पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

पोखरा  : दिउँसो ४ बजेपछि परेको अविरल वर्षाका कारण पोखरा बजार क्षेत्र जलमग्न बनेको छ ।    अविरल वर्षाका कारण पोखराको पालिखेचोक, महेन्द्रपुल नयाँबजार, चिप्लेढुुङ्गा, न्युरोड, पृथ्वीचोक लगायतका मुख्यबजार क्षेत्रमा सडक नाली भन्दा बाहिर पानी बग्दा जलमग्न बनेको हो ।    सडकमा पानी बग्दा पैदल यात्रुहरु बढी प्रभावित बनेका छन् ।    हेरौ तस्बिर             

  गण्डकी । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै दर्शनार्थी पुग्न थालेपछि यहाँको चहलपहल बढेको छ । विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत पितृ उद्धार हुने विश्वासका साथ यहाँ दर्शनार्थी आउने गर्दछन् ।    मुस्ताङ पुगेका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउनुभयो । “यस वर्ष सोह्र श्राद्धको पहिलो दिन आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ”, उहाँले भन्नुभयो, “पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वासले टाढाटाढाबाट मन्दिरमा दर्शनार्थी आउने गर्दछन् ।”   मन्दिर आएका दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई बोत्तलमा भरेर घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीयरुपमा पनि उत्तिकै महत्वपूर्ण छ । अघिल्ला दुई वर्ष कोरोना कहरले यहाँको धार्मिक पर्यटन प्रभावित भए पनि यस वर्ष भने पर्यटकको आगमन राम्रो हुने विश्वास लिइएको मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा होटेल ग्रान्ड साम्बाला सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी सुरज गुरुङले बताउनुभयो ।   मुक्तिनाथ क्षेत्रमा अक्टोबरदेखि नै विदेशी पर्यटकको चहलपहल हुने गरेको बताउँदै उहाँले सोह्र श्राद्धको समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन अत्यधिक हुने गरेको जानकारी दिनुभयो । पछिल्ला वर्षमा चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । कोरोना कहरअघिका वर्षमा देखिएको पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको गुरुङले जानकारी दिनुभयो ।   चार दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो । ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता थियो । पछिल्ला वर्षमा बन्दै गएका सुविधासम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ ।   यहाँस्थित रानीपौवा यहाँको ऐतिहासिकताको ज्वलन्त उदाहरण पनि हो । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएछ । रानी सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएको छ ।    सोही अनुरोधकै आधारमा सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गर्नुभयो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा यहाँ धर्मशाला निर्माण गर्दा कुष्मा अर्मादीका काठ प्रयोग गरिएको हो । रानीले बनाइदिएको धर्मशाला भएकाले तत्कालीन समयदेखि नै यो ठाउँको नाम रानीपौवा रहन गएको हो । तत्कालीन समयदेखि नै यो धर्मशाला मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको स्थानीयवासी बताउँछन् ।   धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवं आवश्यक अन्य समान बेच्नेक्रम सुरु भएको रानीपौवामा अहिले भने झण्डै २५ वटा सुविधा सम्पन्न होटेल रहेको र अन्य बन्ने क्रममा रहेको पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ । करिब २०३२÷३३ सालसम्म यो ठाउँ सामान्य लेक रहेकामा अहिले बजारका रुपमा परिणत भइसकेको छ । रानीपौवामा धर्मशाला नबन्दासम्म मुक्तिनाथ आएका दर्शनार्थी त्यहाँबाट केही तल पुराङ गाउँमा बस्नुपर्दथ्यो ।    चार वर्ष वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथको भ्रमणसँगै भारतीय धार्मिक पर्यटक आउने क्रमले गति लिएको यस स्थानको पर्यटन कोरोना कहरका कारण त्यस यताका दुई वर्षयता प्रभावित भयो । पर्यटकलाई लक्षित गरी निर्मित यहाँका होटलका कोठाबाटै देख्न र अनुभव दिन सकिने हिमाल एवं मनोरम भूवनोटले जो कोहीलाई लोभ्याउँछ । पर्यटकको रोजाइअनुसारका राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाका परिकार यही पाइन्छ ।    सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्लो दशकयता मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन् । पोखराबाट हवाइ उडान र सडक यातायात दुवैबाट मुक्तिनाथ पुग्न सकिन्छ । पर्यटकको सुविधालाई लक्षितगरी विभिन्न सुविधासम्पन्न यातायातका साधन सञ्चालन भइरहेको यात्री बस प्रालि पोखराका सञ्चालक बोबरजङ्ग गुरुङले बताउनुभयो ।   “पर्यटकका लागि मुक्तिनाथ जान सुविधासम्पन्न बसका साथै जीपको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “सोह्र श्राद्धका साथै अन्य समयमा पनि पोखरा हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बर्सेनि बढिरहेको छ ।” हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिएको छ । 

पोखराः  राजधानीमा रहेको एलओडीपछिको ठूलो मानिने पोखराको लाउन्ज ‘क्याटवाक’मा आगामी शुक्रबार (१६ सेप्टेम्बर) भारतीय पपस्टार लक्की अलीको लाइभ कन्सर्ट हुने भएको छ ।    ‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने निश्चित भएको र टिकट बिक्री भइरहेको जनाइएको छ । अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् ।    अलीले १४ सेप्टेम्बरमा राजधानीको एलओडी र १६ मा क्याटवाकमा प्रस्तुती दिने इभेन्ट अर्गनाइजर पर्चाले बताएको छ ।    गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सयदेखि २ हजार रुपैयाँ राखिएको छ । त्यसपछिको टिकट मूल्य २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ ।    उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवत: अन्तिम हुने बताइएको छ । अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् ।    छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ ।    हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट बिक्री भइरहेको छ ।    अनुमानित ३० करोड रुपैयाँ बढी लगानीमा खोलिएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ ।      क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको व्यवस्थापनले जनाएको छ ।   

पोखराः पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न जारी मतदानपछि सदस्य पदको मत गणना भइरहेको छ ।    निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म १ हजार मतगणना हुँदा प्रभा सुवेदी अग्रस्थानमा रहेकी छिन् । अबको केही समयपछि हालसम्म गणना भएको मत सार्वजनिक गर्ने बताइएको छ ।    सदस्यहरुको मत गणनापछि अन्य पदको मत गणना सुरु हुनेछ । सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ ।   जसमध्ये १० जना निर्वाचित हुनेछन् । सुवेदी प्रजापती प्यानलकी उम्मेदवार हुन् । उनले ६ सय ३० मत ल्याएकी छिन्     निर्वाचनमा करिब ८१ प्रतिशत मत खसेको छ । संघमा ३ हजार १४३ मतदाता छन् ।   संघको अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।

तनहुँ  ः  नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विनिता थापामगर चयन भएका छन् ।    नेपाल मगर विद्यार्थी संघ तनहुँको १४ औं जिल्ला अधिवेशनले थापामगरको अध्यक्षतामा १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  समितिको उपाध्यक्षमा विजय थापा मगर, सचिवमा नवीन थापामगर, सहसचिवमा शिल्पा थापामगर र कोषाध्यक्षमा ससिता थापा मगर चयन भएका छन् ।    सदस्यहरुमा रुद्र थापा मगर, रजनी थापा मगर, नरेश थापा मगर, अमर थापा मगर, साजन गर्जा मगर, दिपा वानटङे मगर,अर्पण सोति मगर, कृष्ण आले मगर, सोनम थापा मगर, विनिता थापा मगर,भिम सारु मगर, सुमन थापा मगर , बिस्नु थापा मगर ,ममता थापा मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक गिता रखाली मगरले जानकारी दिए । 

पोखरा  : विश्व आत्महत्या दिवस (सेप्टेम्बर १०)को अवसर पारेर सडक नाटक ‘नमाझिएको’ कसौडी प्रदर्शन गरिएको छ ।   आत्महत्या रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको कोशिशको आयोजना,जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सहकार्य ।तथा  सिबिएमको सहयोगमा नाटक प्रदर्शन गरिएको संयोजक सुदिप घिमिरेले जानकारी दिए ।    नाटक शनिबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरिएको हो ।कार्यक्रममा पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले नाटक सन्देश मुलक भएको बताउँदै यसले केहि हद सम्म भए पनि आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने बताए।    कोशिशका मनोबिद् बिनय पाण्डेले आत्महत्याको कारण र रोकथामका उपायका बारेमा प्रकाश पारेका थिए ।   यस्तै सोहि नाटक शनिवार नै पोखरा २५ हेम्जामा समेत प्रदर्शन गरिएको छ  । नाटक कोशिश र मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुतिमा तयार पारिएको हो ।

पोखरा  : नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा महेश घर्तिमगर सर्वसम्मत चयन भएका छन् ।   नेपाल मगर विद्यार्थी कास्कीको १९ औँ जिल्ला अधिवेशनले घर्तिमगरको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरेको हो ।    समितिको उपाध्यक्षमा माया पुन मगर, सचिवमा योगेन्द्र थापामगर, सहसचिवमा प्रकाश थापामगर, कोषाध्यक्षमा रक्षा थापामगर सर्वसम्मत चयन भएका हुन् ।    सदस्यहरुमा कृष्ण बुढामगर, नरेन्द्र थापामगर, दिलबहादुुर थापामगर, दिपाल थापामगर, सन्देश थापामगर, सोनु थापामगर, देवेन्द्र थापमगर, तेजेन्द्र थापामगर, प्रतिमा तिलिजामगर, विनिशा पुनमगर , हिरादेवी बुढामगर र बलबहादुर रोकामगर सर्वसम्मत समितिमा चयन भएको र बाँकी ३ जना समितिको पहिलो बैठकले मनोनित गर्ने निर्वाचन समितिका संयोजक रुद्र श्रीस मगरले जानकारी दिए ।   

पोखरा: सशत्र प्रहरी बल (४ नम्बर बाहिनी)  मालेपाटनको टोली पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।   छन्त्याल समाजको खेल मैदानमा आज (शनिबार) भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।   अब एपिएफले उपाधिका लागि मामा भान्जा क्लब र गलकोट क्लबबीचको विजेता टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अनुसार बाँकी रहेको मामा भान्जा क्लब र गलकोट क्लबबीचको सेमिफाइनल खेल आइतबार बिहान ८ बजे सञ्चालन हुनेछ ।    यसैगरि महिलातर्फ अर्चलबोट क्लब र एसियन सुज फाइनल प्रवेश गरेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए । उनका अनुसार अर्चलबोटले लामाचौर समाजलाई १८–२५, २५–१८, २५–१७ र २५–२१ को सोटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।   त्यसैगरि एसियन सुजले हैदागा तनहुँलाई २५–१६, २५–१० र २५–१९ को सोझो सेटमा हराउँदै फाइनलमा अर्चलबोटसँगको भेट पक्का गर्याे ।    आइतबार बिहान ११ बजे महिला तर्फको फाइनल खेल सञ्चालन गरिने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार पुरुष तर्फको फाइनल खेल दिउँसो १ बजे हुनेछ ।    प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।   यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  

  अन्नपूर्ण । पोखराका गणेशबहादुर भट्टराई शुक्रबार पुस्तक पढ्नमा व्यस्त हुनुहुन्थ्यो । वीपी विचारबाट आकर्षित भट्टराईको हातमा ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ नामक पुस्तक थियो । उहाँँसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पुस्तक पढ्दै हुनुहुन्थ्यो । त्यहाँ उपस्थित सबैको अनुहारमा क्रान्ति  थियो । आफ्ना रोजाइका नेपाली कांग्रेस र यससँग सम्बन्धत पुस्तक पढ्न पाइने गरी पोखरामा पुस्तकालय खुलेकोमा सबैले प्रशंसा गरिरहनुभएको थियो ।   ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ पुस्तक पढिरहनुभएको भट्टराई पनि पुस्तकालय खुलेकोमा खुसी हुनुहुन्थ्यो । पोखरामा खुलेको वीपी स्मृति पुस्तकलयमा सबै वीपी कोइरालाले लेख्नुभएको र उहाँका बारेमा अरु लेखकले लेख्नुभएका पुस्तक पढ्न पाइने भएपछि हर्ष लागेको उहाँले बताउनुभयो । जसले गर्दा युवा पुस्तामा पढ्ने बानीको विकास हुने उहाँको तर्क थियो । विशेष गरी वीपी र नेपाली कांग्रेसका बारेमा त्यहाँ भएका पुस्तक पढेपछि अझ बढी ज्ञान लिन सकिने भट्टराईले बताउनुभयो । शुक्रबार उहाँजस्तै धेरैले पुस्तकालय पुगेर पुस्तक पढिरहनुभएको थियो ।   यसरी पुस्तकालय स्थापना गरेर वीपी र उहाँसँग सम्बन्धित विषयमा ज्ञान छर्ने कामको चाँजोपाँजो मिलाएको हो, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले । सबै व्यवस्था मिलाएर प्रदेश समितिले शुक्रबार एक सय नवौँ वीपी जयन्तीका अवसरमा पुस्तकालयको उद्घाटन गरेको हो । जहाँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादसँग सम्बन्धित एक हजारभन्दा बढी पुस्तक तथा पत्रिका छन् ।    पुस्तकालयका लागि प्राज्ञिक व्यक्तिले निःशुल्क पुस्तक उपलब्ध गराएको पुस्तकालय व्यवस्थापन समितिका संयोजक प्रा डा कुशुमाकर न्यौपाले जानकारी दिनुभयो । पछिल्लो समय कांग्रेससँग सम्बन्धित कृतिको न्यूनता भएका कारण नै पुस्तकालको परिकल्पना गरिएको उहाँ सुनाउनुहुन्छ । “पछिल्लो समय नेपालभर नै कांग्रेससँग सम्बन्धी किताब पठन संस्कृतिको न्यूनता भयो”, उहाँले भन्नुभयो, “पढ्ने परिपाटीभन्दा पद, कुर्सीर्तिर मोह बढी भयो त्यसैले केही बुझाउनुपर्छ भन्ने महसुस भएपछि प्रदेश समितिले निर्णय गरेर व्यवस्थापनको जिम्मा मलाई दिएको हो ।” जुन लक्ष्यका साथ पुस्तकालयको स्थापना गरिएको हो सोहीअनुसार उद्घाटन कै दिनमा उल्लेख्य सहभागीता रहेको उहाँले बताउनुभयो । जसले गर्दा आगामी दिनमा अझ बढी पुस्तक राख्नुपर्छ भन्ने हौसला बढेको प्रा डा न्यौपानेले जानकारी दिनुभयो ।   प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भन्ने बुझाउन पुस्तकालयको स्थापनामा जोड दिएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो । “वीपी कोइरालाले आफ्नो सारा जीवन व्यक्तिको सर्वोच्चताका लागि वितेको छ”, उहाँले भन्नुभयो, “आज म को हुँ भन्ने व्यक्तिले थाहा पाएन त्यसैले प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भनेर बुझाउन पुस्तकालयको स्थापना गरिएको हो ।” व्यक्तिको उपयोगिताको महत्व बढाउँदै प्रजातन्त्रिक हकको रक्षा गर्नका लागि सम्पन्न बनाउने लक्ष्य पनि पुस्तकालयको रहेको सभापति शर्माले जानकारी दिनुभयो । जसका लागि वीपी र उहाँसँग सम्बन्धीत पुस्तकले सहयोग गर्ने उहाँको भनाइ थियो ।    शुक्रबारदेखि सञ्चालमा आएको वीपी स्मृति पुस्तकालयमा देशैभरका मानिसले अध्ययन गर्न सक्नेछन् । आगामी दिनमा लोकतन्त्रसम्बन्धी १० हजार पुस्तक थप गरेर लोकतन्त्र बुझाउने देशकै नमूना पुस्तकालय बनाउने योजना उहाँले सुनाउनुभयो । उद्घाटनको दिनमा पाठकको सहभागिताले झनै ऊर्जा थपिएको सभापति शर्माले बताउनुभयो । “आज जुनरुपमा पाठक आउनुभएको छ यसले हामीलाई यसलाई अझ परिस्कृत बनाउनुपर्छ भन्ने ऊर्जा थपिएको छ”, उहाँले भन्नुभयो, “यो सबैका लागि सधैँका लागि अनि आफ्नो क्षमताको अपनत्व बोध गर्ने अभियान यहाँबाट सुरु होस्  भन्ने हाम्रो चाहना हो ।”   पुस्तकालयको पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि प्रा डा माथेमाले स्थापना गर्नुभन्दा पनि पछिसम्म सञ्चालन गर्नु चुनौतीको विषय भएको बताउनुभयो । सञ्चालनका क्रममा आइपर्ने चुनौतीलाई समाधान गर्दै देशकै उत्कृष्ट पुस्तकालय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । .