कास्की: गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले प्रदेशका ११ वटा जिल्लामा गरी एक महिनामा उक्त सङ्ख्यामा सवारीसाधनलाई कारबाही गरिएको जनाएको छ । यसैगरी सोही अवधिमा सवारीसाधन कारबाहीबाट रु एक करोड ५० लाख ५२ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यहाँ कास्कीमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । कास्कीमा सात हजार तीन सय १३ सवारी साधन कारबाहीमा पर्दा रु ५४ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ । यसैगरी नवलपरासीमा दुई हजार आठ सय सतासी सवारीसाधनबाट रु २२ लाख ४१ हजार पाँच सय, तनहुँमा तीन हजार चार सय ४५ सवारीसाधनबाट रु २६ लाख ९७ हजार पाँच सय, स्याङ्जामा एक हजार दुई सय ३५ सवारीसाधनबाट रु नौ लाख ८३ हजार पाँच सय, बागलुङमा नौ सय ७० बाट रु आठ लाख ४१ हजार, लमजुङमा एक हजार सात सवारीसाधन कारबाहीबाट रु सात लाख ६८ हजार राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । यसैगरी गोरखामा नौ सय ७२ सवारीसाधनबाट रु नौ लाख २८ हजार पाँच सय, पर्वतमा छ सय ११ सवारीसाधनबाट पर्दा रु पाँच लाख ७५ हजार, म्यादीमा पाँच सय ७४बाट रु चार लाख २५ हजार पाँच सय, मुस्ताङबाट ७५ सवारीसाधन कारबाहीबाट रु ७१ हजार पाँच सय र मनाङमा २४ सवारीसाधनबाट रु २२ हजार राजस्व जम्मा भएको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । “ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेको सङ्ख्या बढ्न थालेपछि जिल्ला जिल्लामा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ । दैनिकजसो सवारी जाँच गरिएको र नियमविपरित चलाउनेलाई कारबाहीस्वरूप जरिवाना गर्ने गरिएको छ”, प्रनाउ विकले भन्नुभयो । कार्यालयले यस अवधिमा सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रदेशभर तीन हजार दुई सय ५७ ट्राफिक जनचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । ती कार्यक्रमबाट महिला ५६ हजार दुई सय ५३ र पुरुष ९८ हजार आठ सय ८१ जना गरी एक लाख ५५ हजार एक सय ३४ जना लाभान्वित भएको बताइएको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो । सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिएपनि सरकारको अंगको रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामापनि असफलता झल्किने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको ड्युटी हो, आफ्नो ड्युटी प्रति सबै प्रतिवद्ध हुनुपर्छ ।’ कर्मचारीको वृत्तिविकास, न्यायोचित र व्यवस्थित सरुवा लगायतका विषयमा अन्तरक्रियामा सहभागी कर्मचारी संघ, संगठनहरुले चासो राखेका थिए । संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन कार्यन्वयनमा समस्या भएको गुनासो उनीहरुको थियो । जवाफमा मुख्यमन्त्री पाण्डेले प्रदेश निजामती सेवा ऐनमा देखिएका तत्काल संवोधन गर्नुपर्ने विषय प्रदेश सभाबाट तत्काल संशोधनको तयारी गरिएको बताउनुभयो । साथै उहाँले संघीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधन सहित सम्बोधन गरिने बताउनुभयो । प्रदेश कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि चालु वर्ष प्रदेश सरकारले १ करोड विनियोजन गरेको बताउँदै उहाँले प्रदेश भित्रका स्थानीय तहलाईपनी कोषमा सहभागी गराउने बताउनुभयो । कर्मचारी सरुवा र वृत्तीविकासका सन्र्दभमा उचित मापदण्ड बनाएर लागु गर्ने विषयमा सबै कर्मचारी ट्रेड युनियनलाई एकमत भएर सहयोग गर्नु उहाँले अनुरोध गर्नुभयो । प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रमुखहरु, जनप्रतिनिधिहरु, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका छौं । शिक्षामा आमुल परिवर्तन ल्याउनका लागि तीनै तहको सरकार एक भएर लाग्नुपर्ने आवश्यकता छ । स्थानीय तहलाई अझ बढी जिम्मेवार भई शिक्षामा सुधार ल्याउन सकिन्छ ।”, उनले भने । मन्त्री थापाले प्रदेश सरकारको नयाँ कार्यक्रम फ्राइडे फर फ्युचरले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान समेत उपलब्ध गराउने बताए । उनले मन्त्रालय मातहतका सम्पूर्ण कार्यालयहरुलाई समयमा काम थालनी गरी जिम्मेवारी पूर्वक सक्न निर्देशन दिएका छन् । मन्त्रालयका सचिव प्रकाश पौडेलले आधारभूत शिक्षा सुधार गर्न आवश्यक रहेको बताए । उनले मन्त्रालयले विद्यार्थीलाई मात्र केन्द्रित गरी कार्यक्रम राख्नुभन्दा पनि अभिभावक र शिक्षक सिकाईलाई समेत समेटेको जानकारी गराए । विद्यार्थीको लेखन सिपमा समेत दक्ष बनाउने गरी शिक्षामा बजेट विनियोजन भएको भनाई उनको छ । भुक्तानीका लागि मन्त्रालयले नै धाउनुपर्ने प्रवृतिको अन्त्य गरी सम्बन्धित कार्यालय मार्फत नै कार्यक्रम तथा योजनाको भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको उनले उल्लेख गरे । आबुखैरनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहमा देखिएको दरबन्दीको समस्यालाई समाधान गर्नुपर्ने बताए । कर्मचारीलाई सर्भिस डेलिभरीमा ध्यान दिन उनको अनुरोध छ । नागरिकको काम अड्काउने गरी भइरहेको सेवा प्रवाहलाई चिर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले अभिमुखीकरण कार्यक्रम मंगलबार देखि विहिबारसम्म चल्ने जानकारी गराए । तीन दिन सम्म चल्ने कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, तनहुँ, गोरखा, लमजुङ, नवलपुुर र मनाङ जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहको सहभागिता रहेको उनले बताए ।
पोखरा: गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बागलुङस्थित धौलागिरी उपप्रादेशिक अस्पताललाई कुनै विभागको शिक्षण अस्पताल बनाउन आफ्नो कार्यकालमा पहल गर्ने बताएका छन् । नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै नवनियुक्त स्वास्थ्यमन्त्री पाठकले हाल अस्पतालमा रहेका समस्या समाधान गरेर नयाँ ढंगले अघि बढ्ने योजना सुनाएका हुन् । ‘अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने सोच छ । त्यही ढंगले लाग्ने छु । आयुर्वेद अस्पताल छन् प्रदेशअन्तर्गत । त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ’ उनले भने । बागलुङकै बुर्तिबाङ र गोरखाको अमलटारी स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने काम पनि आफ्नो कार्यकालमा गर्ने उनले प्रतिबद्धता जनाए । जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नसर्ने रोगको पहिचान गर्ने र न्यूनीकरण गरेर अगाडि बढ्नपर्छ भनेर स्क्रिनिङको पहिलो निर्णय गरेको मन्त्री पाठकले बताए । मन्त्री पाठकले आन्दोलन र पार्टीमा निरन्तर लाग्दा अवसर पाइने भन्दै पार्टीसम्बद्ध कोही पनि निराश नहुन आग्रह गरे । ब्रिफिङ लिने काम सुरु भएको र त्यो सकेपछि नीतिगत हिसाबले गर्नपर्ने काममा सक्रिय हुने मन्त्री पाठकको भनाइ थियो । एमाले बागलुङ अध्यक्ष हिराबहादुर केसीले धौलागिरी क्याम्पस र धौलागिरी अस्पतालको विकास गर्न सके त्यससँग बागलुङको सुनौलो भविष्य जोडिने सुनाए । मन्त्री र बीचमा बाटो बिराउनुभएका पुरानाहरु एमालेमा फर्किनु एकैपटक हुनु बागलुङका लागि खुसीको विषय भएको अध्यक्ष केसीले बताए । आफूले जिल्ला अध्यक्ष जित्दा अध्यक्षका उम्मेदवार पाठकलाई व्यवस्थापन गर्नुपर्छ भनेर भनेको केसीले स्मरण गरे । ‘हामी दुई जना लड्यौँ । मैले जितेपछि प्रतिबद्धता जनाउँदा पाठक कमरेडको राजनीतिक व्यवस्थापन गरिनुपर्छ भनेर भनेको र पाठक मन्त्री बन्नु खुसीको विषय हो’, उनले भने । छिमेकी जिल्ला म्याग्दी, पर्वतका एमाले सांसदले यसअघि मन्त्री पाएको तर बागलुङले मन्त्री देख्न नपाउने अवस्था रहँदै आएकोमा अब त्यसको अन्त्य भएको अध्यक्ष केसीको भनाइ थियो । पाठक सफल भएमा एमाले बागलुङले भोलि फेरि अवसर पाउन सक्ने सम्भावना रहेकाले सबै मिलेर मन्त्रीलाई सफल बनाउनपर्ने उनले बताए ।
बागलुङ (ढोरपाटन): गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । आज बागलुङ नगरपालिका–४ उपल्लाचौरमा आयोजित ‘आधुनिक बसपार्कसम्बन्धी’ कार्यक्रममा उहाँले सीमित स्रोतसाधनका बीच जनताको आवश्यकता र मागअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारसँग ढुकुटी र स्रोतसाधन निकै कम भएकाले जनताको माग र आवश्यकतानुसार सबै ठाउँमा एकैपटक काम गर्न नसकेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरताका कारण सरकार बन्ने र ढल्ने गरेकाले हाल संसद्का प्रमुख दुई पार्टीसहितको गठबन्धन सरकार बनेकाले सुशासन, विकास र समृद्धिका लागि काम हुने विश्वास दिलाउनुभयो । “एकातिर प्रदेश सरकारसँग स्रोतसाधनको कमी छ, अर्कोतिर राजनीतिक अस्थिरताका कारण छिटोछिटो सरकार बदलिने समस्या छ । यसकारण पनि जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतानुसार काम हुनसकेको छैन”,उहाँले भन्नुभयो, “अहिले प्रदेशमा नयाँ सरकार बनेको छ, यो सरकारले नागरिकको निरासालाई चिर्नेगरी काम गर्नेछ । त्यसमा हामी एकताबद्ध भएर लागिरहेका छौँ ।” मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएको हुँदा पोखरासँग सबै जिल्लालाई जोडेर पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । प्रदेश सरकारले गण्डकीका ११ वटै जिल्लालाई पर्यटनसँग जोड्नका लागि गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो । “गुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुङसी गुफाको प्रवर्द्धनमा जोड दिएका हौँ ।” साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुफामा पुगिन्छ । भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुईवटा ठूला गुफामा पुगिन्छ । तीनवटा तला रहेको तल्लो चुङसी गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरका प्राकृतिक आकृति अवलोकन गर्न सकिन्छ । गुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ । गुफाभित्र नै गुम्बा रहेकाले यसको धार्मिक महत्व पनि छ । गुम्बामा लामा बस्छन् । भगवान् बुद्धको मूर्ति रहेको चुङसी गुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन् । लामाहरूले ध्यान, तपस्या गर्छन् । तल्लो चुङसी गुफाबाट थप पाँच मिनेट उकालो पैदलयात्रा गरेपछि उपल्लो चुङसी गुफामा पुगिन्छ । करिब ५० मिटर लम्बाइ र २० मिटर चौडाइको यो गुफाभित्र पनि देवीदेवताका मूर्ति, जनावर र जनावरका अङ्गका आकृतिहरू देखिन्छ । उपल्लो र तल्लो चुङसी गुुफाको फेदीमा रहेको अर्को गुुफाभित्र पानी रसाउँछ । सो पानीलाई गुफा अवलोकन गर्न आउने भक्तजन र पर्यटकले प्रसादका रूपमा भाँडामा भरेर लैजाने गर्छन् । उपल्लो मुस्ताङवासीको भाषामा चुङसीको अर्थ प्राकृतिक हुन्छ । चुङसी गुफा अवलोकन गर्नुभएका म्याग्दीका सुरेन गुरुङले शान्त वातावरण, प्राकृतिक, अलौलिक र अनौठा दृष्यले मोहित बनाएको बताउनुभयो । “साङबोचेबाट चुङसी गुुफा जोड्ने सडकलाई स्तरोन्नति, महत्व र विशेषताको प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको आइरो लाग्छ”, उहाँले भन्नुभयो, “यस्तो अनौठो गुफा अन्यत्र देखेको थिइनँ ।” गुफाको वरपर अग्ला पहाड छन् । सुक्खा पहाडको खोँच एकान्त छ । हाल दैनिक आठ–दश जनाको अनुुपातमा पर्यटक चुङसी गुफा अवलोकन गर्न जाने गर्दछन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले भेनाखोलाको फेदीबाट चुङसी गुफा जोड्ने पहाडको उकालोमा रेलिङसहितको ढुङ्गाको सिँढी बनाएर पदमार्ग निर्माण गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । भेनाखोलाको किनारमा पदमार्ग संरक्षणका लागि तटबन्ध गरिएको छ । पदमार्ग निर्माणका लागि रु ३० लाख लगानी गरिसकेको र सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । पैदलयात्रा गर्न चाहने पर्यटकका लागि समरबाट चुङसी गुफा हुँदै साङबोचे जोड्ने परम्परागत पदमार्गलाई स्तरोन्नति गरिएको छ । सडकमा सवारीसाधनमा यात्रा गर्न नरुचाउने विदेशी पर्यटकले यो पदमार्ग प्रयोग गर्छन् ।
पोखरा: गण्डकी प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन् । गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि काँग्रेसले ५ र एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । ४ मन्त्री नियुक्ति गरेर शपथ खुवाएसँगै गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको छ । नेपाल समाजवादी पार्टीका फणीन्द्रको मन्त्रालय यथावत राखिएको छ भने कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै आर्थिक मामिलामा डा। टकराज गुरुङ र समाजिक विकासमा विन्दुकुमार थापा छन् । केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेको २ महिनापछि गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ । रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेलामा नाच्ने युवा नै पाउन छोडिएको हो । भदौरे मेला ठिनीवासीको प्रमुख पर्व हो । आइतबार सकिएको ठिनीको भदौरे मेलाका संयोजक सवी थकालीले युवा जनशक्ति नभएपछि तीन दिन मनाउने भदौरे मेला पछिल्लो केही वर्षयता दुई दिन मात्र सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो । “ठिनीवासीले मनाउने सबैभन्दा ठूलो पर्व भदौरे मेला हो”, उहाँले भन्नुभयो, “मेलामा देखाउने नृत्यका लागि कलाकार जनशक्तिको कमी र गाउँमा भएकाहरुको कार्यव्यस्तताले मेला अवधि छोट्याइएको हो ।” विद्यालय पढ्ने उमेर समुहका किशोर किशोरी र ज्येष्ठ नागरिकको भरमा भदौरे मेलाको याक, झाँक्री, थकोर्चेन, योद्धा, ढोङग्रीलगायत नाचलाई निरन्तरता दिइएको थकालीले बताउनुभयो । पहिले युवा मात्र सहभागी हुने नाचमा पछिल्लो समय पाकाका साथै किशोरावस्थाका कलाकारहरु धेरै हुुने गरेका छन् । यहाँ खेतीबाली लगाएर सकिएपछि फुर्सदिला भएका गाउँलेलाई मनोरञ्जन र हिउँद सुरु भएको सन्देश दिन भदौरे पर्व मनाउने चलन छ । तल्लो मुस्ताङका थकाली समुदायको बसोबास रहेका यी बस्तीमा जनैपूर्णिमा पर्व पछि फरक फरक तिथिमा फालो मनाउने गर्छन् । भदौरे मेलामा थकाली संस्कृतिमा आधारित मौलिक नृत्यका साथै समाज र देशमा भइरहेका विकृति, विसङ्गतिलाई ब्यङग्यमार्फत खबरदारी गर्ने चलन रहेको ठिनीको जनमुुक्ति युवा क्लबका सचिव नीरज थकालीले बताउनुभयो । लामाहरुबाट गुम्बामा देवीदेवताको पूजाआजाका साथै संस्कार, संस्कृति, प्रकृति, वातावरण संरक्षणसँग सम्बन्धित सन्देशमूलक नाटक प्रर्दशन हुुन्छन् । भदौरे मेला र मौलिक नाचहरु लोप हुन नदिन पाका पुस्ताका कलाकारबाट किशोर किशोरीहरुलाई नृत्य कला र सीप हस्तान्तरण गराउने प्रयास भइरहेको घरपझोङ–५ ठिनीका वडा अध्यक्ष प्रदिप थकालीले बताउनुभयो । भदौरे मेला अवलोकनका लागि ठिनीमा देशका विभिन्न ठाउँका साथै विदेशी पर्यटकहरु पनि आउने गरेका छन् । पृथक भूगोल, ताल तलैया, गुम्बा, गुफालगायत प्राकृतिक, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनीबाहेक मौलिक कला, संस्कृति र मेला पर्वहरु पनि मुस्ताङमा पर्यटक भित्र्याउने माध्यम हुन् ।
पोखरा: नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी, बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने पक्कापक्की छ । एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने शपथको समयमै मन्त्रीबारे थाहा हुने बताए । सम्भावित मन्त्रीलाई शपथका लागि तयार रहन भनेर खबर गरिसकिएको छ । एक जना मन्त्रीका स्वकीयले पुष्टि गरे, ‘आजै शपथ गर्ने कुरा छ । १ बजे भन्ने आएको छ ।’ प्रदेश प्रमुखको निवासमा आज एक बजे नवनियुक्त मन्त्रीलाई शपथ गराउने तयारी छ ।