पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

  पोखरा । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) ले गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि सहयोग गर्ने  भएको छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग कोइका नेपालका देशीय निर्देैशक सङहुन घोले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।     प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्दैछ । प्रदेशभित्र आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका प्रदेशले गण्डकी प्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेको हो । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा एक सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ ।    सो अवसरमा मुख्यमन्त्री पोखरेलले दक्षिण कोरियासँग नेपालको पुरानो सम्बन्ध रहेको जानकारी दिनुभयो । गण्डकीमा प्राविधिक शिक्षाका लागि कोइकाले चासो देखाएको प्रति उहाँले आभार व्यक्त गर्नुभयो । प्रदेश सरकारको परिकल्पनालाई साकार पार्न दक्षिण कोरियाले देखाएको चासो प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।    सो अवसरमा कोइकाका देशीय निर्देशक सङहुनले पर्यटकीय नगरी पोखरामा कोरिया सरकारले लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका युवालाई रोजगारमा आबद्ध गराउन प्राविधिक शिक्षाबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने हाम्रो मुख्य चासो हो ।” सुरुआती अवस्थामा युरोपेली मुलुकले कोरियामा प्राविधिक सीप सिकाएको र त्यसैको जगबाट अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्नुभयो । त्यहीअनुसार गण्डकी प्रदेशमा सहयोग गर्न लागिएको उहाँले बताउनुभयो ।   प्रदेश सरकारले अगाडि सारेको परियोजनाको प्रारम्भिक प्रस्तावबाट आफू निकै प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले संरचना बनाइसकेपछि सरकारले कसरी सञ्चालन गर्छ भन्ने मुख्य चासोका विषय रहेको बताउनुभयो । कोरिया सरकारले लगानी गर्ने परियोजनाको महत्वपूर्ण पक्ष दिगोपना रहेको उहाँको भनाइ थियो ।    यस वर्षको अन्तिममा कोइकाको मुख्यालयमा यो परियोजनाको प्रस्ताव पठाएपछि प्रारम्भिक अध्ययनका लागि कोरियाबाटै टोली आउने उहाँले जानकारी दिनुभयो । यसका लागि चारदेखि पाँच जनाको विज्ञ टोलीले सबै पक्षसँग भेटेर अध्ययन गर्नेछ । कोरियाको नगद अनुदान मात्रभन्दा पनि प्राविधिक सहयोगमा बढी ध्यान केन्द्रित गर्नेछ । यसले परियोजना बढी प्रभावकारी हुने दाबी उहाँको छ ।    परियोजनाका बारेमा गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटाले विस्तृत जानकारी गराउनुभएको थियो । प्रदेशका लागि आवश्यकपर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारमा सरकारले सहयोगको अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।    प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ । कोइकाले पोखराको फोहर व्यवस्थापनका लागि पनि काम गर्दैछ । खासगरी नकुहिने फोहरको व्यवस्थापनका लागि युएनडिपीलगायतका दातृ निकायसँग सहकार्य गरिएको छ । पोखराको सार्वजनिक यातायात व्यवस्थित बनाउनका लागि पनि कोरिया सरकारले विशेष चासो दिएको छ । 

कास्की:   पोखरा  महानगरपालिका १४ स्थित छिनडाँडामा श्रीमतीको हत्यापछि आफ्नै पेटमा खुकुुरी प्रहार गरेका लोक बहादुर गुुरुङको अवस्था गम्भीर रहेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार गुरुङको अवस्था गम्भीर रहेको  हो ।   श्रीमातीको हत्यापछि आफ्नै पेटमा खुकुरी हानेका पतिको अहिले पश्चिमाञ्चल अस्पतालमा उपचार भैरहेको छ, इन्सपेक्टर खड्काले सुनगाभा न्यूजसँग भने, ‘उपचार भइरहेपनि अहिले उहाँको अवस्था चिन्ताजनक भएको बुझिएको छ ।’   इन्सपेक्टर खड्काका अनुसार घरायसी विवादका कारण आज बिहान लोकबहादुुर गुुरुङले आफ्नो श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरि गरेका थिए ।    त्यसपछि आफ्नै पेटमा खुुकुरी प्रहार गरि आत्महत्याको प्रयास गरेका खड्काले बताए । उनका अनुसार घाइते भएका उनको उपचारका लागि पार्कल्याण्ड पुर्याइएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।   हाल अस्पतालमा उपचरार भइरहेको गुरुङको अवस्था चिन्ताजनक रहेको खड्काले जानकारी दिए ।   सो घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:   पर्यटकीय नगरी पोखरालाई यतिबेला चुनावी माहौलले छोएको छ ।   चाहे प्रदेश सभाको होस् चाहे प्रतिनिधिसभा निर्वाचनको । यसको भन्दा कम चर्चा र रौनक छैन, पोखरा उद्योग वाणिज्य संघ चुनावको ।   वर्षायामको समय भएपनि अहिले पोखराको विभिन्न चोक तथा गल्लीमा चुनावी सरगर्मी तातेको छ । उम्मेदवारी घोषणाभएपछि पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दुई व्यवसायीको रस्सकाकस्सी चलिरहेको छ । मत आफ्नो पक्षमा तान्ने होडबाजी चलेको छ ।   यसैबीच ४४ वर्षिय पौरखी युवा व्यवसायी अर्जुन पोखरेलको चर्चा चुलिएको छ ।   तर पोखरा उद्योग वाणिज्य संघको नेतृत्व कसको पोल्टामा पार्छ भन्ने कुरा बुझ्न पोउवाको ३४ औं महाधिवेशन अर्थात आगामी भदौ २४ र २५ गतेको चुनाव कुर्नैपर्ने हुन्छ । त्यसको लागि अहिले  अध्यक्ष पदका उम्मेदुवार द्वय अर्जुन पोखरेल र पवन प्रजापती आ–आफ्नै तरिकाले चुनाव प्रचार प्रसारमा छन् ।   यी दुईको नेतृत्वमा व्यवसायीहरु कित्ताकात हुदै प्यानल नै बनाएर उम्मेदवारी घोषणासँगै घरदैलोमा कस्सिएका छन् ।     यसले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको माहौललाई नै छाँयामा पारेको छ । र समग्रमा चुनावी रोचकता बढेको छ ।   पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा प्रजापतिले भन्दा पहिले उम्मेदवारी अर्जुन पोखरेलले घोषणा गरेका हुुन् । उनले सर्वसम्मत हुने सम्भावना नभएपछि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताइएको छ ।   को हुन् ? ‘पौरखी पोखरेल’   पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनी पोखराका एक पौरखी र सफल व्यवसायी हुन् ।   अर्जुन पोखरेलको जन्म २०३५ सालमा पोखराको मट्टीखानामा भएको हो ।    २०६३ सालबाट व्यवसायमा प्रवेश गरेका पोखरेलले व्यवस्थापन (म्यानेजमेन्ट) संकायमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुुने ३४ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले रिर्साेटदेखि बैँकसम्म लगानी गरेका छन् ।    पोखरेल मट्टिखाना माउण्टेन भ्यू रिर्साेर्ट, ओमना टुर्स एण्ड ट्राभल, शंकर पेपर वर्कसप प्रालि, संस्कार ट्रेडर्स र एएनएस रियल स्टेट प्रालिका संचालक समेत हुन् । यतिमात्र नभएर उनी सिद्धार्थ बैँकका संस्थापक संचालक समेत हुन् ।    उनले भारत, बंगलादेश, चिन , दुवई, थाईल्याण्ड,अस्ट्रेलिया, जर्मन, ईटली, बेल्जीयम, नेदरल्यान्ड, स्विजरलेन्ड, बेलायत , अमेरीका लगातयका देशहरुमासमेत भ्रमण गरेका छन् ।    पोखरेलको सामाजिक संलग्नता   पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार पोखरेल गण्डकी जग्गा तथा आवास संघका अध्यक्ष हुन् । साथै उनी विरौटा क्लब र डेभिजफल क्लबका सल्लाहकार समेत हुुन् ।   उनी अहिले युवा उद्यमी मञ्ज पोखरा, होटल संघ पोखरा, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसियसन, नाटा गण्डकी प्रदेश र गण्डकी प्रदेश उद्योग संघको सदस्य समेत रहेका छन् ।     पोखरा उद्योग वाणिज्य संघको यात्रा   पोखरा उद्याग वाणिज्य संघको २०७१–२०७३ सम्म सदस्यमा रहेर काम गरेका पोखरेल २०७३–२०७५ सम्म उपमहासचिवमा निर्वाचित भए ।     उनी २०७५–२०७७ मा भने उनी महासचिवमा निर्वाचित भएका थिएँ ।    पोखरेलको प्यानलमा को-को अटाए ?   पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट घोषणा गरेका छन् ।    यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधी लौडारी रहेका छन् ।    ८ बुदें घोषणापत्रसहित चुनावी मैदानमा ‘पोखरेल’   पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले ८ बुदें घोषणा पत्र तयार गर्दै व्यवसायीहरु माँझ मत माग्दै घरदैलो अभियानमा लागेका छन् ।    पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई सबै पोखरेलीको ‘साझा घर’ बनाउने घोषणा गरेका छन् ।   पोखरा उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले भवन बनाएर व्यापारिक प्रयोजनमा उपयोग गर्नुपर्ने र जहाँ २ वटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय बनाउने घोषणापत्रमा उल्लेख गरेका छन् ।    उनले पोखरा नेपालको पर्यटकीय राजधानी भएकाले पोखराको अर्थतन्त्र पर्यटनका लागि अपरिहार्य भन्दै पोखरा उद्योग वाणिज्य संघले पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्न र नयारा पर्यटनलाइ आकर्षित गर्न क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थालको सन्चालनलाई माध्यम बनाएर पोखरालई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् ।    आफु निर्वाचित भए उनले पोखरा उद्योग वाणिज्य संघले अन्य देशका चेम्बर अफ कमर्शसँग त्रिपक्षीय सम्बन्धको स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।   

  पोखरा । पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पंक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो ।   प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । यिनीहरूले हानिकारक किटाणु सडेको मासु पचाउनसक्ने भएकाले यिनीहरूलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ ।   नेपालमा गरिएको विभिन्न अध्ययनले पछिल्लो दुई दशकमा गिद्धको सङ्ख्या झण्डै ९० प्रतिशतले घटेको छ । गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको बताउँदै घिमिरेले पछिल्लो समयमा गाईबस्तु पाल्नेक्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्नेक्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समेत समस्या थपिएको जानकारी दिनुभयो ।   डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको छ । घिमिरेका अनुसार औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ ।   विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै पोखरा र आसपासका क्षेत्रमा पाइने घिमिरेले जानकारी दिनुभयो । त्यसैले पनि पोखरा र आसपासको क्षेत्र गिद्धको मुख्य बासस्थानका रुपमा रहेको छ ।   उहाँका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गुर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान एवं कीर्किस्तानबाट आउने गरेका छन् । नेपालमा पाइने हिमाली गिद्ध १० हजारको सङ्ख्यामा छन् भने डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ ।    त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच÷पाँच सयको सङ्ख्यामा रहेको जनाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको छ । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धानकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्ध सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् ।   पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिनुभयो । विभिन्न विकास निर्माण, ट्रान्समिसन लाइन आदिका कारण पनि गिद्ध समस्यामा पर्ने गरेको जनाउँदै उहाँले गत वर्ष तनहुँको व्यास नगरपालिका वडा नं ८ मा ल्यान्डफिल साइड नजिकैको ट्रान्समिसन लाइनमा ठोक्किएर करिब ७० वटा हिमाली गिद्ध मरेको पाइएको जानकारी दिनुभयो ।    त्यस्तै गत वर्ष नै घाचोकमा दुई वटा सुन गिद्ध, एक÷एक वटा डङ्गोर गिद्ध र हिमाली गिद्ध मरेको उहाँले जानकारी दिनुभयो । पोखराको चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायतका स्थानमा डेढ दशकअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा घट्दै गएको अनुसन्धाता बताउँछन् । चाउथेलगायतका फाँटमा बस्ती विकाससँगै सिमलका ठूलाठूला रूख यतिखेर काटिइसकेको, बढ्दो बस्ती विकास, धुलोधुवाँलगायतका कारण पनि यिनीहरू सङ्कटमा परेको जनाइएको छ ।     गणना विभिन्न सात ठाउँबाट गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पोखराका घाचोक, पोखराको ल्यान्डफिल साइट, दोभिल्ला, पुम्दीकोट, हेम्जा, सेती नदीको तल्लो भूभभाग ९दुलेगौँडा सम्म० र दमौलीको ल्यान्डफिल साइटमा एकै समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म गणना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।    सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्ध प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको उहाँको भनाइ छ । अघिल्लो वर्षको पोखरामा गरिएको गणनामा २२३ सेतो गिद्ध, ९१ डङ्गोर गिद्ध, २८ सुन गिद्ध, १३ सानो खैरे गिद्ध, नौ वटा हिमालयन गिद्ध र एक वटा राज गिद्ध पाइएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि पोखराको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । 

चितवन  :  पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।  आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११ः४५ बजेपछि सञ्चालनमा ल्याइएको हो ।     जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो । पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।  

गलकोट : चालु आर्थिक वर्ष २०७९/८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान गरिएको हो ।   कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्र गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र वलेवा विमानस्थलबाट मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरिएको छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार चालु आवमै सडक कालोपत्रका लागि पूर्वाधारको काम थाल्ने जानकारी दिनुभयो । “गत फागुनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेसँगै अहिले करिडोरको हर्मिचौरबाट मालढुङ्गासम्मको  सडकखण्ड कालोपत्रका लागि ठेक्का गरिएको हो ।”    उहाँले भन्नुभयो, “नेपाली सेनाले ट्रयाकसँगै आठ मिटर चौडा पारेर सडक विभागलाई हस्तान्तरण गरेको थियो, कुन स्थानमा अहिले समस्या छ, त्यहाँ सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माणसहित सडक कालोपत्रका लागि बजेट विनियोजन भएर ठेक्कामा गएको हो, चालु आवमै छनोट भएको निर्माण कम्पनीले सडकको पूर्वाधार निर्माण थाल्ने छ ।”   गुल्मीको हर्मिचौरबाट बागलुङको पालुङखोला–टाकुरी हुँदै मालढुङ्गासम्मको सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का खोलिएको हो । करिडोरअन्तर्गतको मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किमी सडक १० मिटर चौडा बनाइ सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरेको थियो । सडक विभागलाई हस्तान्तरण गरेको साढे दुई वर्षपछि उक्त सडक कालोपत्रको तयारी गरिँदै छ ।    यस्तै बलेवा विमानस्थलबाट टाकुरी–पालुङखोला–हर्मीचौरसम्मको सडक २०७८ असारमा करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ महिनापछि ठेक्का खोलिएको हो ।  भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कका रूपमा स्थापित हुने सो करिडोरको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।    त्रिदेशीय सडकका रूपमा रहेको कालीगण्डकी करिडोरले छिमेकी भारत र चीनलाई जोडेको छ । मालढुङ्गाबाट गुल्मी रिडीसम्मको खण्डमा सेनाले २०७० सालदेखि काम गरेर सडक हस्तान्तरण गरेको छ । विसं २०७० असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्रयाक खोलेको थियो । सबै सडकखण्डको ट्रयाक खुलेपछि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडकमा नाली र कालोपत्रको काम बाँकी छ । अत्यधिक पहिरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो ।  

  चितवन :  नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।   जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।

पोखरा :  पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको छ ।    देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले आजदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो ।    महानगरले सार्वजनिक सूचना जारी गरी शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आह्वान गरेअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यक्ति तथा व्यावसायिक संस्थासँग सम्झौता गरिएको हो ।    विभिन्न व्यक्ति, कम्पनी, वित्तीय संस्थाबाट सो सङ्ख्यामा अनुमति प्राप्तपछि सञ्चालनमा ल्याइएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस् भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राखिएको छ ।   महानगर कार्यपालिका बैठकले महानगरका ३३ वटै वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय बनाउने निर्णय गरिसकेकाले आगामी एक वर्षभित्रमा निर्माण गरिने र सो समयसम्मका लागि निजी शौचालय प्रयोग गर्ने गरी सम्झौता भएको आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहरभित्र सार्वजनिक शौचालय नहुँदा कति सास्ती बेहोर्नुपर्दछ भनेर सबैले अनुभूति गरेकै विषय हो । सार्वजनिक नीति साझेदारीअनुसार मिलेर काम गर्दा नतिजा दिन सकिन्छ भन्ने भएको छ । शौचालय बाहिर देखिने गरी लोगो राखिएकाले कसले साझेदारी गरेको भन्ने स्पष्ट हुन्छ ।”   महानगरले सार्वजनिकरूपमा निःशुल्क उपयोग गर्न दिएबापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरिने जनाएको छ । शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थासँग आगामी एक वर्षका लागि सम्झौता गरिएको शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्री महानगरले आवश्यकताअनुसार उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताउनुभयो ।   उहाँका अनुसार प्रयोगमा ल्याइएका स्थानमा विशेष पहिचानयुक्त लोगोे वा सङ्केत राखिएकाले सर्वसाधारणलाई अलमल हुने छैन । महानगरले सम्झौता गरेकामा व्यक्तिगत घर, बैंक तथा वित्तीय संस्था, व्यापारिक कम्प्लेक्स, पेट्रोल पम्प, होटल तथा रेष्टुराँ आदि रहेका छन् ।  –––

काठमाडौँ :  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो ।   मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १८१, हवाई इन्धन ९आन्तरिक० को रु १९०, हवाई इन्धन ९बाह्य०को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ ।   अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र  हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ ।   मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपश्चात् पनि एक महिनामा रु ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।   आइओसीलाई २१ अर्ब तिर्न बाँकी   पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब रु २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।   आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई रु सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत रु तीन अर्ब ऋण लिएको थियो ।