पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट छुट्टाएको छ।    आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गाउँपालिका भित्र बाँदर आतंक नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाइएको हो ।...

नवलपुर​:   नवलपुरको विनयी त्रिवेणीगाउँपालिकाको सर्दीमा आज (शनिबार) बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ ।   विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा ९ वटा बम फेला परेको हो ।   बारीमा गाडिएको अवस्थामा बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालबालिकाले खेल्ने क्रममा बम देखेपछि खबर गरेको र हेर्न जाँदा बम  भेटिएको थियाे ।   प्रहरीका अनुसार याे बम शक्तिशाली मानिन्छ ।

पोखरा:    नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराउनुभएको छ ।      संसदीय दलका तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादीले समर्थन फिर्ता लिएसँगै वर्तमान गण्डकी प्रदेश सरकार अल्पमतमा परेको भन्दै कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराउनुभएको हो । एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले शुक्रबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । निर्वाचनका समयमा राजनीतिक दलहरूबीच भएको तालमेल तथा त्यसपछि बनेको सरकारमा भएको समीकरण बदलीएको छ । नयाँ गठबन्धन निर्माण भएसँगै देशको राजनीति पुनः सही ‘लिक’ मा प्रवेश गरेको दलका नेता पाण्डेको दाबी छ । अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि न्यून रहेको अवस्थामा वर्तमान सरकारले आर्थिक दायित्व सिर्जना गर्न, कर्मचारी नियुक्ति, सरुवा–बढुवा लगायतको काम गर्नु न्याय सङ्गत नहुने उहाँले बताउनुभयो । अब सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गर्दै नेता पाण्डेले गठबन्धनका दलबीच छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

पोखरा:   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेका बताएका छन् ।  प्रदेश लोक सेवा आयोग गण्डकीको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले यस्तो धारणा राखेका हुन् ।  ‘लोकसेवा आयोगमा जनताले विश्वास गरेका छन्, लोक सेवा र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ, गुरुङले भने, ‘अहिले अन्य क्षेत्र भन्दा लोक सेवा आयोगमा जनताले बढी विश्वास गरेका छन्, लोक सेवाले राम्रो काम गर्दै आएको छ ।’ उनले संघीयतालाई कार्यान्वयन गर्न संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आवश्यक रहेको समेत बताए ।  ‘संघीयताप्रति केहीले विश्वास नभएको अभिव्यक्त गर्न थालेका छन्, संघीयता आवश्यक छ भनेर विश्वास दिलाउन संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ, उनले भने, ‘संघले प्रदेश र स्थानीय तहलाई अधिकार नदिनु संघीयता विपरित हो ।’ प्रदेश प्रमुख गुरुङले संघले प्रदेश सरकारलाई अपाङ्ग बनाउँदा जनताले चाहे अनुसार काम गर्न नसकेको समेत बताए ।  यस्तै कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लोक सेवाले निष्पक्ष कर्मचारी निर्माण गर्न सफल भएको बताए ।  ‘लोकसेवामा राजनीतिको प्रभाव हुन्छ भन्ने नकारात्मक सन्देश आमजनतामा हुन सक्छ, अधिकारीले भने, ‘लोक सेवा राजनीतिक भागबन्दामा चल्दैन, निष्पक्ष तरिकाले लोक सेवा आयोग चलिरहेको छ ।’ गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले लोकसेवामा अहिले आर्कषण घटेको भन्दै चिन्ता व्यक्त गरे ।  ‘लोक सेवाको तथ्याङ्क अनुसार महिलाको भन्दा पुरुषको तथ्याङ्कमा घटेको छ, समर्गमा महिलाको बढेपनि पुरुषको घटेको छ, गुरुङले भने, ‘वैदेशिक यात्रा र अन्य क्षेत्रमा आर्कषण बढेर जाँदा लोक सेवामा युवाहरुको आर्कषण घट्न थालेको छ ।’ उनले पछिल्लो समय आशा लाग्दो तथ्याङ्क नभएकाले यसमा अनुसन्धान गर्न आवश्यक रहेको कुलपति गुरुङले धारणा राखे ।  प्रदेश लोकसेवा आयोग गण्डकीको दोर्सो वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, उच्च अदालत पोखराका न्यायधिस इन्द्रराज आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायतले बोलेका थिए ।  कार्यक्रममा प्रदेश लोक सेवा आयोग गण्डकीमा कार्यरत कम्प्युटर अधिकृत लक्ष्मीप्रसाद पोखरेललाई नगदसहित सम्मान गरेको थियो । 

पोखरा:   नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएका छन् ।   गण्डकी प्रदेश नेकपा माओवादी केन्द्रका दलका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले ै मुख्यमन्त्री अधिकारीलाई आज राजीनामा बुझाएका हुन् ।  आज बिहान (शुक्रबार) माओवादी केन्द्रको संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीलाई राजीनामा बुझाउँने निर्णय गरेको थियो ।  नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदैं मुख्यमन्त्रीलाई दुई मन्त्रीले राजीनामा बुझाएका हुन् ।  माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिए नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा परेको छ ।  गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ । 

पोखरा:   नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको छ ।  आज (शुक्रबार) बसेको माओवादीको दलको बैठकले केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको एक सांसदले बताए ।  ‘दलको बैठकको निर्णय अनुसार प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेका छौं, सांसदले भने, ‘अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दलको सयुक्त बैठक बसेको छ, बैठकपछि मुख्यमन्त्रीलाई राजीनामा बुझाउने माओवादी केन्द्रको तयारी छ ।’ गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दलका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मन्त्री छन् । उनीहरुले केही बेरमा नै मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिने एक सांसदले  जानकारी दिए ।  माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिए नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने छ । माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिए मुख्यमन्त्री अधिकारीले ३० दिन भित्र विश्वास मत लिनुपर्छ ।  गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।   

पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने भएको छ ।  औपचारिक रुपमा माओवादी केन्द्र गण्डकीको संसदीय दलको बैठक शुक्रबार बिहान बसी सरकारबाट बाहिरिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बताए ।   ‘केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्देशन गरेको छ, मन्त्री चुमानले भने, ‘भोलि बिहान दलको बैठक बस्दै छौं, औपचारिक निर्णय बिहान नै गछौं ।’ नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने छ ।   

पोखरा:   वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन चैत १२ गते हुने कार्यतालिका अनुसार ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका छन् ।  क्याम्पसको स्ववियु निर्वाचन कार्यतालिका अनुसार (हिजो बुधबार )फागुन ८ गते ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका हुन् ।  निर्वाचन कार्यतालिका अनुसार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी र अखिल क्रान्तिकारी ‘विप्लव’ले संगठन दर्ता गरेको स्ववियु निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए ।  निर्वाचन अधिकृत डा. पुरीका अनुसार क्याम्पसमा ४ सय ८० जना मतदाता रहेका छन् ।  क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार निर्वाचन हुन नसकेको हो ।  त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुने भएपनि कास्कीको ६ क्याम्पसमा आन्तरिक विवादका कारण निर्वाचन हुन सकेको थिएन ।   

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेका छन्।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो।   कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन्।   यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो।   पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन्। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए। 'ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ',  उनले भने।   हाल  काठमाडौँ उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ। उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ।

पोखरा:  सशत्र प्रहरी बल गण्डकी प्रदेशका प्रमुख तथा गण्डकी प्रदेश सुरक्षा समितिका सदस्य डिआइजी शम्भु सुवेदीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले विदाई गरेको छ ।   काठमाडौं सरुवा हुनुभएका सुवेदीलाई प्रदेश सुरक्षा समितिको नियमित बैठकको अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले ढाकाको टोपी, खादा, माला तथा मायाको चिनोमार्फत विदाई गर्नुभयो ।   सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले उत्तरोत्तर प्रगतीको कामनासहित थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । गण्डकी प्रदेशबाट सरुवा भएपनि आवश्यक परेको खण्डमा आगामी दिनमा डिआइजी सुवेदीसँग समन्वय गर्ने धारणा राख्नुभयो ।  सो विदाई कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल आर्मी विजयपुरका पृतनापति दिपक कुमार बाँनिया, राष्ट्रिय अनुसन्धान विभागका गण्डकी प्रदेश प्रमुख अनुसन्धान निर्देशक मधु कार्की, नेपाल प्रहरीका प्रहरी उपरीक्षक खड्क बहादुर खड्का, मन्त्रलायका उपसचिव चण्डिका पौडेल लगायत मन्त्रालयका कर्मचारीहरुले खादा, माला तथा मायाको चिनो प्रदान गरिएको थियो ।   प्रदेश सुरक्षा समितिको नियमित बैठकमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, स्ववियु निर्वाचन लगायतको विषयमा छलफल भएको थियो ।