कोशी सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति

विराटनगर | माघ २६, २०८०

कोशी सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति

विराटनगर:   कोशी प्रदेश सरकार र प्रदेश १ को पुन: नामकरण संयुक्त सङ्घर्ष समितिबिच भएको वार्तामा आज ५ बुँदे सहमति भएको छ । 


वार्तामा प्रदेश पुन: नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन दुवै पक्षले राजनीतिक तथा संविधानसम्मत पहल र छलफल अगाडि बढाउने सहमति भएको हो । 


वार्तामा आन्दोलनरत पक्ष आन्दोलनको स्वरुप परिवर्तन गर्न सहमत भएका छन् । सहमतिको दोस्रो बुँदामा भनिएको छ ‘आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि बल प्रयोग नगर्ने ।’


यसैगरी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा भएका घाइतेको उपचारको व्यवस्था मिलाउने र सहिद परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने विषयमा पनि वार्तामा सहभागी दुवै पक्षबिच सहमति भएको छ । 


आन्दोलनका क्रममा विभिन्न मुद्दामा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउन प्रदेश सरकार सहमत भएको छ । सरकारी वार्ता टोली र पहिचान पक्षधर संयुक्त सङ्घर्ष समितिबिच आगामी फागुन १० गते अघि नै पुनः वार्ता गर्ने  र आपसी समझदारीमा वार्ताको मिति तय गर्ने सहमति भएको छ । 


शुक्रबार बिहान ८ बजेबाट सुरु भएको वार्ता दिउँसो १ बजे पाँचबुँदे सहमति गर्दै टुङ्गिएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगू, सदस्य पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र सदस्य सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । 


आन्दोलनरत पक्षबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङ्बुहाङ, युवराज राई, विवश राई, लाक्पा शेर्पा, कुमार लिङ्देन, पदम लिम्बू, अर्जुन जम्नेली राई, डम्बर लावती, पदम जबेगू र चन्द्रकुमार चौधरीले हस्ताक्षर गरेका छन् । 


कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यस विरुद्धमा पहिचानवादीहरु आन्दोलनरत छन् । उनीहरुले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दैआएका छन् ।


यसअघि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले गत असार ४ गते एक पटक औपचारिक वार्ता सङ्घर्ष समितिसँग गरेको थियो । त्यतिबेला सरकार फेरबदल र अस्थिरताका कारण वार्ताले निरन्तरता पाउन सकेको थिएन । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्