म्याग्दी : म्याग्दीका राजनीतिक दलहरुले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया थालेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारका आकाङ्क्षीहरुको तल्लो कमिटीबाट नाम सङ्कलन गरेर छनोटको प्रक्रिया अघि बढाएका हुन् । नेपाली कांग्रेसले आकाङ्क्षीहरुको नाम सिफारिस गरिसकेको छ । नेकपा (माओवादी केन्द्र)ले आकाङ्क्षीको नाम सङ्कलन गरेको छ । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रि प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरेका छन् । नेकपा (एमाले) ले शनिबार प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारकोे विवरण सङ्कलन गरेको छ । एमालेबाट प्रदेशसभा क्षेत्र ९क०मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेता सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल, प्रकाश पौडेल र बेलबहादुर चोखालले दाबी पेश गर्नुभएको छ । समानुपातिकतर्फ बिष्णु गुरुङ, गणेशबहादुर बानियाँ, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्बुजा र सिवानी ल्वागनले दाबी गर्नुभएको छ । यसैगरी प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यशोदा रोकाले दाबी गर्नुभएको छ । समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी, सिता गुरुङले दावी गर्नुभएको छ । प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका आकाङ्क्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटी बैठकमा पेश र छलफल हुने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो । कांग्रेस म्याग्दीको शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधिसमेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्यसमितिको बैठकमा उम्मेदवार बन्न आकाङ्क्षा राखेका ३२ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उपसभापति कर्णबहादुर भण्डारी ९केवी० सिफारिस हुनुभएको जिल्ला सचिव हिरा पुनले जानकारी दिनुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, नेत्रबहादुर महत, हीराबहादुर पुन, मनकुमारी विश्वकर्मा, बिनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भीमबहादुर रोका मगर, दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, मिनबहादुर कार्की र डमबहादुर गर्बुजा सिफारिस हुनुभएको छ । सामानुपातिकतर्फ विमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएकोे छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देवीकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस भएको छ । नेकपा ९एकीकृत समाजवादी० म्याग्दीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहइञ्चार्ज गोविन्द सुवेदी, लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ बद्री पुन ९दिलु तिलिजा०, देउप्रसाद छन्त्याल र होमबहादुर बरुवालको नाम सिफारिस भएको छ । प्रदेशसभा क्षेत्र (क)को प्रत्यक्षतर्फ नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्मा, समानुपातिकतर्फ मुना बानियाँ, दुर्गा कार्की र डम्बर पुर्जा सिफारिस हुनुभएको छ । प्रदेशसभा क्षेत्र ९ख०मा प्रत्यक्षतर्फ जयन्द्र केसी, अनुप गौचन, ममता जुग्जाली, समानुपातिकमा रुद्र किसान, बमबहादुर पाइजा र कल्पना सापकोटा सिफारिस हुनुभएको छ । माओवादीबाट प्रतिनिधिसभा सदस्य पदमा संबिधानसभा सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेल, जिल्ला समन्वय कमिटीका संयोजक रेशम जुग्जाली, प्रदेश सदस्य तथा सांसद विनोद केसी र केन्द्रीय सल्लाहकार चन्द्रबहादुर घिमिरेले दाबी प्रस्तुत गर्नुभएको छ । प्रदेश सभा ‘क’ मा हरिबहादुर भण्डारी, धनलाल जैसी, बागवीर पाइजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरे, ‘ख’ मा रेशम जुग्जाली, अर्जुन थापा, झकबहादुर छन्त्याल, खुमनाथ सुवेदी र चन्द्रप्रसाद बुढाथोकीले प्रत्यक्षतर्फको उमेद्वारमा दाबी गर्नुभएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर विक, यामन रोका, गौरी सेन्चुरी र सुकमाया रोकाले उम्मेदवार बन्न दाबी पेश गरेको सो पार्टीले जनाएको छ । राप्रपाले प्रतिनिधिसभामा जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र ९क० मा रामबहादुर शाही र (ख) मा होमबहादुर थापाको नाम उम्मेदवारका लागि सिफारिस गरेको जनाएको छ ।
पोखरा : पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेका पवनकुमार प्रजापतिले उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेर आफूलाई मत मात्र नभएर मन पनि दिन मतदाताहरुसमक्ष आग्रह गरेका छन् । उद्योगी व्यवसायीको मत त स्वभाविक रुपमा आफूलाई नै आउने विश्वास गर्दै उनले नेतृत्वमा रहेर काम गर्नका लागि मनैदेखि सहयोग गर्न उद्योगी व्यवसायीहरुसमक्ष अनुरोध गरेका हुन् । घरदैलोको क्रममा म लगाएको मेरो टिमप्रति उद्योगी व्यवसायीहरुको जुन विश्वास देखिएको छ, त्यसलाई आधार मानेर हेर्दा मैले प्रशस्तै मत पाउने कुरामा दुईमत छैन । प्रजापतिले भने ( तर म निर्वाचित भएर काम गर्नलाई उहाँहरुले मलाई मनैदेखि सहयोग पनि गर्नुपर्छ भन्ने म चाहन्छु । त्यसैले मैले हरेक व्यवसायीलाई आफूले मतसँगै मनदेखिको सहयोग पनि मागेको छु । प्रजापतिले आफू र आफ्नो टिम निस्वार्थ रुपमा संघको जीवन्तता र उद्योगी व्यवसायीको लागि अभियन्ता बनेर काम गर्नका लागि चुनावी मैदानमा होमिएको बताए । विभिन्न १७ बुंदे घोषणापत्रसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रजापति समूहले शनिबार मनोनयन दर्ता गरिसकेको छ । मनोनयन दर्ताका लागि पोखरा उद्योग वाणिज्य संघमा पुगेको समूहलाई ठुलो संख्यामा मतदाता उद्योगी व्यवसायीहरुले स्वागत गरेका थिए । साथै मनोनयन दर्ताको क्रममा पोखरा उद्योग वाणिज्य संघ परिसरमा पुगेका उद्योगी व्यवसायीहरुले पवन प्रजापति समूहलाई जितको अग्रिम शुभकामना समेत दिएका थिए । मनोनयन दर्तापश्चात प्रजापति समूह घरदैलोका लागि हेमजातर्फ लागेको थियो । हेमजाको मिलनचोक, सुईखेत लगाएतका स्थानका उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष भेट गरि आफ्नो पक्षमा मत मागेको टोली त्यसपछि लेकसाईडका व्यवसायीहरुको घरदैलोमा पुगेको थियो । अधिवेशनको समय नजिकईरहँदा प्रजापति समूहले प्रचारलाई पनि उस्तै तिव्रता दिएको छ। नयाँ पुस्ताका सदस्य पदाधिकारीसहित पाका व्यवसायीहरुसमेत अटाएको यो समूहलाई लिएर उद्योगी व्यवसायीहरु पनि बढि नै आशाबादी देखिएका छन् । अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।
पोखरा : पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलले शुक्रबार मनोनयन दर्ता गरेको छ । ३४ औं महाधिवेसनका लागि पोखरेलले सबै पदमा उम्मेद्वार तयार गरेका छन् । उम्मेद्वारी औपचारिक रुपमा दर्ता गरेपछि अभियानमा झनै उत्साह थपिएको प्यानलका उम्मेद्वारहरु बताउँछन् । ‘पहिले सहायक पदका लागि उम्मेद्वारी दिएर चुनावमा होमिएको थिएँ । अहिले नेतृत्वका लागि तयारी गरेको छु,’ अध्यक्षका उम्मेद्वार पोखरेलले भने, ‘टीम लिएर मनोनयन दर्ता गरेपछि उत्साह बढेको छ । चुनाव जित्ने विश्वास थपिएको छ ।’ गण्डकी क्षेत्रकै जेठो सामाजिक संस्थाको नेतृत्वमा दावी गर्दा उर्जा मिलेको उनले सुनाए । ‘मतदाता भेट्छु, उर्जा मिल्छ । २०११ सालदेखि अग्रजहरुले जोगाएको विरासत कायम गर्दै आफ्नो तर्फबाट अझ नयाँ काम गर्ने अठोट लिएको छु,’ उनले अघि भने, ‘पोखरा उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पु¥याउने विश्वास लिएको छु । विगतका चुनाव भन्दा मेरा लागि विल्कुल फरक अनुभव भैरहेको छ ।’ उनको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) ले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गराए । महेन्द्रपुल स्थित सचिवालयबाट ब्यानर र र्याली सहित उद्योग वाणिज्य संघ गएको थियो । र्यालीमा पोखराका उद्योगी व्यावसायीको पनि साथ थियो । उम्मेद्वारी दर्तापछि पोखरेल प्यानल पुनः घरदैलोमै मतदाता भेट्न पुगेका छन् । शुक्रबार विहान पृथ्वीचोक क्षेत्रमा घरदैलो गरेको टोलीले साँझ लेकसाइडमा घरदैलो गरेको हो । चुनावको मिति नजिकिएकोले मतदातालाई भेटेरै गुनासो सुन्ने र मत माग्ने काममा ब्यस्त भएको बरिष्ठ उपाध्यक्ष उम्मेद्वार सापकोटाले बताए । ‘अब केही दिन छ । सकेसम्म धेरै मतादाता भेटेर आफ्ना एजेण्डा सुनाउनुपर्ने छ,’ उनले भने, ‘प्रत्यक्ष रुपमै भेटेर मत माग्दा उनीहरुको समस्या पनि सुन्न पाइन्छ । भोली संघमा पुगेपछि उद्योगी व्यवसायीकै समस्या समाधान गर्न लाग्नुपर्छ ।’ उद्योग तर्फका उपाध्यक्ष उम्मेद्वार देवेन्द्र केसीले पोखरेली उद्योगी व्यावसायी कै हक हित र समस्यामा आफ्नो समूह नजिक भएर काम गर्ने बताए । ‘अहिले प्रतिश्पर्धाको मोर्चामा छौं । जितेपछि काम गर्ने उद्योगी व्यवसायीकै लागि हो,’ उनी भन्छन्, ‘सामाजिक संस्थामा समाजसेवाको काम नै गर्न आउने हो । चुनावमा गरिएका प्रतिबद्धता पूरा गर्न लागि पर्छौं ।’ वाणिज्य तर्फकी उपाध्यक्ष कुमारी मुना बास्तोलाले पदाधिकारी तहमा महिला नेतृत्वको खाँचो रहेकोले आफुले उम्मेद्वारी दिएको बताइन् । ‘अधिकांश चुनावमा महिला पदाधिकारी हुँदैनन् । मैले यो हिम्मत गरेको छु,’ उनले भनिन्, ‘म महिला मात्रै भएर होइन, पोखरेली उद्योगी व्यवसायीका साझा उम्मेद्वार भएर प्रतिश्पर्धामा छु ।’ विशेषगरी महिला उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धीको लागि आफुले बढी पैरवी गर्ने उनको भनाई छ । महासचिवका उम्मेद्वार केशवबहादुर खत्रीले पहिलेको मनोनयन दर्ताभन्दा यो पटक बढी उत्साहपूर्ण रहेको प्रतिक्रिया दिए । ‘सबै केही गर्न सक्छु भनेर आएका साथीहरु छौं । युवाहरुको जोश छ, अनुभवीलाई पनि समेटेका छौं,’ उनले भने, ‘समावेशी हिसावले पनि हाम्रो टीम राम्रो देखिएको छ । बजारले उत्साह दिएको छ ।’ आफ्नो प्यानलले संघको गरिमा उचो राख्ने गरी संघमा काम गर्ने बताए । कोषाध्यक्ष तर्फका उम्मेद्वार हरिराज पन्त संघलाई सबैको साझा संस्था बनाउने बताउँछन् । ‘सानो लागानीबाट व्यवसाय सुरु गर्नेदेखि ठुलो लगानी गर्ने सबै व्यवसायीहरुको साझा संस्था बनाउने छौं । सबै पोखरेलीको साझा घरका रुपमा संस्थालाई स्थापित गरिने छ,’ उनले भने, ‘विजयी भएर आएपछि कुनै पनि विभेद हुन दिने छैनौं । सबैलाई समान ठानेर समस्या समाधानमा जोड दिने छौं ।’ उप महासचिव पदका उम्मेद्वार हर्क बहादुर अधिकारी ‘मिरज’ ले संघको सचिवालयलाई सुदृढीकरण गर्दै सदस्यहरुको घरमै सेवा पुर्याउने प्रणालीको विकास गर्ने बताए । उनले डिजिटल सेवालाई प्रोत्साहन गर्ने बताएका छन् ।
लमजुङ : नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ लमजुङ प्रदेश (ख) बाट सिफारिस हुनुभएको छ । नेकपा (एमाले) लमजुङको आज बेँसीसहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो । उक्त बैठकले गुरुङसहित एमाले जिल्ला अध्यक्ष रहनुभएका कृष्णप्रसाद अधिकारीलाई पनि सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवार बन्नुभएका गुरुङ प्रदेश सदस्यमा निर्वाचित हुनुभएको थियो । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्नुभएको थियो । क्षेत्र (क) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश कमिटीका सचिव एवं प्रदेशसभा सदस्य धनञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङको नाम सिफारिस गरेको छ । यसअघि प्रदेश (क) बाटै दवाडी निर्वाचत हुनुभएको थियो । एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको लमजुङमा प्रत्यक्षतर्फ एमालेबाट केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले र जिल्ला पार्टी सचिव सुभास पौडेलको नाम सिफारिस भएको छ । विसं २०७० मा लमजुङ क्षेत्र नं १ बाट नेपाली कांग्रेस लमजुङका नेता डा. टकराज गुरुङलाई हराउँदै घले संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य टुकाभद्र हमाल, कल्पना थापा, प्रेमबहादुर दुराको नाम सिफारिस भएको छ । प्रदेश (क) र (ख) मा समानुपातिकतर्फ– प्रेमबहादुर घले, मोहनहरि पौडेल, महेन्द्रलाल श्रेष्ठ, बमबहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगरको नाम सिफारिस गरेको छ ।
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थप भएका छन् । मञ्चको शनिबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको चौधौं बैठकले यो निर्णय गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए । उनीहरुमध्येबाट प्राप्त कागजात सहितको विवरण र सक्रियताको आधारमा १९ जना सदस्य छनोट गरिएको हो । यसरी छानिनेमा अनुप पौडेल, कृष्ण प्रसाद दवाडी, गीता राना, चेत बहादुर थापा प्रविन, धन बहादुर गुरुङ सुमन, परशुराम शर्मा, गोविन्द थापा सिञ्जाली, फडिन्द्र अकिञ्चन, बस बहादुर शेर्पा बसन्त, बाल कुमारी पौडेल तारा, बिजय नेपाली, रिखिराम जिसी, राधिका कँडेल, राम गुरुङ, विमल तिवारी, शुसान्त गाहा मगर अर्जुन, सञ्जय कुमार मल्ल, सञ्जय रानाभाट र सविन रेग्मी रहेको महासचिव पौडेलले जनाए । नयाँ सदस्यताको लागि मञ्चले गत साउन २१ गतेबाट भदौ ४ गतेसम्म आवेदन खुल्ला गरेको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो । पछि २०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्धेश्यले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दर्ता भएको हो । यसअगाडि मञ्चमा गण्डकी प्रदेशका ५५ जना पत्रकार आवद्ध भएकोमा अब मञ्चमा आवद्ध पत्रकारको संख्या ७४ पुगेको छ । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ । गण्डकी प्रदेशको कास्की बाहेकका जिल्लाको लागि अर्को चरणमा सदस्यता प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।
पोखरा ः केही दिन यता पोखराम दैनिक जसो वर्षा भइरहेको छ । चिसोपन महशुस भएपनि उद्योगी व्यवसायीहरुलाई भने पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनले तताइरहेको छ । भदौ २४ र २५ गते सम्पन्न हुने ३४ औँ महाधिवेशनमा नयाँ नेतृत्व लिन पोखराका व्यवसायी पवन प्रजापति र अर्जुन पोखरेलले आ–आफ्नो प्यानल बनाएर चुनावमा होमिएका छन् । पोखरामा १३ वर्षबाट व्यवसाय सुरु गरेका पवन प्रजापतिले पोखरा उद्योग वाणिज्यको नयाँ नेतृत्व लिन व्यवसायीहरु समक्ष घरदैलोमा व्यस्त भएका छन् । पोखरामा तरकारी व्यवसायबाट अगाडी बढेका प्रजापति अहिले ५८ वर्षका भए । उनले पोखरामा १३ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएकाले संघमा आफु काम गर्न योग्य भएको बताए । प्रजापतिकाे चिनारी पोखरा महेन्द्रपुलस्थित अहिलेको‘ गोरखापत्र बाजे’को पसल भएकै ठाउँमा करिब ४५ वर्ष अगाडि १३ वर्षे ठिटो पवन प्रजापति तरकारी पसलमा व्यापार गर्थे । महेन्द्रपुलमा तरकारी व्यापारसँगै अध्ययनलाई अगाडी बढाएका प्रजापतिले काठमाडौँबाट साझा बसमा तरकारी ल्याएर व्यापार गरेका उनी अहिले भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि अगाडी सरेका छन् । १३ वर्षदेखि व्यापार व्यवसायको अनुभवसँगै पोखरामा विभिन्न व्यवसाय सुरु गरेका प्रजापति पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रत्यासी हुन् । क्षेत्रीय कृषि कार्यालयमा १२ वर्ष जागिर गरेका प्रजापतिले २०४० सालमा जागिरसँगै व्यवसायसमेत सञ्चालन गरेका थिए । त्यस समय बुवा पञ्चकुमार प्रजापतिले पोखरामा भाँडाको व्यापार गदर्थे । व्यवसायिक माहौलमा हुर्केका प्रजापतिले तरकारी पसल चलाईरहेका प्रजापतिले त्यसपछि रेस्टुरेन्ट व्यापारमा आफ्नो पाइला चालेका थिए । व्यवसायमा अगाडी बढेका उनी जागिर गरिरहँदा त्यो समयमा भारतसम्म पुगेर बालबालिकाले खेलाउने खेलौना पोखरा ल्याएर बिक्री गर्थे । २०४३ सालमा उनले ६० हजार रुपैयाँ भारतीय रकमको खेलौना पोखरा ल्याएर बेचेका थिए । २०४५ सालमा भारतले नाकाबन्दी गर्यो । व्यवसायहरु चौपट भइरहेका थिए । प्रजापतिले भने चुनौतीमै सम्भावना देखे र सिसा, प्लाइ, हार्डवेयर सामग्री र भाँडाकुँडाको व्यापार शुरु गरे । फोटो फ्रेम बनाउने उद्योगसँगै उनले गिफ्ट आइटमको व्यापारलाई पनि त्यसैसँग जोडेका थिए । उनले व्यवसायसँगै काठमाडौँ– पोखरा, बेशिशहर–काठमाण्डौ, गोरखा–काठमाण्डौ पोखरा नगर बस, ट्याक्सी यातायात व्यवसायसमेत सञ्चालन गरे । एकपछि अर्काे व्यवसायमा सफल भएका प्रजापतिले पछिल्लो समय न्यू दिप निशान किचन एण्ड गिफ्ट कर्नर सञ्चालनमा ल्याएका छन् । पोखरामा अटोमोबाइल्स, फार्म ट्रयाक कम्पनीको फोर ह्वील ट्रयाक्टर व्यवसाय गरेको अनुभव छ प्रजापतिसँग । पोखरामा नेपाली चलचित्रको निर्माणमा समेत जोडिएका प्रजापतिले तृष्णा, सडक लगायतका फिल्म निर्माणसँगै वितरण गरिरहेका छन् । उनले करिब ५ वर्षसम्म पुर्णिमा हलको संचालन समेत गरे । व्यवसायको दौरान थप अनुभव र तौरतरिका बुुझ्न उनले ३५ बढी राष्ट्रको भ्रमण गरेका छन् । दर्जनाै सामाजिक संघ-संस्थासँगकाे निकटता प्रजापति पोखरा बडि बिल्डिङ संघको अध्यक्ष, कास्की जिल्ला कबड्डी संघको वरिष्ठ उपाध्यक्ष, कास्की जिल्ला बडि विल्डिङ संघको सल्लाहकार, सेन्ट्रल लायन्सको संस्थापक कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटि (कबड्डी)को सल्लाहकार भएर सामाजिक तथा खेलकुदको क्षेत्रमा आफ्नो भुमिका सफलतापुर्वक सम्पन्न गरेका छन् । प्रजापति व्यवसायमा मात्र नभएर पोखरामा संचार, स्वास्थ्य र वित्तिय क्षेत्रमा पनि सफल व्यत्तित्वमा पर्दछन् । प्रजापति सराङकोट एफएमको म्यानेजिङ डाइरेक्टरको रुपमा २ वर्ष काम गर्दा सोही समयमा सराङकोट सहकारीको स्थापना समेत गरेका थिए । त्यो सँगै गरिमा विकास बैंक र प्राइम सहकारीको स्थापनामा पनि प्रजापतिको योगदान विशेष छ । त्यस्तै पछिल्लो समय उनी लायन्स क्लब अफ अन्नपूर्ण रेञ्जको अध्यक्षको रुपमा पनि युवाहरुलाई संगठित गरेर सामाजिक कार्यहरु गर्दै आईरहेका छन् । गण्डकी मेडिकल कलेजको स्थापनाका लागि पनि प्रजापतिको भुमिका सशक्त रहेको थियो । हाल उनी सिटी वान टेलिभिनजका अध्यक्ष समेत हुन् । पोखरा उद्योग वाणिज्य संघको यात्रा पोखरा उद्योग वाणिज्य संघमा २०६१ सालमा साधारण सदस्य लिएका प्रजापति २०६९ सालमा कार्यसमिति सदस्य, २०७१मा पुनः कार्यसमिति सदस्यमा रहेर काम गरेका उनी २०७३ सालमा कोषाध्यक्षमा निर्वाचित भए । २०७५को महाधिवेशनमा वाणिज्यतर्फको उपाध्यक्ष भएका प्रजापति २०७७ मा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी भदौ २४ र २५ गते पोखरामा सम्पन्न हुने ३४ औँ महाधिवेशनमा उनी अध्यक्ष पदमा प्यानल सहित अगाडी बढेका छन् । यस्ताे छ प्रजापति प्यानलको १४ बुँदे घोषणापत्र पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी प्रजापतिको प्यालनले १४ बुदे घोषणापत्रसहित व्यवसायीमाझ गएको छ । घोषणापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा उल्लेख गरिएको छ । व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने प्यानलको प्रतिबद्धतामा उल्लेख गरिएको छ । सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य, राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईकोरुपमा भन्दा पृथक किसिमले आयोजना गर्न सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने समुहको दाबी छ । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान पुु¥याउने एजेण्डासहित व्यवसायीहरुलाई भोट अपिल गरेका छन् । प्रजापतिकाे समुह वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्षमा हिरामणि पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला रहेका छन् । सदस्यहरुमा प्रभा सुवेदी , बालकृष्ण कोइराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग रहेका छन् ।
पोखरा । आइतबारदेखि काठमाण्डौमा शुरु हुने दोश्रो याक एण्ड यती कप भेट्रान्स टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । कास्की जिल्ला टेनिस संघले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच खेलाडीहरुलाई विदाई ग¥यो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिकप गोदारले खेलाडीहरुलाई शुभ–कामना सहित खादा लगाएर विदाई गरेका हुन् । एक साता सम्म चल्ने प्रतियोगितामा ३५,४५,५५ र ६५ वर्ष माथि एकल तथा डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने छ । पोखराका २६ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका महासचिव नविन श्रेष्ठले जनाए । प्रतियोगितामा हरेक इभेण्टमा प्रथम हुने खेलाडीले आयोजक याक एण्ड यती होटलको तर्फबाट १ लाख २० हजार बराबरको १ वर्षको मेम्बरसिप कार्ड तथा द्वितिय हुने खेलाडीले ६ महिनाको मेम्बरसिप कार्ड पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको गत संस्करणमा कास्कीका चार खेलाडीले द्वितिय स्थान हाँसिल गरेका थिए ।
बागलुङ ः बागलुङको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै पालिका गान बनाएको छ । बागलुङको सबैभन्दा दुर्गम पालिकामा रहेको तमानखोलाले पालिकाको मौलिक कला, संस्कृति र पर्यटनलाई समेटेर उक्त गान बनाएको हो ।पालिका गानको रचना खोलेस्बाङ आधारभूत विद्यालयका शिक्षिका बिलाकुमारी घर्ती मगरले गर्नुभएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । गाउँपालिकाले शब्द रचनाका लागि आवेदन खुला गरेकामा सहभागी १२ मध्ये घर्तीको रचना गाउँपालिकाले छनोट गरिएको उहाँको भनाइ थियो । अध्यक्ष बुढामगरले पालिकाको पहिचान, कला संस्कृतिको सम्मान र पर्यटन प्रवद्र्धनका लागि पालिका गान बनाउन थालिएको बताउनुभयो । उहाँले गीतमा तमानखोला गाउँपालिकाभित्र रहेका कला, संस्कृति र पर्यटकीय ठाउँहरू समावेश भएको उक्त गीतमा स्वर र सङ्गीत भर्ने काम भइरहेको जानकारी दिनुभयो । “गाउँपालिकाको पहिचानका लागि हामीले पालिका गान बनाउन बनाउन लागेका हौँ, यो गीतमा हाम्रा कला संस्कृति, पर्यटकीय ठाउँलाई समेटेका छौँ, गीतले पर्यटन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास पनि लिएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “गीतलाई अझै केही परिमार्जन गर्नुपर्ने छ, सङ्गीत भर्नेलगायत काम हुँदै छ ।”गीतको भिडियो पनि निर्माण गर्ने योजना बनाएको उल्लेख गर्दै उहाँले भाषा, कला, संस्कृति र पर्यटनसँग जोडिएको गीत भएकाले सोहीअनुसारको श्रव्यदृश्य बनाइने बताउनुभयो । यस्तो छ पालिका गान “तमानखोला गाउँपालिका हाम्रा पहिचान । सोलेडाँडा, बराहताल, नौ डल्ले हुन् सान ।। तमान, बोङ्गा, स्याउलाखोला कलकल बग्ने पानी । सोरठी, मारुनी र यानीमाया संस्कृतिको खानी ।। ढोमाई थान, भूमे थान, धर्म संस्कृति । परम्परा जोगाउनु छ, हटाइए विकृति ।। एउटा गाउँलाई चोट लाग्दा अर्को गाउँलाई दुख्छ । मिलीजुली बस्न पाए सधैँ हाम्लाई पुग्छ ।। कोही छैनौँ पराई हामी सबै समान । सबको साझा उद्देश्य छ, समुन्नत तमान ।।”
स्याङ्जा । यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् । स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो । आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर गाउँका महिला भेला भई समूह बनाएर व्यवसाय थालेको समूहकी अध्यक्ष तुलसीकुमारी थापाले बताउनुभयो । “आँफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमान्मा मात्रै आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “गाउँका इच्छुक महिला दिदीबहिनीको समूहमा कुरा राख्यौँ, छलफल ग¥यौँ र सामूहिक बाख्रापालन थाल्ने निष्कर्षमा पुगेका हौँ ।” गाउँ नजिकै वनजङ्गल हुँदा खासै घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रापालनलाई व्यावसायिकरुपमा अगाडि बढाउन महिलाहरु सक्रिय भएर लागेका हुन् । “गाउँ नजिकै वनजङ्गल हुँदा पनि घाँसको समस्या छैन”, उहाँले भन्नुभयो, “सामूहिकरुपमा बाख्रा चराउन, औषधि उपचारसहित उत्पादन भएका खसी बोका बिक्रीकालागि पनि सहज हुने विश्वासमा छौं ।” समूहमार्फत अहिले दश घरमा ६ देखि १० वटा बाख्रापालन गरिएको छ । सुरुआती चरणमा थोरै सङ्ख्याबाट व्यवसाय थालेपनि आगामी दिनमा सङ्ख्या बढाउने समूहको योजना रहेको सचिव कृष्णचन थापाले बताउनुभयो । “अब परम्परागत होइन, सामूहिकरुपमा उन्नत जातका बाख्रापालनतर्फ अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको र तुरुन्तै आम्दानी हुने भएकाले पनि समूहको रोजाइमा बाख्रापालन परेको हो ।” समूह सञ्चालनकालागि बेला बेलामा बैठक तथा छलफल हुने गरेको छ । समूहकै कामको खर्चका लागि मासिकरुपमा एकसय सङ्कलन गरेर सामान्य खर्चहरु चलाउने गरिएको सचिव थापाले बताउनुभयो । पहिले घर घरमा एक दुईवटा बाख्रापालन गरेका यहाँका महिलालाई व्यावसायिकतातर्फ लाग्न वालिङ नगरपालिकाले अभिप्रेरित गरेको हो । नगरपालिकाले बाख्रापालनका लागि महिला समूहलाई आवश्यक तालिम, प्राविधिक सल्लाह तथा परामर्श, औषधि, उन्नत जातको घाँसको बीउ उपलब्ध गराएको पशु विकास शाखा अधिकृत देवकुमारी श्रेष्ठले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा खोर मर्मत तथा निर्माणका लागि जनही १०÷१० हजार नगद र उन्नत जातको एउटा बोयर बोका उपलब्ध गराएको उहाँले बताउनुभयो ।

