पाल्पा जिल्लाको रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट ल्याएको छ । नगर सभाको १५ औं अधिवेशनबाट ७३ करोड ८५ लाख चार हजारको बजेट सार्वजनिक गरेको हो । चालु तर्फ ५६ करोड ३१ लाख ४४ हजार र पुँजीगततर्फ १७ करोड ५३ लाख ६० हजार गरी ७३ करोड ८५ लाख चार हजार बजेट विनियोजन गरिएको गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र दुई करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १६ करोड विनियोजन गरिएको छ । सार्वजनिक गरेको बजेटले कृषि उत्पादनमा वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ । नगरपालिकाले आयतर्फ सङ्घीय समानीकरण अनुदान १२ करोड ६ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट ११ करोड ६ लाख, सङ्घीय समपूरक पुँजीगत एक करोड ३५ लाख, सशर्त चालुतर्फ ३४ करोड ५३ लाख चार हजार, सङ्घीय सशर्त पुँजीगत एक करोड २० लाख, प्रदेश समानीकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँट ८१ लाख ४० हजार, प्रदेश समपूरक एक करोड पाँच लाख, प्रदेश सशर्त एक करोड र आन्तरिक स्रोतबाट नौ करोड ९५ लाख ९५ हजार जुटाउने अनुमान गरेको छ ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा आधा पनि बजेट खर्च गर्न नसकेको देखिएको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएको ४० अर्ब ४७ करोड ९७ लाख बजेटमध्ये जेठ मसान्तसम्म ४७.२६ प्रतिशत बजेट खर्च भएको हो । प्रदेशको कुल बजेटमध्ये जेठ महिनासम्म १९ अर्ब १२ करोड ९८ लाख ९७ हजार एकसय ५६ रुपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको मासिक खर्च विवरणमा उल्लेख छ । अहिलेको बजेट खर्चको हिसाबले लुम्बिनी प्रदेशमा शतप्रतिशत बजेट खर्च गर्न असार महिनामा ५२.७४ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ । समयमै काम हुन नसक्दा प्रदेशको आधा बढी बजेट कार्यान्वयनमा आउन सकेको छैन । प्रदेशमा चालु बजेटतर्फ ४५.१६ प्रतिशत र पुँजीगततर्फ ४८.८१ प्रतिशत बजेट खर्च भएको छ । प्रदेशको चालुतर्फको १७ अर्ब २२ करोड २७ लाख ९९ हजार बजेटमध्ये जेठ महिनासम्म ७ अर्ब ७७ करोड ४ लाख ८ हजार २ सय ४८ रुपियाँ खर्च भएको छ । त्यसैगरी पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट विनियोजन भएकोमा जेठ महिनासम्म ११ अर्ब ३५ करोड १४ लाख ८ हजार ९ सय ८ रुपियाँ खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा विनियोजित बजेट ६ करोड २ लाख रुपियाँमध्ये १०.१७ प्रतिशत बजेट खर्च भएको छ । यसैगरी अर्थ मन्त्रालयको विनियोजित १ करोड रुपियाँमध्ये ४०.३५ प्रतिशत, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको विनियोजित ५० करोड १७ लाख ५० हजार रुपियाँमध्ये २५.११ प्रतिशत खर्च भएको छ । कृषि, भूमि व्यवस्था मन्त्रालयमा विनियोजित १८ करोड ७७ लाख ७७ लाख ९५ हजार रुपियाँमध्ये ४०.८५ प्रतिशत, गृह मन्त्रालयको विनियोजित ३१ करोड ८५ लाख रुपियाँमध्ये ११ महिनामा ५४.६३ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१–०८२ का लागि प्रस्तुत गरेको बजेटमा गडबड भएको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ । बिहीबार प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै एमाले प्रदेश सभा सदस्य लिलबहादुर थापा मगरले बजेटमा भएको गडबडका सम्बन्धमा विभिन्न विषय उठान गर्नुभएको थियो । उहाँले बजेटमा देखिएको कमजोरीका कारण सरकार र अर्थमन्त्रीप्रति नैतिकताको संकट देखा परेको दावी गर्नुभयो । सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसरी प्रस्तुत गरिएको बजेटको खर्च गर्ने श्रोतको बारेमा उल्लेख गरिएको अंकको जोड कुल बजेटसँग बराबर नभएपछि यो विषयले संसदमा प्रवेश पाएको हो । थापामगरले बजेटको श्रोतमा संघ सरकारबाट १२ अर्ब ५८ करोड ५४ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, आन्तरिक राजश्वबाट ५ अर्ब १७ करोड, आन्तरिक ऋणबाट १ अर्ब ७० करोड तथा आर्थिक वर्ष २०८०–२०८१ को योजना बजेटबाट बचेको कार्यान्वयनपछिको बजेट २ अर्ब ९४ करोड मौज्दात भनेर श्रोत उल्लेख गर्दा कुल बजेटसँग हिसाब नमिलेको खुलस्त पार्नुभयो । यो जोड्दा कुल बजेट भन्दा ४९ करोड ९ लाख ७५ हजार अपुग हुन्छ । ‘यहीं नै फुल बजेट भनिएको छ, पुग्यो तरु सरकार तर्फबाट जवाफ चाहियो’ उहाँले भन्नुभयो । सरकारले हडबडमा गडबड भएको भनेर सुःख नपाउने उहाँको तर्क थियो । यो विषयमा स्पष्ट जवाफ नआउँदासम्म संसद चल्न नसक्ने उहाँको भनाई थियो । आफूले यस अगाडिको संसदमा समेत हिसाब नमिलेको कुरा प्रष्ट रुपमा राखेको स्मरण उहाँले गराउनुभयो । एमालेका प्रमुख सचेतक नेपालीले यो विषयमा प्रष्ट नभइकन सदन चल्न सम्भव नभएको बताउनुभयो । ‘मन्त्रीज्यूको जवाफ पनि आयो एउटा सिधा विषय के छ भने ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार विनियोजित रकममा खर्च गर्ने जुन–जुन श्रोतहरु बजेटमा देखाइएको छ त्यो स्रोतहरु जोड्दाखेरी टोटल बजेट आउन पर्छ की पर्दैनरु हाम्रो प्रश्न यहीं मात्र हो । ४९ करोड ७ लाख ७५ हजार रुपैयाँको श्रोत कहाँ गयोरु सिधा विषय छ यसमा । के विगतका बजेट यस्तै आउने गर्दथेरु’ सचेतक नेपालीको प्रश्न थियो । खर्च बेहोर्ने श्रोतहरु जोड्दा कुल बजेट आउनुपर्ने विषय सामान्य भएको भएपनि त्यसमा के भयो भन्ने चित्तबुझ्दो जवाफ नआएको उहाँले खुलाउनुभयो । ‘हाम्रो यति मात्र प्रश्न हो की खर्च बेहोर्ने श्रोत जोड्दाखेरी टोटल बजेटको आकार क्यालकुलेटरमा देखिनुपर्यो । त्यो देखाउन सक्नुपर्यो । अर्थमन्त्री ज्यू त्यो देखाउन सक्नुपर्छ । यो विषयमा प्रष्ट नभइकन सदन चल्ने कुरा सम्भव छैन’ उहाँले भन्नुभयो । त्यसपछि प्रतिपक्ष दल एमाले र माओवादी केन्द्रका सासंदले उठेर विरोध जनाए । सभामुख कृष्ण प्रसाद धितालले आसनग्रहण गरेर वातावरण सहज बनाउन आग्रह गर्दा समेत नमानेपछि बैठक स्थगित भयो । अब अर्को बैठक असार ७ गते शुक्रबार साढे ११ बजे बस्नेछ ।
वीरगञ्ज: सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा बिहिबार भएको दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिकाका ७५ बर्षीय कृष्ण बहादुर चौधरी ८५ बर्षीय रामबरण केवत र रुपन्देही जिल्ला मायादेवी गाउँपलिकाका ८५ बर्षीय दशरथ कुमार रहेका छन् । दुर्घटनामा घाईते भएका १७ जना जनाको सर्लाही लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ। भैरहवाबाट जनकपुरका लागि छुटेको लु १ ख ८८४८ नम्बरको बसले रोकिराखेको बिहिबार बिहान भारतीय एन एल ०१ ए एच ९२५२ नम्बरको लहरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशमा निर्माण घोषणा भएका २९ औद्योगिक ग्राममध्ये ३ औद्योगिक ग्राम आगामी आव २०८१/८२ भित्र सञ्चालनमा ल्याइने भएको छ । उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र पूर्वाधारको अवस्था हेरेर थप एउटा स्थानीय तहमा औद्योगिक ग्राम सञ्चालनको तयारी गरिएको हो । मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले ३ औद्योगिक ग्राम सञ्चालनको योजनालाई प्रदेश सरकारको बजेटले समेटेको जानकारी दिए । “आँबुखैरेनी र अर्जुनचौपारीमा उद्योग स्थापनाका लागि सम्झौतासमेत भइसकेको छ, आँबुखैरेनीमा बाँसको फर्निचर र फलामको मेसिनरी उद्योग खोल्ने तयारी छ”, उनले भने, “मन्त्रालयले स्थानीय तहलाई कार्यविधि तोकेर पठाएको छ, सोहीअनुसार औद्योगिक ग्राम सञ्चालनको प्रक्रिया अगाडि बढ्छ ।” उनले प्रदेशका अन्य औद्योगिक ग्राम सञ्चालनका लागि न्यूनतम भौतिक पूर्वाधार निर्माणको काम भइरहेको बताए । समयमा जग्गा व्यवस्थापन नहुनु, अन्तर निकाय र मन्त्रालयबीच समन्वय अभाव, स्थानीय तहको तदारुकतामा कमीजस्ता कारणले औद्योगिक ग्राम निर्माणले सोचे जसरी गति लिन नसकेको उनले बताए । तीनै तहका सरकारको लागत साझेदारीमा औद्योगिक ग्राम खोल्ने नीति छ । औद्योगिक ग्रामका लागि सङ्घ र प्रदेश सरकारबाट बजेट उपलब्ध भएपनि योजना कार्यान्वयनको जिम्मा स्थानीय तहलाई छ । जग्गा व्यवस्थापन गर्न नसकेर कतिपय ठाउँमा योजना नै अघि बढ्न सकेको छैन । कहीँ लगानी भएर पनि कामको उपलब्धि कमजोर छ । प्रदेश सरकारले गाउँठाउँमै उद्योगधन्दा खोली रोजगारी सृजना गर्ने सरकारको लक्ष्यअनुसार औद्योगिक ग्राम निर्माणको योजना अगाडि बढाएको हो । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सृजना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पु¥याउने विश्वास लिइएको महाशाखा प्रमुख आचार्यले बताए । औद्योगिक ग्राममा खानेपानी, बिजुली, नाली, घेरबार, प्रवेशद्वार, प्रदर्शनी, बिक्री र भण्डारण कक्षलगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । निजी क्षेत्रलगायत अन्य सरोकार भएका पक्षसँगको समन्वय र सहकार्यमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइनेछ । औद्यागिक ग्राममा साना तथा मझौला उद्योग रहने महाशाखा प्रमुख आचार्यले जानकारी दिए । स्थानीय स्तरमा पाइने कच्चापदार्थ, कृषि, वन पैदावर, जडीबुटी, खानी, खनिज आदिमा आधारित उद्योग खोल्न सकिने व्यवस्था छ । औद्योगिक ग्रामका लागि सरकारले हिमाली र दुर्गम पहाडी जिल्लामा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराईमा ७ बिघा जग्गाको मापदण्ड तोकेको छ । गण्डकी प्रदेशमा तनहुँको भानु नगरपालिका, ऋषिङ, आँबुखैरनी गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी, कालिगण्डकी गाउँपालिका, चापाकोट, वालिङ नगरपालिका, लमजुङको राइनास नगरपालिका, बागलुङको ताराखोला, मनाङको चामे गाउँपालिका लगायत स्थानीय तहमा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको छ ।
पोखरा: गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटमा कास्की उपाधि नजिक पुगेको छ । कास्कीले लिग चरणका सम्पूर्ण तीन खेलमा जीत हात पार्दै उपाधि नजिक पुगेको हो । समुह ‘ए’को अन्तिम खेलमा बलियो मानिएको तनहुँलाई ७७ रनले जित हात पार्दै कुल ६ अंकका साथ फाइनलमा स्थान पक्का गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर व्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । खेलको म्यान अफ दि म्याच समेत रहेका कास्कीका अर्जुन कुमालले ३५ बलमा सात चौका दुई छक्का प्रहार गर्दै व्यक्तिगत ५८ रनको योगदान दिए भने त्यस्तै अभिशेक थापा नट आउट रहँदै ११ बलमा २ छक्का र एक चौकाको सहयोगमा २६ रन जोडे । त्यस्तै कास्कीका सोहेल कुंवरले २३, मुस्कान थापाले ११ र सिव्रीन श्रैष्ठले १० रनको योगदान दिए । बागलुङका लागि चन्द्रकान्त पौडेल, प्रदिप अर्याल, दिनेश वुढा मगर र अलिक श्रेष्ठले समान १–१ विकेट लिए । यता जवाफी व्याटिङमा उत्रिएको तनहुँ १८ ओभरमा सबै १० विकेट गुमाउँदै ९४ रनमात्रै जोड्न सक्यो । तनहुँका दिनेश बुढाले ४१ रनको योगादन दिंदा कप्तान समिर कंडेलले २२ र दिपेश अधिकारीले १८ रन बनाउनु बाहेक अन्य खेलाडी दोहोरो रन छुन सकेनन् । कास्कीका लागि कृष्ण पौडेलले उत्कृट बलिङ गर्दै ३ ओभरमा २ मेडनका साथ ४ रन दिएर ३ विकेट हात पारे भने विपिन खत्रीले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए । त्यस्तै सुभास भण्डारीले २ विकेट र नितेश गिरीले १ विकेट लिए । यता आज नै ग्रुप समुहमा ‘ए’मा नै भएको प्रतिस्ठा जोगाउने खेलमा बागलुङ २९ रनले विजयी भएको छ । म्याग्दी विरुद्ध पारीको सुरुवात गरेको बाग्लुङ १८.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाउन सक्यो । म्याग्दीका हरि सुवेदीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ५ विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको म्याग्दी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनमा समेटियो । बागलुङलाई जित दिलाउन संचार निउरेले ६ विकेट लिए । उनले आफ्नो चार ओभरको स्पेलमा १० रन मात्रै दिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार समुह ‘बी’को पहिलो पर्वत र नवलपुरका बीच हुनेछ भने दोस्रो खेल स्याङजा र गोरखाकाबीच हुनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।
पोखरा: गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेको फणिन्द्र देवकोटाको पद गएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनको पद गएको सूचना सुनाएका हुन् । संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७अनुसार प्रदेश सभामा जानकारी गराएका हुन् । यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद र निर्वाचन आयोगलाई दिने र सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी प्रावधान छ ।