाँले केही महिनाअघि सिलगुडीमा भएको बङ्गाल ट्राभल मार्ट ९बिटिएम० कार्यक्रम गरेर फर्किएको जानकारी दिँदै भन्नुभयो, “धेरै भारतीयले पोखरा घुम्न रुचि देखाउनुभएको छ, तर ‘कनेक्टिभिटी’ र अन्य केही कारणले हैरानी ब्यहोर्नु परेको उहाँहरुको गुनासोे छ, भारतीय पर्यटकको गुनासो राजमार्गको अवस्था नाजुक र विभिन्न ठाउँमा सुरक्षाकर्मीको अनावश्यक जाँच, शौचालयको अभाव र हवाई ‘कनेक्टिभिटी’ बारेमा उहाँहरुको गुनासो छ, नत्र नेपाल र अझ पोखरा आउन धेरै भारतीय लालायित भएको हामीले पायौँ ।” उहाँले नेपालसँग भारतीयको भाषा, धर्म, संस्कार, संस्कृति धेरै मिल्ने र कतिपय आफन्त इष्टमित्र नै नेपालमा भएकाले पनि नेपालप्रति उहाँहरुको निकै राम्रो भावनात्मक सम्बन्ध देखिएको बताउनुभयो । पर्यटन क्षेत्रमा अर्बौको लगानी गरेका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चिन्तित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विमानस्थल सञ्चालनसँगै जुन उत्साह पर्यटन व्यवसायीमा थियो त्यो घट्दै गएको छ, अहिले भारतीय पर्यटकको आगमन केही राम्रो देखिएको छ, तर सोही अनुपातमा विदेशी पर्यटकको सङ्ख्या बढ्न सकेको छैन, लगानी उठाउन आन्तरिक पर्यटकले धान्दैन ।” उहाँले भारतीय पर्यटकका लागि धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले पोखरा रोजाइमा परे पनि सडक पूर्वाधारको नाजुक अवस्था, हवाई असुविधाका कारण उल्लेख्य मात्रमा भारतीय पर्यटक भित्र्याउन नसकिएको बताउनुभयो । पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो गत अगस्तमा ६७ हजार एक सय ५३ पर्यटक हवाई मार्गबाट आएको देखिन्छ । तीमध्ये भारतबाट आउने २६ हजार छ सय ६५ छ । अध्ययनअनुसार गण्डकीमा सात सय पर्यटकस्तरका होटल, पर्यटन क्षेत्रमा रु पाँच खर्ब बढीको लगानी रहेको उहाँले जानकारी दिनुभयो । रासस