पोखरा । नेकपा एकीकृत समाजवादीक कास्कीको अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । पार्टी अध्यक्ष धनराज आचार्य पोखराको मेयर उम्मेद्वार बन्दादेखि नै कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका हमाललाई शनिबार पोखरामा भएको भेलाले अध्यक्षमा चयन गरेको हो । पोखरा २१ कृष्ति स्थायी घर भएका पुराना, सालिन र इमान्दार कम्युनिष्ट नेताका रुपमा चिनिएका हमाल २०३६ साल बाट विद्यार्थी राजनीतिमा उदायका हुन् । उनी नेकपा एमाले क्षेत्रीय कमिटी उपाध्यक्ष, जिल्ला कमिटी सदस्य, एकीकृत समाजवादीमा जिल्ला कमिटी सदस्य र उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् । त्यसैगरी एकीकृत समाजवादीको उपाध्यक्षमा पूर्ण लामा चयन भएका छन् । यस अगाडि जिल्ला कमिटीमा उपसचिव रहेका उनी समाजवादी निकट युवा संघको समेत केन्द्रीय उपाध्यक्ष छन् । १६९ सदस्यीय जिल्ला कमिटी रहेको एकीकृत समाजवादी कास्कीमा अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरेर ६ जना पदाधिकारी रहने व्यवस्था छ । एकीकृत समाजवादीको जिल्ला कमिटी भित्र ५५ सदस्यी सचिवालय छ भने समावादीका पाँच हजार एक सय जना संगठित सदस्य रहेका सो पार्टीले जनाएको छ ।
कास्की । कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ४४ लाख ४६ हजार वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख केदार पाण्डेले जानकारी दिनुभयो । नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले रु ४४ लाख ४६ हजार वितरण गरिएको उहाँको भनाइ थियो । त्यसैगरी आर्थिक वर्ष ०७८/७९ मा पाडी–बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत जिल्लामा रु ४१ लाख वितरण गरिएको उक्त कार्यालयले जनाएको छ । पोखराको ३३ नं वडा र कास्कीको अन्नपूर्ण गाउँपालिकालाई लक्ष्य गरी कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत पाडी–बाच्छी हुर्काउने तीन सय ५५ किसानका चार सय १० वटा पाडी–बाच्छीलाई रु १० हजारका दरले रु ४१ लाख प्रोत्साहन सहयोग रकम प्रदान गरिएको उक्त कार्यालयका अधिकृत सहदेव पौडेलले बताउनुुभयो । पाडी–बाच्छीका लागि पाँच सय किसानले आवेदन दिएकामा तीन सय ५५ किसान छनोटमा परेका थिए । साना व्यावसायिक फार्म स्थापना तथा विस्तारका लागि उक्त कार्यालयले विभिन्न ६४ बाख्रा फार्मलाई ११ लाख सहयोग गरेको र वार्षिक रु ४३ लाख पुर्याउने लक्ष्य राखिएको बताइएको छ ।
पोखराः पृथ्वी नारायण क्याम्पसमा नेपाली विभागले आजदेखि औपचारिकरुपमा आफ्नै पुस्तकालय सञ्चालनमा ल्याएको छ । क्याम्पसमा क्षेत्रीयस्तरको पुस्तकालय सञ्चालनमा रहेपनि विभागीय आवश्यकताको महशुस गरी छुट्टै पुस्तकालयको सुरुवात गरेको विभागले जनाएको छ । विभागले विशेष कार्यक्रमको आयोजना गरी भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतमा पुस्तकालयको उद्घाटन गरेको हो । सो अवसरमा प्रमुख अतिथि खड्काले पिएन क्याम्पसको शैक्षिक प्रगति प्रदेशकोमात्र नभई देशकै प्रगति भएको उल्लेख गरे । ‘विश्वमा अहिले कुनै पनि विषयको सूक्ष्मरुपमा अध्ययन, अनुसन्धान गर्ने परिपाटी रहेको छ’ खड्काले भने ‘सोही तवरले नेपाली विभागले पनि विभागीय पुस्तकालय स्थापना गरेकोमा खुशी लागेको छ ।’ नेपाली भाषा साहित्य र संस्कृतिको मियो भएको भन्दै विभागको शैक्षिक कार्यमा मन्त्रालयस्तरबाट थोरै भएपनि सहयोग गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । स्मरणीय छ, पुस्तकालय स्थापनार्थ भौतिक विकासका लागि मन्त्रालयले १० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त अवसरमा मन्त्री खड्काले शैक्षिक उन्नयनका कुनैपनि कार्यमा सहयोग गर्न मन्त्रालय तयार रहेको बताउँदै विद्यार्थीले पुस्तकालयबाट भरपुर ज्ञान आर्जन गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सभापति एवं विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले विभागमा आएदेखि आफुले दिनरात गरेको मिहिनेत सार्थक भएकोमा सम्पूर्ण सहयोगीलाई आभार व्यक्त गरे । विदेशका विश्वविद्यालय भ्रमणका दौरान विभागीय पुस्तकालय देख्दा पिएनमा पनि यस्तै भइदिए भन्ने कल्पना गरेको बताउँदै आफु कार्यरत विभागमै इच्छाएको काम गर्न पाउँदा खुशी लागेको प्रमुख न्यौपानेको धारणा छ । ‘मैले गरेको पहलमा मन्त्रालय र मनकारीहरुले गरेको सहयोगको प्रतिफल हो, यो पुस्तकालय’ उनले भने ‘यहाँ विभिन्न शोधार्थीले गरेका शोध र सम्बन्धित थेसिस पनि राखिएका छन्, अब अनुसन्धानमा लाग्ने विद्यार्थीले सन्दर्भ सामग्री खोज्न कतै भौतारिन पर्ने छैन ।’ पुस्तकालय स्थापना भएपनि यसको सञ्चालनमा समस्या भएको उनको दुखेसो छ । ‘पुस्तकालय तयार भयो तर सञ्चालनमा समस्या छ, क्याम्पस प्रशासनसमक्ष कर्मचारीको माग गरेको छु’ न्यौपानेले भने । पुस्तकालयमा करिब १० हजार शोधग्रन्थ र पुस्तक रहेका छन् । आफ्नो कार्यकालमा पुस्तकको डिजिटाइजेशन गर्ने इच्छा भएको उनले सुनाए । कार्यक्रममा विभागका पूर्व प्रमुख, प्राध्यापक संघ, कर्मचारी संघका प्रतिनिधिले धारणा राखेका थिए । उद्घाटन कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने लायन्स क्लब, अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानलगायतलाई सम्मान समेत गरिएको छ ।
दार्चुला : अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी एक जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा आएको बाढीमा परी बेपत्ता भएका एकजनाको शव भेटिएको छ । उनको सनाखत हुन सकेको छैन । अन्य सात जना बेपत्ता छन् । महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो । खोला आसपासका केही घरसमेत बगाएको साउदले बताउनुभयो । यसैगरी नौगाड गाउँपालिकामा पहिरामा पुरिएर दुईजना बेपत्ता भएका छन् । खोला आसपासका ११ घर बगाएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । घटनामा भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी छ । घटनास्थलमा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।
पोखरा: पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय महिला भलिबलको अन्तिम चारमा अर्चलबोट क्लब, लामाचौर पुन समाज, हैदागा तनहुँ र एसियन सुज प्रवेश गरको छ । छन्त्याल समाजको खेल मैदानमा आज (शुक्रबार) भएको खेलमा अर्चलबोटले ठाडाखानीलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको मुख्य रेफ्री राम पुनले जानकारी दिए । उनका अुनसार अर्काे खेलमा एसियन सुजले गुरुकुल स्कुललाई २५–४ र २५–१० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्याै । शान्ता भलिबल प्रशिक्षण केन्द्रको अनुपस्थितिमा हैदागा तनहुँ वाकओभरमार्फत जीत्दै सेमिफाइनलको यात्रा तय गर्याे । शनिबार पहिलो सेमिफाइनल खेल हैदागा तनहुँ र एसियन सुजबीच हुनेछ भने अर्काे सेमिफाइनल खेल अर्चलबोट र लामाचौबीच हुने कार्यक्रम संयोजक मजोज खड्काले बताए । उनका अनुसार आज भएको पुरुषतर्फको पहिलो खेलमा माछापुच्छ्रै गाउँपालिकालाई जिएम समाज कावासोतीले २५–१३ र २५–१६ को सोझो सेटमा पराजित गर्याे । त्यसैगरि अर्काे खेलमा सशत्र प्रहरी बल मालेपाटनले आयोजक निलोलाई २८–२६ र २५ १८ को सोझो सेटमा हरायो । अन्तिम खेलमा छन्त्याल युवा क्लबलाई गलकोट क्लबले २८–२६, २५–१५ र २५–१५ को सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अुनसार शनिबार महिला तर्फको सेमिफाइनल खेल र पुरुष तर्फका २ प्रिक्वाटरखेलसँगै सेमिफाइनल खेल सञ्चालन गरिनेछ । महिला तथा पुरुषको फाइनल खेल आइतबार सम्पन्न गरिने आयोजकले जनाएको छ ।
पोखरा । पोखरामा सवारी साधन अनुमति पत्रको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्की गण्डकी प्रदेश, कास्की पोखराबाट सञ्चालन गरिएको वर्ग ‘के’ स्कुटरको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । भदौँ २२ गते सञ्चालन भएको उक्त परिक्षामा तनहुँ भानु नगरपालिका वडा नं. २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षा दिने जिल्ला मकवानपुर घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा प्रकाउ परेका हुन । साथै उक्त परिक्षा दिन लगाउने भानु नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ को निरा रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए । दोषीलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
वालिङ ः गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो । विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरिसकेको छ । ठेक्का प्रक्रिया अगाडि बढिसकेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जीनियर नवराज बाँस्तोलाले जानकारी दिनुभयो । बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो । “सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ”, उहाँले भन्नुभयो, “कुल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।” पुल एक सय आठ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने छ । पुलको दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहने छ । उक्त पुलको ४० टनसम्मको भारवहन क्षमता रहने छ । सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात् आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घर–टहरा खाली गरी क्षतिपूर्ति दिइने उहाँले बताउनुभयो । उक्त पुल जीर्ण र पुरानो भएकाले चार–पाँच वर्षदेखि अधिकतम १० टन भारवहन क्षमताका सवारीसाधनलाई मात्रै सामान ढुवानी गर्न दिइएको छ ।
पोखरा : नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस समितिको अध्यक्षमा रसेल राना मगर चयन भएका छन् । शुक्रबार भएको क्याम्पस अधिवेशनले रसेल रानामगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश घर्ति मगर, सचिवमा प्रिती मगर, सह–सचिव इशान पुनमगर र कोषाध्यक्षमा सुनिता आले मगर चयन भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य डेक पुनमगरले जानकारी दिए । त्यस्तै समितिको सदस्यहरुमा बिमल थापा मगर, हिमाल राना मगर, पदम थापा मगर, सृजना राना मगर, सुजन घर्ति मगर,अन्जित आले मगर, चमन आले मगर, सरोज राना मगर, रोशन पुनमगर र रिवाज थापा मगर चयन भएका छन् । नेपाल मगर विद्यार्थी संघ कास्कीले भदौ २५ गते जिल्ला अधिवेशन गर्ने भएकाले क्याम्पस अधिवेशनलाई तिव्रता दिइरहेको छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ( प्रचण्ड) ले आगामी मंसिर ४ गते हुने चिर्वाचनमा चितवनबाट उठ्ने बताएका छन् । शुुक्रबार प्रेस सेन्टर नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले देशैभर आफ्नो लहर भएको बताउदै अन्त्यतः चितवनबाटै उठ्ने स्पष्ट पारेका हुन् । ‘गोरखाका कांग्रेसी नेताले यहाँ आइदिनुस तपाइ जानैपर्दैन हामी जिताइदिन्छौं भन्नुभाछ तर म चितवनबाटै लड्छु, उनले भने, ‘मेरो दिमागमा दायाँबायाँ अरु केही छैन । चितवनको जनताको चेतना र भावनाप्रति मलाई विश्वास छ ।’ उनले गठबन्धन भएको कारण चितवन छोड्दा नकरात्मक सन्देश प्रवाह हुने धारणा राखे । ‘अहिले गठबन्धन पनि छ । यसमा विमती पनि छैन, उनले भने, ‘त्यसो भएको हुँदा अहिले चितवन छोड्दा त्यती राम्रो सन्देश जादैन । यसले राष्ट्रिय सहमति र एकताको सन्देश दिदैंन । कहीं न कहीं नकरात्मक सन्देश जान्छ ।’ उनले आफुले चितवनबाटै जित्नेमा ढुक्क रहेको बताए । ‘चितवनबाट जित्छु भन्नेमा म चाँही झण्डै पूर्ण कन्फिडेन्ट छु । विश्वासमा छु । म कहिले सिराहा कहिले रोल्पा त कहिले काठमाडौंबाट लडे त्यसको अर्थ केहो भने प्रचण्ड एउटा मात्रै ठाउँको होइन देशैभरीका जनताको हो भन्ने सिद्ध गर्नु थियो, उनले भने ‘त्यो सिद्ध भयो । अहिले चितवन छोड्दा त्यो सिद्ध हुदैन । डराएर हिडेको भनेजस्तो हुन्छ । म त्यसो गर्न चाहन्न । किनभने मैले जित्छुु ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो निर्वाचनपछि नागरिकलाई सचेत बनाउन आन्दोलन गर्ने बताए । ‘यो निर्वाचन प्रणाली गरिब दिन दुुःखीको लागि महङ्गो साबित भयो, उनले भने ‘संविधान संशोधन गरेर नागरिक सचेत बनाउँदै निर्वाचन प्रणाली बदल्न पनि माओवादी मात्र नभएर सम्पुुर्ण राजनितिक दलहरु एक हुने आशा लिएर अगाडी बढ्ने छुु ।’ अध्यक्ष प्रचण्डले अहिले नै प्रधानमन्त्रीको दौडमा नभएको बताए । ‘पाँच दलीय गठबन्धनबाट म नै प्रधानमन्त्री बन्छुु भनेर अहिले दौड छैन, उनले भने, ‘निर्वाचनको परिमाण कस्तो हुुन्छ त्यसै अनुसार नै सोच बनाउने छुु ।’ उनले फरक प्रसंगमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यायदेशमार्फत ल्याएको नागरिकता विद्येयकको विरोध आफुुहरुले नगरेको बताए । ‘हामीले नागरिकता विद्येयकको विरोध गरेको होइन । उहाँले अध्यादेशबाट ल्याएको विद्येयकलाई सदनबाट पास गरेर ल्याउन अदालतले फिर्ता गरेको हो । प्रचण्डले भने । उनले गठबन्धनमा निर्वाचनका लागि सिट बाँडफाटबारे छिटै टुङ्गो लगाउनेसमेत बताएका थिए ।

