पोखरा : नेपाल तामाङ घेदुङ विद्यार्थी कास्कीको जिल्ला अधिवेशनमा तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीले हस्तक्षेप गरेको छ । नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष मानबहादुर तामाङले फेसबुकमा र विद्यार्थी घेदुङ कास्कीका अध्यक्ष रेशम स्याङ्बो तामाङलाई फोनमार्फत अधिवेशन स्थगित गर्न दबाव दिदैं हस्तक्षेप गरिएको बताइएको छ । सो दबाबपछि विज्ञप्ति जारी गर्दै नेपाल तामाङ विद्यार्थी घेदुङ अधिवेशन स्थगित गरेको छ । विज्ञप्तीमा नेपाल तामाङ घेदुङको भातृ संगठन तामाङ विद्यार्थी घेदुङ कास्कीको आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको तामाङ विद्यार्थी घेदुङका अध्यक्ष रेशम स्याङ्बो तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । नेपाल तामाङ घेदुङ कास्कीको दबाबमा प्रकाशित विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल तामाङ विद्यार्थी घेदुङ कास्की जिल्ला समन्वय समितिको मिति २०७९ श्रावण ८ गते बसेको बैठकले संघको विधान २०५० को परिच्छेद ७ दफा १९ (ग) अनुसार समन्वय समितिको जिल्ला अधिवेशन भाद्र २५ गते शनिबारका लागि निर्णय भएको र मिति २०७८ भदौ १८ गते नेपाल तामाङ घेदुङ पोखरा महानगरपालिका इकाई समितिको बैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष श्री मानबहादुर तामाङसमेतको उपस्थितिमा उल्लेखित मितिमा गर्ने गराउने भनी निर्णय गरेको थियो ।’ सोही बमोजिम कार्यक्रमको तयारी भइसरको भएतापनि समन्वय समितिका अध्यक्षले भदौ २३ गते सामाजिक सञ्जालमार्फत अधिवेशन स्थगित भएको र विद्यार्थीका अध्यक्षलाई फोनमार्फत स्थगित गर्न दबाब दिइएको उल्लेख छ । प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार भाद्र २५ गतेको अधिवेशनको तयारी हुँदा हुंदै पनि नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष मानबहादुर तामाङले भाद्र २३ गते दिउँसो २ः१२ को समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रमको तयारी नपुगेको हुँदा अर्काे सूचना नआएसम्मको लागि अधिवेशन स्थगित भएको भन्दै हस्तक्षेप गरेका थिए । तर उनी यसअघि बसेको बैठकमा भने उपस्थित भएको बताइएको छ । विद्यार्थी घेदुङ कास्कीका अनुसार जिल्ला समन्वय समितिका अध्यक्षले विद्यार्थी घेदुङलाई कुनै जानकारी नदिई अधिवेशन रोक्न हस्तक्षेप गरेको जनाएको छ । यतिमात्र नभएर जिल्ला समन्वय समितिका अध्यक्ष तामाङले विद्यार्थी घेदुङका अध्यक्षलाई अधिवेशन रोक्न फोन मार्फत दबावसमेत दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । तयारी नपुगेकाले अधिवेशन रोकिएका हो : जिल्ला अध्यक्ष मानबहादुर तामाङ घेदुङ कास्कीका अध्यक्ष मानबहादुर तामाङले आन्तरिक तयारी र जिल्लासँग कुनै छलफल नगरी अधिवेशनको मिति तोकिएकाले स्थगित भएको बताए । ‘तामाङ घेदुङ विद्यार्थी संघ भनेको हाम्रो भातृसंगठन हो तर हामीसँग कुनै छलफल नगरी आन्तरिक तयारी बिना नै जिल्ला अधिवेशनको मिति तोकिएकाले अधिवेशन रोकिएको हो ।’ उनले सुनगाभा न्यूजसँग भने । तामाङ घेदुङ विद्याथी कास्कीका इन्जार्ज सुन्दर तामाङले संगठन बलियो र चलायनमा बनाउन अधिवेशन रोकिएको जानकारी दिए । ‘जिल्लाको भुगोल र संरचना हेर्दा अधिवेशनको तयारी अपुग नै हो, उनले भने ‘संगठनलाई चलायनमान र बलियो बनाउन अधिवेशन रोकिएको हो ।’ भदौ २५ गते तोकिएको जिल्ला अधिवेशन कहिले गर्ने भनेर मिति अझै तोकिएको छैन ।
नवलपुर : नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणा गर्ने तयारी गरेको छ । मध्यविन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि कार्यक्रमलाई अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणा गर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयलाई खादा प्रयोग नगर्न पत्राचार गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुँदै आएको खादा प्रयोग नगर्न तथा नगराउन नगरप्रमुख अधिकारीले सबैलाई आग्रह गर्नुभएको छ । अतिथि सत्कारमा प्रयोग गरिने खादा अन्य कुनै पनि प्रयोजनमा काम नलाग्ने र त्यसको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले खादामुक्त नगर निर्माण गर्न लागिएको अधिकारीले बताउनुभयो । विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि खादाको विकल्पमा फूल, माला तथा अन्य उपयोगी सामग्री प्रयोग गर्न सकिने पनि अधिकारीको भनाइ छ ।
काठमाडौं : निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ । दलले असोज २ र ३ गते आयोगमा बन्द सूचीमा रहेका उम्मेदवारको नाम पेश गर्नुपर्ने छ । सम्बन्धित पार्टीले सूचीमा रहेका उम्मेदवारको नाम सञ्चाउन चाहेमा असोज ४ देखि ९ गतेसम्म गर्नुपर्ने र त्यसका आधारमा आयोगले १० देखि १६ गतेसम्म संशोधनको समय सिमा राखेको छ । त्यस्तै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १७ गतेको तालिका तय गरिएको छ । रिक्त स्थानमा परिवर्तन गर्नुपर्ने नाम दलले २० देखि २२ गतेसम्म आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । त्यस्तै २३ देखि २९ गतेसम्म दावी बिरोधका लागि समय राखिएको छ । यही असोज ३० देखि कात्तिक ५ गतेसम्म आयोगले जाँचबुझ गरी ८ गते सूचीबाट नाम हटाउने छ । आयोगले कात्तिक ९ गते अन्तिम नाम प्रकाशन गर्ने कार्यतालिका छ ।
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्षले वडाका फुटपाथ पसल र अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सूचना जारी गरेको छ । महानगर र वडाबाट स्वीकृति नलिइकन निर्माण भएका स्थायी, अस्थायी टहरा र अतिक्रमित जग्गामा एवं मापदण्ड विपरित निर्माण भएका संरचना हटाउने अभियान चलेको उल्लेख गर्दै वडा कार्यालयले ७ दिन भित्र संरचना हटाउन सुचना प्रकाशित गरेको हो । सुचनामा भनिएको छ, ‘वडा कार्यालयमा स्वीकृति नलिइकन निर्माण भएका स्थायी तथा अस्थायी टहरासमेतका अतिक्रमति जग्गामा एवम् मापडण्ड विपरित निर्मित संरचना हटाउने अभियान चलिरहेको हुँदा स्वीकृत नलिइकन निर्माण भएका संरचनाहरु ७ दिनभित्र हटाइदिनुहुन यो सुचना प्रकाशित गरिएको छ । सुचनामा ७ दिनभित्र पहिलो चरणमा जिरो किलोमिटर देखि उत्तरतर्फ र बागलुङ राजमार्गको दायाँबायाँको सडकमा महानगर र वडाको स्वीकृति नलिइकन निर्माण भएको संरचना हटाउन निर्देशनसमेत दिइएको छ । ७ दिन भित्र संरचनाहरु सम्बन्धित सरोकारवाला व्यक्तिबाट संरचना नहटाए प्रचलित कानुन बमोजिम हटाउँदाको खर्चसमेत असुल हुने सुचनामा बताइएको छ ।
पोखरा । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले प्लेयर स्वायड सार्वजनिक गरेको छ । पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख रहेका छन् भने शरद भेषावकर पनि पोखराबाटै खेल्नेछन् । पोखराका अन्य खेलाडीहरुमा कुशल मल्ल, प्रतिस जिसी, आरिफ शेख, तुलबहादुर थापा, विसन विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी रहेका छन् । विदेशी खेलाडीहरुमा पाकिस्तानी विकेट किपर व्याट्स्म्यान मोहम्मद हाफिज, पाकिस्तानकै सलमान इर्साद तथा श्रीलंकन खेलाडीहरु निरोशान डिक्वेला, शेहन मधुशंका जस्ता दिग्गज खेलाडीहरुलाई पोखरा एभेन्जर्सले आफ्नों टिममा अनुबन्धन गराएको छ । सुवोध त्रिपाटी र आतिस ज्ञवालीको वर्नशिपमा रहेको यो टिम मेण्टरमा भारतका पूर्वखेलाडी सन्दीप पाटिल रहेका छन् । प्रतियोगिता आगामी असोज ८ देखि कार्तिक ५ गते सम्म टियु खेल मैदानमा हुनेछ ।
पोखरा: गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साईन्स एण्ड कल्चर बिच भगिनी सम्बन्ध कायम भएको छ । जसको लागि सोमबार रसियन कल्चर सोको कार्यालय काठमाण्डौमा दुवैपक्षबिच एमओयू सम्झौता भएको छ । सम्झौता पत्रमा रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरको तर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरें । हस्ताक्षर पश्चात सदस्य सचिव श्रेष्ठले आफुहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको बताए । सम्झौता पश्चात हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने उनको भनाई छ । ‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुनेछ’ श्रेष्ठले भने । रसियन दुतावासका प्रथम सचिव समेत रहेका मास्लोभले गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिए । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको छ, यो सम्बन्ध दीर्घकालिन बनाउने छौँ’ उनले वाचा गरे । सम्बन्ध स्थापित भएसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रसियन सांस्कृतिक टोलीलाई पोखरामा निमन्त्रणा गरेको छ । सो निमन्त्रणालाई स्विकार गर्दै डाइरेक्टर मास्लोभले २५ जनाको टोली आगामी कार्तिक २१ पोखरा आउने बताएको प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले जानकारी दिए । सांस्कृतिक टोलीको सहभागीतामा कार्तिक २२ गते पोखरामा एक अर्काको संस्कृतिका बारेमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा कार्तिक २३ गते ‘रसियन कल्चर सो’ समेत हुनेछ । यो ‘कल्चरल सो’ मार्फत गण्डकी प्रदेशबासीले रसियन कल्चरको बारेमा जानकारी पाउने प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठको विश्वास छ ।
म्याग्दी : म्याग्दीकी एक मनकारी महिलाले पितृ कार्य (श्राद्ध) मा खर्च गरिने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गर्नुभएको छ । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुराको श्राद्धको तिथि पारेर आज पेटको क्यान्सर रोगबाट पीडित रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीका ४७ वर्षीय रीमबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको हो । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका विकको आर्थिक उपचारमा समस्या भएको थाहा पाएपछि घिमिरेले आफ्ना दिवङ्गत ससुरा रुद्रबहादुर घिमिरेको श्राद्ध तिथि पारेर रु सात हजार पाँच सय पाँच आर्थिक सहयोग गर्नुभएको क्यान्सर पीडित विकले जानकारी दिनुभयो । स्व ससुरा घिमिरे, स्व सासु कालिका घिमिरे र स्व पति भद्रबहादुर घिमिरेको सम्झनामा पोखरास्थित गण्डकी मेडिकल कलेज ९जिएमसी० अस्पतालमा उपचारत विकलाई बेनीको कालीपुल बसपार्कमा भेटेर उक्त रकम हस्तान्तरण गरेको सहयोगदाता घिमिरेले बताउनुभयो । “उहाँको अवस्था अत्यन्तै दयनीय रहेछ, आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि सक्दो सहयोग गरेकी हुँ”, घिमिरेले भन्नुभयो, “क्यान्सर जस्तो जटिल रोगले थलिएका भाइको उपचारमा थोरै भए पनि सहयोग गर्न पाएँ खुसी लागेको छ ।” विगत एक वर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ २७ गते भरतपुर क्यान्सर अस्पतालले पेटमा क्यान्सर भएको पत्ता लागेको थियो । औषधि उपचार गरिरहेका विकलाई चिकित्सकले पेटको शल्यक्रिया गर्नुपर्ने स्वास्थ्य सल्लाह दिएका छन् । हाल क्यान्सर रोगको अप्रेशन गर्न महँगोे खर्च लाग्छ । अहिले शरीरमा ‘किमो’ र औषधि प्रयोग भइरहेको छ । पेटको क्यान्सरको शल्यक्रिया गर्न रु २० लाख बढी खर्च हुने अस्पतालले बताएको विकले जानकारी दिनुभयो । दैनिक आरन र फर्निचरको काम (काठे काम) गरेर परिवारको गुजारा चलाउँदै आएका विकलाई क्यान्सर रोगको उपचारमा आर्थिक जुटाउन परिवारलाई समस्या भएको छ । पतिको क्यान्सर रोगको उपचारका लागि आर्थिक सहयोग गरिदिन पत्नी लक्ष्मी विकले अपिल गर्नुभएको छ ।
पोखरा: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अवैध सन्तानको संज्ञा दिएका छन् । पोखरामा जारी नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारलाई जनताले नपठाएको भन्दै अवैध सम्बन्धबाट बनेको बताएका हुन् । उनले जनादेशबाट नभइ परमादेशबाट वर्तमान सरकार अवैध रुपमा बनेको उल्लेख गरे । ‘यो सरकार अवैध सन्तान जस्तै हो कसरी आयो भन्ने जनता अनविज्ञ छन्, उनले भने ‘जनताले पठाएको सरकार होइन यो परमादेशले बनाएको सरकार हो ।’ उनले परमादेश सरकारले देशलाई दुर्घटना तर्फ घकेलेको बताउदै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि चुनावमा एमालेले जित्नै पर्ने दबाब रहेको धारणा राखे । ‘मंसिर ४ गतेको चुनाव एमालेले जित्नै पर्छ, उनले भने,‘ सामाजिक न्याय प्राप्तका लागि, समाजिक सद्भाव कायम गर्न, विकासको पूर्वाधारमा तिव्रता दिन, समानता कायम गर्न एमालेले चुनाव जित्नै पर्छ ।’ राष्ट्रिय सद्भाव कायम गर्न र समृद्ध नेपाल निर्माण गर्न एमालेले मंसिर ४ गतेको चुनाव जित्न आवश्यक रहेको उल्लेख गर्दै श्याम टमोटले लेखेका गीत नै गुनगुनाए । ‘हातमा कलम हुनेहरु कलम लिएर उठ, हातमा औजार हुनेहरु औजार लिएर उठ, उनले थपे, ‘केही नहुनेहरु आवाज लिएर उठ । यो देशको मुहार फेर्नलाई उठ ।’ उनले माधब कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले थ्रेसहोल्ड क्रस गर्न नसक्ने दाबी गरे । ‘अहिले ति मान्छेहरु चोक्टा खान गएका झोलमा डुबेर फट्या फट्याक भइरहेका छन् । यो चुनावमा प्रचण्डको पार्टीले थ्रेसहोल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ । माधव नेपालको पार्टीले थ्रेसहोल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसदमा पुग्दैन, उनले भने, ‘तपाइहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला । नोट गरेर राख्नुस । चुनावसम्ममा माधब नेपालसँग आफुबाहेक कार्यकर्ता नै रहदैनन् ।’ उनले फरक प्रसंगमा लोकतन्त्रको आन्दोलन सफल भएपनि कार्यान्वयन हुन नसकेको बताउदै चिन्ता व्यक्त गरेका थिए ।
पोखरा । लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखराको चिप्लेढुङ्गा, न्युरोड हुदै सभागृहसम्म झाँकी तथा र्यालीसहित सम्मेलन सुरु भएको महासचिव हुमबहादुर गुरुङले जानकारी दिए । सम्मेलनलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति कार्यक्रम रहेको छ । सम्मेलन पोखराको सभागृहमा सुरु भएको छ ।

