सुर्खेत: जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार घाइते नौ जना नै मजदुरहरू हुन् । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको र केहीको मृत्यु भइसकेको अनुमान प्रहरीको छ । उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।
पाल्पा: तानसेन नगरपालिकाले हिजो (बुधबार) बाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाकासाथ अगाडि बढाएको संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको बताउनुभयो । उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने कार्य तत्कालका लागि स्थगित गरिएको छ । यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेस भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाइएकाले सो समय पश्चात् हाललाई संरचना भत्काउने कार्य स्थगन गरिएको जानकारी दिनुभयो । पाल्पा दरबार सङ्ग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल सङ्गठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए ।
कास्कीः गण्डकी प्रदेशअन्तरगत लोकसेवा आयोगल प्रदेश वन सेवामा वन रक्षककालागि इच्छुकलाई दरखास्त आव्हान गरिएको छ । प्रदेशले उक्त पदमा १ सय जना स्थायी पदपूर्ति गर्न यही वैशाख ६ गते विज्ञापन खुलाएको छ । विज्ञापनमा दरखास्त बुझाउन न्यूनतम ८ कक्षा पास भएको हुनुपर्ने उल्लेख छ । आयोगले जनाएअनुरुप प्रतियोगितात्मक परीक्षा खुल्ला तथा समावेशी ढाँचामा हुनेछ । जहाँ शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित र अन्तर्वार्ता हुनेछ । निवेदन दिन वैशाख २६ गतेसम्म समयावधि छ भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म समय थपिएको छ । विज्ञापनको सम्पूर्ण विवरणः
दाङ: १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति फकाएर उपमहानगरपालिका-१३ फुलबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साे घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
सुर्खेत: कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र ऊर्जा तथा जलस्रोत विकास मन्त्रीमा उर्मिला विश्वकर्माले शपथ लिनुभएकाे हाे । प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनु भएको थियाे ।
नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ। बिहीबार १२:३० बजे मन्त्रीहरूको शपथग्रहण हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ। बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले रोकिएको थियो। कांग्रेस सांसदहरूले वरियतालाई ख्याल नगरी संसदीय दलका नेताले मन्त्रीको नाम पठाएको भन्दै असन्तुष्टि जनाएका थिए। बदलिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा पनि कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो। नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै कांग्रेस संसदीय दलले मंगलबार मन्त्रीहरूको नाम सिफारिस गरेको थियो। कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको छ। यी तीन वटा मन्त्रालयमा यसअघि एमालेबाट मन्त्री थिए। २०७९ चैत २६ गते उनीहरूले राजीनामा दिएपछि खाली भएका यी मन्त्रालय कांग्रेसलाई दिने सत्ता साझेदार दलहरूबीच सहमति भएको थियो।
पोखरा: अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले वैशाख ९ गतेभित्रै विश्वासको मत लिनैपर्ने हुन्छ । प्रदेश सभाको बैठक पनि ९ गते (शनिबार) लाई नै डाकिएको छ । सोही दिनको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै उनले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका हुन् । पत्रमा लेखिएको छ, 'संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०/०१/०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।' गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । गएको पुस २५ गते एमाले, माओवादी र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नवलपुर: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले नवलपुरको देवचुली नगरपालिका ६ किर्तिपुरस्थित देउसत खेलामा निर्मित झोलुङ्गे पुल र चुहार गाउँमा निर्मित खानेपानीको उद्घाटन गर्नुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा ६५ लाखमा निर्मित किर्तिपुर–चुहार गाउँ जोड्ने झोलुङ्गे पुलसँगै चुहारगाउँमा सहमती संस्थाद्वारा निर्मित स्वामिघाट खानेपानीको मंगलबार मन्त्री गाहामगरले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले पुल र खानेपानीको निर्माणपछि चुहारबासीको केही समस्या हल भएको धारणा व्यक्त गर्नुभयो । उहाँले चुहार गाउँमा कम बस्ती भएतापनि स्थानीयको समस्यालाई प्राथमिकताकामा राखेर पुल निर्माण गरिएको बताउनुभयो । मन्त्री गाहामगरले पुल निर्माणभएपछि वर्षायामको समयमा चुहरबासी र विद्यार्थीहरुले सास्ती भोग्न नपर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यो देउसत खोलामा पुल नहुदा चुहारका विद्यार्थी भाईबहिनीहरुले वर्षायाममा पढ्न नपाइने अवस्था थियो, मन्त्री गाहामगरले भन्नुभयो, ‘त्यही समस्यालाई मध्यनजर गरेर पुल सम्पन्न भइसकेको छ । अब विद्यार्थीहरुले सास्ती खेप्न नपर्ने विश्वास लिएको छु ।’ उहाँले सहमती संस्था र डब्लु डब्लु एफले निर्माण गरेको खानेपानीले अब चुहार बासीको दैनिकी अर्थउपार्जनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गाहामगरले मगर समुदायको बस्ती रहेको सो गाउँमा सडक, खानेपानी तथा पुलको व्यवस्था भइसकेको बताउनुहुदै यहि वर्षमा विद्युतको पहुँच पुग्ने बताउनुभयो । यस्तै देवचुली नगरपालिका ६ का वडाध्यक्ष मिन बहादुर सोतीमगरले प्रदेश सरकारमा रहेर पिच सडक, झोलुङ्गे पुलका लागि भूमिका खेलेको भन्दै आन्तरिक मामिला तथा कानूनमन्त्रीप्रति आभार प्रकट गरे । ‘यो ठाउँको विकासका लागि हाम्रो अग्रज अहिलेको आन्तरिक मामिलामन्त्री रोशन गाहामगरको ठुलो योगदान छ, सोतीमगरले भन्नुभयो, ‘किर्तिपुर आउने सडक कालोपत्रे, पुल निर्माण लगायत विभिन्न क्षेत्रमा उहाँको योगदान छ । त्यसैले हामी उहाँप्रति एकमदमै आभारी छौ ।’ वडाध्यक्ष सोतीमगरका अनुसार सो पुल प्रदेश सरकारको करिब ६५ लाख बजेटमा निर्माण गरिएको हो भने स्वामिघाट खानेपानी योजनामा सहमति संस्थाले करिब १२ लाख र स्थानीयले ४ लाखसहित श्रमदान दिएका थिए । सो पुल तथा स्वामिघाट खानेपानीको समुद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी, सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी, सहमति संस्थाका इन्जिनियर तेज प्रसाद ओझा, सहमति संस्थाका कार्यक्रम संयोजक दिनेश बास्ताकोटी, देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले, जिल्ला खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषाल, लगायतले बोलेका थिए । स्वामीघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मञ्जरी सिंजालीमगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय तिलक सोतीमगरले गरेका थिए ।
पोखरा: युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका ३३ तल्लो पुँडिटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताहव्यापी कार्यक्रम अन्तरगत आइतबार भुलभुला आधारभुत विद्यालयमा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको हो । पुस्तकालयको पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै युनाइटेड क्लबद्धारा स्थापना गरिएको पुस्तकालयको संरक्षण र पुस्तकालयमा पुस्तकको ब्यवस्थाको लागि आफ्नो वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडाको विकासका लागि आफु हरदम लागीरहेको बताउदै भुलभुला देवी मन्दिर रहेको स्थानलाई पर्यटकीय स्थल बनाउन सकेको खण्डमा पुँडिटारमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सकिने उल्लेख गरे । युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आईरहेको सन्दर्भमा पोखरा ३३ तल्लो पुंडीटारमा रहेको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरि शिक्षाको स्तरोन्नतीमा पुर्याएको सहयोग प्रति धन्यवाद व्यक्त गरे । यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर पोखरेलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे । विद्यालयका प्रध्यानाध्यापक छविलाल पौडेलले पोखरा महानगरपालिका भित्र रहेतापनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्गथामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी पुस्तकालय स्थापना गरेकोमा युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरे । ३३ नम्बर वडा महानगरको पनि कर्णाली जस्तो दुरदराजमा रहेकाले विद्यार्थी संख्या न्युन रहेको उनको भनाइ रहेको थियो । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा काम गर्दै आइरहदा एकदर्जन वढी सामुदायिक विद्यालयहरुमा अक्षयकोष, छात्रावृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामाग्री बितरण जस्ता कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा भुलभुला आधारभुत विद्यालयमा आएर पुस्तकालय स्थापना गर्न पाउदा खुसी लागेको बताउदै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उज्जवल भविष्यको समेत कामना गरे । युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुलभुला सामुदायिक बनका अध्यक्ष बैकुण्ठ गोदार, भुलभुला आमा समुहकी अध्यक्ष इश्वरी पोखरेल लगायतले बोलेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले गरेका थिए । क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश तिमिल्सिनाले धन्यवाद मन्तव्य राखेका थिए ।

