बागलुङ ः बागलुङको निसीखोला गाउँपालिकाका सबै वडामा सामुदायिक स्वास्थ्य इकाइ तथा स्वास्थ्यचौकी छन् । जटिल प्रकारको उपचार गर्न यहाँका नागरिक बुर्तिबाङ झर्न बाध्य छन् । उनीहरुले अहिलेसम्म निसीखोलामा विशेषज्ञ डाक्टरबाट उपचार गराउन पाएका छैनन् । एक दशक अगाडिसम्म जिल्लाकै सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको निसीखोला मध्यपहाडी लोकमार्गले अहिले निकै सुगम बनेको छ । तर गुणस्तरीय स्वास्थ्य सेवाका हिसाबले अझै दुर्गम छ । वर्षौंदेखि स्थानीयले निसीखोलामा अस्पतालको माग गर्दै आएका थिए । तर त्यसको सुनुवाइ भने हुन सकेको थिएन । गत वर्षदेखि यहाँ अस्पताल बनाउने प्रक्रिया अगाडि बढे पनि अहिले बल्ल निर्माण सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ झिम्पामा पालिकास्तरीय १० शैयाको अस्पताल बन्न सुरु भएको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि स्थानीयमा खुसी छाएको छ । “अब बिरामी भए पनि हजारौँ पैसा खर्च गरेर टाढा जान नपर्ने भयो, गाउँमै ठूला अस्पताल बन्न थालेको छ, अहिलेसम्म यस क्षेत्रका मान्छे बिरामी पर्दाबित्तिकै बुर्तिबाङ जान्थे, बुर्तिबाङ भएन भने पाल्पा, पोखरा, काठमाडौँ जाने गर्थे”, स्थानीय नरबहादुर घर्ती मगरले भन्नुभयो, “यहाँ अस्पताल बन्न लागेपछि त हाम्लाई निकै खुसी लागेको छ, यस ठाउँका जनतालाई अब केही दुःख हुने छैन, उपचारको हो दुःख भएको, अब अस्पताल बन्ने भयो ।” सङ्घीय सरकारको सहयोगमा निसीखोला आधारभूत अस्पताल बन्न लागेको हो । अस्पताल आगामी २०८० पुस महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमान गरेकामा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्नेगरी जिम्मा लिएको गौतमको भनाइ छ । अस्पताल १० शैयाको हुनेछ । “अघिल्लो वर्षदेखि नै काम गर्नेगरी अस्पतालको सम्झौताको काम पूरा भएको थियो, निर्माण कम्पनीले अहिले काम गरिरहेको छ”, गौतमले भन्नुभयो, “अहिले अस्पतालको भवन निर्माणका लागि पिलर उठाउने काम भएको छ, निर्माण कम्पनीले कामलाई तीव्रता दिएको छ ।” केन्द्र सरकारले कार्य प्रगतिका आधारमा बजेट दिने गौतमको भनाइ छ । अस्पताल भवन सुविधा सम्पन्न हुने र निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गरिने जनाइएको छ । भवन दुईतले हुने छ । भवन निर्माणका लागि गाउँपालिकाले दुई वर्ष अगाडि नै आठ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो । अस्पताल बनाउन सात रोपनी दुई आना जग्गा आवश्यकपर्ने मापदण्डमा उल्लेख छ । स्थानीय दुर्गबहादुर सुनारलगायतका दाताले अस्पताल निर्माण लागि जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो । अस्पताल गाउँपालिका– ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । झिम्पा गाउँको फेदमा निर्माण हुन लागेको अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा भएपछि निसीखोलाका नागरिकलाई स्वास्थ्योपचारमा सहज हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले वर्षौंदेखि यहाँका नागरिक सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माणपश्चात् गाउँठाउँबाटै सहज सेवा लिनसक्ने बताउनुहुन्छ । अध्यक्ष घर्ती मगरले भन्नुभयो, “माग गरेको लामो समयपछि अस्पताल बन्न थालेको छ, यसको निर्माण सम्पन्नपछि यहाँका नागरिकले विशेषज्ञ डाक्टरसहितको सेवा पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।” स्वास्थ्योपचारका लागि नजिकमा अस्पताल नहुँदा विगतमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै अब कुनै पनि नागरिकले स्वास्थ्योपचार पाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो । अध्यक्ष घर्तीमगरले अब सामान्य बिरामी भए पनि बुर्तिबाङ पुग्नुपर्ने बाध्यता हट्ने र नागरिकको स्वास्थ्य, समय र पैसासमेत बचत हुने बताउनुहुन्छ । अध्यक्ष घर्तीमगरले अहिलेसम्म पालिकामा एउटा पनि एम्बुलेन्स नभएको भन्दै त्यसका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । चालु आर्थिक वर्षमै एम्बुलेन्स सञ्चालनका लागि आवश्यक प्रक्रियासमेत अगाडि बढाइसकेको उहाँको भनाइ छ । “पालिकाले एम्बुलेन्स सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको छ भने आवश्यक प्रक्रिया पनि अगाडि बढाइसकेका छौँ, सम्भव त यसै वर्ष सञ्चालनमा आउला ।”
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो । शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीरबाट सिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए । ‘२२ घण्टापछि उहाँलाई सेनाको सहयोगमा उद्धार गरिएको हो,’ उनी भन्छन्,’ठूलो पानी परेको भए राति नै बगाउन सक्थ्यो, तर खोलाको सतह नबढेकाले उहाँ ढुंगामै अड्किरहनु भएछ ।’
पोखरा : आज आइतबार तनहुुँ जिल्ला अदालतमा हुने भनिएको अभिनेता पल ( पूर्णविक्रम ) शाहको सुनुवाई स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्धाको सुनुवाई पहिलो नम्बरमा परेको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति बेलुकासम्म आउँछ,’ वाग्लेले भने । शाह बलात्कार मुद्दाको पुर्पक्षका लागि अहिले तनहुँ कारागारमा छन् । सोही प्रकृतिको मुद्दामा गत साता नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । नवलपुर अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन । फैसलाको पूर्णपाठ आउने बित्तिकै यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी रहेको कानुन व्यवसायी वाग्लेले जानकारी दिए ।
काठमाडौं : महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार सार्वजनिक भएको छ । महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ । साथै केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने पनि उल्लेख छ । संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमले पनि गत २०७८ फागुन १ गते राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्याय परिषद र जबरालाई पठाएको पत्रमा संविधानको धारा र प्रतिनिधि सभा नियमावली २०७५ मा भएको व्यवस्था उल्लेख गर्दै जबरामाथि महाअभियोगको कारबाही टुंगो नलागेसम्म कामकाज गर्न नपाउने व्यहोरा उल्लेख गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसदले सफाइ नदिएसम्म जबराको निलम्बन कायमै रहने बताए । संवैधानिक व्यवस्था विपरीत जबरा सर्वोच्च फर्किन लागेको हल्लापछि कानुन व्यवसायीहरुले उनलाई गेटमा रोक्ने तयारी गरेका छन् । यसअघि जबराको कार्य सम्पादनमा प्रश्न उठाउँदै कानुन व्यवसायीहरुले तीन महिना लामो आन्दोलन गरेका थिए ।
अछाम : अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यू हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही,सोही गाउँपालिका का १७ बर्षीय बिमला शाही,४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही,१७ बर्षीय कल्पना शाही,१३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही,३ बर्षीय कल्पना शाही,२१ बर्षीय भावना शाही र कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी,१७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी,३६ बर्षीय मैनकला कामी,१५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ । यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने २६ बर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ बर्षीय डिग्रा दमाई,३ बर्षीय कलु दमाई,४ बर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।
पोखरा : नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको सातौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । नेकपा एमालेको भातृ जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । जिल्ला सम्मेलन तथा अधिवेसनको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट स्थानीय निर्वाचनमा निर्वाचित २५ जना जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम संयोजक किसान सेवा परियारले बताए । सो सम्मेलनमा कास्की जिल्लाभरका ४ सय ५६ जना प्रतिनिधिहरुको जमघट हुने संयोजक परियारले बताए । नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीका अध्यक्ष धनबहादुर विश्वकर्माले प्रत्येक तीन/तीन वर्षमा गर्नुपर्ने जिल्ला सम्मेलन ११ वर्षपछि गर्न लागेको बताए । उनका अनुसार उक्त अधिवेशन आगामी ३ गते हुनेछ । उनले संविधानमा लेखिएको हक अधिकारका लागि पार्टीमै आन्तरिक द्वन्द्ध गरिरहेको बताए । ‘नेपालको संविधानमा दलितको लागि हक अधिकार लेखिएको छ, उनले भने ‘तर व्यवहारमा लागु छैन त्यसैले हक अधिकारको प्राप्तीको लागि पार्टीमा र दैनिक व्यवहारमा दबाबमूलक कार्यक्रम गर्दै आएका छौं ।’
पाेखरा: इन्टरनेशलन वाटरकलर सोसाइटी (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा आजदेखि ‘आर्ट क्याम्प’ सुरु भएको छ । पोखरा महानगरपालिका १ बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा आज (शनिबार) देखि ‘पोखरा आर्ट क्याम्प’ सुरु भएको हो । आगामी ४ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प प्रतिष्ठानको भवनमा मात्रै सिमित नहुने कार्यक्रम संयोजक मनोज योञ्जन तामाङले बताए । सो क्याम्पमा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको कलासहित सहभागिता रहेको तामाङले बताए । उनका अनुसार नेपालबाट ९० भारतका ८, बङ्गलादेशका १७ र इरानका ६ जना कलाकारको सहभागिता रहेको छ । आर्ट क्याम्पअन्तर्गत आज (असोज १ गते) भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी भएका छन् । ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुने कार्यक्रम संयोजक मनोज तामाङले बताए । यसैगरि आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले क्याम्पको दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरि कार्यशाला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार तेस्रो दिनभने विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी हुनेछ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सिमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको गुरुङले बताए । आयोजकले कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने लक्ष्य लिएको छ । संगीत र कलाको राजधानी हो पोखरा: पूर्वगृहमन्त्री अधिकारी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले पोखरा संगीत र कलाको राजधानी भएको बताए । ‘पोखरा एक प्राकृतिक कला भएको पर्यटकीय स्थल हो, उनले भने,‘ पोखरा संगीत र कलाको राजधानी हो । कलाको माध्यमबाट राज्यलाई चिनाउन महत्वपुर्ण योगदान रहन्छ ।’ उनले कलाले मान्छेलाई सुखस्दुखमा साथ दिने धारणा राखे । ‘कलाले सुखःदुखमा साथ दिन्छ । हरेक कदमकदम कलाको साथ मिल्छ, उनले भने, ‘कलाले संसारलाई एक बनाउनसमेत महत्वुपर्ण योगदान पु¥याउने गर्छ ।’ पोखराका कलाप्रेमी अशोक पालिखेले भने महेन्द्रपुलको आर्ट ग्यालेरी र पुस्तकालय सार्नमा महानगरलाई केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य रहेको बताए । ‘महानगरपालिकाको परिभाषा पुरा हुन विश्वविद्यालय, अस्पताल, कला संग्रहालयहरु अनिवार्य रहन्छ छ, पालिखेले भने, ‘तर पोखरा महानगरले चाँही भएको भवन भत्काएर अर्काे ठाउँमा बनाउने घोषणा गरेको छ । यसमा केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य हुन आवश्यक देखिन्छ ।’
काठमाडौं: नेपाल महिला साफमा पाँचौ पटक फाइनल पुगेको छ । बंगलादेश भने दोस्रो पटक फाइनल पुगेको हो । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो महिला फुटबल प्रतियोगिता महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन टोली पाउने भएको छ । नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छन् । महिला साफको १२ वर्षे इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन राष्ट्र थपिने छ । सन् २०१० बाट सुरु भएको महिला साफको पाँच संस्करणसम्म भारत एक्लो च्याम्पियन राष्ट्र हो । यस संस्करणमा भने भारतलाई नेपालले सेमिफाइनलमै १-० ले पराजित गरेको छ । भारतलाई हराउँदै फाइनल पुगेको नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेश जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ । १२ वर्षे इतिहासमा पहिलो पटक भारत फाइनल पुग्न नसकेको हो । यस अघि चार पटक नेपाललाई फाइनलमा हराएर भारतले उपाधि उचालेको थियो । यस्तै एक पटक भारतले बंगलादेशलाई हराएर उपाधि जितेको थियो । पाँच पटकको च्याम्पियन भारत महिला साफको इतिहासमा दोस्रो पटक पराजित भएको छ । यस अघि समूह चरणमा भारतलाई बंगलादेशले हराएको थियो ।
काठमाडौं : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ । यही सम्झनामा नेपालका कालिगडहरुले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

