काठमाडौँ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको हो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न वि.सं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा दोस्रो ठूलो दलका रुपमा लोकतान्त्रिक प्रगतिशील गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेको छ । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले विर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्व क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबुआमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । बिपीले लेख्नुभएका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजीबजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पु¥याएको छ । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बिपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम बिपी जयन्ती मनाउन लागेको जनाइएको छ ।
काठमाण्डौं: नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीय लामिछानेलाई निलम्बित गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै नेपाल क्रिकेट संघले काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारीगरेको भन्दै निलम्बित गरेको हो । क्रिकेटर लामिछाने विरुद्ध जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको थियो ।
पोखरा: पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबल प्रतियोगिता बिहिबार ६ खेल सम्पन्न भएका छन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बिहिबार) भएको पहिलो खेलमा ठाटीको अनुपस्थितिमा ससत्र प्रहरी बल मालेपाटनले वाकओभरमार्फत विजयी बनेको क्लबका अध्यक्ष कुशल प्रसाद छन्त्यालले जानकारी दिए । उनका अनुसार दोस्रो खेलमा गलकोट बाग्लुङले गुरुकुल नयाँबजारलाई २५–१५ र २५–१६ को अंकसहित सोझा सेटमा पराजित गर्याे । तेस्रो खेलमा अन्नपूर्ण गाउँपालिकाले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रलाई २५–१७ र २५–२० को अंकसहित सोझा सेटमा हरायो । चौथो खेलमा माछापुच्छ्रे गाउँपालिका भलिबल संघले धवलागिरीलाई २५–२२ र २५–२१ को अंकसहित सोझा सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो । पाँचौ खेलमा मामा भान्जा टिमले हेडजा भलिबल क्लब तनहुँलाई २५–१८ र २५–१५ को अंकसहित सोझा सेटमा हरायो । त्यसैगरि अन्तिम खेलमा छन्त्याल युवा संघ कास्कीले भूपु गाइजलाई २५–२३, २४– २६ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गरेको थियो । महिला तर्फ लामाचौर पुन समाज र प्रदेश प्रहरी तालिम केन्द्र पोखराबीच आज हुने भनिएको खेल अविरल वर्षाका कारण स्थगित भएको थियो । उक्त खेल शुक्रबार बिहानै ८ बजे सञ्चालन गरिने अध्यक्ष छन्त्यालले बताए । कार्यक्रम संयोजक मजोज खड्काका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार शुक्रबार पनि प्रवेश शुल्क १ सय नै निर्धारण गरिएको छ । यसभन्दा अघिल्लो संस्करणको प्रतियोगिताबाट संकलित प्रवेश शुल्क मध्येबाट १ लाख मृगौला पीडितलाई सहयोग गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ २२ टिमको सहभागिता रहेको छ भने महिला तर्फ १० टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
पोखरा । मगरात राष्ट्रिय समन्वय समितिको राष्ट्रिय भेला तथा विस्तारित वैठक नवलपुर जिल्लाको कावासोतीमा आगामी ३० गते हुने भएको छ । नवलपुरको कावासोतीमा आज ९बिहिबार० बसेको बैठकले उक्त निर्णय गरेको हो । मगरातको पहिचान र अधिकारको विषयमा मुद्दा उठाउदै आएका जनता समाजवादी पार्टी नेपालको भातृसंगठन अन्र्तगतको मगरात राष्ट्रिय समन्वय समिति पुनर्गठन गर्नु पर्ने भएकोले सो राष्ट्रिय भेला तथा विस्तारित बैठकको आयोजना गरिएको मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज निर्मल जिसीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय भेला सम्पन्न गर्न मगरात राष्ट्रिय समिति गण्डकीका इन्चार्ज तथा केन्द्रिय सदस्य सुवेदार छबिलाल रानाको संयोजकत्वमा १ सय १ सदस्यीय मगरात राष्ट्रिय समन्वय समिति पुनर्गठन सम्बन्धि कार्यदल बनाइएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको प्रमुख आतिथ्यतामा तथा समितिका उपाध्यक्ष श्याम माया पुन मगरको अध्यक्षतामा बैठक बसेले सो निर्णय गरेको थियो । सो पुनर्गठन सम्बन्धि तयारी बैठकमा पार्टी केन्द्रिय राजनीतिक समिति सदस्य तथा तमुवान राष्ट्रिय समिति इन्चार्ज रुद्र बहादुर गुरुङ, मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज तथा केन्द्रिय राजनीतिक समितिका सदस्य निर्मल जिसी, गण्डकी प्रदेश सह–इन्चार्ज धन प्रसाद तामाङ,लुम्बिनी प्रदेश सह– इन्चार्ज नवीन कुमार सुनुवार, मगरात राष्ट्रिय समन्वय समिति सह–इन्चार्ज खडक बहादुर आले, मगरात गण्डकी इन्चार्ज छबिलाल राना, मगरात लुम्बिनी इन्चार्ज हरिकला थापा, तमुवान राष्ट्रिय समिति अध्यक्षका प्राध्यापक मन बहादुर गुरुङ , मगरात राष्ट्रिय समिति गण्डकीका अध्यक्ष सुस्मिता थापा, संघीय परिषद सदस्य देव परियार, प्रदेश उपाध्यक्ष तथा नवलपुर जिल्ला इन्चार्ज सुवेदार तेज बहादुर थापा, प्रदेश सचिव राम तामाङ , सदस्य देविसरा पुलामी, नवलपुर जिल्ला अध्यक्ष जगत काजी गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।
बागलुङ : बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो । उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो । आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो । अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।” विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउनुहुन्छ । ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ । “धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उहाँले भन्नुभयो, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।” ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताउनुभयो । “कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो”, उहाँले भन्नुभयो । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताउनुभयो ।
पोखरा : पोखरा महनगरपालिका- ९ महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काउने सुचनाको पुर्व सन्ध्यामा व्यापारीहरुले रातरात पसल हटाउन थालेका छन् । भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई भवन खाली गर्न महानगरपालिकाले साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरेको थियो । सोमबार पोखरा महानगर वडानम्बर -९ का अध्यक्ष दिपेन्द्र मर्सानीले व्यापारीहरुलाई गुलावको फुल दिएर व्यापारीहरुलाई सटर खाली गर्न आग्रह गरेका थिए । भवन भत्काएर उक्त स्थानमा पार्क र सार्वजनिक शौचालय बनाउने महानगरको योजना छ ।
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । निजामती सेवा दिवसका अवसरमा प्रदेश मुल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यी दुई अध्यादेश ल्याउन सरकारले अन्तिम तयारी गरेको बताए । कर्मचारी समायोजन ऐन लागु भएर त्यही अनुसार समायोजन भएका कर्मचारीको वृत्तिविकास रोकिएको, कर्मचारीको पदपूर्ति गर्न नसकिएकाले प्रदेशले अध्यादेशबाटै भए पनि यी दुई कानुन ल्याउन लागेको मुख्यमन्त्रीले बताए । उनले भने, संघ सरकारले निजामती सेवा ऐन ल्याउला कि भनेर कुर्दा ५ वर्ष बित्न लाग्यो, हामीले तयारी गर्दागर्दै ढिला भयो, अब छिटै अध्यादेश ल्याउँछौं । स्थानीय तहमा कार्यरत सबै खालका कर्मचारी र प्रदेशमा समायोजन भएर आएकाहरुको हितलाई ख्याल गरी सरोकारवालासँग छलफल गरेर अध्यादेशको मस्यौदा तयार भइरहेको मुख्यमन्त्रीले भनाइ राखे । शासन व्यवस्था फेरिए पनि संघले प्रदेश र स्थानीय तहमा अधिकार हस्तान्तरण गर्न आनाकानी गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । एकात्मक शासन व्यवस्थाबाट संघीयतामा गएको अवस्थामा संविधानले निदृष्ट गरेका अधिकारसमेत दिन हिचकिचाउनुलाई उनले पुरातन राज्यव्यवस्थाको अवशेषको संज्ञा दिए । मुख्यमन्त्री पोखरेलले कर्मचारीले सम्पादन गर्ने कार्यले सरकारको व्यवहार झल्काउने भएकाले त्यही अनुसार संवेदनशील भएर काम गर्न आग्रह गरे । मुलुकको आर्थिक अवस्था अनुसार निजामती कर्मचारीको तलब र सुविधा निर्धारण गरिएको भन्दै उनले अन्य देशको तुलनामा यो कम रहे पनि सन्तुष्ट भएर काम गर्नुपर्ने अवस्था रहेको भनाइ राखे । कार्यक्रममा आन्त्रिक मामिला मन्त्री डोबाटे विश्वकर्माले संघबाट अधिकार नपाएको खण्डमा प्रदेश र स्थानीय तह संघर्षमै उत्रनुपर्ने उनले भनाइ राखे । नागरिकको चाहाना अनुसार कर्मचारीले कार्यसम्पादन गर्न पनि उनले आग्रह गरे । प्रमुख सचिव रवीलाल पन्थले काम गर्ने सिलसिलामा भएका कमीकमजोरी सुधार गरेर सुशासन कायमका लागि निजामती कर्मचारी प्रतबद्ध हुनुपर्ने बताए । सामूहिक स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सके लक्ष्य प्राप्ति हुने उनको भनाइ थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विश्वव्यापीकरणमा प्रतिस्पर्धा गर्न गरी फिल्डमा उत्रन उनले कर्मचारीवर्गमा आग्रह गरे । राज्यशक्तिको स्थायित्वका लागि मुख्य औजार नै निजामती सेवा रहेको भन्दै उनले कर्मचारीले सेवा प्रवाह गर्ने मात्र नभई लोकतन्त्रको जगेर्ना समेत गर्ने भनाइ राखे । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष अशोक खनाल, नेपाल निजामती कर्मचारी युनियनका प्रदेश अध्यक्ष दीपक रेग्मी, राष्ट्रिय कर्मचारी संगठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद पौडेलले प्रदेश सरकारले ल्याउन लागेको अध्यादेश कर्मचारीमैत्री हुनुपर्ने भनाइ राखे । दिवसका अवसरमा निजामती कर्मचारी संगठनले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरेको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई मुख्यमन्त्री पोखरेलले प्रमाणपत्र र पुरस्कार प्रदान गरे । निजामती कर्मचारी युनियनले रक्तदान कार्यक्रम गरेको थियो । उक्त अवसरमा रक्तदान गर्ने ३० जनालाई पनि मुख्यमन्त्री पोखरेलले प्रमाणपत्र हस्तान्तरण गरे । उक्त अवसरमा पूर्व कर्मचारी सेवा परिषदले प्रकाशन गरेको गोधुलीको सन्देश पत्रिका मुख्यमन्त्री पोखरेलले विमोचन गरेका छन् । पूर्व कर्मचारीहरुलाई पनि मुख्यमन्त्रीले सम्मान गरेका छन् । निजामती कर्मचारी दिवसकै अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले डिजिटल नागरिक सेवा बडापत्र सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त सेवा सार्वजनिक गरे । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका बारेमा अडियो, भिजुअल सामग्री बनाएर प्रतिक्षालयमा राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालले हालका लागि १ ठाउँमा दृश्य र ३ ठाउँमा अडियोमार्फत् सन्देश सार्वजनिक गरिने जानकारी दिए ।
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिश भएको छ । कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुंग, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त रहेका छन् । केन्द्रीय उपाध्यक्ष गुरुंगको नाम यसअघि क्षेत्र नम्बर १ बाट समेत सिफारिश भएको छ । त्यस्तै प्रत्यक्षतर्फ प्रदेश क मा राप्रपाका प्रदेश अध्यक्ष समेत रहेका पञ्चराम गुरुंग, जिल्ला उपाध्यक्ष ईश्वरी चापागाँई र जिल्ला सविच भानु भण्डारी क्षितिजको नाम सिफारिश भएको छ । प्रदेश ख तर्फ भने कास्की जिल्ला प्रवक्ता अरुण गिरी सर्वसम्मत सिफारिशमा परेका छन् । त्यस्तै प्रतिनीधिसभा समानुपातिक तर्फ रोमबहादुर भण्डारी, बिष्णुकुमारी गुरुंग, जयलाल पुन, शंकर खराल, हरिप्रसाद बराल र पार्वता पौडेल गरि ६ जनाको नाम सिफारिश भएको छ । प्रदेशतर्फ समानुपातिकमा शिवप्रसाद चालिसे, मदन परियार, चित्रबहादुर भण्डारी, सिता खड्का, मादाप्रसाद जैसी, विष्णु खड्का कार्की, सूर्य पुन, रञ्जना सेन पौडेल र शंकर खरालको नाम सिफारिश भएको राप्रपा कास्की क्षेत्र नम्बर २ का अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।
पोखरा : पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा छैटौं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बुधबार) देखि क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलबाट आयोजक टोलीले घलेल युवा क्लबलाई पराजित गर्दे सुखद सुरुवात गरेको छ । आयोजकले घलेल युवा क्लबलाई २५–१३, १९– २५ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार अर्को खेलमा नेपाल प्रहरी प्रशिक्षण केन्द्र पोखराले भुक देउराली क्लब पर्वतलाई १७–२५, २५–२१ र २५–१७ को अंकसहित २–१ सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो । नवौं राष्ट्रिय खेलकुदको प्रर्वद्धनमा सघाउ पुर्याउछः राखेप सदस्य गुरुङ प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले नवौं राष्ट्रिय खेलकुदको प्रर्वद्धन गर्ने धारणा राखे । ‘आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा ३९ वर्षपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ, उनले भने, ‘त्यो प्रतियोगिताको लागि यस खेलले प्रर्वद्धन गर्न सघाउ पुर्याउनेछ ।’ उनले पछिल्लो समय भलिबल खेलको विकास भएको बताउदै स्थानीय स्तरको खेलाडी उत्पादन टेवा पुग्ने बताए । ‘यस्तो खालको प्रतियोगिताहरु भयो भने उदीयमान खेलाडीहरुले आफ्नो खेल कौशल देखाउन मौका पाउँछन् र माथिल्लो स्तरको प्रतियोगिता सम्म खेल्ने हैसियत बनाउँछन् त्यसैले प्रतियोगिताहरु भइरहन आवश्यक छ ।’ उनले भने । उनले आवश्यक परेको खण्डमा रंगशालमा निर्मित बहुउद्देश्य कभर्ड हल प्रयोग गर्न सक्नेसमेत बताए । ‘तपाइहरुले अरुबेला पनि केही खेलहरु आयोजना गर्नुहुन्छ भने । रंगशालामा कभर्ड हल बनेको छ, गुरुङले भने, ‘घामपानी केहीको पनि पिरलो हुँदैन । त्यसको प्रयोग गर्न चाहनुभयो भने हामीलाई सम्पर्क गनुस् । सहजै उपलब्ध गराउनेछौं ।’ उनले आयोजक संस्थालाई आगामी दिनमासमेत सहयोग गर्ने बताउदै उक्त प्रतियोगिताका लागि ३० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । क्लबका अध्यक्षका कुशल प्रसाद छन्त्यालका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष छन्त्यालले जानकारी दिए । उक्त प्रतियोगितामा पुरुषतर्फ कुल २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

