लुम्बिनी:     लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पा...

पोखरा:    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताउनुभएको छ ।   फागुपूर्णिमा (होली)का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले भन्नुभयो, “यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको छ । सम्पूर्ण नेपालीबीच आपसी  प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान पु¥याउने विश्वास मैले लिएको छु ।” वसन्त ऋतुका अनेक रङ प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसका जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा विभिन्न रङ तथा अबिर खेल्दै खुशियालीपूर्वक फागुपूर्णिमा (होली) मनाउने परम्परा रहेको सन्देशमा उल्लेख छ ।      पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।   

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले सभ्य तरिकाले होली मनाउन आग्रह गरेको छ ।   हिन्दू धर्मावलम्बीहरुको ठुलो पर्व मध्यको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सम्पूर्ण कास्कीबासीमा आग्रह गरको हो ।   कास्कीले आत्मियरुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ । होली पर्वको नाममा अपराधिक क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ।   व्यक्तिको इच्छा विपरित रंग नदल्न, लोला नहान्न, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम नअसुल्न र सार्वजनिक स्थलमा हो–हल्ला नगर्न आग्रह गरेको छ ।   यदी कोही कसैले नियम उल्लघंन गरेमा कानूनबमोजिम कारबाही गरिने र कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं. १०० मा खबर गर्न समेत जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।  

दमौली: तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ ।   तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   श्रेष्ठका अनुसार यस अवधिमा रु १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च भएको छ । केही दिन अगाडि मात्रै आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर चौडाइको प्रवेश सुरुङमा ‘ब्रेक थ्रु’ भएको हो ।   आयोजना निर्माण सम्पन्न भएपछि व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जान यही सुरुङ प्रयोग गर्न सकिनेछ । प्रवेश सुरुङ ‘ब्रेक थ्रु’ भएपछि सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान र आवतजावत गर्न सहज भएको बताइएको छ ।   आयोजनाको पहिलो चरणअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न विसं २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो । सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको थियो । सुरुङ निर्माणका लागि अन्तिम विस्फोट मङ्गलबार गरिएको हो ।   आयोजनाको चरण–१ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।   यो चरणअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको प्रबन्ध सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डाइभर्सन सुरुङ–१ अन्तर्गत हाल इनलेट र आउलेट दुवैतर्फबाट सुरुङ खन्ने कार्य भइरहेको छ भने मङ्सिर मसान्तसम्म ३४१ मिटर खन्ने काम सकिएको थियो ।”   डाइभर्सन सुरुङ–२ को इनलेट र आउटलेटको निर्माण भइरहेको र यस सुरुङको लम्बाइ ६२९ मिटर रहेकामा मङ्सिर मसान्तसम्म ३६० मिटर खन्ने काम सकिएको छ । बाँधको माथिल्लो भागको स्लोपअन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ ।   यसैगरी, बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ ।   चरण–१ अन्तर्गतको काम विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म रु दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२ दशमलव ६८ र ११ दशमलव ६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ । आयोजनाको चरण–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ अर्थात् रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो ।   खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ । यो चरणअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताउनुभयो ।   आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकदेखि खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । “कमजोर भौगर्भिक अवस्थाका कारण मुख्य सुरुङ खन्ने काम प्रभावित भएको छ, यसका अतिरिक्त कमजोर भौगर्भिक अवस्थाका कारण सर्जट्याङ्कको निर्माण रोकिएको छ,” श्रेष्ठले भन्नुभयो । आयोजनाको दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।   हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकोमा सम्पूर्ण पेनस्टक खन्ने काम सकिएको छ । श्रेष्ठका अनुसार पेनस्टक आयात भई वर्कसपमा फ्रेविकेसनको कार्य भइरहेको छ । चरण तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । २६ टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ ।   ३४ दशमलव सात किलोटिरम प्रसारण लाइनमा ९४ टावर राखिनेछ । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । 

तनहुँ:  चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो ।   यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ ।   त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ ।   चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उहाँले बताउनुभयो ।   त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् । त्यसमा बाख्रा ६९, बङ्गुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन् ।   त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।   प्रत्येक पालिकामा पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उहाँले बताउनुभयो ।   खोला खोल्सीमा रहेकाे सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

बागलुङ:  सरकारी तथा सामुदायिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको चहलपहल बढेको छ। विभिन्न पार्टीका भ्रातृ विद्यार्थी सङ्घ तथा सङ्गठनहरू स्ववियु चुनावमा होमिएका छन्।    आगामी चैत ५ गतेलाई निर्धारित स्ववियु निर्वाचनलाई लक्षित गरी धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा १० वटा विद्यार्थी सङ्गठन दर्ता भएका छन्। स्ववियु निर्वाचन कार्यतालिकाअनुसार राजनीतिक दलसँग सम्बन्धित र स्वतन्त्र नामका विद्यार्थी सङ्गठन चुनावी प्रयोजनका लागि दर्ता भएका हुन्।    स्ववियु निर्वाचन संयोजक भक्तिप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल विद्यार्थी सङ्घ (अखिल क्रान्तिकारी) दर्ता भएका छन्।    राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु (छैटौँ), अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, संयुक्त विद्यार्थी समूह, अखिल संयुक्त प्यानल, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु क्रान्तिकारी ‘विप्लव’ दर्ता भएको निर्वाचन संयोजक न्यौपानेले बताउनुभयो।    गत पुस २२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आगामी चैत ५ गते स्ववियु निर्वाचनको घोषणा गरेपछि धौलागिरि क्याम्पसमा पनि चुनावी सरगर्मी सुरु भएको हो। निर्वाचनको मिति नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थी सङ्ठनको चुनावी चहलपहल बढेको छ।    निर्वाचनमा भाग लिएका विद्यार्थी    सङ्गठनहरूले क्याम्पसभित्र सङ्गठन विस्तार तथा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरी आआफ्नो सङ्गठनमा विद्यार्थीलाई आकर्षण गर्ने काम गरेका छन्।    चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका केन्द्रदेखि जिल्ला तहका नेता, कार्यकर्ता, पूर्वस्ववियु सभापतिको क्याम्पसहरूमा उपस्थिति बाक्लो हुन थालेको धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले बताउनुभयो।    यस क्याम्पसमा स्ववियु निर्वाचनमा करिब एक हजार चार सय जना विद्यार्थीले भाग लिनेछन्। शुक्रबार साँझ ५ बजेसम्म स्नातकोत्तर तहको भर्ना बाँकी रहेको हुँदा विद्यार्थी सङ्ख्या यकिन नभएको क्याम्पस प्रमुख उपाध्यायको भनाइ छ।    निर्वाचन घोषणले आफूहरू उत्साहित भएको अनेरास्ववियु धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष अनिल शर्माले बताउनुभयो। निर्वाचनका लागि आफ्नो सङ्गठन पूर्ण रूपले तयारी अवस्थामा रहेको अध्यक्ष शर्माले बताउनुभयो।    विद्यार्थी सङ्गठनहरूले निर्वाचनमा हुन सक्ने सम्भावित गठनबन्धनलाई पनि प्राथमिकतामा राखेका छन्। संयुक्त प्यानलको नाममा सङ्गठन दर्ता गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले बताउनुभयो।    धौलागिरि क्याम्पसका विगतका निर्वाचनका विशेष गरी अनेरास्ववियु र नेविसङ्घबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ। “विद्यार्थीको हक अधिकार स्थापित गर्न निर्वाचन आवश्यक थियो,” उहाँले भन्नुभयो, “निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गर्न हामी लागिपरेका छौँ।”   प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, गलकोट बहुमुखी क्याम्पस, सर्वाेदय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ। 

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भूमिका विशेष महत्वपूर्ण हुने बताउनुभएको छ। पोखरा महानगरपालिका–३१, बेगनासमा अवस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव एवं अभिभावक दिवसमा उहाँले सो कुरा बताउनुभएको हो।    उहाँले हिजोभन्दा आज सामदायिक विद्यालयमा शिक्षाको अवस्था केही सुधार भए पनि अझै थप सुधार गर्नुपर्ने बताउनुभयो। अभिभावकले आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन प्रतिस्पर्धा गर्ने तर सामुदायिक विद्यालयप्रति बेवास्ता गर्दा शिक्षाको गुणस्तर वृद्धि हुन नसकेको उहाँको भनाइ थियो।    आफैँले पढेको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुग्नुभएका मुख्यमन्त्री अधिकारीले बाल्यकालमा सोही विद्यालयमा भौतिक पूर्वाधारको अभावका बीच अध्ययन गरेको स्मरण गर्नुभयो।    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा विभिन्न व्यक्तिले एक लाख ११ हजार १११ रुपियाँ अक्षयकोष स्थापना गर्नुभएको छ। 

मनाङ:   हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी प¥यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ”, उहाँले भन्नुभयो, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ ।”,    उहाँका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन”, उहाँले भन्नुभयो, “आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ  ।”    जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । “पुसमा हिउँ परेको भए  जमिनमुनीसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै रु तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन”, किसान गुरुङले भन्नुभयो । कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिनुभयो । यसबाट किसानलाई केही राहत मिलेको बताउनुभयो ।     “माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ”, उहाँले भन्नुभयो । बेमौसममा हिमपात बढ्ने देखिएको उहाँले बताउनुभयो । “मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ”, नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भन्नुभयो, “बल्ल मात्र हिमपातको सुरुआत भएको छ ।”   मनाङ ङिस्याङ–९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताउनुभयो । “विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौँ, अहिले बल्ला आङ्शिक रुपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ । सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्”,  उहाँले भन्नुभयो ।    नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकताअनुसार नभएको बताउनुभयो । “डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ बाक्लै देखिन्छन् तर बस्ती र खेतबारीसम्म आइपुग्ने गरी हिमपात भएको छैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँमा आवश्यक मात्रामा हिमपात हुन सकेको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेसी झरे पनि हिमपात भने आवश्यक मात्रामा नपरेको उहाँले जानकारी दिनुभयो ।    विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपंक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । तर यसपटक सोही अनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको उहाँले बताउनुभयो । जिल्लामा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायजसो मङ्सिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ ।    चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेसी झर्ने गर्दछन् । उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायत स्थानतर्फ जाने गर्दछन् । यस पटक भने उनीहरु गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ ।

अमेरिका: एउटा जुत्ताको मूल्य दुई करोड रुपियाँ पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ । प्रख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले प्रयोग गरेको जुत्ताको मूल्य दुई करोड रुपियाँको तोकिएको छ ।    विश्व खेलकुदका सर्वाधिक खेलाडी मानिन्छन् माइकल जोर्डन । उहाँको ख्याति बास्केटबलसँग जोडिएको छ । म बास्केटबलका यी सर्वाधिक नामुद खेलाडी जोर्डनको जुत्ताको कुरा हो । अमेरिकाको मुख्य व्यावसायिक बास्केटबल प्रतियोगिता आयोजना गर्ने राष्ट्रिय बास्केट बल एसोसिएसन (एनबीए) का हालसम्मकै सर्वाधिक लोकप्रिय खेलाडी जोर्डन हुनुहुन्छ । बास्केटबल खेलेरै उहाँले अकूत सम्पत्ति आर्जन गरेका छन् ।   हाल उहाँको कुल सम्पत्ति एक अर्ब ७० करोड अमेरिकी डलर बराबर छ । हाल ६० वर्ष उमेर पुगेका जोर्डनको नेतृत्वमा उहाँको टिम सिकागो बुल्सले छ पटक एनबीए जितेको छ । त्यही एनबीए जित्दा उहाँले लगाएका विभिन्न छ जोडी जुत्ता बिक्रीका लागि अहिले प्रदर्शनमा राखिएको छ । गत हप्ता प्रदर्शनका लागि यी छ जोर जुत्ता दुबईमा राखिएको थियो भने त्यसपछि हङकङ हुँदै सिंगापुर पुग्नेछ । र, यसको अन्तिम लिलामी हुनेछ । जसले बढी रकम दिन्छ, उसैले यी जुत्ता लिएर जान्छ ।    जोर्डनले लगाएको यो जुत्ता सोथवी नामक संस्थाले बेच्न पाउने अधिकार पाएको छ । द डाइनेष्टी कलेक्सनका नाममा सङ्कलन गरिएका यी छ जोर जुत्ताको मूल्य करोडौँ डलर हुने कुरा जनाएको छ । संस्थाका अनुसार, एक जोर जुत्ताको करिब दुई करोड डलर र छ जोर जुत्ताको करिब १० करोड डलर पर्ने अनुमान छ । कुनै पनि खेलाडीको जुत्ता वा उहाँले लगाएको पहिरनको यति धेरै मूल्य पर्ने यो पहिलो पटक हुनेछ । संस्थाले जुत्ता सङ्कलनकर्ता वा सङ्ग्रहकर्ताका लागि यो बहुमूल्य मोनालिसाको तस्बिर वा पवित्र र दुर्लभ वस्तु हो भनेर यसको बढाइचढाइ गरेको छ ।    यी सबै जुत्ता बुल्सका कर्मचारी टिम हल्यामले माइकल जोर्डनबाट प्राप्त गरेका थिए । ती छ जोर जुत्ता सन् १९९१, ९२, ९३, ९६, ९७ र ९८ मा उहाँले एनबीए खेल्दा लगाएका थिए । ती छ वटै प्रतियोगितामा जोर्डनको टिमले विजय हात पारेको थियो । त्यसो त जोर्डनले सन् १९९८ मा एनवीए जित्दा लगाएको जर्सी पनि गत वर्ष मात्र एक करोड डलरमा बिक्री भएको थियो ।    माइकल जोर्डनले आफ्नो खेल जीवनमा दुई वटा ओलम्पिक स्वर्ण पदक, छ पटक एनवीए च्याम्पियनसिपको उपाधि,  पाँच पटक एनबीएको सर्वाधिक महत्त्वपूर्ण खेलाडीको उपाधि जितेका छन् । 

गण्डकी:     प्रदेश  स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पु¥याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने अझै अधुरा छन् । आफ्नै निर्णय र प्रतिबद्धता कार्यान्वयनमा सरकार चुकेको छ । पाँच वर्ष बितिसक्दा पनि ‘उज्यालो गण्डकी प्रदेश’ र ‘एक घर, एक धारा’ कार्यक्रमले पूर्णता पाउन सकेको छैन । सरकारी आँकडाअनुसार प्रदेशको छ दशमलव २६ प्रतिशत जनसङ्ख्या अझै पनि खानेपानीको पहुँचबाट टाढा छ । त्रियानब्बे दशमलव ७४ प्रतिशत जनसङ्ख्यामा मात्र आधारभूत स्तरको खानेपानी सेवा पुगे पनि मध्यम तथा उच्चस्तरको खानेपानीको सुविधा नगन्य छ । कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका अनुसार ‘एक घर, एक धारा’ कार्यक्रममार्फत हालसम्म एक लाख सात हजार दुई सय ९० घरधुरीमा खानेपानी पुगेको र यसबाट लाभान्वित हुनेको सङ्ख्या पाँच लाख ४७ हजार एक सय ८० छ । मन्त्रालयको खानेपानी शाखाका इञ्जीनियर टेकन पण्डितले ‘एक घर, एक धारा’को लक्ष्य पूरा हुन अझै केही वर्ष लाग्ने बताउनुभयो । “एकानब्बे प्रतिशत जनसङ्ख्यामा पहिल्यै आधारभूत स्तरको खानेपानीको पहुँच थियो, प्रदेश सरकार आएपछि त्यो ९३ दशमलव ७३ मा पुगेको छ”, उहाँले भन्नुभयो, “यही गति रहेमा लक्ष्य भेट्टाउन अझै दई–तीन वर्ष लाग्ने देखिन्छ ।” इञ्जीनियर पण्डितले गत वर्षको तुलनामा चालु आवमा खानेपानीमा झण्डै एक अर्ब बजेट घटेको बताउनुभयो । गत आवमा प्रदेश सरकारले रु तीन अर्बभन्दा बढी बजेट खानेपानी क्षेत्रका लागि छुट्याएको थियो । “गत वर्ष २७ हजार धारा जडान गरिएको थियो, अहिले बजेट घटेपछि २० हजार मात्र धारा जोड्ने योजना छ”, इञ्जीनियर पण्डितले भन्नुभयो, “पर्याप्त बजेट र स्रोत साधनको प्रबन्ध हुन सकेमा खानेपानीको लक्ष्य धेरै टाढा छैन ।” वित्तीय स्रोतको समस्या नै मुख्य कारक रहेको उहाँको भनाइ थियो । चालु आवमा पाँच हजार पाँच सय धारा जडान भइसकेको र खानेपानीतर्फको ३५ प्रतिशत बजेट खर्च भइसकेको खानेपानी मन्त्रालयले जनाएको छ । गत वर्ष पनि सबैभन्दा बढी वित्तीय र भौतिक प्रगति सोही मन्त्रालयले गरेको थियो । इञ्जीनियर पण्डितले खानेपानी लिन आधा घण्टा बढी समय लागेमा मात्र आधारभूतस्तरको खानेपानीको सेवा नपुगेको मानिने बताउनुभयो । खानेपानीको गुणस्तर सुधार गरी मध्यम तथा उच्चस्तरको खानेपानी सेवा पु¥याउने कार्यक्रमलाई पनि निरन्तरता दिइएको उहाँको भनाइ थियो । मन्त्रालयका अनुसार चालु आवमा प्रदेशमा एक हजार दुई सय ६८ खानेपानी आयोजना निर्माणाधीन छन् । कतिपय आयोजनाको निर्माणमा हुने ढिलासुस्तीले पनि लक्ष्यलाई पछाडि धकेलिरहेको मन्त्रालयको बुझाइ छ ।  सन् २०३० सम्ममा नेपालका सबै घरधुरीमा आधारभूतस्तरको खानेपानी सेवा पु¥याउने लक्ष्य सङ्घीय सरकारको छ । लमजुङस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका प्रमुख शेखरचन्द्र केसीले खानेपानी मन्त्रालयअन्तर्गत गण्डकी प्रदेशमा ठूला–साना गरी तीन सयभन्दा बढी आयोजना सञ्चालनमा रहेको बताउनुभयो । “सङ्घी सरकारमातहत गण्डकी प्रदेशमा तीन खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकार र स्थानीय तहले सञ्चालन गर्ने खानेपानी आयोजनामा पनि सर्शत अनुदानवापत सङ्घीय सरकारबाट ठूलो बजेट आइरहेको हुन्छ ।” विद्युत् सेवामा भने प्रदेश सरकार लक्ष्य नजिक पुगेको देखिन्छ । राष्ट्रिय प्रसारण लाइन र नवीकरणकीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको जनाइएको छ । मन्त्रालयको ऊर्जा शाखा प्रमुख इञ्जीनियर जीवन श्रेष्ठले यही आर्थिक वर्षभित्रै ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारी भइरहेको बताउनुभयो । शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा मात्र बिजुली नपुगेको उहाँको भनाइ थियो ।  “पछिल्लो आर्थिक सर्वेक्षणअनुसार दुई हजार आठ सय ८४ घरधुरीमा मात्र विद्युत् नपुगेको देखिन्छ”, इञ्जीनियर श्रेष्ठले भन्नुभयो, “तत्काल केन्द्रीय प्रसारण लाइन पु¥याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रविधि प्रयोग गरेर भए पनि बिजुली बाल्छौँ ।”  बागलुङको ढोरपाटन–६ का तीन सयभन्दा बढी घरधुरी अहिले पनि उज्यालोबाट बञ्चित भइरहेको उहाँको भनाइ थियो । तनहुँ र नवलपुरका केही ठाउँमा पनि विद्युत् सेवा पु¥याउन बाँकी रहेको इञ्जीनियर श्रेष्ठले बताउनुभयो । “बाँकी रहेका सबै घरधुरीमा आउँदो असारसम्ममा विद्युत् सेवा पु¥याउने लक्ष्य छ”, उहाँले भन्नुभयो । ऊर्जा शाखाका अनुसार पाँच लाख ७४ हजार सात सय ९८ घरधुरी विद्युत् सेवाको पहुँचमा छन् । तीमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ । राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ ।  यस्तै संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कुल एक सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । प्रदेशमा रहेका ९० वटा लघुजलविद्युत् आयोजनाबाट तीन हजार दुई ९५ किलोवाट बिजुली उत्पादन भइरहेको र यसबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका छन् ।  विद्युत् प्रसारण लाइन सुधारका लागि ३० हजार चार सय ८१ वटा काठका जीर्ण पोल हटाई पक्की पोल राखिएको छ । स्थानीय तहसँगको साझेदारीमा प्रदेश सरकारले ७० हजार त्यस्ता जीर्ण पोललाई हटाएर नयाँ राख्ने लक्ष्य लिएको छ । प्रदेश सरकारले आफ्नै ऊर्जा रणनीति बनाउन तयारीसमेत थालेको छ ।