पोखरा: गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नवलपुरका दीपक भण्डारी नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकबाट योजना आयोगको सदस्यमा नवलुरका भण्डारीलाई नियुक्तलाई गर्दै योगले पूर्णता पाएको हो । उनी राप्रपाको कोटाबाट नियुक्त भएका हुन् । नवलपुरको कावासोती नगरपालिका ७ का भण्डारी ग्रामीण विकासमा स्नातकोत्तर हुन् । उनीसँग मध्यविन्दु बहुमुखी क्याम्पसमा पढाएको अनुभव छ । योजना आयोगको सदस्यमा नियुक्त भएका भण्डारी चेम्वर अफ कमर्स नवलुरकाका अध्यक्ष समेत हुन् । नीति तथा योजना आयोग गण्डकी प्रदेशको सदस्यमा नियुक्त भएका भण्डारीलाई चेम्बर अफ कमर्शले बधाई ज्ञापन गरेको छ । यसअघि पाण्डे सरकारले आयोग सदस्यमा असार २१ गते नेपाल समाजवादी पार्टीको कोटाबाट माया तिम्सिनालाई नियुक्त गरेको छ । उपाध्यक्षमा जेठ १७ गते गोरखाका डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका थिए ।
काठमाडौँ: पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेङ्गुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उहाँले बताउनुभयो । उहाँले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँ जिल्लामा एक सय ९६ जनामा डेङ्गु देखिएको छ । त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण देखिएको डा दाहालले बताउनुभयो । वर्षाकाबेला पानी सङ्कलन गरेर राख्ने, सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको उहाँले उल्लेख गर्नुभयो । उपत्यकामा २५५ जनामा सङ्क्रमण उपत्यकामा दुई सय ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । काठमाडौँमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा २४ जनामा देखिएको हो । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ”, रोग शाखाका प्रमुख डा दाहालले भन्नुभयो । डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । डेङ्गुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेकाले आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकैबेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्दछ । सङ्क्रमितलाई कसरी हेरचाह गर्ने सङ्क्रमितलाई झुलभित्र मात्र आराम गराउने वा सुताउने, सङ्क्रमितको हेरचाहमा खटिँदा पूराबाहुला भएको लुगा लगाउने, लामखुट्टे धूप, कोइला व लिक्विड बाल्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकाम जाली लगाउने र घर वरपर पानी जम्न नदिनेजस्ता उपाय अपनाउनु डा दाहालले जानकारी दिनुभयो ।
तनहुँ: मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरी सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो । असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन् । “बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले क्षतिलाई मध्यनजर गर्दै दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ”, इञ्जिनियर पाण्डेले भन्नुभयो, “हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्य प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्र भइसकेको उहाँले जानकारी दिनुभयो । “पूर्वीमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्र भइसकेको छ”, पाण्डेले भन्नुभयो, “राजमार्गको पूर्वीमा ४१ दशमलव सात किमी र पश्चिममा ३८ दशमलव ८८ किमीलाई दुई खण्डमा विभाजन गरी काम गरिरहेका छौँ ।” पश्चिम खण्डमा दुई लेनको गरी २० किमी सडकमा कालोपत्र गरिएको छ । असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्र कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कालोपत्र गर्न ‘सबबेस’ र ‘बेस’ विछ्याउने समयमा वर्षा भएमा थप समस्या हुने भएकाले काम बन्द गरिएको हो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । राजमार्ग सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा भएको आयोजनाले जनाएको छ ।
चितवन: गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् । बाँकी ५ जनाको भने सनाखत हुन बाँकी छ । सनाखत हुन बाँकी रहेका शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् । आज मात्रै ५ वटा शवको सनाखत भएको छ । असार ३१ गते पूर्वी नवलपरासीको विनयत्रिवेणीमा भेटिएको शव रामनगरका जितेन्द्र देवको आज सनाखत भएको छ । यस्तै, गरुडा ९ रौतहटका ९ बर्षीय बालक अशोककुमार यादव, सखुवा प्रसौनी २ पर्साका २८ बर्षियाा महिला चन्द्रप्रभा कुमारी चौधरीको शवको सनाखत भएको छ । उनीहरुको शव असार ३१ गते विनय त्रिवेणीमा भेटिएको थियो । उनीहरु दुबै जना काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । यस्तै, मंगलबार मात्रै गैंडाकोट ७ मा शव भेटिएका शितामणि थाना भारतका २७ वर्षीय विवेक यादव र मध्यविन्दु १२ पूर्वी नवलपरासीमा शव भेटिएकी वौधिमाई ७ रौतहटकी २९ वर्षीया अमृताकुमारी सनाखत भएको छ । सनाखत भएका ४ जना नै काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्सका यात्रु हुन् । भरतपुर सरकारी अस्पतालमा ३ वटा शव छन् । आज मात्रै भरतपुर महानगरपालिका वडा नं. २७ सालबासमा एक र पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ७ मा रहेको नेपाल भारत सिमानामा रहेको ब्यारेजपुलमा थप १ जनाको शव फेला परेको हाे ।
(पोखरा महानगरपालिका -१, कस्केरी)
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताएका छन् । बुधबार बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको स्वास्थ्यमा कुनै कसर बाँकी नराखी काम अगाडि बढिरहेको उनले बताए । “प्रदेशका नागरिकको स्वास्थ्यमा हामी गम्भिर छौं । शहरका अस्पताल मात्र नभई ग्रामीण भेगका स्वास्थ्य चौकीलाई समेत व्यवस्थित बनाउँदै लैजाने प्रयत्न हाम्रो छ ।”, उनले भने । मन्त्री थापाले बालमृत्युदर र अपाङ्गतालाई हटाउन खोपको आवश्यकता पर्ने हुँदा प्रदेशका बालबालिकालाई खोपको उचित व्यवस्थापन गरिएको बताए । स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको भनाई उनको छ । बागलुङ जिल्लाको धौलागिरी अस्पतालको स्तरोन्नती गर्दै दक्ष चिकित्सकद्वारा उपचार सेवा प्रवाह गर्ने कार्य भइरहेको उनले बताए । हाल ५० शैयाको स्वीकृति पाएको धौलागिरी अस्पताललाई १०० शैयाको स्वीकृतिका लागि ३५ रोपनी जग्गाको आवश्यकता पर्ने हुँदा जग्गा प्राप्ति तर्फ लाग्न उनको अनुरोध छ । जग्गा प्राप्तिको समस्या टरेपछि अस्पतालले उक्त स्वीकृति पाउने उनले बताए । धौलागिरी अस्पतालका लागि मात्र ५ करोड ३१ लख ६८ हजार विनियोजन गरिएको उनले उल्लेख गरे । गण्डकीका सांसद लिल बहादुर थापाले भौतिक विकास सँगै मानविय विकासको आवश्यकता रहेको बताए । गुणस्तरियतामा ध्यान दिँदै स्वास्थ्य क्षेत्रमा उल्लेखिय सुधार ल्याउन सकिने उनले बताए । बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले स्थानीय निकायले पनि स्वास्थ्य क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा हेरेको बताए । जिल्ला समन्वय समिति बागलुङका सदस्य सचिव बाबुराम आचार्यले बागलुङ जिल्लामा २०२ खोप केन्द्रबाट सेवा प्रवाह गरिएको जानकारी गराए । उनले १० वटा स्थानीय तहले समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताए । ५ वर्षसम्मका १३ हजार ५६ बालबालिकालाई पूर्ण खोप लगाइएको भनाई उनको छ । जिल्ला खोप समन्वय समिति बागलुङका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापा, सांसद दिपेन्द्र बहादुर थापा, डिल्लीराम सुवेदी, दिलमाया पौवी लगायतले बोलेका थिए ।
पोखरा: गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । यही असार १ गते गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले गण्डकी प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट गण्डकी प्रदेशसभाको आजको बैठकले पारित गरेको हो । मन्त्री गुरुङले आव २०८१/८२ का लागि रु ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमध्ये चालुतर्फ रु १३ अर्ब १६ करोड, पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रहेको छ । चालुतर्फ कूल विनियोजनको ३९ दशमलव ९१ प्रतिशत हो भने पुँजीगततर्फ कूल विनियोजनको ५९ दशमलव १९ प्रतिशत हो । यसअघि विभिन्न बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।