पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले दुईपटक संसद विघटन गर्ने केपी शर्मा ओली नेतृत्वको पार्टीलाई जनताले भोट दिनुको कुनै औचित्य नभएको बताएका छन् । नेपाली कांग्रेसले सुरुवात गरेको जनताको साथमा कांग्रेस अभियानको अवसरमा पोखरामा आइपुगेका नेता पौडेलले पत्रकारहरुसमक्ष बोल्दै यस्तो अभिव्यक्ति दिएका हुन् । केन्द्रिय सदस्य पौडेलले ५ वर्षका लागि प्रधानमन्त्री बनाउँदा दईपटकसम्म संसद विघटन गरी जनताको मतको दुरुपयोग गरेको भन्दै अबको निर्वाचनमा ओली नेतृत्वलाई मत दिनुको औचित्य नभएको स्पष्ट पारे । ‘गठबन्धन गरेर सरकार बनाउन केपी ओलीले सुरु गरे । भोट पनि पाए । प्रधानमन्त्री पनि भए, दुईपटक संसद विघटन गरेर मतको दुरुपयोग गरे अब जनताले कुन आधारमा केपी ओली नेतृत्वलाई मत दिने’ सदस्य पौडेलले प्रश्न गरे ? उनले आगामी निर्वाचनमा नेकपा एमालेको विकल्पमा नेपाली कांग्रेस उदाउने धारणा राखे । उनले फरक प्रसंगमा पोखरालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न पोखरामा ठुला राजमार्ग र रेल मार्गले जोड्न आवश्यक रहेको बताए । नेता पौडेलले पोखरालाई पर्यटन क्षेत्रमा थप विकास गर्न नसके अन्य क्षेत्रको पर्यटन क्षेत्रको विकासले गति लिन नसक्ने भन्दै पोखरालाई हवाई क्षेत्रले मात्र नभएर ठुला राजमार्ग र रेलमार्गले जोड्न आवश्यक रहेको उल्लेख गरे । पर्यटन क्षेत्रको रुपमा पोखरामा थप विकास गर्न अझै बाँकी रहेको बताउदै पोखराको विकासमा नेपाली कांग्रेसले थप गुरुयोजना तयार पारेको सदस्य पौडेलले बताए । उनले आगामी निर्वाचनमा नेकपा एमालेको विकल्पमा नेपाली कांग्रेस उदाउने धारणा राखे । ‘गठबन्धन गरेर सरकारमा जान केपी ओली सफल भए तिन वर्ष सरकार सञ्चालन गरे तर तिनै ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरेकाहरुलाई सँगै लैजान सकेनन्, उनले भने, ‘त्यसैले देशलाई समृद्ध बनाउन अहिले कांग्रेसको नेतत्वमा गठबन्धन तयार भएको हो ।’ नेपाली कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गर्न विभिन्न कार्यक्रमहरु सार्वजनिकसमेत गरेको छ । कांग्रेसले भदौ १९ गते जनताको साथमा कांग्रेस अभियानबारे केन्द्रीय प्रतिनिधिबाट प्रशिक्षण सञ्चालन गरेको छ । कांग्रेसले भदौ २१ गते कास्कीका ७२ वटै वडामा एक साथ अभियानको बारेमा कार्यक्रम सञ्चालन गर्ने र वडा कार्यसमितिसँग र क्षेत्रबाट प्रतिनिधिहरुसँग मतदाता संवाद कार्यक्रम आयोजना गर्ने र २३ गते पार्टी कार्यालयमा गठबन्धनका दलहरुमा भेटघाट र २४ गते नेपाली कांग्रेसले आयोजना गरेको जनताको साथमा कांग्रेस अभियानसँगै ६ वटै प्रदेश सभामा एकै साथ प्रजातान्त्रिक समाजवाद र यसको सान्दर्भिकता विषयमा प्रवचन कार्यक्रमसँगै पहिलो चरणको कार्यक्रम समापन गर्ने कार्यतालिका बनाएको छ ।
पोखरा । नेकपा एमाले कास्कीले क्षेत्र नम्बर १ का लागि प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा १५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा पूर्वमन्त्रीदेखि जिल्ला र नगरका पदाधिकारीसम्म छन् । सिफारिस हुनेमा उमा सिंह एक जना मात्रै महिला रहेकी छिन् । प्रदेश सभामा नाम सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रतिनिधि सभा सदस्यका लागि पनि सिफारिस गरिएको छ । पार्टी जिल्ला अध्यक्ष एवं हाल प्रदेश सभा सदस्य रहेका मन बहादुर गुरुङ पनि प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् । एमाले कास्कीबाट क्षेत्र नम्बर १ का लागि सिफारिस हुनेहरुमा खगराज अधिकारी, दिलिप न्यौपाने, बैन बहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, पुष्पज्योती ढुङ्गाना, रामराज अधिकारी र पुष्प अधिकारी रहेका छन् ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरीय एथलेटिक्समा ९ वटा स्वर्ण पदक जित्दै कास्की प्रथम भएको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कुल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम भएको हो । प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्यपदक जितेको छ । त्यस्तै गोरखाले ६ वटा स्वर्ण, ३ वटा रजत र एक कास्य पदक जित्दै दोस्रो बन्यो । नवलपुरले ४ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा ५ हजार मिटर महिलातर्फ स्याङजाकी जानकी खरालले २१ मिनेट ५० सेकेण्डमा पुरा गर्दै प्रथम भइन् । यस्तै उक्त दुरी २१ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै तनहुँकी नम्रता गुरुङ दोस्रो हुँदा पर्वतकी संगीता विक तृतिय भइन् । उनले निर्धारित दुरी २२ मिनेट ४८ सेकेण्डमा पुरा गरिन् । पुरुषतर्फ गोरखाका दिनेश बोगटी प्रथम, गोरखाकै नवराज गुरुङ द्वितिय र पर्वतका आशिष कुँवर तृतिय भएका छन् । प्रतियोगितामा निर्धारित दुरी बोगटीले १६ मिनेट २० सेकेण्ड, गुरुङले १६ मिनेट ४४ सेकेण्ड र कुवरले १६ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए । ८ सय मिटर पुरुष दौडतर्फ पर्वतका अनिल कुवर प्रथम, गोरखाका विकास पोखरेल द्वितिय, नवलपुरका नारायण चौधरी तृतिय भए । कुवरले सो दुरी २ मिनेट ४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् । पोखरेलले २ मिनेट ६ सेकेण्ड ३१ मिलिसेकेण्ड र चौधरीले २ मिनेट ६ सेकेण्ड ६६ मिलिसेकेण्डमा पुरा गरेका थिए । सोही विधाको महिलातर्फ २ मिनेट ४४ सेकेण्डमा पुरा गर्दै स्याङ्जाकी चन्द्रकला खराल प्रथम, २ मिनेट ५२ सेकेण्डमा दुरी पुरा गरेकी नवलपुरकी यमुना थापा द्वितिय र २ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै बाग्लुङकी पार्वती नेपाली तृतिय भईन् । त्यसैगरि ४ सय मिटर पुरुष दौडतर्फ नवलपुरका नारायण चौधरी, लमजुङका विमित भुजेल र नवलपुरकै प्रकाश महतो क्रमश प्रथम, द्वितिय र तृतिय भए । चौधरीले ५२ सेकेण्ड, भुजेलले ५४ सेकेण्ड ६२ मिलिसेकेण्ड र महतोले ५४ सेकेण्ड ६३ मिलिसेकेण्डमा सो दुरी पुरा गरे । महिलातर्फ स्याङ्जाकी चन्द्रकला खराल प्रथम, कास्कीकी सविना खातुन मिया र रितु भण्डारी क्रमशः द्वितिय र तृतिय भए । प्रतियोगितामा खरालले १ मिनेट १०सेकेण्डमा उक्त दुरी पुरा गरिन् । सबिनाले १ मिनेट १२ सेकेण्डमा पुरा गर्दा भण्डारीले १ मिनेट १४ सेकेण्ड लगाइन् । २ सय मिटर दौडमा महिलातर्फ २९ सेकेण्ड ५० मिलिसेकेण्डमा पुरा गर्दै कास्कीकी अनिसा भण्डारी प्रथम भईन् । तनहुँकी निशा घर्तिले ३० सेकेण्डमा पुरा गर्दै दोस्रो भइन् । भने नवलपुरकी अप्सरा विकले ३२ सेकेण्डमा सो दुरी पुरा गरिन् । यस्तै पुरुषतर्फ कास्कीका सुदिप जोशी प्रथम भए । उनले २४ सेकेण्ड १९ मि.सि.मा उक्त दुरी पुरा गरे । नवलपुरका समिर महतोले २४ सेकेण्ड ६६ मि.सि. लगाएर पुरा गर्दै द्वितिय भने तृतिय भएका तनहुँका प्रभ बहादुर थापाले २४ मिनेट ३ सेकेण्डमा पुरा गरे । पुरुष हाईजम्पतर्फ कास्कीका सागर नेपाली प्रथम, नवलपुरका रिख बहादुर घर्ति द्वितिय र नवलपुरकै ओमबहादुर मस्राङ्गी तृतिय भए । यस्तै महिलातर्फ लम्जुङकी सिमा श्रेष्ठ प्रथम , तनहुँकी तिर्था ढकाल द्वितिय र कास्कीकी कुसुम रानामगरले तृतिय स्थान प्राप्त गरिन् । त्यस्तै ज्याभ्लिन थ्रोमा पुरुषतर्फ लम्जुङका तिर्थमान तामाङ, मनाङका विकासबाबु बराम र लम्जुङका यूनिक तामाङ क्रमशः प्रथम, द्वितिय र तृतिय भए । महिलातर्फ तनहुँकी विनिता कार्की प्रथम, सोनु नेपाली द्वितिय र विनिसा राना तृतिय भइन् । त्रिपलजम्पमा पुरुषतर्फ नवलपुरका नारायण चौधरी, नवलपुरकै समिर महतो र पर्वतका शंकर कुँवर क्रमशः प्रथम, द्वितिय र तृतिय भए । महिला डिक्स थ्रो स्पर्धामा कास्कीकी सोनु नेपाली प्रथम, गोरखाकी मञ्जु गुरुङ द्वितिय र नवलपुरकी लक्ष्मी थनेत तृतिय भएको जिल्ला एथ्लेटिक्स कास्कीका उपाध्यक्ष इन्द्र मल्लले जानकारी दिइन् ।
पोखरा । नेकपा एमालेले आउदो मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा उम्मेदवार सिफारिस गरेको छ । एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले उक्त क्षेत्रको उम्मेदवारको रुपमा राजिव पहारीलाई सर्वसम्मत सिफारिस गरेको हो । एमाले कास्की ३ ख प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटिका संयोजक सुरेन्द्र गुरुङका अनुसार उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न शनिबार एमालेबाट १० जनाले आकांक्षा व्यक्त गरेका थिए । पहारी यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सांसद भएका थिए ।
कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिका तत्वाधन र भलिबल संघले संविधान दिवसको अवसरमा ‘गण्डकी प्रदेश अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता (माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप) आयोजना गर्ने भएको छ । पोखरामा आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी ३० गतेदेखि असोज १ गतेसम्म ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिने जानकारी दिइएको हो । माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेशमै पहिलोपटक अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले सो प्रतियोगिताका लागि गण्डकी प्रदशको ८५ स्थानीय तहलाई पत्राचार गरिसेको बताए । ‘हामीले यस प्रदेशको सबै स्थानीय निकायलाई आधिकारिक रुपमा मेल गरिसकेका छौं, उनले भने, ‘तयारी तिब्र भइरहेको छ । हाम्रो मुख्य लक्ष्य भनेको युवाहरुलाई एक सुत्रमा बाँध्ने र आपसी सद्भाव कायम गराउने हो । त्यसैले हाम्रो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्नेछ ।’ उनका अनुसार सो प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २ लाख प्राप्त गर्नेछ । यसैगरि उपविजेताले विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख २० हजार हात पर्नेछ । सो प्रतियोगिताबाट अन्तिम दुई सेमीफाइनलमा प्रवेश गरेका दुई टिमलाई समेत सान्त्वना पुरस्कार स्वरुप शिल्ड, मेडल तथा प्रमाणपत्रसहति नगद रु ३०/३० प्रदान गरिने अध्यक्ष पुनले बताए । उनका अनुसार सो प्रतियोगिताबाट एक जनालाई सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिनेछ भने अन्य ६ वटा विधामासमेत जनही ७ हजारको दरले उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको सचिव मोहनसिंह तामाङले बताए । उनले प्रतियोगिता अवधिभर हाँस्यव्यङ्ग्य प्रहशन तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको बताए । माछापुच्छ्रे गाउँपालिकाले सहयोगमा सम्पन्न हुने सो प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका वडा २ भुर्जुङखोलामा सञ्चालन हुनेछ । भने सो मेलालाई २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय महिला फुटबलमा स्याङ्गजा र पुरुष फुटबल तर्फ नवलपुरले जितेको छ । पोखरा रंगशालाको बि ग्राउन्डमा शनिबार सम्पन्न भएको खेलमा कास्कीलाई शुन्यको विरुद्ध ५ गोल गर्दे स्याङ्गजाले जित निकालेको हो । स्याङ्गजाको जितमा पुष्पा गुरुङले खेलको १२ औ मिनेटमा गोलको खाता खोलेकी थिइन । त्यस्तै खेलको २२ औ मिनेटमा टीम क्यापटेन शुष्मा जिटीले गोल गर्दे गोल संख्या दोब्वर बनाएकी थिइन । खेल अवधीभर कास्की माथि हावी भएको प्रतियोगितको ३९ र ४० औ मिनेटमा सुक्रिया मियाँले २ गोल गरेकी थिइन । त्यस्तै खेलको ४८ औ मिनेटमा पुष्पा गुरुङले आफनो टीमको लागि अर्को १ गोल थप्दै जित सुनिश्चित गरेकी थिइन । विजयी खेलाडीहरुलाई एक कार्यक्रम बिच ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जितले बताए । विजयीजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दे कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङले भोलि बेलुकी सम्म नवौ राष्ट्रिय प्रतियोगितमा सहभागी हुने गण्डकी प्रदेशको फुटबल खेलाडीहरुको अन्तिम नामवली प्रकाशन गरिने बताए । त्यसको लागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङको संयोजकत्वमा ५ सदस्य कोर टीम बनाएको गुरुङले जनाए । पुरुष फुटबलमा नवपुरको जित पोखरा रंगशालामा शनिबार सम्पन्न भएको पुरुष फुटबलमा लमजुङ्गलाई शुन्यको विरुद्ध १ गोल गर्दे नवलपुरले जित निकालेको छ । नवलपुरको जितमा खेलको ४३ औ मिनेटमा टेक बहादुर पाटाले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लमजुङ्गले खेल अन्तिम सम्म फर्कने प्रयास गरे पनि सफल हुन सकेन । अन्तत खेलको नजिता नवलपुरलाईलाई सुम्पन्न बाध्य भयो ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा देशकै प्रतिष्ठित उद्योगी घराना केसी ग्रुपको ‘इण्ट्रि’ भएको छ । संघको कर्पोरेट सदस्यमा केसी ग्रुपका बन्दना कार्की निर्विरोध चयन हुनुभएको हो । उहाँले युनाइटेड इदी मर्दि हाइड्रोपावर कम्पनी प्रालिका तर्फबाट उक्त पदमा प्रतिनिधीत्व गर्नुभएको हो । माछापुच्छ्रे बैंक प्रालिका निर्देशक समेत रहनुभएका कार्की पोखराको जोण्टा क्लव, नेपाल भारत मैत्री संघ लगायत अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशिल हुनुहुन्छ । संघको अर्को कर्पोरेट सदस्यमा इजी टे«डिङ प्रालिका रामप्रसाद कँडेल मनोनित हुनुभयो । पोखरा उद्योग वाणिज्य संघले ३४औं महाधिवेशन यहि भदौ २४ र २५ गते हुँदैछ । त्यसको पूर्वाद्र्धमै उहाँहरु निर्विरोध हुनुभएको हो । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ । संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना, औद्योगिकबाट १ जना तथा बस्तुगतबाट ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ ।
पोखरा : आइतबार बिहान पोखराबाट मुुस्ताङको जोमसोमका लागि उडको समिट एयरको जहाजमा समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ । पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ७ बजेर ५९ मिनेटमा मुुस्ताङको जोमसोम उडेको जहाज पोखराका आकाशमा एक फन्को मारेर ७ मिनेटपछि आपतकालीन अवतरण भएको हो । उडेको केहीबेरमै पाइलटले इन्डिकेसनमा प्रोब्लम (खराबीको संकेत)को जनाउ पोखरा विमानस्थलको टावरलाई दिएका थिए । तत्कालै पाइलटले दाहिने इन्जिन अफ गरी पोखरा विमानस्थलमै जहाज अवतरण गराएका हुन् । ‘सामान्य खालकै अवतरण भएको हो, ग्राउन्डमा अरु त्यस्तो आपतकालीन तयारी पनि गर्नुपरेको होइन,’ सूचना अधिकारी सुवेदीले भने । उक्त जहाजमा १८ जना यात्रु थिए । जहाजमा ठूलै खराबी देखिँदा विमानस्थलमा दमकल लगायतको तयारीसहित आपतकालीन तैनाथी गरिन्छ । तर समिटका हकमा त्यसो गर्नुपरेको थिएन । पाइलटले त्यस्तो कुनै तैनाथी आवश्यक नपर्ने जनाउ पनि टावरलाई गराएका थिए ।
तनहुँ : व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान चिन्तित भएका उनीहरु समस्यामा परेका हुन् । करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिनुभयो । “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो”, उहाँले भन्नुभयो । राम्रो मूल्य पाउने आशामा हिउँदे मकैखेती लगाए पनि चमरा काढ्ने र घोगा हाल्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनीहरुको भनाइ छ । किराको रोकथामका लागि पटकपटक औषधि प्रयोग गरे पनि समाधान गर्न नसकिएको जनाइएको छ । सधैँ यस्तै बाली नष्ट हुन थालेपछि अर्को वर्षदेखि घाँस लगाउने योजनामा त्यस क्षेत्रका किसान रहेका छन् । पन्ध्र वर्षसम्म लगातार वैदेशिक रोजगारमा पसिना बगाएर अब आफ्नै देशमा कृषि पेशा गर्ने सोच बनाएर बसे पनि उपलब्धि नदेखिएको किसान आचार्यको भनाइ छ । कति विदेश बस्ने भनेर अब आफ्नै परिवारसँग बसेर कृषि पेशा गरौँ भनेर अँगाल्दा घाटामात्रै भोग्नुपरेको उहाँको दुःखेसो छ । उहाँले मकैखेती सँगसँगै कोदोखेतीका साथै गाईपालन पनि गर्दै आउनुभएको छ । मकैसँगै कोदोमा पनि फौजी किराले नोक्सान पुर्याएको छ । मकै र कोदोबालीमा किराले नष्ट बनाएपछि सम्बन्धित कार्यलय वडाको कृषि प्रविधिक, नगरपालिकामा र कृषि ज्ञान केन्द्रमा जानकारी गराउँदा कृषि ज्ञान केन्द्रले औषधि दिनेबाहेक अन्य केही सहयोग नपाएको किसानको गुनासो छ । स्थानीय अर्का किसान तिलकुमारी आचार्यले पनि बर्सेनि फौजी किराले मकैबाली नष्ट हुँदा घाटा व्यहोर्नुपरेको बताउनुभयो । किसानलाई घाटा पर्दा कुनै पनि निकायबाट सहयोग नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो । बिहान उठेर मकैबारी हेर्दा निकै उराठ लाग्ने गरेको किसान बताउँछन् । व्यास नगरपालिकामा दक्ष प्राविधिक नहुँदा किसानले समस्या भोग्नुपरेको ब्यास नगरपालिका–१३ का वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो । कृषिखेती गर्ने किसानले भरिएको वडा भए पनि सधैँ किसानले नोक्सान व्यर्होनुपरेको उहाँले बताउनुभयो । दीर्घकालीनरूपमा कसरी समाधान गर्न सकिन्छ भनेर गम्भीरताका साथ लागिएको छ । उहाँले भन्नुभयो, “किसानलाई राहत दिलाउनका लागि आफूले पनि पहल गरिरहेको छु ।”

