पोखरा : जिल्ला कारागार कास्कीले सजाय भोगिरहेको २१ कैदीहरुलाई संविधान दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ । संविधान दिवसको अवसरमा कास्की कारागारबाट सजाय मिनाहामा हुनेमा २ महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएको कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए । उनका अनुसारमा कैद मिनाहा हुनेमा बहुबिबाहमा २/२ जना महिला पुरुष, कर्तव्य ज्यानमा ८, सवारी ज्यानमा २, ज्यान मार्ने उद्योगमा ३, चोरीमा ३ र मुद्रामा १ जना रहेका छन् । कास्की कारागारमा हाल ३८ महिला, ८०१ पुरुष र २ नाबालक गरी ८ सय ४१ जनाले कैद भुक्तान गरिरहेका छन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार कास्कीबाट २१ जनाको सजाय मिनाहा गरेकी हुन् ।
पोखरा : जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पृथ्वीराजमार्गमा भेटिएको नगद रकम प्रमाण सहित दावी गर्न अनुरोध गरेको छ । भदौ २८ गते पृथ्वीराजमार्गको विजयपुर सडकखण्डमा केही नगद रकम फेला परेको भन्दै ट्राफिक कार्यालय कास्कीले प्रमाण सहित कार्यालयमा आउन आग्रह गरेको हो । कार्यालय प्रमुख प्रकाश दाहका अनुसार पृथ्वीराजमार्गको विजयपुर खण्डमा मोटरसाइकलमा सवार एक युवकले सडकमा झरेको नगद टिप्दै गरेको ट्राफिक प्रहरीले देखेपछि सोधपुछ गर्ने क्रममा सम्बन्धित व्यक्तिको नभएको खुलेको हो । भदौ २८ गते पोखरादेखि कोत्रे सडकमा भेटिएको रकम कसैले पनि हराएको भन्दै कुनै उजुरी नदिएकाले सोमबार ट्राफिक कार्यालय कास्कीले सुचना प्रकाशित गर्दै प्रमाणसहित आउन अनुरोध गरेको हो ।
काठमाडौं : गतवर्ष नेपालबाट रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताउनुभयो । कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उहाँको भनाइ थियो । खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महङ्गो भएको भन्दै त्यसलाई चाँडो घटाउन उहाँले माग गर्नुभयो । सङ्घका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गर्नुभयो । अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेको उहाँको भनाइ थियो । अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गर्नुभयो । नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अष्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवं हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन् । विसं २०६५ मा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाडौँभित्रका १८२ र देशभरका ६०० भन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध छन् ।
चितवन ः चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघिनै मृत्यु भएको ढिला गरी थाहा भएको हो । स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईका अनुसार योसँगै जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन । चापागाईका अनुसार हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो । पछिल्लो बिरामीको बारेमा सोधपुछ गर्दै जाँदा उनको भदौको ३ गतेनै मृत्यु भएको जानकारी शनिबार प्राप्त भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती बिरामीको नमूना भरतपुरको नारायणी सामुदायिक अस्पतालबाट पठाइएको उल्लेख छ । अस्पतालको रेकर्डमा भने ती बिरामीको नाम नभएको कार्यालय प्रमुख चापागाईले बताउनुभयो । थप विवरणका लागि भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई भनिएको उहाँले जानकारी दिनुभयो । विस्तृत विवरण महानगरमार्फत आउने उहाँको भनाइ छ । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । उहाँका अनुसार सङ्क्रमित एक जना थपिएका छन् । पछिल्लो थपिएका सङ्क्रमित माडीका हुन् । माडी नगरपालिका वडा नम्बर ४ का ७४ वर्षीय वृद्धमा सङ्क्रमण देखिएको हो । बिरामीको बारेमा थप विवरणका लागि माडी नगरपालिकाको स्वास्थ्य शाखालाई भनिएको छ । सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । चापागाईले भन्नुभयो, “सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका हुन भने त्यस पछिका सबै १५ वर्षभन्दा माथिका हुनु । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा तीन हजारमा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय चापागाईको भनाइ छ । सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने गर्दछ । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं : दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएको जानकारी दिनुभयो । जसमध्ये असोज १ गते शनिबार सात हजार र असोज २ गते आइतबार आठ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारी साधनको पनि अग्रिम टिकट बुकिङ चाँडो खुला गरिने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका काठमाडौँ प्रमुख रमेश खत्रीले जानकारी दिनुभयो । लामो दूरीमा जाने यात्रुका लागि टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गर्ने गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताउनुभयो । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । महाशाखाले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा ९ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्नुहुने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाउनुभएको छ । यस्तै अलङ्कारतर्फ राष्ट्र यशोवर्द्धक १०, परम पौरख भास्कर दुई, नेपाल प्रताप सुभूषण ३८, नेपाल सेवा प्रवीण २३, अतिपौरख भाष्कर आठ, नेपाल प्रताप आभूषण १९, समाजसेवा रत्न ३८, महापौरख भाष्कर १८ र नेपाल प्रताप भूषण २३ जनालाई प्रदान गरिनेछ । पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२, वीरता पदक आठ, सौर्य पदक एक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक सात, विकास रत्न पदक १६ जनालाई दिने घोषणा गरिएको छ ।
पोखरा : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको छ भन्नुभएको छ । उहाँले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा संविधानले आबद्ध गरेको उल्लेख गर्नुभयो । संविधानअन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको र जनता राज्यशक्तिको स्रोत भएको सन्देशमा भनिएको छ । “संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावनाबमोजिम राज्य व्यवस्था सञ्चालन गर्न, संविधानमा लिपिबद्ध जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आमनागरिकको पहुँचमा पुग्ने गरी वितरण गर्नेतर्फ हाम्रो ध्यान जान जरुरी रहन्छ”, प्रदेश प्रमुख गुरुङको सन्देशमा उल्लेख छ । केही समय अघि मात्रै स्थानीय तहको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्णरुपमा सम्पन्न भइसकेको भन्दै उहाँले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचनपछि मुलुक राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय संरचनाअनुसार हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समेत उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई उहाँले अनुरोध गर्नुभएको छ । संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न सबैमा प्रदेश प्रमुख गुरुङले अपिल गर्नुभएको छ ।
पोखरा : मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ । पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ । मुस्ताङसहित केही मात्रामा मुस्ताङ तथा डोल्पाबाट तथा भेडा च्याङ्ग्रा आउनसक्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मुस्ताङबाट लगभग १२ हजार भेडा तथा च्याङ्ग्रा आउनसक्ने देखिएको छ । च्याङ्ग्राको बढ्दो मागसँगै मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड, ल्होमन्थाङ गाउँपालिकामा च्याङ्ग्राको व्यावसायिक पालन बढ्दै गएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करिब २० हजार भेडा तथा च्याङ्ग्रा पालिरहेका छन् । त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करिब १० हजारको सङ्ख्यामा भेडा तथा च्याङ्ग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो । पछिल्ला वर्षमा ऊनको व्यापार कम हुँदै गएपछि यहाँ किसान भेडाभन्दा पनि च्याङ्ग्रातिर आर्किषत बनेको देखिन्छ । ल्होघेकर दामोदरकुण्ड, वारागुङ मुक्ति क्षेत्र र ल्होमन्थाङ गाउँपालिकामा अधिकांश च्याङ्ग्रा पालन भइरहे पनि मुस्ताङका थासाङ र घरपझोङ गाउँपालिकामा भने अधिकांशः भेडा पालन भइरहेको छ । सामान्यतः एउटा च्याङ्ग्रा जन्मेको चार वर्षपछि बेच्न लायक हुने गरेको बताइएको छ । पोखरामा घटस्थापना पछि क्रमशः भेडा च्याङ्ग्राको व्यापार हुने गरेको छ । भेडा तथा च्याङ्ग्रा उच्च हिमाली क्षेत्रमा बस्ने भएकाले पोखरा ल्याउँदा हिँडाएर झार्नुपर्ने हुन्छ । मुस्ताङबाट पोखरासम्म हिँडाएर ल्याउनका लागि करिब चार दिन समय लाग्ने विगत केही वर्षयता भेडा तथा च्याङ्ग्राको व्यापार गर्दै आएका सन्दीप गुरुङले बताउनुभयो । “हिमाली भेगबाट पहाडी भेगमा गाडीमा ल्याउँदा भेडा तथा च्याङ्ग्रामा चाँडै नै स्वासप्रश्वासमा समस्या आउने गर्दछ, त्यसैले हिँडाएर ल्याउँदा सुरक्षित पुर्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “हिँडाउँदै, चराउँदै ल्याउँदा बाटोमा हराउनेजस्ता समस्या पनि नभएका भने होइनन् ।” मुस्ताङबाट झर्ने भेडा तथा च्याङ्ग्राको जोमसोममा स्वास्थ्य परीक्षण गरेर पठाउने गरिएको पोखरेलले जानकारी दिनुभयो । विगतमा मुस्ताङसहित मुगु, डोल्पा, चीनबाट ल्याइने गरिए पनि यस वर्ष चीनबाट आउने सम्भावना नभएपछि बजारमा माग पुर्याउन गाह्रो हुने देखिएको छ । हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केको भेडा च्याङ्ग्रा मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने भएकाले पोखरामा बर्सेनि यसमो माग बढ्दो अवस्थामा रहेको गुरुङले बताउनुभयो । अघिल्लो वर्ष पोखरामा दसैँको समयमा रु ६४ करोडको भेडा च्याङ्ग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । पोखरामा च्याङ्ग्राको व्यापार भोटमा नुन लिन जाने प्रचलनदेखि नै सुरु भएको मानिन्छ । तत्कालीन समयमा नुन लिनका लागि भोट जाने र फर्कदा हुनेखानेले दसैँका समयमा नुनसँगै च्याङ्ग्रा पनि ल्याउने गरेको पाइन्छ । तत्कालीन समयका टुक्रे राज्यका शासकले दरबारमा हिमाली क्षेत्रका झारल, घोरल तथा च्याङ्ग्राको मासु तथा सुकाएर सुकुटी खाने र आफ्नो रौबरबाफ देखाउने प्रचलन रहेकोमा पछि विस्तारै सर्वसाधारण पनि यसतर्फ आकर्षित हुँदै गएको बूढापाका बताउँछन् ।
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बीच प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउनुभएको छ । संविधान दिवस २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले सीमित साधनस्रोत, अधिकार हस्तान्तरण हुन नसक्नाका साथै जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकै कारण अपेक्षित काम गर्न नसकिएको अनुभूति भए पनि क्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताउनुभयो । “संविधानतः उल्लेखित कतिपय अधिकार प्रदेशमा हस्तान्तरण गर्न ढिलाइ भइरहेको छ । प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान हो”, सन्देशमा भनिएको छ, “वित्तीय स्र्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकै कारण प्रदेश तहले चाहेजस्तो गरी काम हुन नसकेको अनुभूति भएको छ ।” सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात् गरेको उल्लेख गर्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी गरी दिगो विकासका लक्ष्य प्राप्तिका लागि तीन तहका बीच समन्वय जरुरी रहेको बताउनुभयो । लगातार सात दशकको सङ्घर्षबाट नेपाली नागरिकले आफ्नो संविधान लेखनमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको उहाँको भनाइ छ । संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै उनीहरूका आवश्यकताको सम्बोधनका लागि हामी प्रयासरत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालको संविधानले मौलिक हकमार्फत प्रत्याभूत अधिकारको कार्यान्वयन गर्दै आधारभूत आवश्यकतामा सबै नागरिकको पहुँच पु¥याउन संविधान दिवसले प्रेरणा दिने मुख्यमन्त्रीले मन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

