पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गर्नुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।   आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।   नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ ।   यस उपलब्धि हासिल गर्नका लागि भएका सङ्घर्षहरूमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानीक क्षति व्यहोर्नुभएका महानुभावलाई उच्च सम्मानपूर्वक स्मरण गर्दै उहाँले प्राकृतिक विपत् र कोभिड–१९ को महामारीबाट अल्पायुमै ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइलगायत सबैमा श्रद्धासुमन अर्पण गर्नुभएको छ ।   कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ । “सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुनेछ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।   प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिनुभएको छ । उहाँले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

काठमाडौं   :   राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।   दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गर्नुभएको छ ।   “नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ ।” सन्देशमा भनिएको छ, “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।”   उहाँले संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिँदै नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।   “देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “संविधान जारी भएपश्चात् प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको छ । आम निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्नमा सबै मतदाताहरूमा हार्दिक अपिल गर्दछु ।”   उहाँले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारमाध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गर्नुभएको छ ।

काठमाडौं  :  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ ।   राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार बैठकको सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिनुभएको हो ।    राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७  बमोजिम सो माफी दिइएको जानकारी दिनुभएको छ ।

सिमकोट  :  हिमालपारिको गाउँको नामले चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीसहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुई दिन लगातार पानी परेपछि लिमीसहित अग्गा डाँडामा हिमपात भएको छ । हिमपातले हिमाल सेताम्य देखिएको छ ।    हिमपातले चिसो बढेसँगै लेकमा भएका पशुवस्तु र गाई गोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चाँैरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन् । नाम्खा–६ को लिमी गाउँमा असोज महिनामै हिमपात भएको हो । बिहीबार रातिदेखि लगातर वर्षा हुँदा हुम्लाको उतरी लिमीका तीनवटै तिल, हल्जी र जाङ गाउँमा एक्कासि हिमपात भएको स्थानीयवासी तेन्जिननुर्वु लामाले बताउनुभयो । उहाँका अनुसार अविरल परेको हिमपातले अन्नबालीमा क्षति पुर्‍याएको छ ।    अविरल वर्षा हुँदा वर्षको एक पटक पाक्ने बाली नाफललगायत अन्नपात नष्ट गरेको छ । फेरि यो वर्ष पनि लिमीबासीलाई सरकारी राहतमाथि निर्भर हुन् बाध्य पर्ने लामाले गुनासो पोख्नुभयो । गाउँपालिकाका अध्यक्ष प्रेम लामाले न्याउलु लेकको बाटो खुलाई सक्दो राहतको पहल गर्ने बताउनुभयो ।    उत्तरी हुम्लामा कात्तिक महिना अन्तिम सातादेखि हिमपाता सुुरु हुनुपर्नेमा यसपटक समयमा मौसम परिवर्तनकै कारण भदौ अन्तिम दिनमा हिउँ परेको हो । उत्तरी नाम्खाको लिमीमा चार इञ्च हिउँ जमेकोे नाम्खा–६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताउनुभयो । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र अविरल वर्षापछि प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाका स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्नुभएको छ । 

कास्की:  पोखरा महानगरपालिकाले पोखरा ६ लेकसाइडस्थित फेवाताल किनारमा मापडण्ड विपरित बनेको घरको ढलान गर्न लागेको रेडिमिक्स्चरलाई नियन्त्रणमा लिएको छ ।   ग १ क ४८२२ नम्बरको फेवा प्रालिको रेडिमिक्स्चरलाई लेकसाइडबाट आज (आइतबार) पोखरा महानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।    फेवातालको ६५ मिटर मापडण्डभित्र निर्माणाधिन दीपेन्द्र महर्जनको घरको ढलान गर्न उक्त रेडिमिक्स्चर पुगेको महानगर स्रोतले बतायो । ‘हिजो महानगरप्रमुखनै गएर दीपेन्द्रलाई तालदेखि ६५ मिटरभित्र भइरहेको घर निर्माणको काम रोक्न भनिसकेको अवस्था हो, स्रोतले भन्यो, ‘आज उसले अटेर गरेर ढलान गर्न त्यो रेडिमिक्स्चर लगेको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएका हौं ।’     हिजो (शनिबार) मात्रै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड पुगेर फेवातालको ६५ मिटरको मापडण्डभित्रको संरचना हटाउन र कुनै पनि नयाँ संरचना नबनाउन उर्दी जारी गरेका थिए ।  सोही क्षेत्रमा निर्माणाधिन घरको ढलान गर्न फेवाको रेडिमिक्स्चर पुगेको थियो । घरधनी महर्जनले अटेर गर्दै निर्माण रोक्नुको सट्टा ढलान प्रक्रिया अघि बढाएपछि नगर प्रहरीले रेडिमिक्सरलाई नियन्त्रणमा लिएको महानगरले जनाएको छ ।   यसैबीच महानगरले पोखरा महानगरपालिकाभित्र निर्माण भएको संरचना मापडण्ड अनुसार भए नभएको यकिन गरेर मात्र सेवा प्रदान गर्न निर्माण व्यवसायीहरुलाई सुचित गरेको छ । महानगरले आज सुचना जारी गर्दै मापडण्ड विपरित निर्माण भइरहेको संरचनामा कुनैपनि निर्माण व्यवसायी कम्पनीले सेवा प्रदान गरेको भेटिएमा त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायतका समाग्रीहरु कानून बमोजिम नियन्त्रणमा लिइने सुचनामा उल्लेख छ ।

बलेवा  :  बागलुुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा व्यावसायिक जुनेलो खेती थालिएको छ । स्थानीय एक कृषि सहकारी संस्थाले बाँझो जग्गाको उपयोग गरेर व्यावसायिक जुनेलो खेती सुरु गरेको हो । कुश्मीशेराको फलाँटे कृषि सहकारी संस्थाले बाँझो जग्गामा व्यावसायिक जुनेलो खेती थालेको हो ।    कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाइएको सहकारीका अध्यक्ष मोतीप्रसाद शर्माले बताउनुभयो । स्थानीयले जनशक्तिको अभावमा केही वर्षदेखि बारी बाँझो छाडिएको थियो । बाँझो जग्गा भाडामा लिएर सहकारीको उद्देश्यअनुसार खेती थालिएको शर्माले बताउनुभयो ।   रैथाने बालीको संरक्षण र सहकारीमार्फत कृषक सदस्यको आय वृद्धिका लागि व्यावसायिक खेती थालिएको हो । गत जेठ महिनामा लगाइएको जुनेलोले यसै वर्ष उत्पादन दिनेछ । “यो वर्ष पाँच क्विन्टल जुनेलो फलाउने लक्ष्य छ, बिरुवामा राम्रो भएका छन्, हामीले सोचेअनुसारकै उत्पादन हुन्छ”, शर्माले भन्नुभयो “बर्सेनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष सहकारीलाई जुनेलोबाट आम्दानी जोडिनेछ ।”   जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशील छन् । बीउ लगाउने, गोडमेल गर्ने र सिँचाइ गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको अध्यक्ष शर्माले बताउनुभयो । “यो वर्षको उत्पादनबाट हुने आम्दानी सहकारीको पुँजी वृद्धिमा लगाइनेछ”, शर्मा भन्नुहुन्छ, “अर्को वर्षदेखि हुने आम्दानी, खर्च कटाएर सहकारीका सदस्यले दामासाहीले पाउँछन् ।”   सहकारीले रु एक लाख खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको हो । दश किलो बीउ रु चार सय ५० प्रतिकिलोका दरले खरिद गरेर लगाइएको शर्माले बताउनुभयो । “यो रैथाने बाली हो, पहिले हामीलाई बीउ पाउनै कठिन भयो”, उहाँ भन्नुहुन्छ, “बजारमा बीउको अभाव छ, हामीले केही वर्ष बीउकैरुपमा उत्पादन गर्छौं र बिक्रीका लागि पनि सोहीअनुसारको बजारको खोजी भइरहेको छ ।”       केही वर्षअघिसम्म अस्मिता कृषक समूहमा आबद्ध भएर मूला तथा केराउको मूल बीउको व्यावसायिक उत्पादन गरेका कृषक सहकारीमा आबद्ध रहेकाले उनीहरुलाई बीउ उत्पादनको अनुभव र बजारको जानकारी रहेको शर्माले दाबी गर्नुभयोे ।   यो बाली रोपिएको करिब ६० दिनमै उत्पादन दिने र सिचाइँको सुविधा कम भएको तथा चिस्यान कम हुने माटोमासमेत उत्पादन हुने गर्दछ । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीका रुपमा रहेको जुनेलो लगभग लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले संरक्षण थालेको हो ।   धार्मिक कार्य, पूजाआजा, अनुष्ठानमा प्रसादका साथै भोजनका लागिसमेत प्रयोग गरिने जुनेलो औषधिका रुपमा पनि प्रयोग गरिन्छ । जुनेलोको सेवनबाट पित्त, मूत्र तथा पेट सफा हुनुका साथै स्फूर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ । माग बढ्न थालेपछि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा रहेका कृषक जुनेलो खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।    होटल रेस्टुरेन्टमा पनि जुनेलोको परिकार बन्न थालेपछि यसको महत्व झन बढ्न थालेको छ । पहाडी भिरालो, खोरिया र रुखो जमिनमा सहजै उत्पादन गर्न सकिने भएपछि जुनेलोलाई खासै मेहनत पनि गर्नु पर्दैन । न्यानो हावापानी मन पराउने जुनेलो मकैजस्तै खाद्यान्न बाली हो ।    सहकारीले रैथाने बालीका रुपमा रहेका कोदो र फापरको ‘ब्राण्डिङ’ समेत गर्ने योजनामा रहेको छ । सहकारीमा आबद्ध किसानले व्यक्तिगत खेतबारीमा उत्पादन गरिरहेको कोदो र फापरलाई सहकारीले खरिद गरेर पिठोको ब्राण्डिङ गर्ने योजना छ । रैथाने बालीको संरक्षण, बाँझो जग्गाको उपयोग र किसानलाई व्यावसायिक बनाउनका लागि सहकारी लागेको हो ।   

कञ्चनपुर   :  भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन सक्नुहुन्न । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो । त्यही सन्देशले शिविरका सबै जनाको ज्यान जोगायो ।    रञ्जितको मोबाइलमा सन्देश जल तथा मौसम विज्ञान विभागबाट आएको थियो । त्यसमा लेखिएको थियो, “पछिल्लो तीन घण्टामा कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भएकाले नदीमा आकस्मिक बाढी आई खतरा आसपास पुगिसकेकाले सतर्कता अपनाऔँ”, रावतले मोबाइलमा आएको सन्देश पढ्नुभयो ।   सन्देश पढ्नासाथसँगै सुत्नेकी श्रीमतीलाई उठाएर सन्देशका बारेमा सुनाउनुभयो । “सन्देशमा भने झैँ ठूलो वर्षा भइरहेको थियो”, रावतले भन्नुभयो, “बाहिर हेरे वनहरा नदीको पानी झोपडी भित्रै आइपुगेको थियो, हतारमा श्रीमतीलाईसँगै आवश्यक सामान बोकेर भाग्नका लागि तयार पारे, शिविरका अन्य बासिन्दालाई बाढी आएको कुरा ठूलो आवाजले कराएर सुनाए सबैजना वन क्षेत्रमा भाग्यौँ, त्यो सन्देश नआएको भए ठूलो दुर्घटना निम्तिन्थ्यो ।”   नदीको बाढी शिविरमा छिरेपछि लत्ताकपडा, भाँडाकुँडा, खाद्य सामग्री सबै झोपडीमै छाडेर एक सरो लुगामा सबै भागेर ज्यान जोगाएको उहाँ बताउनुहुन्छ । “शिविरमा बाढीको पानी पसिसकेकाले भाग्नका लागि आवाज आयो”, गौरे दमाईंले भन्नुभयो, “सुतेका मात्रै थियौ, लत्ताकपडा केही बोक्नै पाएनौँ ।”    उहाँले रातिका समयमा शरीरमा एकसरो कपडा मात्रै लगाएर सामुदायिक वन क्षेत्रमा भागेको सुनाउनुभयो । “पानी छातीसम्म पुगिसकेको थियो, बाँचिएला भन्ने आशा नै थिएन जसोतसो कम पानी भएको ठाउँमा पुगेपछि अब बाँचिन्छ झैँ लाग्यो”, उहाँले भन्नुभयो, “वनको माथितर्फ लाग्यौँ, त्यतिबेला शिविरका अरु पनि आइपुगे, पानीमा भिज्दै उभिएरै रात कटायौँ ।”    उहाँ अहिले पनि शिविरमा फर्केर जान डराउने हुन्छ । वर्षा भएपछि अझै पहिला जस्तै बाढी आउने डर उहाँको मनमा खेल्ने गरेको छ । शिविरमा पानी पसेपछि वन क्षेत्रमा रातिको समयमा बालबालिकालाई काखिमै च्यापेर भिज्दै रात काटेको कुरा मथुरादेवी सार्की बताउनुहुन्छ ।   “डोरीको खटियामा सुतेका थियौँ”, उहाँले भन्नुभयो, “झोपडीभित्रै पानी आइपुगेकाले ज्यान जोगाउनकै हतार भयो, केही बोक्नै पाएनौँ, सबै बगाएर लग्यो, शरीरमा लगाएको एकसरो लुगामात्रै छ, त्यसबाहेक केही छैन ।”   रातको समयमा मुसलधारे पानीमै बालबालिकासहित अनिदोमै रात काट्नु परेको दुखेसो उहाँले पोख्नुभयो । शिविरकी कलावती दमाईंको झोपडी बाढीले बगाउँदा एकसरो लुगामै हुनुहुन्छ । रातिमा बालबालिका पानीमा भिजेपछि बिरामी पर्न थालेको उहाँले बताउनुभयो ।    “शिविरमा बाढी पसेको हल्लाखल्ला हुन थालेपछि सबैभन्दा पहिला गाईबस्तुलाई फुकाएर जङ्गलतर्फ भगाउँदासम्म झोपडीमा घुँडासम्म पानी पुगिसकेको थियो”, स्थानीय दलबहादुर बोहराले भन्नुभयो, “झोपडीमा सुतेकालाई उठायौँ भाग्न भन्यौँ, त्यसपछि एकसरो लुगामै जङ्गलै जङ्गल पानीमै भागेर ज्यान जोगायौँ ।”        शिविर रहेको पश्चिमतर्फ वनहरा नदी, दक्षिणतर्फ नदीले नै बनाएको नाला छ, उत्तरतर्फ घना वन क्षेत्र छ । बिहानको ५ बजेपछि जनप्रतिनिधिसहित सुरक्षाकर्मी आएर सुरक्षित स्थानमा ल्याएर राखेको उहाँ बताउनुहुन्छ । सुरक्षाकर्मीको उद्धार टोलीले शिविरमा पुगेर बग्नबाट बाँकी रहेका सामान जोगाएको उहाँले बताउनुभयो ।    विस्थापित परिवारको झोपडीमा अहिले घुँडासम्म हिलो छ । बस्नसक्ने अवस्था छैन । विस्थापित परिवारलाई शुक्लाफाँटा नगरपालिका–११ को वडा कार्यालयले सरस्वती माध्यमिक विद्यालयमा तत्कालका लागि बस्ने र खाने व्यवस्था मिलाएको छ । शिविरमा २८ परिवारको बसोबास रहेको छ । शिविरका बस्दै आएका बासिन्दालाई नेपाल रेडक्रस उपशाखा झलारीले कम्बल उपलब्ध गराएको छ भने झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले राहत सामग्री वितरण गरेको छ । शिविरमा बसोबास गर्दै आएका बासिन्दाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन् ।   “नदी छेउको शिविरमा जुनसुकैबेला अझै पनि विपद् आउनसक्ने भएकाले सुरक्षित स्थानमा बसोबासका लागि धेरै पहिलेदेखि माग गर्दै आएका हौँ”, मानध्वज लुहारले भन्नुभयो, “कसैले सुनेनन् अव त्यो शिविरमा फर्केर जाने मन छैन, निकै डर लाग्न थालेको छ, यस पटकको विपद्बाट मोबाइलमा आएको सन्देशले बचायो । अर्कै पटक विपद् आए के हुने हो थाहा छैन ।” 

बाँके  :  समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपाली धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नकसेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो ।    यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताउनुभयो । यस वर्ष समयमै पानी नपरेका कारण ढिलोगरी धान रोपाइँ भएको थियो । खेतीका बेला मल नपाएउँदा खेती लाउन नपाइएको उहाँको भनाइ छ ।   बाँकेको नरैनापुर गाउँपालिकामा पानी नपर्दा यस वर्ष १५ प्रतिशत मात्र धान रोपाइँ भएको स्थानीयले बताएका छन् । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीका भरमा धानखेती गर्दै आएका नरैनापुरका किसानले यो वर्ष रोपाइँ गर्न नपाएको सोहनलाल यादवले बताउनुभयो ।    पर्याप्त सिँचाइको व्यवस्था नभएकाले किसानले नरैनापुरमा धान रोपाइँ गर्न पाएका छैनन् । वैकल्पिक उपायमार्फत लगाएको धानबालीसमेत नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताउनुभयो । बाँकेमा खडेरीका कारण यो वर्ष धानखेतीयोग्य १० प्रतिशत जमिन बाँझै रहेकाले अघिल्लो वर्षको तुलनमा उत्पादन कम हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।    बाँकेमा अन्य स्थानीय तहमा धेरै समस्या नभए पनि नरैनापुरमा खडेरीका कारण यो वर्ष धानखेती गर्न सकिएको छैन । पानीको अभावमा समस्या भएपछि नरैनापुरलाई गाउँपालिकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । नरैनापुरमा धानखेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर छ । जिल्लाका अन्य क्षेत्रमा ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  

 ​काठमाडौं  :  नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।   १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो।   उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।   तर लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्।   यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए।   ‘उनी अहिलेसम्म सम्पर्कमा आएनन्, इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया सुरू भइसक्यो,’ ती अधिकारीले भने।   प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो।   अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन।   इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।   इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ।   ‘कस्तो खालको अपराध र परिस्थिति हो त्यसअनुसार नोटिस जारी हुन्छ। मृत्यु भइसकेको मान्छे खोज्न परे ब्ल्याक कर्नर, बिस्फोट गराएको मुद्दाका मान्छे पक्राउ गर्न परे पर्पल, बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधमा रेड कर्नर नोटिस जारी हुन्छ,’ उनले भने, ‘नोटिस जारी गर्न पनि एकैचोटी हुँदैन। कार्यविधि, कानुनअनुसार अघि बढ्ने हो।’   यसबारेमा अदालतको पनि आदेश चाहिने उनले बताए। अनुसन्धान गर्दै जाँदा अनुसन्धान अधिकृतको आवश्यकता भएमा अदालतको आदेशपछि इन्टरपोलबाट पक्राउ गर्न सकिने उनको भनाइ छ। फरार भएको यति नै दिनमा पक्राउ गर्नुपर्ने भन्ने नभएको उनले बताए।   राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो।    भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।   उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।   केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए।    लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। तर पीडित प्रहरीकै संरक्षणमा भएको प्रहरी अधिकृतले बताएका छन्।   उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।   त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।